बाह्रखरी
sticky  ncell
British college
British college
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ब्लग मुस्कानको ओज डा. पुण्यसागर मरहट्टा
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, साउन २७, २०७७
Laxmi Bank
Laxmi Bank

लेखाइ आजकल आदत भएको छ । लेखाइले जीवनयात्रामा छुटेका केही पुराना साथी पुनः जोडिएका छन्, केही नयाँ साथीहरु थपिएका छन् । पक्कै केही छुटेका पनि होलान् । यात्रामा सबैको एकै गन्तव्य नहुने कारणले त्यसो भएको होला । सामाजिक संजालमा कुनै विचार वा साहित्यिक लेख प्रकाशित हुँदा त्यसले विचार मिल्ने वा कुनै काल्पनिक घटनालाई आफैँले भोगेको महसुस गर्ने स्वदेशीय बन्धुहरुको टिप्पणी, सुझाव र मित्रताको अनुरोधको ओइरो लाग्ने गरेको छ । समग्रमा भन्दा साहित्य, लेख, रचनाले हामीलाई जोड्दो रहेछ । म तसर्थ साथीहरुको धनी भएको छु, आनन्दित हुनेगरेको छु । 

सामाजिक संजालमा अग्रज केशवप्रसाद भट्टराईले लेख्नुभएको सम्झन्छु र उहाँका प्रेरक टिप्पणीले कृतज्ञ छु । ‘किन लेखिरहन्छस्?’ भन्ने सहृदयी मित्रलाई उहाँले दिनुभएको ‘आफ्ना आनन्दका खातिर लेख्छु, पढ्नेले पनि त्यही आनन्द रसास्वादन गर्नसके त्यसैलाई पारितोषिक सम्झने गरेको छु’ भन्ने जवाफप्रति सम्पूर्ण समर्थनसमेत छ । अचेल त क्यानाडामा रहेका चिनजानका नेपालीभाषी बन्धुबान्धवहरुलाई लेख्न उकास्ने पनि गरेको छु ।

केही साताअघि एक जना भूमिपुत्र ज्यापुको कथा लेखेको थिएँ । त्यसले जति आनन्द आयो त्यसभन्दा बेसी आनन्द अर्का एक अग्रजसँग सामाजिक संजालमा गाँसिन पाउँदा लाग्यो । साहित्यिक आकाशमा आफ्नो भिन्दै स्थान बनाइसक्नुभएका हरि अधिकारीसँग गाँसिन पाइयो । उहाँले मैले अत्यन्तै आदर गर्ने गरेका नेपाली मौलिक लोकतन्त्रका अविराम योद्धा एक निष्काम कर्मयोगी ’एक्लो नायक’ किसुनजीसँग साहित्यमार्फत पुनःपरिचय गराइदिनुभयो । 

Global bank

Agani Group

’किसुनजी’का विविध विम्ब बनेका छन् नेपाली सामाजिक राजनीतिक भूतलमा । ’बनारसी ब्राह्मण’बाट उनलाई चिन्नेहरु पनि छन्, गीताध्यायी राजनीतिक प्राणीका रुपमा चिन्नेहरु पनि छन्, छाता, सुराही र ट्यांकासहित देखिने विम्ब पनि उनकै हो । किशोरवयका कोपुण्डोले हामीलाई ती एक स्थितप्रज्ञ अग्रज हुन् भन्ने चिन्न कठिन थियो तथापि अंग्रेजीमा स्टबबर्न (हठी) जस्तो उनी कहिल्यै लागेनन् । उनी जिद्दीवाल थिए, हठी थिए र राजा सँग ‘न समर्थन, न समर्पण’को नीति लिएर सबैभन्दा बढी जेल बस्ने उनै थिए लोकतान्त्रिक नेताहरुमा । जेलबाट निस्केपछि पनि उनी निर्वासनमा गएनन् र नेपालमै बसेर संघर्ष गरिरहे । बडो गहन प्रश्न उठाएका थिए उनले पक्राउ परेका बखत – म कांग्रेसको साधारण सदस्यता समेत थाती राखेको सभामुख थिएँ, मलाई महाराजले किन थुने? त्यसको अर्थ राजाको द्रोह कांग्रेस वा बीपीसँग होइन, समग्रमा नेपाली लोकतन्त्रप्रतिको वक्रदृष्टि हो भन्ने मान्यता उनको थियो, जो प्रकारान्तरले पुष्टिसमेत भयो । तर यी सबैका भए पनि आफ्ना मान्यतामाथि कसैले औँलो उठाउनासाथ दुर्वासासमेत हुनसक्ने आदरणीय कृसनजी  ( सबैले किसुनजी भनेपनि वीर गणेशमान उनलाई कृसनजी भनी सम्बोधन गर्थे रे !) को दर्बिलो व्यक्तित्वको बिम्ब मेरो मानसपटलमा कुनै ‘पान बूढा’को जस्तो कहिल्यै रहेन । उनी मेरा लागि अदम्य साहसका धनी, निस्पृह अविराम योद्धा थिए र उनको मुस्कानमा एक प्रकारको ‘तिलस्म’ थियो ।

मुस्कानले वातावरण मनोहर बनाउँछ । ठूला द्वन्द्वहरुको निरुपण मुस्कानले गराउन सक्छ । हरि अधिकारीको ‘एक्लो नायक’भित्र भेटिएका मुस्कानसहितका किसुनजीसँग एकालाप गर्दै थिएँ । सामाजिक संजालमार्फत स्कुले सहपाठी मित्रको फोन आयो । उसले भन्यो – यो भिडमा म हराएको छुइन । तेरा लेख, रचना पढेकै छु, तिनले मलाई निरन्तर छुन्छन् । प्रतिक्रियाका लागि तर मेरो जीवन व्यस्त होइन, अस्तव्यस्त छ साथी । एक ’पृथक क्षमता भएकी छोरी’ को बाउबाट समाजमा परिचित हुने र त्यस्ता छोराछोरीहरुको विशिष्ट घर बनाउन कुदेको छु । उसले अवरुद्ध कण्ठसहित भन्यो – एकजना दुस्साहसी बाबुको कथा सुनिदे न साथी । मैले सुनेमात्र होइन, लेखमार्फत समाजलाई सुनाउने वाचा पनि गरेँ । यो लेख उसैको ‘किसुनजी’को जस्तै अविराम हठ र निष्काम कर्मयोगप्रति समर्पित छ । यो कसैको सत्प्रयत्नको विज्ञापन होइन न त उसको त्यस्तो कुनै फलापेक्षी आग्रहको लेखकीयस्वरुप नै हो । जसरी किसनजी राजासँग लडे, त्यसरी नै मेरो साथी ईश्वर सँग लडिरहेछ । जसरी किसुनजीलाई जितको भोगको लालसा थिएन त्यसरी नै मेरो साथीलाई पनि त्यसको चाह छैन । ऊ भन्छ – ईश्वरसँग अरु तीन सहयोद्धाको साथमा म एक्लै लडिरहेछु, समाजमा हामी जसरी अरु कोही पनि लडिरहेका छन् भने एउटा संयुक्त संघर्ष सम्भव छ । र यो संघर्षले अन्य थुप्रै विशेष क्षमता भएकाहरुको अनुहारमा मुस्कान ल्याउनेछ । जति धेरै मुस्कान, त्यति धेरै सन्तुष्टि । 

sarbottam cement

उच्चाट गरिबीले थिल्थिलिएको समाजमा आफैँले जन्माएका सन्तानलाई बाख्राको खोरमा थुनेको, दाम्लोले बाँधेको, मलमूत्रले बेरिएको, घेरिएको जस्ता खबर पढिन्छ र अचेल त अझ खबर देखिन्छ पनि ।  मेरो साथी प्रश्न गर्छ – के ती सन्ततिहरु त्यसरीनै अधमरो बाँच्न अभिशप्त हुन्? बाबुआमाको दायित्व छैन? अर्को साधारण क्षमता भएको बच्चालाई हजारौं शुल्क तिर्न सक्ने अभिभावकको आफ्नो पृथक क्षमतावाला बच्चा उपर कुनै जिम्मेवारी छैन? के समाजको केही दायित्व छैन? प्रश्न निश्चय नै जटिल छ । यो प्रश्नले आफूलाई सचेत र शिक्षित भनाउने  समाजलाई हुँडेल्नु पर्ने देख्छु म त । 

एउटा सामान्य मध्यम वर्गीय मेरो साथीको परिवारमा करिब बीस वर्षअघि स्वस्थ छोरी जन्मिई । नाम दिए – मुस्कान । करिब चार वर्षसम्म उसको शारीरिक विकास ठीकै थियो, मानसिक विकास अलि सुस्त हो कि भन्ने भान पर्यो बाबुआमालाई । परामर्श सुरु गरे र निर्क्योल भयो – हो त, मुस्कान त पृथक क्षमता लिएर जन्मेकी छोरी रहिछ । यसपछि उसको परिवारमा परेड खेलेका पीडाका पल्टनबारे लेख्ने हो भने एक वियोगान्त महाकाव्य बन्दो हो तर बाउआमा हुनुको अर्थ सन्तानमाथि अन्याय नहोस् भन्ने कर्तव्यबोध हुनुसमेत हो । उनीहरुले परिस्थितिसँग आत्मसमर्पण गरेनन् बरु छोरीको सुखद भविष्यका लागि हठ गरिरहे, अनवरत गरिरहेछन् ।  जसरी जीवन उत्सर्ग गरेर पनि आफ्नो लक्ष्य उन्मुख यात्रा अविराम अघि बढाए हाम्रा ‘एक्ला नायक’ किसुनजीले, मेरो साथीका दम्पतीले पनि त्यही बाटो समाते । संग्रहित सम्पत्ति बेचे । त्यही क्रममा सानी छोरी पनि जन्मिई । बेचेको सम्पत्ति ठूलीको, सानीको र आफ्नो भनेर भाग लगाए । त्यसैले एनकेन प्रकारेण जीवन यात्रामा एक्लै भए पनि निस्किने साहस गरे ।    

वार्तालापकै क्रममा उसले सुनायो – “ईश्वरसँग छोरीको पृथक क्षमताबारे मेरो कुनै गुनासो छैन । म अचेल जिज्ञासु भएको छु“ र सोध्यो – “साँच्चै क्यानाडाले कसरी व्यवस्थापन गर्छ यस प्रकारको अवस्थाको?“ मसँग त्यसको तत्काल जवाफ थिएन । म बुझ्छुसम्म भन्न सकेँ । मेरो बुझाइमा ‘पृथक क्षमता’ लाई क्यानाडाले राष्ट्रियरुपमा नै स्वीकारेको छ । भनाइको तात्पर्य राज्यले ‘पृथक क्षमता’ भएको जनसंख्या छ र उनीहरुको यथोचित विकास र व्यवस्थापन राज्यको दायित्व हो भन्ने मानेको छ । र तदनुरुप नै उनीहरुको अस्तित्वलाई सम्मानका साथ विभेदबाट उन्मुक्ति दिने गरी विभिन्न ऐन, कानुन, नियमहरु बनाइएका छन् । उनीहरुको सहज जीवनयापनको व्यवस्थाका लागि केन्द्रीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकार अनि अभिभावकसमेतको भूमिका प्रष्ट किटिएको छ ।

उनीहरुको शिक्षा, रोजगारी, हिँडडुल, मतदान एवं न्याय पाउने अधिकार सुरक्षित गरिएको छ । यसरी अधिकारका मात्र कुरा त नेपालजस्तो अल्पविकसित मुलुकमा पनि प्रशस्त नै होलान् तथापि कार्यन्वयन उपर प्रश्न चिन्ह अझै खडा छ । सामान्यतया, उनीहरुको हेरचाहको लागि स्थानीय सरकारले पर्याप्त लगानी गरेको छ । विद्यालयसम्म जान नसक्ने त्यस्तो व्यक्तिको सेवा सुश्रुषाका लागि बाबु वा आमा वा तिनले तोकेको व्यक्तिलाई भत्ताको जोहो गरिदिएको छ । वयस्क भइसकेपछि समेत त्यस्तो व्यक्तिले श्रम गर्न अशक्त भए निश्चित भत्ता रकम पाउँछ भन्ने पनि सुनिन्छ । त्यसैगरी पृथक क्षमता भएका बालबालिका र वयस्कका लागि शिक्षाको समुचित प्रबन्धन गर्ने स्थानीय सरकारलाई नै जिम्मेवारी दिइएको छ ।
जनस्तरबाट उठाइएको शिक्षा कर प्रादेशिक सरकारमा दाखिला भएपछि सो रकमको निश्चित हिस्सा स्थानीय सरकारलाई फिर्ता हुन्छ र स्थानीय सरकारले शिक्षाको व्यवस्थापकीय तजबिज मिलाउँछ । त्यसरी तजबिज मिलाउने क्रममा पृथक क्षमता भएकाहरुको शिक्षामा समेत स्थानीय सरकारले समुचित ध्यान दिनैपर्छ । र सोही मुताबिक बजेट तर्जुमा हुनेगर्छ । यसरी उनीहरुको क्षमतानुरूपको शिक्षाको अधिकार सुरक्षित हुन्छ ।

त्यस्तै हिँडडुलको अधिकार सुरक्षित गर्न प्रादेशिक ऐनको व्यवस्था गरिएको छ  । सन् २०१० पछि आएको राष्ट्रिय भवन निर्माण संहिताले त देशमा बन्ने सार्वजनिक संरचनाहरु ह्विल चियर मैत्री बनाउनै पर्ने  बाध्यकारी प्रबन्ध गरिदिएको छ । त्यसले उनीहरुको हिँडडुलको अधिकारलाई सुरक्षित गरिदिएको छ । त्यसमाथि, कुनै पनि सार्वजनिक वा ब्यापारिक प्रयोजनका लागि बन्ने भवनहरुको निर्माण स्वीकृतिको लागि परियोजना स्थलभित्र नै निश्चित संख्यामा पार्किंग स्थलको अनिवार्य व्यवस्था गरिनै पर्छ ।

र त्यो परियोजनाको मूल भवनको प्रवेशद्वारसंगै कुल आवश्यक पार्किंग स्पेसको संख्याको निश्चित प्रतिशत (सामान्यतः ५ –१० प्रतिशत सम्म) मा ’पृथक क्षमता भएका व्यक्तिहरुको सवारी साधन पार्किङ्ग गर्ने स्थल’ सुरक्षित गरिएको हुन्छ । यसरी उनीहरुको हिँडडुलको अधिकार सुरक्षित गरिएको छ । रोजगारीका सवालमा समेत उनीहरुको क्षमतामुताविकको काम गर्ने वातावरण सुरक्षित गरिएको छ । त्यसका लागि आवश्यक कानुनी र व्यवस्थापनसापेक्ष आधार बनाइएका छन् । शारीरिक वा मानसिक पृथकताका कारण कुनै पनि रोजगारदाताले उनीहरुलाई उनीहरुको क्षमतानुरूपको रोजगारीमा भाँजो हाल्न पाउँदैन । मतदान वा कानुनी अधिकार समेत सुरक्षित गरिएको छ । 

यो लेखमा उठाउन खोजिएको विषय तुलनात्मक अध्ययनभन्दा पृथक प्रत्यक्षतः हाल नेपालमा सामाजिक स्तरमा भइरहेका केही सकारात्मक पहलसँग साक्षात्कार गराउनु हो । र कोही त्यस्तो अभियानमा जोडिन चाहन्छन् भने सूचित गरिदिनु हो । छोरी मुस्कान छोरीको बाउआमाले हिंड्न आँट गरेको संघर्ष यात्रा रुचिपूर्ण छ ।

त्यसमा जँघारहरु छन्, ओढारहरु छन्, अँधेरा रातहरु छन् र हरेक दिन उदाउने सूर्यको मुस्कान पनि छ । त्यही प्रत्येक बिहानीको उज्यालोले एउटा नयाँ आशाको संचार गर्छ । सायद त्यसैको बिम्ब पक्रेर मैले जानकारी पाएअनुसार, उनीहरुले एक घर सिर्जना गरेका छन् – ‘मुस्कान होम फर होप’ नामको । क्यानाडाको सन्दर्भ एकपटक नजोडी यो लेख टुंग्याए अधुरो हुन्छ । क्यानाडामा १८ वर्ष पुगेको हरेक नागरिक वयस्क मानिन्छ र आफैँमा स्वतन्त्र हुन्छ । यस अवस्थामा पृथक क्षमता भएका युवा के गर्छन् त ? उनीहरु पनि आफ्नो निर्णय लिन स्वतन्त्र हुन्छन् । अधिकांश अवस्थामा यस्तो सुन्दा आश्चर्य लागे पनि उनीहरुले हासिल गरेको ज्ञान, सीपका कारण उनीहरु या त बोलीले वा विभिन्न संकेतबाट संदेश प्रवाह गर्नसक्ने भइसक्छन् । त्यति भइसकेपछि कतिपय अवस्थामा उनीहरु स्वेच्छिक आवासमा स्थानान्तरित हुँदा रहेछन् । 

पृथक क्षमताका व्यक्तिहरुको सामूहिक आवास क्यानाडामा दुईथरी रहेको छ – सार्वजनिक र निजी । सार्वजनिक आवास र निजी आवासको भिन्नता अतिरिक्त सुविधाले निर्धारण गर्ने रहेछ । अतिरिक्त सुविधाका लागि आफैँ अतिरिक्त शुल्कको व्यवस्था गर्न सक्नेहरु निजीमा जाँदा रहेछन् भने आधारभूत सेवाको मात्र गच्छे हुनेहरु सार्वजनिक आवासमा जाँदा रहेछन् । यसबाट प्रस्ट के बुझिन्छ भने आधारभूत सेवा सुविधाको लागि सरकारले दिलाउने बजेट पर्याप्त छ ।  

ती दुवै  किसिमका आवासहरुले स्वास्थ्य, सरसफाइ, सुरक्षा, खाना, मनोरञ्जन, व्यायाम, सीप सिकाइ आदि जस्ता निश्चित मापदण्ड पूरा गरेका हुन्छन् । र त्यस्ता मापदण्ड पालना भए नभएको नियमित सरकारी परीक्षण हुने गर्छ । नेपालमा यस्तो व्यवस्था गर्न नसकिने होला र? सरकारी तबरबाट त्यससम्बन्धी व्यवस्था गर्न नसक्नु पीडादायी अवस्था हो ।

तर,  कुनै सहयोगी संस्थाले वा आफ्नो सम्पति बेचेर स्रोत जुटाएका त्यस्ता असंख्य व्यक्ति/संस्थाहरुलाई सकेसम्म सरकारले र नभए समाजले भने पनि सहयोग गर्नै पर्ने होइन र? हरेक त्यस्ता प्रयास पछाडि निहित स्वार्थ देख्नु वा ‘डलर खेती’ नामक बर्को ओढाउनु आफैँमा युक्तिसंगत नहोला । मेरो साथीको ‘मुस्कान होम अफ होप’ले त्यस्तो आरोप खेपेको छ, छैन भन्ने थाहा छैन तथापि केसम्म थाहा छ भने एक्लो हिँड्ने हिम्मत गर्ने हरेकले ‘यसको के स्वार्थ छ?’ भन्ने कटाक्षको सामना गर्नै पर्छ । सायद त्यसैले कहिलेकाहीँ छट्पट हुँदो हो, औडाहा हुँदो हो र सायद मन हलुङ्गो पार्न मलाई फोन गरेको हुँदो हो । 

मैले पनि उसलाई सोधेँ – मैले के गर्न सक्छु मुस्कान छोरीले ’नाइस घर’ नाम राखेकी ‘मुस्कान होम फर होप’का लागि । जीवनको यात्रामा किसुनजी जस्तै एकोहोरो जुधिरहेको हठी योद्धा मेरो सहपाठीले भन्यो – “हेर, पैसाले कहिल्यै पुग्दैन, न तँलाई, न मलाई, न मैले जन्माएकी पृथक क्षमताकी छोरीलाई, न ऊ र ऊजस्ता असंख्य छोराछोरीका लागि मैले जन्माएको संस्थालाई । आजकल मलाई कसैले तँ हिँडेको बाटो, तेरो लगाव, तेरो सिर्जना अनुभूत गर्न चाहन्छु भनिदियो भनेमात्र पनि फुरुंग हुन्छु । म चाहन्छु, तेरो कलमको टुंडोमा बसेछ यो कथा कुनै दिन भने  मेरा यी गन्थन लिपिबद्ध गरेर सहृदयी र सहयात्री हुन रुचाउने समाजसम्म पुर्याइदे । मलाई थाहा छ, तेरो कलममा त्यो तागत छ । ’’ म फोनमा नै मुस्काएँ र भनें – हुन्छ, वाचा भयो ।

म मुस्काउनुको कारण थियो । हिजो जानेर नजानेर रामेशहरुको गीत गाइन्थ्यो “हातमा कलम हुनेहरु कलम लिएर उठ“ भन्दै । आज मुस्कान छोरीले एकपटक कलम लिएर उठ्न बाध्य पारिदिई । उसको बाउ मेरा लागि मेरा आदर्श किसुनजीको पथगामी भएझैंँ लाग्यो । जसरी किसुनजीले हाम्रा लागि हठ गरिरहे, मेरो साथी आफ्नि छोरीसहित पृथक क्षमता हुने हजारौं छोराछोरीका लागि हठी भएर हिँडेको छ । ऊ त हामीजस्तै साधारण मानिस हो, भेट्ने होइन त पृथक क्षमताकी एक छोरीलाई? इच्छा हुने मेरा पाठकहरुले मसँग उसको सम्पर्क पाउनु हुनेछ । हजुरहरुको ओठमा पनि मुस्कान अवश्य आउनेछ । 
मुस्कानको ओज मनोहर हुन्छ, तेजस्वी हुन्छ ।   


 

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, साउन २७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्