म एक विद्यार्थी । चैत्रमा परीक्षा दिन तयार भएर बसेको थिएँ परीक्षाको दुई दिनअघि ‘लकडाउन’ सुरु भयो । दुई जना संक्रमित थिए त्यतिबेला । चार महिना बितिसक्यो । अहिले परिस्थिति झन् बिग्रेको छ । देशभित्र प्रमाणित कोरोना संक्रमितमात्र करिब २१ हजार छन् । कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५९ पुगिसक्यो । अरू कति संक्रमित होलान् ? सम्झिँदा झसँग हुन्छु ।
लकडाउन खुल्यो । त्यसपछि कसले अधिकतम सूचना निकाल्ने भनेर सरकार र त्रिभुवन विश्वविद्यालयबीच एउटा प्रतियोगिता चलिरहेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा हुन्छ भन्छ तर सरकार न यातायात सञ्चालन गर्न दिन्छ न त एक जिल्लाबाट अर्को जिल्लामा सजिलै आउन जान दिन्छ । मलाई घोकन्ते विद्यामा आधारित भएर परीक्षा दिन मेरो घोक्ने सामग्री अर्थात् पुस्तकसम्म पहुँच हुने वातावरण कहिले मिलाइदिने ?
त्रिभुवन विश्वविद्यालय विश्वको उत्कृष्ट हजारमा पर्छ रे ! देशकै ठूलो मानिने विश्वविद्यालय पछील्लो समयमा जति जिम्मेवार भएर विद्यार्थीको भविष्यप्रति चिन्तित हुनुपर्ने हो त्यो देखिँदैन । पछिल्लो समयमा त्रिभुवन विश्वविद्यालयले धमाधम परीक्षा सञ्चालनसम्बन्धी सूचना निकालेको छ । त्यसको कारण हामीमा कोरोना सँगसँगै परीक्षाको चिन्ता बढिरहेको छ । परीक्षा दिनुपर्छ भन्ने चिन्ता होइन । सञ्चालनको अव्यवस्था र संक्रमणको जोखिमको पीर हो । त्रिभुवन विश्वविद्यालयले ठोस निर्णय दिनसकेको छैन । संक्रमणको संख्या यसरी बढिरहेको अवस्थामा कसरी परीक्षा दिन जानु ?
नेपालमा काठमाडौंमात्र छैन । कैयौं घन्टा हिँडेर पुगिने ठाउँबाट पनि विद्यार्थीहरु पढ्नलाई सहर छिरेका हुन्छन् । साता दिनमात्र लकडाउन होला भनेर किताब, कापी र अन्य पाठ्यसामग्री नबोकी घर गएका छन् । सञ्चार सेवा राम्रो नभएका ठाउँका विद्यार्थीको मानसिक अवस्था कस्तो भएको होला ? के यो सोच्ने दायित्व शिक्षामन्त्रीको होइन ?
पाठ्यसामग्रीको समस्यामात्र होइन । महामारीको त्रास, आर्थिक अभाव, बन्द भएका कमाइका बाटाहरु, पारिवारिक ऋण, परीक्षा दिन आउँदा जाँदा यातायातमा हुने संक्रमण खतरा, दिनानुदिन बढिरहेको कोरोना संक्रमण दर, विज्ञहरुको चेतावनी, परीक्षा(केन्द्र आउँदा जादाका खतरा । यी सबैलाई नदेखे झँै गर्न हुन्छ ? हो, त्रिभुवन विश्वविद्यालय स्वायत्त संस्था हो । तर देश र जनता खतरामा भएका बेला निर्णायक भूमिका खेल्नु मन्त्रीको जिम्मेवारी होइन ?
त्रिविको असंवेदनशील व्यवहारका कारण सेमेस्टर प्रणालीअन्तर्गत अध्ययन गरिरहेका विद्यार्थीको एक सेमेस्टरको नोक्सान भइसक्यो । अब अझै कतिन्जेल हाम्रो भविष्यलाई धोका दिने हो ? सबैको चित्त बुझाउन सकिँदैन । सरल र सहज तरिका अपनाएर अविलम्ब परीक्षा लिनुपर्छ । सेमेस्टर प्रणालीमा सम्भव हुने आन्तरिक मूल्यांकन वा कुनै वैकल्पिक विधिबाट मूल्यांकन गरी तत्काल माथिल्लो सेमेस्टरको पठनपाठन प्रत्यक्ष अप्रत्यक्षरुपमा अनलाइन माध्यमबाट सञ्चालन हुनुपर्छ्र । विद्यार्थी मूल्यांकनको जिम्मा सम्बन्धित विभाग र प्राध्यापकलाई दिइने अन्तर्राष्ट्रिय अभ्यास पनि छ । वार्षिक परीक्षाको लागि पनि कुनै उचित कदम लिनुपर्छ । हाम्रो लागि यो सुनौलो अवसर हो । नपढी पास गराइयोस् भनेको होइन । परीक्षाको विधि सुधार होस् र भौतिक उपस्थितिविना परीक्षा गराइयोस् ।
मन्त्रीको बोली कति विद्यार्थीको बलि लिएपछि खुल्ने हो ? वैज्ञानिकहरु कोरोना महामारी कहिले सकिन्छ भन्न सकिँदैन भन्दैछन् । के अब हामी पर्ख र हेर भन्दै हाम्रो पढाइ स्थगितमात्रै राखिरहने? कोरोना नियन्त्रणपछि मात्र परीक्षा हुन्छ अनि पढ्न पाइन्छ भनेर वर्षौं यत्तिकै बस्ने ? भौतिक परीक्षा गराएर भविष्यमा लाखौं विद्यार्थी संक्रमित भएमा त्यसको जिम्मा लिने हैसियत त्रिविसँग वा शिक्षामन्त्रीसँग छ? हजारौं विद्यार्थीको मृत्यु भएमा तिनको परिवारको सम्पूर्ण दायित्व सरकारले लिनसक्छ ? हैन भने बोल्न र ठोस कदम चाल्न पर्छ । गाडी खुलेपछिको आवतजावतको अवस्था त्यसमा पनि लाखौं मानिस विनारोकटोक काठमाडौं छिर्दैछन् । यी सबै दृष्टिगत गरेर सही निर्णय लिई विद्यार्थीहरुको भविष्य बिग्रिनबाट जोगाइदिने कर्तव्यय पालन गरियोस ।
अन्त्यमा ,हाम्रै छिमेकी मुलुकका लाखौं विद्यार्थी भएका विश्वविध्यालयले प्राध्यापकहरुले मूल्यांकन गरेर अध्ययन अध्यापन गराउने विधि लागु गराइसके । हाम्रै मुलुकको काठमाडांै विश्वविद्यालयले विद्यार्थीहरुको लागि उचित निर्णय लिएर माथिल्लो सेमेस्टर अथवा तहको पढाइ सुरु गरिसक्यो ।
सबैभन्दा पहिले हाम्रो शिक्षा क्षेत्रको दरिद्र मानसिकतालाई पखाल्नुपर्छ । उचित समय छ, परिवर्तन हुन नखोज्नेलाई शिक्षा पदाधिकारी भन्नुको साटो उखेलेर फालिदिनुहोस् । देशलाई भावी संकटबाट बचाउन विद्यार्थी र शिक्षाक्षेत्रसँग सम्बन्धित कुनै पनि मुद्दालाई बहानाबाजी नगरी चाँडोभन्दा चाँडो अन्योल हटाई समयसापेक्ष ठोस् निर्णय गर्न सम्बन्धित शैक्षिक संस्थाहरुलाई निर्देशन दिएर शिक्षामन्त्रीलाई असल अभिभावक बन्न आग्रह गर्छु ।
(त्रिविको विद्यार्थी)