site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एक्काइसौं शताब्दीमा पनि नेपाली समाजमा बोक्सीलगायतका अन्धविश्वास कायमै छ । समाजमा व्याप्त अन्धविश्वासले बेलाबखत भयावह रूप लिने गर्छ । कञ्चनपुरको बेलौरी मारिएका दम्पतीलाई बोक्सीको शंकामा मारिएको सन्देह प्रहरीले गरेको छ । गत शुक्रवार मृतक दम्पतीमाथि सांघातिक हमला गरिएको र उपचारका क्रममा मृत्यु भएको थियो । हत्यामा संलग्न रहेको सन्देहमा मृतकका छिमेकीसहित झाँक्री काम गर्ने व्यक्तिलाई पनि प्रहरीले पक्रेको छ । यस्तै पोखराको लामाचौरमा ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ सञ्चालन गरी कोरोना भगाउने दाबी गर्दैआएका एक जनाको कोभिड – १९ को संक्रमणबाट मृत्यु भएको छ । उनले धर्मका नाममा भिड जम्मा गरेर आफ्नो सम्प्रदायका अनुयायीलाई कोभिड–१९ को संक्रमण नहुने दाबी गर्दै आएका रहेछन् । 

बेलौरीको घटनामा अन्धविश्वासी छिमेकीले झाँक्रीलाई पैसा दिएर दम्पतीको हत्या गर्न लगाएको अनुमान प्रहरीको छ । लामाचौरका अन्धविश्वासी भने आफैँ अन्धविश्वासको सिकार भएको देखिन्छ । प्रार्थना गरेर कोरोना भगाउने अन्धविश्वासमा भिड बटुल्टा अन्ततः भाइरसकै संक्रमणबाट उनको ज्यान गयो । यस्तै, भ्रम फैलाउने एक जनालाई पोखराबाट प्रहरीले केही महिना पहिले पक्राउ गरेको थियो । कसैलाई बोक्सीको आरोप लगाएर हत्या, दुव्र्यवहार र हिंसा गर्ने कुचलन नेपालको लगभग सबैतिर पाइन्छ । प्रायः गरिब, बूढापाका, एकल महिला आदिमाथि बोक्सीको आरोप लगाइन्छ । सम्पन्न व्यक्तिमाथि बोक्सीको आरोप लाग्ने र त्यही निहुँमा आक्रमण गर्ने गरेको बिरलै देखिन्छ । अर्थात्, अन्धविश्वास कमजोर वर्गलाई बढी सताउने व्याधि बन्न पुगेको छ । 

बेलौरी र लामाटारका घटनाको सन्देश एउटै हो – अझै पनि नेपाली समाजमा अन्धविश्वासको जरा गहिरोसँग गाडिएको छ । जनताका यावत् कष्टहरूप्रति उदासीन रहेर अयोध्या र रामजन्मभूमि जस्ता पौराणिक कथाको ऐतिहासिकता खोज्न प्राथमिकता दिने प्रधानमन्त्री भएको देशमा समाजको तल्लो र भित्री पत्रमा रहेकाहरू अन्धविश्वासको सिकार हुनु सायद उति अनौठो पनि होइन । तर, एक्काइसौं शताब्दीमा पनि समाजमा यस्तो अन्धविश्वास रहिरहनु भने सिंगो देश नै मध्ययुगमै रहेको प्रमाण हो । यस्ता अन्धविश्वास अपेक्षाकृत पिछडिएको समुदायमा बढी व्याप्त छ । त्यसैले कोभिड–१९ कै नियन्त्रणका क्रममा जनचेतना जगाउने सामग्रीमा पनि यस्ता अन्धविश्वासविरुद्ध चेतना फैलाउने विषय समावेश गर्नुपर्ने देखिन्छ । बोक्सीको आरोपमा हत्या, हिंसा, दुव्र्यवहार हुने वा कुनै धर्मका नाममा समाजमा हानिकारक भ्रम फैलाउने प्रवृत्ति रोक्न तीनै तहका सरकार सजग र क्रियाशील होऊन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC