site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘तपाईं महाभ्रष्ट हुनुहुन्छ भने चिन्ता नलिनुस् केपी ओलीले नियुक्ति दिइहाल्नुहुन्छ’
Ghorahi CementGhorahi Cement

मुलुक कोरोनाको कहरमा छ । बाढी-पहिरोलगायत प्राकृति विपत्तिको त्रासदीमा छ । देशमा देखापरेका तमाम समस्यालाई निकास दिनुपर्ने सत्तारूढ दल नेकपा आफैं किचलोमा छ ।  स्थायी कमिटीको बैठक सुचारु हुन सकेको छैन । ४७ दिनदेखि जारी बैठक साउन १३ यता अवरूद्ध छ । तत्कालै बैठक आह्‍वान हुने सम्भावना पनि छैन ।

स्थायी कमिटी बैठक चलिरहँदा पार्टी विभाजनको खतरा बढेको भन्दै १ सय ५२ जना सदस्यले हस्ताक्षर गरेर केन्द्रीय कमिटी बैठक माग गरेका छन् । यसैबीचमा ६३ जना सांसदहरूले पार्टी एकताको पक्षमा उभिने र कुनै गुटमा पनि नलाग्ने भन्दै पत्रकार सम्मेलनको आयोजना गरे ।

नेकपाभित्रको बहस, विवाद पार्टी कमिटी हुँदै सडकमा छताछुल्ल भइरहेको छ । तत्कालै निकासको सम्भावना पनि देखिँदैन । यिनै विषयमा बाह्रखरीले केन्द्रीय सदस्य मेटमणि चौधरीसँग गरेको संक्षिप्त कुराकानी :
अहिले पार्टीभित्र देखापरेको विवादलाई कसरी लिनुभएको छ ? पदीय भागबन्डा नमिलेको हो कि, विचारकै अन्तरविरोध हो ?
अहिले बाहिर, सतहमा पदकै लागि मरिहत्ते गरेका हुन् । झगडा कुर्सीमै केन्द्रित छ भन्ने बनाउन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षका नेताहरू लागिपरेका छन् । चर्चा चलाएका छन् । तर, विवाद मूलतः सिद्धान्त, पद्धति, कार्यशैली र विधि-विधानकै विषयमा बहस, छलफलमै केन्द्रित छ ।

Agni Group

यहाँहरूलाई थाहा छ, प्रधानमन्त्री केपी शर्मा ओली विधि-विधान मान्दिनँ भन्नुहुन्छ । सिद्धान्त अनुसरण गर्दिनँ भन्दै आउनुभएको छ । कमिटीले गरेका निर्णय पटकपटक अटेर गर्दै आउनुभएको छ । तसर्थ, पार्टी विधिमा नहिँडेपछि विधिमा ल्याउनुपर्छ भनेर अर्को पक्ष लाग्ने नै भयो ।

हाम्रो बुझाइ के हो भने, कम्युनिस्ट आन्दोलनलाई प्रगतिशील संस्कार, कार्यपद्धति, आचरण, सिद्धान्तभित्र अटाइँदैन, त्यसको फ्रेममा ल्याइँदैन भने त्यतिबेलासम्म आन्दोलन जोखिममै हुन्छ । यसले कम्युनिस्ट पार्टीको आकार नै ग्रहण गर्दैन ।

Global Ime bank

अहिले पार्टीपद्धतिलाई छल्न खोज्ने, पार्टीको निर्णयलाई मान्दिनँ भनेर बाहिर खुलेआम भन्दै हिँड्ने, सहकर्मीलाई लाञ्छना लगाउने, हिलो छ्याप्ने कृत्यले कम्युनिस्ट आन्दोलन र नेकपाभित्र विवाद देखापरेको छ । पार्टीभित्रको अन्तरविरोध निकै पेचिलो मोडमा पुगेको छ ।

पार्टीका पहिलो वरीयताका अध्यक्षले पार्टीका निर्णय केके मान्नु भएन ? कमिटीले बढी नै पो अङ्कुश लगायो कि ?
उहाँले के-के निर्णय मान्नुभयो, केके मान्नु भएन भनेर बुझ्न विगतको निर्णयतिर फर्केर हेर्नुपर्ने हुन्छ । उहाँले पार्टीको निर्णय मान्नु पर्ने जरुरी नै ठान्नुहुन्न । उहाँको बुझाइ के छ भने, संसारको सबैभन्दा शक्तिशाली-बलिष्ठ चामत्कारिक मानिस कोही छ भने म नै हुँ । संसारको सबैभन्दा ज्ञानी, बुद्धिमानी मानिस पनि मै हुँ, त्यसकारण पार्टीलाई होइन, विधि-पद्धतिलाई होइन नेतृत्व र त्यसमाथि पनि केपी ओलीलाई मान्नुपर्छ भन्ने उहाँको बुझाइ छ ।

पार्टी र सरकारको नेतृत्वमा आइसकेपछि उहाँमा यस्तो मनोविज्ञान हावी भयो । मलाई यहाँ पुर्‍याएको पार्टीले हो, आन्दोलनले हो । कार्यकर्ताको त्याग, निष्ठा र समर्पणले हो भन्ने कुरा ज्ञात नै भएन ।

तपाईंलाई एउटामात्रै कुरा स्मरण गराऊँ- साबिक एमालेमा एउटा राज्यव्यवस्था समिति भन्ने निकाय हुन्थ्यो । कसैलाई कुनै राजकीय पदमा जिम्मेवारी, नियुक्ति दिनुपर्‍यो भने त्यहाँ योग्यताक्रम समेटेर निवेदन दिनुपर्थ्यो । राज्य व्यवस्था समितिले सूचीकृत गर्थ्यो र स्थायी कमिटीको बैठकमा पेस हुन्थ्यो । सबैको योग्यता, दक्षता, विज्ञता हेरेर तत्तत् ठाउँमा सिफारिस गरिन्थ्यो । राजदूत, जीएम, सदस्य-सचिव, उपाध्यक्ष आदि त्यो प्रणालीबाट नियुक्ति, पुनर्नियुक्ति हुन्थ्यो ।

आज हेर्नुहोस् त, सबैभन्दा बदनामित, सबैभन्दा भ्रष्ट नेपालमा कोही छ भने ती-ती व्यक्तिलाई खोजीखोजी नियुक्ति गरिँदै छ । के-को लेनदेन हुन्छ ? के-को कारोबार हुन्छ र त्यस्ता व्यक्तिलाई पदले पुरस्कृत गरिँदै छ ? पार्टीलाई थाहा छैन ।

अरू त छाडौं मन्त्री बनाउने कुरा पनि छलफल हुन छाड्यो । केपी कमरेडलाई चाहना भयो मन्त्री बनाइहाल्यो । राजदूत बनाउन पर्‍यो, गोजीबाट फुत्त नाम निकाल्यो बनाइहाल्यो । यो त व्यक्तिको कुरा होइन, एकथान पद दिऊँ न त, यो विगतमा मेरो पक्षमा लागेकै थियो भन्ने कुरा मात्रै होइन, राष्ट्रियतासँग गाँसिएको, देशको इज्जत-प्रतिष्ठासँग गाँसिएको विषय हो । तर, मन लाग्दा बनायो, मन नलागे कारणबिनै झिकिदियो यस्तो खालको प्रचलन छ ।

पार्टी व्यक्तिको इच्छाको आधारमा होइन, विधि-विधान, सिद्धान्त, दर्शनका आधारमा चल्ने होला नि । एउटा व्यक्त सर्वेसर्वा त हुन सक्दैन नि ।

अहिले राजीनामा माग्ने समूहले पनि विचार पछ्याएको देखिँदैन । संसदीय दलले प्रधानमन्त्रीमा प्रस्ताव गरेको, संसदले अनुमोदन गरेको व्यक्तिलाई पार्टी कमिटीको बैठकमा राजीनामा दे भन्नु पनि विधि-पद्धतिविपरीत हो कि ?
पार्टी पद्धतिमा पार्टी नै सर्वेसर्वा हो । अरू कुरा गौण हुन् । केपी ओलीलाई पार्टीले उम्मेदवार बनाएको हो । पार्टीले निर्णय गरेर संसदीय दलको नेता बनाएको हो । माधव नेपालले प्रस्ताव गर्नुभयो । झलनाथ खनाल, वामदेव गौतम, स्थायी कमिटीका अरू नेताले एकमतले समर्थन गरेपछि उहाँ सर्वसम्मत दलको नेता चुनिनुभयो ।

म नेकपाकै सांसद हुँ मैले उहाँलाई भोट हालेर संसदीय दलको नेता चुनेको हो त ? झापाको कुनै सांसदले केपी ओलीलाई भोट हालेर नेता बनाएको हो त ? होइन ।

मेरो भनाइको तात्पर्य के हो भने, पार्टीले चाहँदा उहाँ संसदीय दलको नेता, प्रधानमन्त्री हुनुभयो, पार्टीले नचाहँदा केपी ओलीलाई फिर्ता बोलाउन सक्छ । फिर्ता बोलाउने निर्णयमा उहाँ सहमत हुनुभएन भने, पार्टीले उहाँलाई कारबाही गर्न सक्छ, सांसद नै उपस्थित भएर ड्याङड्याङ भोट हालेर अल्पमतमा पार्न सक्छ । संसदीय दलको नेताबाट उहालाइँ हट्न सक्नुहुन्छ ।

बहुमत पक्षधरहरू उहाँलाई हटाउने कोर्सतिर अघि बढिसकेको हो कि, अझै रूपान्तरणको विकल्प बाँकी छ ?
केपी ओली रूपान्तरित भइदिनुभयो भने, पार्टीको विधिमा आउनुभयो भने धेरै राम्रो हुन्छ । तर, उहाँको अहिलेको कार्यशैली हेर्दा उहाँमा रूपान्तरणको कुनै सम्भावना छैन । उहाँका यति धेरै दम्भ, अहंकार, घमण्ड पलाएको छ कि, अमेरिका, भारतको सरकार प्रमुखभन्दा पनि म नै शक्तिशाली हुँ भन्नेसम्मको अहम् पलाएपछि रूपान्तरको सम्भावना जीवित रहन्छ र ?

केपी ओली सच्चिन र रूपान्तरण हुन तयार नभएपछि उहाँको विकल्प खोज्नै पर्छ । पार्टीले स्टेप चाल्नै पर्छ । पार्टीको विधान पल्टाउनुभयो भने एउटा अध्यक्षले पनि बैठक कल गर्न सक्छ । त्यसैले स्थायी कमिटीको मिटिङ बसेर एउटा निर्णय लिने र त्यसलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने हो भने विषय टुङ्गिन्छ ।

स्थायी कमिटीको बैठक आह्‍वान गर्ने र बहुमतले निर्णय गरेर जाने हो भने पार्टी दुई टुक्रा भइहाल्छ नि भन्ने बहस पनि छ नि ? फेरि प्रधानमन्त्रीले सत्ताको पनि नेतृत्व गरिराखेकाले उहाँसँग विकल्प पनि छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफूलाई सुरक्षित राख्न अनेक आयाम प्रयोग गरिसक्नुभयो । ती डाइमेन्सनलाई म प्रोक्सीवारको पनि संज्ञा दिन चाहन्छु । उहाँले आफूलाई सुरक्षित राख्न व्यक्तिका दिमागलाई अन्यत्र मोड्न भरमग्दुर प्रयत्न गरिराख्नुभएको छ ।

कहिले म राष्ट्रवादी नेता हुँ, राष्ट्रवादी नेतालाई हटाउन थाले भनेर कोकोहोला मच्चाउनुहुन्छ । जनताको सेन्टिमेन्ट लिन खोज्नुहुन्छ । राष्ट्रपति संवैधानिक संस्था हो, सम्मानित र सर्वोच्च संस्था हो । राष्ट्रपतिलाई महाभियोग लगाउन खोजिँदै छ भनेर तथ्यभन्दा बाहिर गएर आफैं भ्रम सिर्जना गर्नुहुन्छ ।

कहिले सांसदलाई खरिद-बिक्रीका लागि फलानो बैंकबाट यति अर्ब रकम निकासा भयो भनेर हुँदै नभएको प्रचार गर्नुहुन्छ । हामी धर्मलाई अफिमसँग तुलना गर्ने कार्यकर्ता, त्यो स्कुलिङबाट हुर्किएर आएको, त्यसरी प्रशिक्षण गर्नेमध्ये एकजना केपी ओली पनि हो । अहिले उहाँ आफैं धार्मिक पात्र रामको खोजीमा जुट्नु भएको छ ।

यो जसरी मोनिकासँगको अवैध सम्बन्धलाई लिएर सिनेटमा कुरा उठ्ने सम्भावना हुँदा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले इराकमाथि आक्रमण गर्थे । विषय मोडिन्थ्यो । बिल क्लिन्टनको विपक्षमा कुरा उठ्ने सम्भावना टाढिन्थ्यो । अमेरिका र इराकबीचको लडाइँमा विषयमा केन्द्रित हुन्थ्यो । 
अहिले केपी ओलीले त्यसैको सिको गर्दै हुनुहुन्छ ।

हिजो-अस्ति, माडी, ठोरीतिरका जनप्रतिनिधिहरू बोलाएर रामको भव्य मूर्ति बनाऊ, म आउँछु भनेर नेपालभरका मानिसको ध्यान त्यहाँ खिच्नुभएको छ । कुनै पनि आयाम काम नलागेपछि उहाँ धर्म राष्ट्रवाद जगाउन लाग्नु भएको छ । राम भन्ने को हो ? त्यो पात्र छ कि छैन ? राम नै मिथक हो भने अवशेष कहाँबाट पत्ता लाग्नू ! तर प्रधानमन्त्री लागि राख्नुभएको छ ।

तर, प्रधानमन्त्रीको यो आयाम पनि फेल खानेवाला छ । अब उहाँलाई कसैले पत्याउनेवाला छैन । म उहाँकै पार्टीको सांसद त पत्याउँदिनँ, जनताले के आधारमा विश्वास गर्छन् ?

उहाँले नेपाली जनता र पार्टीलाई निरन्तर धम्क्याइराख्नु भएको छ । कहिले पार्टी फोड्न अध्यादेश ल्याउनुहुन्छ । फेरि थाम्न नसकेर फिर्ता लिनुहुन्छ । यही विषयमा सल्लाह होला, कुरा उठ्ला, जवाफ दिनुपर्ला भनेर कसैसँग सल्लाह नगरी संसद-अधिवेशन अन्त्य गरिदिनुहुन्छ । यो भन्दा बेठीक कुरा अरू के हुन्छ ?

पार्टी फुट्ने पक्कापक्की भएर नै यहाँहरूले एकताको अभियान चलाउनु भएको हो ? ६३ जना सांसदहरूले हस्ताक्षर गरेर हामी कतै पनि लाग्दैनौं भन्नु परेको हो ?
नेताहरूलाई नैतिकतामा बाँध्न, दबाब सिर्जना गर्न, पार्टी एकताको मर्म आत्मसात गराउन पनि यो कदम जरुरी थियो । केन्द्रीय कमिटीका हामी १ सय ५२ जना सदस्यहरूले बैठकको माग गर्दै पत्र बुझाएका छौं । विधानतः २५ प्रतिशत सदस्यहरूले हस्ताक्षर गरेर, लिखित रूपमा बैठकको माग गरेपछि एकमहिनाभित्र आह्‍वान गर्नुपर्छ ।

यसअघि पनि स्थायी कमिटी बैठक त्यसैगरी कल भएको हो । केन्द्रीय सदस्यले हस्ताक्षर गरेर बैठक माग गर्नुपर्ने परिस्थिति आउनु भनेको दुःखद् हो नि । यहाँ त अध्यक्ष ओली चुक्नुभयो नि । उहाँको असक्षमता हो नि ।

अझै नेता हुँ भन्ने लागेको छ भने बैठक कल गर्न किन हिच्किचाउनु ?

१ सय ७४ मध्ये ६३ जनाले पार्टी नफुटाऊ भनेर हस्ताक्षर गरेर बुझाएपछि ओलीलाई नै दबाब पर्छ नि । पार्टी विभाजन गर्न सजिलो हुने प्रावधान राखेर अध्यादेश ल्याएको उहाँले नै हो ।

केपी ओलीलाई हटाउँदा पार्टी नै विभाजन हुन्छ भनेर बहस पनि भइरहेको छ । यो बेला एकताको पक्षमा हस्ताक्षर गर्दा प्रधानमन्त्री ओलीलाई नै फाइदा पुगेन र ? पार्टी एकताको पक्षमा पत्रकार सम्मेलन भनिए पनि पदको लेनदेन हो, ओलीलाई हटाउन मिल्दैन भन्ने पनि विचार आए ?
पार्टीमा विविध विचार विद्यमान छन् । हस्ताक्षर, पत्रकार सम्मेलनमा पनि प्रतिविम्बित हुने नै भयो । एक पक्ष मात्रै लाग्यो भने, यो त फलानो विचार समूह, गुटको भनेर कित्ताकाट गर्ने काम हुन्छ । सबैका विचार, भावनालाई ठाउँ दिनुपर्छ । नत्र प्रधानमन्त्री ओली र हामीमा के फरक रह्यो र ?

हस्ताक्षरको मुख्य उद्देश्य पार्टी एकीकृत राख्नु हो । नेताहरूलाई नैतिकताको सूत्रमा बाँध्‍न सकियोस् भन्ने नै हो । यसले व्यक्ति-विचार समूहभन्दा पनि पार्टी र आन्दोलनलाई नै फाइदा पुर्‍याउँछ ।

संसद् अधिवेशन हठात् अन्त्य भयो । जनताको बोली बोल्ने थलो बन्द हुँदा कोरोनाव्याधि, प्राकृतिक प्रकोपमा विषयमा सरकारको ध्यानाकर्षण पनि हुन सकेको छैन । अधिवेशन आह्‍वान गर्नेतिर यहाँको ध्यान पुगेको छ कि छैन ?

यसमा हामीले सोचेका छैनौं । पार्टीभित्र विवाद तीव्र बनेर विभाजनको दिशा समात्नै लागेपछि बचाउन लाग्नै पर्‍यो । यद्यपि यसबारेमा पनि हाम्रो ध्यान जानेछ । छिट्टै बहस चलाउँछौ । संसद पार्टीको विवादको बन्धक बन्नुहुँदैन । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC