site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार कोभिड–१९ को महामारीका कारण २०७६ साल चैत ११ गते बन्दाबन्दी गरिएपछि नेपालका नौ लाख प्रतिष्ठानमा काम गर्ने ३४ लाख कर्मचारीमध्ये २२.५ प्रतिशत अर्थात् करिब ७ लाख ६५ हजार कामदारले रोजगारी गुमाएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनले भने १५ देखि २० लाख श्रमिकले रोजगारी गुमाउन सक्ने प्रक्षेपण गरेको थियो । राष्ट्रबैकको अध्ययनमा बन्दाबन्दीका कारण बेरोजगारी बनेका अनौपचारिक क्षेत्रका मजदूर र स्वरोजगारहरूको संख्या समावेश नभएको हुनसक्छ  । दैनिक ज्याला गरेर परिवार पाल्नेहरूको ठूलो संख्या पनि थपिन्छ । यसैले कोभिड–१९ को महामारीको प्रभावका सम्बन्धमा चर्चा गर्दा यो मौन बहुमतलाई पनि सम्झनुपर्छ । विडम्बना, महामारी रोक्न बन्दाबन्दी गर्ने सरकारले यस कोटीमा पर्नेहरूको गुजाराका लागि भने खासै चासो लिएको देखिएन । 

हुनत, न महामारी सरकारले ल्याएको हो न रहरले बन्दाबन्दी लागू गरेको हो । यस्तै, विज्ञहरूका सल्लाह सुनेको र चिकित्सा सामग्री खरिदमा भ्रष्टाचारको बदनियत नगरेको भए महामारीको प्रकोप नियन्त्रण गर्न सरकार अपेक्षाकृत सफल पनि हुनेथियो । अर्थात्, अहिले गरेकै खर्चमा थप उपलब्धि हुनसक्थ्यो । तर, महामारी लाग्नै नदिन सरकारले सक्थ्यो भन्नु मूर्खता हुन्छ । यसैगरी २०७६ सालको चैत ११ देखि २०७७ साउन ६ गतेसम्मको चार महिना लामो बन्दाबन्दीले पटक्कै संक्रमण नियन्त्रण गरेन भन्नु पनि न्यायोचित हुँदैन । यद्यपि, बन्दाबन्दीको राम्ररी व्यवस्थापन गरिएको भए सम्भवतः खुकुलो बनाउने बेलासम्म संक्रमणको जोखिम धेरै कम र परीक्षण तथा उपचार प्रभावकारी हुनेथियो । तैपनि, परीक्षणको सुविधा चैत ११ का तुलनामा धेरै बढेको छ र सरकार महामारीसम्बन्धी सबै प्रकारको चुनौतीका लागि तयार देखिएको छ । यसका लागि सम्बन्धित सबै धन्यवादका पात्र भएका छन् ।

Agni Group

महामारीको डर र व्यवस्थापनको ध्याउन्नमा दिनहुँ श्रम गरेर गुजारा चलाउनेदेखि गैरसरकारी औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्नेहरूका समस्या भने ओझेलमा परेको देखियो । यिनको हकमा न राज्यले न सञ्चारकर्मीले नै खासै चासो राखे । सरकारी कर्मचारीहरूको तलबको चिन्ता भएन । तर, संगठित क्षेत्रकै मजदुरहरूले यसबीच या त जागिर गुमाएका छन् नभए उनीहरूको पारिश्रमिक कटौती गरिएको छ । स्थानीय तहले बन्दाबन्दीको सुरुतिर वितरण गरेको सहयोग पनि सामान्यतः यस समूहले पाएन । पाएकै भए पनि त्यो लगभग अर्थहीन थियो । असंगठित क्षेत्रका मजदुरको त कामै बन्द भयो । सहरी क्षेत्रका घरेलु कामदारसमेतले रोजगारी गुमाएका छन् । बन्दाबन्दी खुलेपछि पुरानो काममा लाग्ने आशा जागेकै बेला संक्रमणको सन्त्रास बढ्यो । यिनले जोगाएर राखेको केही थियो नै भने पनि चार महिनामा समाप्त भइसकेको हुनुपर्छ । अब रोजगारी नपाउने हो भने संक्रमणबाट भन्दा भोकले मर्नेहरूको संख्या धेरै हुनसक्छ ।

राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत् ठूला उद्यमी व्यापारीलाई सुविधा दिएको छ । देशको अर्थतन्त्र जोगाउन यस्तो सुविधा आवश्यक पनि थियो । राज्यले कर्तव्य पूरा गरेको देखियो । श्रमिकहरूको जीवन जोगाउनु पनि राज्यको कर्तव्य हो । यिनीहरूमध्ये धेरैले आफ्नो परिवारलाई आफ्नै परिश्रमले गरिबीको दुश्चक्रबाट बाहिर निकालेका थिए । सन्तानलाई राम्रो शिक्षा दिने प्रयास गर्दैथिए । सरकारका गरिबी निवारणका सबैजसो कार्यक्रम नराम्ररी विफल हुँदा पनि गरिबीको रेखामुनिको जनसंख्या उल्लेख्यरूपमा घट्नुमा यिनको कठिन परिश्रम नै मुख्य कारक हो । तर, अहिले यही समूह बिलखबन्दमा परेको छ । स्थिति सहज भए केही महिनामा यो परिश्रमी समूहको जिन्दगी लयमा फर्कने थियो । यसैले सरकारले यिनको आवश्यकतालाई सम्बोधन गर्ने उपाय खोजोस् । नत्र, यिनले स्वर्गीय कवि गोकुल जोशीका पंक्तिहरू ‘‘भोकभोकै मर्न लागे कविकलाकार । तड्पाएर नमारिदेऊ झुन्ड्याएर मार ।’’ मा केही शब्द हेरफेर गरेर भन्नेछन् – ‘‘भोकभोकै मर्न लागे श्रमिकमजदुर । तड्पाएर नमारिदेऊ झुन्ड्याएर मार ।’’ 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC