काठमाडौं । पछिल्लो समय घरमै बसेर रोजीरोजी चलचित्र हेर्ने अवसर विभिन्न एपहरुले उपलब्ध गरिदिएको छ । अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय यी एपहरुमा नेपाली चलचित्र भने उपलब्ध छैनन् ।
न त युट्युबमै उपलब्ध छन् । अब नेपाली चलचित्रप्रेमीले हलमा हेर्न छुटाएका चलचित्रहरु रिलिज भएको केही समयमै आफ्नै घरघरमा बसेर हेर्न पाइने भएको छ । ‘दामी म्युजिक’ एपले आजबाट हरेक साता नयाँ-नयाँ नेपाली चलचित्र दर्शकका लागि ल्याउने भएको छ ।
सुरुवात स्वरुप आजबाट एकैसाथ लकडाउनअगाडि मात्रै रिलिज भएका ४ नयाँ नेपाली चलचित्र आफ्नो एपमा उपलब्ध गराइसकेको छ । ‘दामी म्युजिक’ एपमा ‘सेल्फी किङ’, ‘घामड शेरे’, ‘हजार जुनीसम्म’ र ‘शुभ लभ’ एकैसाथ उपलब्ध भएका छन् ।
योसँगै अबदेखि हरेक साता एक-एकवटा नयाँ नेपाली चलचित्र उपलब्ध हुने पनि सञ्चालकमध्येका एक सुदीप पोखरेलले जानकारी दिए । साथै यस एपमा चलचित्र हेर्न दर्शकले ७५ रुपैयाँ मात्रै तिरेर हेर्न सकिने पनि उनले बताए ।
एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध एस एपमा चलचित्र हेर्न दर्शकले ईसेवा, खल्ती, आईएमई पे र एनटीसीमध्ये जुनसुकै डिजिटल पेमार्फत पैसा तिरेर हेर्न सकिन्छ । सुदीप पोखरेल, रोशन श्रेष्ठ, राजकुमार श्रेष्ठ र नवराज अर्यालले संयुक्त रुपमा बनाएको यस एपबाट यसअघि म्युजिक, पोडकास्ट र अनलाइन रेडियोको सेवा प्रदान गर्दै आइरहेको थियो ।