site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जिम्मेवार बन्ने कि समाप्त हुने ?

धेरै महिना भयो तर विश्व अर्थतन्त्र कोभिड–१९ महाव्याधिको सन्त्रासमा अल्झी नै रहेको छ । विश्व युद्धपछिको विकसित प्रविधिले डो¥याएको हाम्रो समाजले यस्तो भयंकर अनुभव यसअघि कहिल्यै गर्नुपरेको थिएन । 

के अब कोभिडको दोस्रो लहर र अरु कैयौं लहरहरूको शृंखला चल्ला त ? यो अत्यासलाग्दो प्रश्नले अहिले संसारकै नाकमुख सुकाएको छ । अझ नीति निर्माता तथा राष्ट्रिय राजनीतिक नेतृत्वलाई त झनै बढी अत्याएको छ । तर, उत्तर कसैलाई थाहा छैन । अत्यन्त उच्च प्रविधियुक्त र विश्वव्यापी आपूर्ति संजालका माध्यमले आपसमा जोडिएको विश्व बजारलाई आँखाले पनि देख्न नसकिने भाइरसले घुँडा टेकाएको छ । 

यसरी विश्व बजारमा अचानक ‘ब्रेक’ लागेको विषयलाई साधारण तवरमा केही अनुमान गर्नु गलत हुनसक्छ । अहिलेको जरुरत भनेको कोभिड–१९ को महाव्याधिसँग लड्नु नै हो । यो महाव्याधिले आर्थिक तथा सामाजिक दृष्टिमा अर्बौं जनसंख्यालाई प्रभावित पारेको छ र यसले आर्थिक एवं राजनीतिक शक्ति रुपान्तरणको गतिलाई तीव्रता दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सहजै अनुमान गर्न सकिन्छ यो समस्याको प्रभाव निकै लामो रहनेछ आउँदो केही महिना वा वर्षभन्दा पछिसम्म । भविष्यका इतिहासकार सन् २०२०को समीक्षा गर्दा ऐतिहासिक रुपान्तरणको आरम्भ बिन्दुका रुपमा चित्रण गर्नेछन् भनेर अनुमान गर्नु अतिशयोक्ति नहोला । यो समय भनेको अहिलेसम्म अवलम्बन गरिएको आर्थिक व्यवस्था र प्रकृतिसँगको हाम्रो असंगत व्यवहार मनन गर्दै अब उप्रान्त सशक्तरुपमा दिगो विकासको बाटोमा हिँड्ने प्रण गरेर अघि बढ्ने समय हुनेछ । 

यस्तो भएमा कोरोना भाइरसलाई एउटा जागरणकारी घटनाको रुपमा पनि चित्रण गर्न सकिनेछ । तर, आवश्यक रुपान्तरण गर्न चुक्याँ भने सन् २०२० मानव जातिको विनाशको शुरुआतका रुपमा अंकित हुनेछ ।

Global Ime bank

एउटा कुरो अहिलेनै निश्चित छ : यस संकटले मानव विकासका सन्दर्भमा हाम्रा मूर्खतापूर्ण सोचलाई थप अघि बढ्न दिनेछैन । धेरै लामो समयसम्म हाम्रो सोच एकोहोरो आर्थिक विकासले अनायासै पारेको दुष्प्रभावको उपचार भनेकै थप आर्थिक वृद्धि हो भन्ने थियो । टड्कारो प्रभाव र वैज्ञानिकले दिएको चेतावनीका विपरीत हामी प्रकृतिलाई नियन्त्रण गर्न सफल भयौँ भन्नेमा ढुक्क थियौँ । मानव जाति त ब्रम्हाण्डमा उपनिवेश फैलाउने सपना बुन्दै थियो । तर, सत्य चाहिँ के हो भने हाम्रो शक्तिको एउटा सीमा छ जुन हाम्रो चाहनाको क्षितिजसम्म मात्र फैलिएको छ । त्यसभन्दा परका सबै विषय हाम्रो ज्ञानको दायरामा अझै छैनन् ।

कोभिड–१९ संकटको तात्कालिक पाठ भनेको मानव समाजका लागि गहिरो जिम्मेवारी बोध हुनुपर्ने आवश्यकता नै हो । हामीमध्ये धेरैले आत्मपरक ढंगमा यो विषय मनन गरिरहेका छौँ । तर, प्रश्न चाहि के हामी सामूहिक ढंगले कार्य गरेर आफूले चाहेको परिवर्तन ल्याउन सक्छौँ भन्ने नै हो । 

यो संसारमा ७ अर्ब ७० करोड व्यक्ति बसोबास गर्छन् र यो संख्या २०५० सम्ममा ९ अर्ब ७० करोड पुग्ने अनुमान गरिएको छ । भौतिक वस्तुप्रतिको हाम्रो अतृप्त माग बढ्दै नै जाने देखिन्छ । यसरी अघि बढ्दा प्रकृतिले पुनःउत्पादन गर्नसक्ने क्षमताभन्दा हाम्रो माग निकै बढी हुनेछ । यो सत्यले एउटा भूगर्भीय काल निम्त्याएको छ जसलाई अंग्रेजीमा ‘एन्थ्रोपोसिन’ भनिन्छ । राम्रो वा नराम्रो जे भने पनि मानव जाति यस्तो अवस्थामा पुगेको छ जहाँ हाम्रा क्रियाकलापले संसारका सबै प्राणीलाई असर पर्छ । अर्थात् सम्पूर्ण जीवात्माको भविष्य मानवको क्रियाकलापमा निर्धारित छ । 

यस्तो अद्वितीय शक्तिसँगै जिम्मेवारी पनि अद्वितीय नै हुन्छ । औद्योगिक क्रान्ति अघिको समयसम्म मानव जातिले गरेको कुनैपनि क्रियाकलापले प्रकृतिलाइ खासै असर पार्दैन थियो । तर, अब मानव क्रियाकलापले प्रकृतिमा विषम र व्यापक प्रभाव पार्न थालेको छ । जनसंख्या वृद्धि तथा प्रविधिको विकासले बढाएको अति उपभोगले प्राकृतिक संशाधनमा ठूलो ह्रास आयो । प्रकृतिमा ह्रास आउने कुरा पहिलेका पुस्ताले सोच्नसमेत सकेका थिएनन् । यस्तो अनियन्त्रित विकासका कारण भएको उत्सर्जनले वातावरणको तापक्रम सोच्नै नसिकने गतिमा बढायो ।

अबको अवस्था भनेको मानव जातिले गल्ती बोध गर्दै जिम्मेवारीपूर्णरुपमा रुपान्तरणका लागि आँट गरेर दूरदृष्टिको सोचसहित अघि बढ्ने वा संसारको अन्त्यका लागि आँखा खुल्ला राखेर यमराजको वाहनको प्रतीक्षा गर्नेमात्र हो । कोभिड–१९को रुपमा यमराजको वाहनको एउटा खुट्टाको अवतरण भइसकेको छ । 

यस्तो अप्ठेरो चुनाव गर्नुपर्ने अवस्थामा सबैको मनमा धेरै प्रश्न हुन सक्छन् । अब आर्टिफिसियल इन्टलिजेन्स (कृत्रिम विद्वता) वा क्वान्टम कम्प्युटर के प्रयोजनका लागि हुन् ? अझै पनि धेरैजना अत्यन्त परिष्कृत हतियार बनाउन वा उपभोक्ताका लागि सहज हुने नवीनतम एप्स बनाउन लागिपरेका छन् । तर, हामीलाई यस्तो परिष्कृत प्रणाली विश्लेषणका तरिका चाहिएका छन् जसले जनस्वास्थ्य सुधारमा परिवर्तन ल्याओस्, वातावरण संरक्षण गरोस् र बाँच्न योग्य अवस्था सिर्जना गरोस् । 

मानव जातिको पेट भर्न भविष्यमा वनस्पतिको संरक्षण गर्नुको विकल्प छैन । अहिले जसरी प्राणी र वनस्पतिका प्रजाति द्रूततर गतिमा लुप्त भएर गइरहेका छन् त्यसका आधारमा हामी यो आधारभूत जिम्मेवारीका सन्दर्भमा कुनै भ्रममा बस्न हुँदैन । अहिलेको महाव्याधिले धेरैलाई विज्ञानले के भन्छ भन्ने विषयमा निकै सचेत गराए पनि वातावरण परिवर्तनका खतरनाक परिणामका बारेमा भने अझै धेरैले स्वीकार गर्नसकेका छैनन् । 

अबको महान रुपान्तरणको नेतृत्व लिने जिम्मेवारी अवश्यै पनि सबैभन्दा विकसित अर्थतन्त्रहरूकै हुन्छ । किनभने उनीहरूसँगै क्षमता तथा स्रोत छ । यीमध्ये पनि विशेषतः पश्चिमा लोकतन्त्रले आफूले सम्बद्र्धन गर्ने स्वतन्त्रताका सन्दर्भमा निकै गंभीर हुन जरुरी देखिएको छ । 

स्वतन्त्रता तथा लोकतन्त्र आपसमा निकट हुन्छन् । जसलाई स्वतन्त्रताको चाह हुन्छ उसले आफ्नो जिम्मेवारीबाट हट्नु भनेको आफ्नै चाहनाविपरीत कार्य गर्नु हो । कोभिड–१९ ले यस विषयलाई सहज बनाइदिएको छ । बन्दाबन्दी (लकडाउन) र अरु नियन्त्रणबाट बच्ने हो भने पहिला वातावरण संरक्षणको जिम्मेवारी निभाऔँ ।

यो संकटको अर्को एउटा थप नतिजा आएको छ जस्लाई बेवास्ता गर्नै सकिँदैन । अहिले संयुक्त राज्य अमेरिका र चीन विश्वको नेतृत्व लिने विषयमा प्रतिस्पर्धा गर्दैछन् । तर भोलिको संसार कस्तो होला ? अब विगतमा झैँ सैनिक सर्वोच्चतालाई नै शक्तिको एकमात्र मापक मानिएला त ? कि अब एकदमै नयाँ र आधारभूतरुपमै फरक विषय शक्तिको स्रोत मानिएला ? के अब पहिले मानिआएको शक्तिको स्रोतले संसारलाई एक बनाएर राख्न सक्ला त ? 

युरोपका लागि एक अद्वितीय अवसर त आएको छ तर यसले शक्तिराष्ट्रको प्रतिस्पर्धामा जानु हुँदैन । बरु, यसले मानवताका लागि जरुरी देखिएको सामूहिक जिम्मेवारी बहन गर्ने आँट देखाएर उदाहरण बन्ने कोसिस गर्नुपर्छ ।

(जर्मनीका पूर्व विदेशमन्त्री तथा भाइसचान्सलर)

Copyright: Project Syndicate, 2020.
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC