site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उच्च शिक्षामा कोरोनाको असर र सुधारको अवसर

अहिले कोरोना महामारीको चपेटाबाट विश्व नै आक्रान्त छ । विश्वका ९८ प्रतिशतभन्दा बढी विद्यार्थी विद्यालय वा क्याम्पस जानबाट वञ्चित छन् ।  युनिसेफको प्रतिवेदनअनुसार अहिले कोभिड–१९ का कारण विश्वमा विद्यालय र विश्वविद्यालय तहमा भर्ना भएका करिब १ अर्ब ५४ करोड विद्यार्थी घरैमा बस्न बाध्य छन् ।  विश्वव्यापी संक्रमणको महामारीका कारण हाम्रो देश पनि असाधारण संकटमा फँसेको छ । यसले देशमा मानवीय क्षतिका साथै आर्थिक, सामाजिक, सांस्कृतिक, औद्योगिक, शैक्षिक सबै क्षेत्रमा हानि गरेको छ । यही अवस्था रहिरहने हो भने आर्थिक स्थितिमा आएको गिरावटले नेपाली जनताले भोकमरी र अभावको सामना गर्नुपर्ने हुनसक्छ । यसको प्रत्यक्ष असर खासगरी गरिब र सीमान्तकृत वर्गका विद्यार्थीको शिक्षामा पर्नेछ । 

यस महामारीबाट देशको अर्थतन्त्रपछि सबैभन्दा बढी असर या मार शैक्षिक क्षेत्रमा परेको छ । ‘लकडाउन’ खुकुलो बनाइएपछि उद्योग व्यवसाय र अन्य क्षेत्रका गतिविधि सामान्य हुँदैगएका छन् । तर, संक्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गएका कारण बन्द भएका विश्वविद्यालय र विद्यालय तहका शैक्षिक गतिविधि कहिलेदेखि सुरु हुने हुन् भन्न सकिँदैन ।

उच्च शिक्षामा भएको क्षति र असर

Prabhu Bank
Agni Group
NIC Asia

देशमा अहिले भर्खरै खुलेको राजश्री जनक र खुला विश्वविद्यालय समेत गरी ११ विश्वविद्यालय र ६ वटा विश्वविद्यालयस्तरका स्वायत्त प्राज्ञिक संस्था छन् । यी सबै संस्था कोभिड – १९ को चपेटामा पर्दा उच्च शिक्षाका करिब ७ लाख विद्यार्थी पठनपाठनबाट प्रभावित भएका छन् । जसअन्तर्गत १३७ आंगिक क्याम्पस, ५०८ सामुदायिक र ७८० निजी क्याम्पस गरी कुल १ हजार ४२५ क्याम्पस रहेका छन् ।

यो सरकार बनेदेखि नै उच्च शिक्षालाई व्यवस्थित गर्नेतिर भन्दा विश्वविद्यालयहरुको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतालाई संकुचन गराउने र उच्च शिक्षामा राजनीतिक हस्तक्षेप बढाउने दिशामा अग्रसर भएको देखिन्छ । सरकारले ल्याउन खोजेको उच्च शिक्षा विधेयकमा राखिएका प्राबधानलाई हेर्दा सरकारको नियत सफा देखिँदैन ।

Global Ime bank

सरकारले महिनौंसम्म ९ विश्वविद्यालयहरुलाई नेतृत्वविहीन अवस्थामा राख्यो । नेपाल संस्कृत, पोखरा, कृषि तथा वनविज्ञान आदि विश्वविद्यालयहरुमा झन्डै एकवर्ष बितिसक्दा पनि  पदाधिकारीहरुको नियुक्ति हुनसकेको छैन । यसरी सरकारको अनपेक्षित उपेक्षा र कोविड –१९ का कारण यी सबै विश्वविद्यालय र मातहतका क्याम्पसमा शैक्षिक, प्राज्ञिक गतिविधि, परीक्षा, अनुगमन, पठनपाठन र अनुसन्धान आदि कार्यक्रमहरु सबै नराम्ररी प्रभावित भएका छन् । समग्रमा उच्च शिक्षाको वातावरण अत्यन्त धुमिल र विकराल समस्याबाट ग्रस्त छ ।

कोरोना महामारीले निम्त्याएको बन्दाबन्दीबाट क्याम्पसहरुको र अनुसन्धान केन्द्रहरुको पठनपाठन मात्र अवरुद्ध भएको छैन, यसबाट शैक्षिक क्यालेन्डरको समेत क्रमभंगता भएको छ । परीक्षाहरु प्रभावित भएका छन् । अनुसन्धानमूलक कार्यहरु प्रभावित भएर नयाँ खोजीका ढोका बन्द भएका छन् । समग्र शिक्षा प्रणाली नै निष्प्रभावी र अनुत्पादक सिद्ध भएको छ । यी तथ्यलाई मात्र आधार मान्ने हो भने पनि नेपालको इतिहासमा कहिल्यै नभएको अकल्पनीय क्षति अहिलेको शैक्षिक जगत्ले बेहोर्नु परेको स्पष्ट छ । सरकारको गति र मतिलाई हेर्दा यो क्षति तत्कालै न्यूनीकरण भइहाल्ने र शैक्षिक गतिविधिहरु सामान्य अवस्थामा फर्किने स्थिति पनि देखिँदैन । 

विद्यार्थीहरुलाई लामो समयसम्म घरमै राखेर सिकाइबाट अलग राख्दा उनीहरुमा अनेक सामाजिक र मनौवैज्ञानिक समस्याहरु आउनसक्छन् । रोजगारीको अवसर गुमाएर आर्थिक स्थिति कमजोर हुनपुगेका बाबुआमाका सन्तानहरु गुणस्तरीय शिक्षाबाट वञ्चित हुनुपर्ने, आर्थिक समस्याका कारण पढाइलाई छोडेर मजदुरीमा लाग्न विवश हुने र अन्य व्यावहारिक जिम्मेवारीले थिचिएर शिक्षाआर्जनबाट विमुख हुनपर्नेजस्ता स्थिति पनि आउन सक्छ । 

कोरोनाजन्य परिस्थितिका कारण समग्र शैक्षिक क्षेत्र प्रभावित भई त्यसबाट १५ औं राष्टिय योजनाको लक्ष्य, दीर्घकालीन सोच र दिगो विकास लक्ष्यमा चित्रण गरिएको शिक्षाको गन्तव्यसमेत प्रभावित भएको छ । यसले विद्यार्थीहरुको शिक्षा पाउने नैसर्गिक अधिकार नै कुण्ठित भई उनीहरुको समग्र हितमा अभूतपूर्व जोखिम सिर्जना भएको छ । यसको प्रत्यक्ष असर उनीहरुको पठनपाठन र शिक्षण सिकाइमा परिरहेको छ । 

विश्वविद्यालयका प्राज्ञिक, शैक्षिक र अनुसन्धानमूलक गतिविधिहरुको अवरोधका कारण उच्च शिक्षाको विकास नै अवरुद्ध भएको छ । विश्वविद्यालयको साधन, स्रोत जुटाउने काम अनुसन्धानको माध्यमबाट गरिने भएकाले अनुसन्धान गतिविधिहरु रोकिँदा त्यसको मारमा समग्र उच्च शिक्षा र छात्रवृत्तिमा भरपर्ने विद्यार्थीहरु परेका छन् ।

हाम्रो संविधानमा समतामूलक समाजको निर्माणका लागि शिक्षामा रहेको विभेदलाई अन्त्य गर्ने अठोट गरिएको भए पनि समाजमा शैक्षिक असमानता र विभेद कायमै रहेको छ । यो अन्तरलाई न्यूनीकरण गर्दै सबैले गुणस्तरीय शिक्षा पाउने वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो । अहिलेको  परिस्थितिमा सुधार ल्याई शैक्षिक गतिविधिहरुलाई सञ्चालन गर्नेतर्फ कदम नबढाउने हो भने यसबाट शैक्षिक असमानताको खाडल झनै बढ्नेछ । 

शैक्षिक सुधारको अवसर 

भन्छन् – आवश्यकता नै आविष्कारको जननी हो । अतः संकटले नै समाधान ल्याउने भएकाले यो अवस्था राज्य र हामी सबैका लागि शिक्षामा आमूलपरिवर्तन गर्ने अवसर पनि हो । यस अवस्थाको सही सदुपयोग गर्ने हो भने उच्च शिक्षालाई व्यवस्थित गर्न र समयानुकूल सुधार गर्न सकिन्छ । 

महामारीले शैक्षिक क्षतिमात्र गरेको छैन शिक्षा क्षेत्रका प्राथमिकता पहिचान गर्न, समयानुकूल शिक्षणप्रणालीमा सुधार गर्न तथा संघियताको अवधारणाअनुसार विद्यालय र विश्वविद्यालयको शैक्षिक ढाँचामा आमूल परिवर्तनका लागि सुवर्ण अवसर पनि दिएको छ । 

अहिले विदेशी शिक्षाभन्दा स्वेदेशी शिक्षालाई प्रोत्साहित गर्ने, सुधार गर्ने र स्तरीय बनाउन राम्रो समय आएको छ । शिक्षण र अनुसन्धानमा सुधार नगरी विश्वविद्यालयहरुले गुणात्मक फड्को मार्न सक्दैनन् । यी सबै कुराको वैज्ञानिक र समयानुकूल व्यवस्थापनमार्फत् शिक्षामा नयाँ फड्को मार्न सकिने सम्भावना पनि छ । 
अन्य देशको तुलनामा हाम्रो देशमा शिक्षाक्षेत्रका लागि विनियोजित रकम न्यून छ । यसबाट राष्ट्रिय लगानी र प्राथमिकतामा समेत पुनर्विचार गर्ने अवसर प्राप्त भएको छ ।

अनुसन्धानमा आधारित शिक्षामा जोड दिन ठूलो अवसर आएको छ । यसको सदुपदयोग गर्दे  विश्वविद्यालयीय शिक्षालाई मूलतः अनुसन्धानमूलक बनाउनुपर्छ । शिक्षालाई सुधार्ने हो भने पाठ्य सामग्रीलाई अनुभवसित जोडेर पठनपाठन गर्ने पद्धतिसँगै विद्यार्थीकेन्द्री पहुँचको विकासमा जोड दिने बेला आएको छ । शिक्षाको ढाँचामा परिवर्तन गरी सीपमा आधारित र व्यावहारिक शिक्षामा जोड दिन विलम्ब गर्नुहुँदैन ।

अब शिक्षण प्रक्रियामा प्रविधिको प्रयोग गर्न विलम्ब गर्नुहुँदैन । शिक्षकविद्यार्थी दुवै समूहलार्ई आधुनिक प्रविधिसित जोड्नु आवश्यक छ । समय परिवेशअनुसार आफूलाई अद्यावधिक गरी शिक्षण सिकाइका वैकल्पिक माध्यमको प्रयोगमार्फत् सिक्न र सिकाउन तयारी अवस्थामा रहनुपर्ने कुराको सकारात्मक सन्देश पनि प्राप्त भएको छ । यी सकारात्मक पक्षतर्फ सरकारले पर्याप्त ध्यान दिई कार्यान्वयनको मार्गचित्र बनाएर अगाडि बढ्न सकेको भए  शिक्षाक्षेत्रमा कायापलट हुनसक्थ्यो । तर, सरकारले यस्तो अवसरको सदुपयोग गर्नेतर्फ चासो नदिएर गम्भीर भूल गरिरहेको छ ।

सरकार कहाँ चुक्यो  र के गर्नुपर्छ ?

समस्या अप्रत्याशित रुपमै आउने हो । कोविड – १९ ले गरेको क्षतिलाई दृष्टिगत गरी सरकारले जोखिम न्यूनीकरणको उपयुक्त रणनीति र कार्ययोजना बनाएर अघि बढ्न नसक्दा शिक्षाक्षेत्र ठूलो मारमा परेको छ । लामो समय बितिसक्दा पनि उच्च र माध्यमिक शिक्षाका लाखौं विद्यार्थी सिकाइ र शिक्षणको अवसरबाट वञ्चित भइरहनु पर्ने स्थिति सुखद होइन । यसको उपयुक्त व्यवस्थापन र कार्ययोजना तयारीका सन्दर्भमा सरकार र हाम्रो शिक्षा प्रणाली चुकेको छ । 

पन्ध्रौं योजनाले गुणस्तरीय शिक्षामार्फत् सिर्जनशील, दक्ष, प्रतिस्पर्धी, उत्पादनशील र परिवर्तनशील मानव स्रोतको विकास गर्ने लक्ष्य लिएको छ । तर, कोरोनाबाट सिर्जित शैक्षिक शिथिलता र सरकारको शासकीय क्षमतालाई प्रयोग गर्ने कमजोर सामथ्र्यका कारण यी लक्ष्यहरु हासिल हुनसक्ने सम्भावना न्यून रहेको छ ।

सरकारद्वारा यस वर्ष प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा विद्युतीय शिक्षण सामग्री उत्पादन गरी अनलाइन शिक्षा प्रदान गर्ने, सूचना प्रविधि प्रयोगशाला र उच्चगतिको इन्टरनेट सुविधा पुर्याइने र दूरशिक्षा विधिमार्फत् नयाँ शैक्षिक सत्रको पठनपाठनलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त भएको छ । तर, सरकारले आफ्नो प्रतिबद्धताअनुसार काम गर्न सकेको छैन । न त विश्वविद्यालयका पठनपाठनलाई सुचारु गर्ने सम्बन्धमा उसको कुनै भरपर्दो दृष्टिकोण छ । समग्र शिक्षाको जिम्मा पाएको शिक्षामन्त्रालय किं कर्तव्य विमूढ भएर बसेको छ ।

अहिलेको समयमा सबैभन्दा ठूलो चिन्ता जीवन रक्षा बनेर आएकाले विद्यार्थीहरुको पठनपाठनलाई कसरी सञ्चालन गर्ने भन्ने विषय चुनौतीपूर्ण छ ।  विद्यार्थी, शिक्षक र अभिभावक सबैमा सुरक्षाको प्रत्याभूति नदिलाएसम्म स्कुल, कलेज र विश्वविद्यालयहरुको पठनपाठन सञ्चालन गर्नसकिने देखिँदैन । तसर्थ कोरोना संक्रमणको जोखिम र स्थितिलाई हेरेर सावधानी र सुरक्षा सतर्कताका साथ चरणबद्धरुपमा क्याम्पसहरु खोल्ने नीति लिनुपर्छ । 

अहिलेको महामारीले विद्यार्थीहरुमा दूरगामी असर पर्ने भएकाले सञ्चालनमा ल्याउन नसकिने  क्याम्पसका विद्यार्थीका लागि शिक्षाको वैकल्पिक विधि पनि प्रयोग गर्नुपर्छ । प्रयोगात्मक विषय भएकाले मेडिकल, इन्जिनियरिङ आदि क्षेत्रको पढाइ अनलाइन विधिबाट मात्र सम्भव नहोला तर अरु विषयहरुका हकमा  विद्यार्थीहरुलाई सिकाइ प्रक्रियामा जोडिराख्न अनलाइन विधि प्रयोग गर्नु अहिलेको बाध्यता हो । तसर्थ, आवश्यकता, सम्भावना र अवस्थाको लेखाजोखा गरी विद्यार्थीहरुको प्रत्यक्ष संलग्नता रहने कक्षा विधि, र दूरशिक्षा विधि दुवैलाई उपयोग गर्नुपर्छ ।

विद्यार्थीहरुको शैक्षिक उपलब्धि एवं स्तर मापन गर्ने साधन नै परीक्षा हो । कोरोनाको प्रभावका कारण विश्वविद्यालयका स्नातक र स्नातकोत्तर तहका विभिन्न परीक्षा गत चैत्रदेखि नै स्थगित छन् । भाद्र पहिलो साताबाट लिने भनिएको त्रिविको परीक्षा पनि कोरोना संक्रमित बढेको र सहरी क्षेत्रमा संक्रमणको जोखिम बढ्नसक्ने भन्दै स्थगित भएपछि विद्यार्थीहरु थप अन्योलमा परेका छन् । 

परीक्षाले सिकाइको गुणस्तर मापन गर्ने भएकाले यसको विकल्प खोज्नु हुँदैन । बरु, अहिलेको प्रविधिलाई उपयोग गरेर परीक्षा र मूल्यांकनका वैकल्पिक विधि अपनाउनुपर्छ । विद्यार्थीहरुको शैक्षिक सत्र कुनै पनि मूल्यमा सार्नु हुँदैन । बरु सघन (संक्षिप्त) पाठ्रयक्रम बनाएर पढाउने व्यवस्था गर्नुपर्छ र आवश्यकताअनुसार पूरक पढाइमा जोड दिनुपर्छ । विश्वविद्यालयमा अनावश्यक हस्तक्षेप बढाउने कार्यलाई रोक्नुपर्छ र रिक्त भएका विश्वविद्यालयमा अविलम्ब पदाधिकारीको नियुक्ति गरी उच्च शिक्षामा रहेको अन्योल अन्त्य गर्नुपर्छ । सरकारले शिक्षामा नयाँ रणनीति र योजना बनाएमात्र वर्तमान समस्याको दीर्घकालीन समाधान भेटिनसक्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC