site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
त्यो शुक्रबारे ‘लकडाउन’
Sarbottam CementSarbottam Cement

आँपको महिना भएकाले पूजाको प्रसाद खाएका अल्लारे केटाहरूले काँचो आँपमा दाँत गाड्ने पो हुन् कि । डर थियो नै । त्यसैले नै भर्‍याङमाथि घोप्टे लगाइएको थियो ।
राजेश खनाल 

लकडाउन हुनुभन्दा दुई दिनअघि बबरमहलमा कोटेश्वरतिर जाने नेपाल यातायात कुरेर बसेको थिएँ । अब आउला बस, तब आउला बस, तर बसको अत्तोपत्तो थिएन । 

बस कुर्दै निकैबेर सडकपेटीमै समय बित्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना कहरको फैलावटले धेरै कुरा खुम्चिँदै गइरहेको थियो । सडकमा गुड्ने गाडीको संख्या ह्वात्तै खुम्चिसकेको थियो । त्यसैको परिणाम भोग्दै थिएँ, सडकमा एक्लो उभिएर । 

सडकमा एक्लै ! छेउछाउ अरू कोही थिएनन् । यस्तो बेला दिउँसै पनि अत्यास लाग्दो रहेछ ! पहिलोपटक अनुभव गर्दै थिएँ ! 

Global Ime bank

घर फर्किनलाई बस बिसौनीमा बीस मिनेट÷आधा घण्टा कुनुपर्नेमा एक घण्टाको समय लिन थालिसकेको थियो, बसले । बसको संख्या खुम्चिएकै कारण कुर्ने समय फराकिलो हुँदै गएको थियो ।

त्यसैले पनि समय काट्न कठिन भइरहेको थियो । बस कतिबेला आउने हो, ठेगान थिएन । त्यही रनहामा एकजना गफाडी दाइलाई फोन लगाएँ । उनीसँग केही समय गफै गरेर बिताउनैका लागि पनि फोन लगाएको थिएँ ।

रिङब्याक टोनमा लोकलहरी घन्किन थाल्यो । केहीबेर लोकगीत सुनेँ । उनले जानेरै गीत सुनाउन फोन नउठाएजस्तो लाग्यो । गीत निभ्ने बेला बल्ल फोन उठ्यो ।

“हलो ?”

“म राजेश बोल्दै छु ।”

“के छ केटा ? के गर्दै हो ? घरैमा त होलाऊ नि ? कि बाहिर निस्किएका छौ ?”

चारवटा प्रश्न लगातार ममाथि बर्सिए । यसो रमाइलो गफगाफ गरुँला र केही समय बिताउँला भनेर फोन गरेको, अन्तर्वार्ता दिन बसेजस्तो महसुस भयो ।

भनेँ, “म बाहिरै छु । कोठा फर्किनलाई गाडी रुँगेर बसेको ।”

“ओहो ! यो त भएन है । बुझेर पनि बाहिर निस्किदिने, तिम’रु ? अब त बाहिर निस्कनै हुँदैन । यो कोरोनादेखि सबैले सतर्क रहनुपर्छ ।” 

उताबाट फेरि उपदेश वचनको वर्षा भयो । म केहीबेर कुराकानी गरेरै रमाइलो गर्ने मुडमा थिएँ । मेरा सारा मुड स्खलित भए । अब के गर्ने ? कसरी कुरो मोड्ने ? हैन भने फोन राख्नुको विकल्प थिएन । 

हुनत ती दाइका कुरा पनि नाजायज थिएनन् । आफ्ना भाइ सरहकालाई उनले त्यति भन्नु हक पनि त हुन्थ्यो । त्यसैले मैले उनको कुरालाई ‘हुनत हो’ भन्दै आफू जरुरी कामले गर्दा थापागाउँसम्म आउनुपरेको प्रस्टीकरण दिएँ । 

त्यसपछि मात्रै उनीसँग यस्तै १०/१२ मिनेट गफिएँ । त्यतिन्जेलसम्म पनि बसको अत्तोपत्तो थिएन । बबरमहलको चारैलेन सडकमा दुईचार जना मिलेर डन्डी–बियो खेले हुनेखालको सन्नाटा थियो !

निकै बेरपछि मात्रै बस आयो । लगभग खाली । शनिबार पनि सिट नपाइने बसमा यात्रु नाइँका बराबर थिए । प्रायः सबै सिट खाली थियो । साँच्चै कोरोनाले कहरै मच्चाउने हो कि ? सिट देखेर मन त्रसित भयो । 

घर फर्किएँ । भोलिपल्टदेखि बस चल्न बन्द भयो । तेस्रो दिनदेखि त सबैसबै नौलो लाग्न थाल्यो !

चैत ११ देखि सरकारले नै घरभित्र बस्नू, बाहिर ननिस्किनू भनेर उर्दी जारी गर्‍यो । कहिले नभोगिएको लकडाउन जीवनमा पहिलोपटक भोग्दै थिए, सबै नेपाली । नेपाली मात्रै होइन, विश्वका धेरै जनता लकडाउन अर्थात् बन्दाबन्दी भोग्दै थिए । 

त्यसपछिको लामो समय घर, कोठा, कम्पाउन्डमै बित्यो । यदाकदा चोकतिर र नजिकै बस्नु हुने कान्छो मामा कहाँ जानुबाहेक ।

साता दुई सातापछि हठात् मलाई सम्झना भयो मेरो मावल गाउँमा बस्दाको एउटा प्रसंग । सायद त्यो हामी आठजनाको जीवनको पहिलो लकडाउन थियो ! जुन घटना परिवेश मेरो दिमागमा बारम्बार आइरह्यो, लकडाउनको यो अवधिभर । अनि मलाई हसाइरह्यो ।

४०/४२ वर्षअघि । हामी सबैको उमेर यस्तै १३/१४ वर्षको हुँदो होे । अल्लारे उमेर । नगर् भनेको कुरा बढी गर्नुपर्ने । त्यो स्वाभाविक पनि थियो । कसैलाई टेर्ने कुरै थिएन । अटेरी नम्बर एक थिए हाम्रा समवयी । 
गृष्म ऋतु । वैशाख–जेठको महिना । उखरमाउलो गर्मी । पसिनाले भिजेको कमिज सुकाउने राप ! बिजुली बत्ती थिएन । गाउँमा बिजुली पुगेकै थिएन । हावा चल्यो भने ठन्डा भयो । हैन भने आँपको बगैंचामा पुगेर शीतल छायाँ खोज्नुपर्थ्यो । स्कुल नभएको दिन बगैंचामै बित्थ्यो अधिकांश समय ।

गाउँमा बेलाबखत हुने तिथि–श्राद्ध, पूजापाठ अस्वाभाविक होइन । त्यसैबेला शुक्रबारका दिन सन्तोषीमाताको व्रत लिने प्रचलनले व्यापकता पाएको थियो । गाउँमा कसै न कसैको शुक्रबारका दिन व्रत हुन्थ्यो नै ।

त्यही वैशाख–जेठकै रापिलो तर आँपिलो मौसममा एकजना माइजूले शुक्रबारे व्रतको उद्यापन गर्ने हुनुभयो । हामी आठजना कुमार छौंडाहरूले उद्यापनका लागि निम्तो पायौं । चाडपर्व, तिथि–श्राद्धमा निम्तो पाउँदा हाम्रो खुसीले सीमा नाघ्थ्यो । पयर भुइँमा हुन्थेनन् ।

कारण, त्यस्तो पूजाआजाका समयमा दरदक्षिणा पाइन्थ्यो । दक्षिणामा आएको अलिअलि दाम जोडेरै सीमावर्ती भारतीय बजार जयनगर पुगेर सिनेमा हेरिन्थ्यो । मन लागेको खानेकुरा खाइन्थ्यो । यात्रामा पैसा पर्थेन । साधन हुन्थ्यो, साइकल ।

त्यसैले यो निम्तो पाउँदा पनि हामी दंग पर्यौं । र बिहान ८/९ बजेतिरै पूजाघर पुग्यौं । पूजाको रमाइलो हेर्नु थियो नै । मीठोमीठो खानपानले हामी आठै जनालाई राजा बनाएको थियो ।

पूजापाठ सक्याएर खानपिन गर्दै दिउँसोको १२/१ बजेको थियो होला । खाइसकेपछि ‘तिमे’रु माथि बार्दलीमा बस्दै गर’ भन्नुभयो माइजूले । हामी अष्ठमूर्ति काठेघरको माथ्लो तलाको बार्दलीमा थकाइ मार्न लहरै लड्यौं । र केही बेरपछि आँपगाछी (बगैंचा) मा गएर दिन बिताउने योजना बनाउन थाल्यौं ।

त्यसैबेला सायद कसैले बार्दलीको घोप्टे तानेर चुकुल लगाइदिए । हामी आठ केटाको आँप गाछीमा गएर उछलकुद गर्ने योजनामा ह्वालह्वाल्ती पानी पोखियो । त्यहाँबाट उम्किने कुनै उपाय नै थिएन ।

सन्तोषी माताको व्रतमा अमिलो वर्जित छ । अमिलो खान हुँदैन । आँपको महिना भएकाले पूजाको प्रसाद खाएका अल्लारे केटाहरूले काँचो आँपमा दाँत गाड्ने पो हुन् कि । डर थियो नै । त्यसैले नै भ¥याङमाथि घोप्टे लगाइएको थियो । 

त्यसबेला कोरोनाभन्दा डरलाग्दो थियो आँपका दानाहरू । त्यसैले पनि होला, यता आँपको बगैंचामा गएर गाछीमुनि बसेर रमाइलो गर्ने योजना बनाइरहेका हामी केटाहरू अचानक ‘लकडाउन’मा परेका थियौं । 

त्यो दिन साँझ ७ बजेतिर मात्रै हामीमाथिको अप्रत्यासित ‘लकडाउन’ हटेको थियो । त्यसपछि मात्रै सबै केटाहरू गुरुरुरुरुरु आ–आफ्नो घरतिर दगुर्न पाएका थिए । 


चैत ११ गतेपछि लकडाउनका दिनमा त्यो प्रसंग खुबै सम्झिएँ । चालीस वर्षअघिको त्यो घटना ‘लकडाउन’ नै त थिएन । तर सरकारी लकडाउनमा बसिरहँदा ‘लकडाउन’ त्यो पनि थियो, मस्तिष्कले सम्झाइरहेको थियो ।

लकडाउनमा घर बसिरहँदा त्यस दिनको शुक्रबारी मात्रै सम्झना भएन, काँचै खाँदा पनि मज्जा आउने चौरिया, कृष्णभोग, श्रीधन, बम्बई आँप पनि खुब सम्झिएँ ।

शुक्रबारी पूजाका दिन आँप गाछीमा गए पनि सायद आँप खाइन्थेन । अमिलो खान हुन्न भन्ने हामी सबैलाई थाहा थियो । तर झुक्किन्छन् कि केटाहरू । टोकी पो हाल्छन् कि, आँपका टिकोला । त्यो डर जिउँदै थियो । किनभने अल्लारे केटाहरूको भर त थिएन ।

आज त्यो अमिलो आँप टोक्नुभन्दा पनि डरलाग्दो परिस्थिति छ, बाहिर । चार महिना लामो लकडाउन खुलिसकेको छ । लकडाउन हुनु दुई दिनअघिको सडक आज सपना भएको छ । अचेल बबरमहलको त्यही ठाउँमा दह्रो जाम देखिँदै छ, जुन ठाउँमा डन्डीबियो खेल्न सकिन्थ्यो, चार महिनाअघि !

म सम्झिँदै छु त्यो दिन । र लाग्दै छ, घोप्टे लाउनु यतिबेला पो जरुरी भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC