site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
नेपाली समीक्षक स्ट्रगलिङ फिल्म मेकर हुन्
Sarbottam CementSarbottam Cement

विशाल भण्डारी पछिल्लो समय चलचित्र निर्देशनभन्दा पनि रियालिटी शो स्ट्यान्डअप कमेडी च्याम्पियनको निर्देशकका रूपमा परिचित छन् । नेपालमा पहिलोपटक मौलिक स्ट्यान्डअप कमेडी रियालिटी शो स्ट्यान्डअप कमेडी च्याम्पियन निर्देशन गरेका विशाल अहिले उक्त शोको सिजन–२ को तयारीमा छन् । कमेडी च्याम्पियनकै कारण उनी अहिले तत्काल चलचित्र निर्देशनको तयारीमा छैनन् । सिजन–१ भन्दा अगाडि नै दोस्रो चलचित्रको तयारीमा रहेका उनलाई त्यो समय भने प्राप्त भएको छैन । यद्यपि उनीसँग हामीले कोरोनाले थलिएको चलचित्र उद्योग, पछिल्लो समय नेपाली चलचित्रमा देखिएको महानायकको विवाद, चलचित्रको गुणस्तर, आन्तरिक तथा बाह्य बजार, फिल्म समीक्षा तथा क्षमतालगायत विषयमा केन्द्रित रहेर निर्देशक भण्डारीसँग बाह्रखरीका लागि नरेश फुयाँलले गरेको कुराकानी : 

नेपाली चलचित्र क्षेत्र अहिले कहाँ छ ?
नेपाली चलचित्र क्षेत्र अहिले सबैभन्दा गाह्रो अवस्थामा छ । केही राम्रा सूचक देखिएका थिए । केही चलचित्र चल्न थालेका थिए । कुुनै समय थियो चलचित्रहरू चलेका थिएनन् । चलचित्र क्षेत्रमा संकटकाल लगाउने अन्तिम तयारी थियो । तर ‘लुट’ रिलिज भएपछि त्यो अवस्था हट्यो । यसले नेपाली चलचित्र क्षेत्रमा एक हिसाबले क्रान्ति नै ल्यायो । तर पछिल्लो करिब पाँच महिनायता देश लकडाउनमा छ । चलचित्र क्षेत्र खुलेको छैन । कहिले खुल्छ भन्ने पनि थाहा छैन । भर्खर बामे सर्न थालेको थियो । वर्षमा सय वटासम्म चलचित्र बन्न थालेका थिए । त्यसमध्ये दुई÷तीनवटा चलचित्र सुपरहिट हुन थालेका थिए । चार/पाँचवटाले लगानी उठाउन थालेका थिए । तर कोरोनाका कारण हामी फेरि पुरानै अवस्थामा आइपुग्यौं । तर दुःखको कुरा हामी यसबारे बहसै गरिरहेका छैनौं । 

भिड हुने क्षेत्र (सार्वजनिक यातायात) खुलिसक्यो । तर सिनेमा हल अझैै बन्द नै छन् । हामीले दबाब दिन सकेनौं कि दबाब सुन्ने निकायले सुनेन ? 
म्युजिक भिडियो र टीभी सिरिजहरू सुटिङ हुन थालेका छन् । तर ठूलो समूहको भिड हुने क्षेत्र भने खुला गरिएका छैनन् । त्यसमै सिनेमा उद्योग पनि परेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दूरी कायम गरेर सिनेमा हल खोल भनेको भए प्रोटोकल कायम गर्दै चलचित्र प्रदर्शन गर्न सकिँदैन थियो ? सिनेमा हल खुल्यो भनेको भोलिपल्टै त चलचित्र लगाउन सम्भव छैन । यो सम्बन्धित पक्षलाई बुझाउन पो नसकिएको हो कि ?
हामी को महानायक हो र को होइन भन्ने बहसमा रुमल्लिएका छौं । एउटा समूह छ महानायक मान्ने । महानायक मान्ने र नमान्ने दुवैले चलचित्र उद्योगलाई केही पनि योगदान दिएको छैन । हामी चलचित्र उद्योगलाई बचाउनतर्फ लागेकै छैनौं । कसलाई कसले दुर्व्यवहार गर्यो र त्यसको पक्ष–विपक्षमा को छ भन्नेमा बहस भइरहेको छ । चलचित्र क्षेत्र उद्योग नै भर्खर भयो । तर यहाँ हामी नेपोटिज्म, कुन कलाकारले कहाँ सीमा विवादमा के शब्द प्रयोग गर्यो भनेर बहस गरिरहेका छौं । यस्तो विषयमा विवाद गरेर निकास निस्किँदैन । लकडाउनले प्रत्यक्ष असर कति सिनेमालाई गर्यो । ती सिनेमालाई कसरी सम्बोधन गर्ने । सिनेमा हल कहिलेबाट कसरी कसको सिनेमा लगाएर खोल्ने भन्ने विषयमा बहस हुनु आवश्यक छ । तर अहिले बहस भइरहेका कुराले चलचित्र क्षेत्रलाई के निकास दिन्छ ? केही पनि दिँदैन । 

महानायक भन्ने विशेषण प्रायः अरू देशमा दिइँदोरहेनछ, हो ? 
यो मानपदवी भन्ने कुरा कुनैबेला कसैले दिँदोरहेछ । त्यसमा सहमति रहनेको संख्या ठूलो भयो भने त्यो ट्याग रहने भयो । तर विमति हुनेहरूको संख्या ठूलो भयो भने त्यो ट्याग रहँदो रहेनछ । 

Global Ime bank

त्यो विशेषणले केही काम पनि गर्छ कि त्यसले सम्बन्धित व्यक्तिलाई पुलकित बनाउने मात्रै हो ? 
म विशाल भण्डारी भट्टराईको घरमा जन्मिएको भए मेरो नाम विशाल भट्टराई हुने थियो । तर त्यसले मेरो व्यक्तित्व पक्कै पनि परिवर्तन हुने थिएन । व्यक्तिको नेचर र टेक्स्चर परिवर्तन हुँदैैन । राजेश हमाललाई कसैले प्लेटफर्म प्रयोग गरेर महानायक भनिदियो । त्यसलाई जनताले मानिदिए । पछि त्यो पद उहाँको नाममा जोडिन थाल्यो । राजेश हमाल महानायक हो/होइन हामी पछि बहस गरौंला । तर अहिले हाम्रा लागि सिनेमा उद्योग कहिले खुल्छ त्यो बहसको विषय हो । 

तर यस्ता विशेषणको इतिहास केलाउँदा राष्ट्रकविबाहेक कसैलाई पनि सरकारले दिएको छैन । 
एउटा राजनीतिक शब्द छ ‘म्यान्डेड’ अर्थात् ‘जनादेश’ । जनताले माने भने त्यो आदिमकालसम्म व्यक्तिका नाममा जोडिन्छ अन्यथा विरोध हुन्छ । केही समयपछि धेरैले बिर्सिन्छन्, सकिन्छ । 

यो विषयभित्र पनि कुन पक्ष बलियो, कुन पक्ष कमजोर, कसको पल्ला भारी छ भनेर बहस गरिएको भए त त्यो राम्रो नै हुन्थ्यो होला हैन ? तर यहाँ त गाली गलौजमै उत्रिने काम भयो नि ? 
यही नै हाम्रो कमजोरी हो । हाम्रो विचारमाथि कसैले असहमति जनाउँछ भने त्यो मान्छे नै गलत भन्छौं हामी । हामी अग्रजलाई सम्मान गर्न जान्दैनौं । भलै उसको कामको समीक्षा हुनुपर्छ । अग्रजले गरेको गल्ती हामीले दोहोर्याउँदैनौं भनेर बहस गरिनुपर्छ । अग्रजलाई नजरअन्दाज गरेर अगाडि बढ्नु हुँदैन । 

सिनेमा हल खुलेपछि चलचित्र रिलिज गर्न लगानीको २० प्रतिशत सरकारले बेहोर्नुपर्ने, एक प्रतिशत प्रोजेक्ट इन्स्योरेन्सको रकम बेहोर्नुपर्ने र देशभर बक्सअफिस पारदर्शी रूपमा लगाउनुपर्ने निर्माताहरूले माग गरेका छन् । यो माग सरकारले सम्बोधन गर्न सक्ला ?
सक्छ/सक्दैनभन्दा पनि त्यसका लागि पहलचाहिँ गर्न सकिन्छ । चलचित्रसँग सम्बन्धित व्यक्तिको रोजगारीका लागि पनि यो क्षेत्रलाई पुरानै अवस्थामा फर्काउनुपर्छ । एउटा चलचित्रमा कम्तिमा ५० जनाले रोजगारी पाउँछन् । वर्षमा सयवटा चलचित्र छायांकन हुँदा कतिले रोजगारी पाउँछन् । यो रोजगारी बचाउन पनि सरकारले सम्बोधन गर्नुपर्छ । नेपालमा चलचित्र अथवा कलामा लगानी गर्न सरकारले ऋण दिँदैन, अब उद्योग मानेको अवस्थामा यसलाई नयाँ नीति बनाउनुपर्यो । प्रत्यक्ष प्रभावित २५ हजारदेखि ३० हजारको घरमा चुलो बाल्न सरकारको भूमिका हुनुपर्छ । कला क्षेत्रमा ऋण प्रवाह गर्ने नीतिगत निर्णय गर्ने यो उपयुक्त समय हो । तर यसका लागि हामीले पहल र बहस गरिरहेका छौं ?

पहलका लागि चलचित्र विकास बोर्ड, कलाकार संघ, चलचित्र संघ, प्राविधिक संघलगायत संस्था छन्, गर्दैनन् ?
छन् तर काम गर्दैनन् । विकास बोर्ड तथा अन्य संघ–संस्थामा गएर चिया खानेबाहेक मैले काम देखेको छैन । बक्स–अफिस लागु गर्ने भनेको यतिका वर्ष भइसक्यो तर लागु भएको छैन ।

चलचित्र विकास बोर्डले त बक्स–अफिस लागु भइसक्यो भन्ने दाबी गरिरहेका छ त ?
चलचित्रको शो हलमा लागेको ३० मिनेटभित्र मेरो मोबाइलमा कति टिकट बिक्री भयो भनेर डाटा आउनुपर्छ । जबसम्म यो डाटा आउँदैन त्यसलाई बक्स–अफिस मानिँदैन । 

तर विकास बोर्डले देशभर रहेका करिब दुईसय वटै हलमा बक्स–अफिस लागु गरिसकेका छौं भन्छ । यो झुट हो ?
त्यसो भए जडान भएको तर कार्यान्वयन हुन बाँकी होला । यदि यसो हो भने आशावादी हुने ठाउँ रह्यो । 

निर्माताहरू हल र वितरकबाट ठगिएका छौं भन्छन्, जबसम्म बक्स–अफिसबाट पारदर्शी डाटा नआउँदासम्म हामी मारमा परिरहेका छौं भनिरहनुभएको छ । हामी किन पारदर्शी हुन सकेनौं ? 
हामीलाई हल र वितरकले ठगिरहेका छन् होला । तर हामीले पनि गलत सूचना प्रवाह गरेर ठगिरहेका छौं होला नि ! १० लाख कमाएको चलचित्रले करोड कमाएको भनेर समाचार आइरहेका छन् । तर जसले कमाए तिनको यथार्थ समाचार आएका छैनन् । बक्स–अफिस लागु भएपछि यो दुवै चल्नेवाला छैन । 

८० प्रतिशत निर्माता नदोहोरिनुको कारण यो पनि हो ? 
यसमा निर्देशकहरू जिम्मेवार हुनुपर्छ । यदि मेरो निर्माताले मलाई अर्कोपटक लगानी गर्दैन भने ममा ठूलो समस्या छ भन्ने बुझ्नुपर्छ । 

नेपालमा दुईखालका निर्माता छन्, जसमा एक खालका निर्माता कमर्सियल सिनेमा बनाउँछन् । र अर्को खालका निर्माता जो बिजनेसभन्दा पनि आर्टिस्टिक सिनेमा बनाउँछन् । निर्मातालाई न्याय गर्न नसकेपछि उनीहरू दोहोरिँदैनन् । नेपाली चलचित्रमा कर्पोरेट हाउसको लगानी छैन । दुःख गरेर कमाएको एक/डेढ करोड रुपैयाँ निर्देशकलाई विश्वास गरेर लगानी गर्ने हो । त्यसैले निर्देशकले उसलाई कसरी बचाउने पहिलो प्राथमिकतामा राख्नुपर्छ । जुन हामीले गरेकै छैनौं । 

यहाँ त निर्मातासँगै निर्देशकले कमिसन खान्छन् भन्ने छ नि ? 
मैले पनि सुनेको त्यही हो । निर्मातासँग कमिसन खाएर आएको पैसामा खुसी हुने प्रवृत्ति छ रे ! मैले प्रमाण नै त भेटेको छैन । तर होला किन भने निर्देशक टिकिरहेको छ तर निर्माता दोहोरिरहेका छैनन् । 

नेपाली चलचित्रमा एनआरएनको लगानी छ । कोरोनाको असर एनआरएनलाई झन् धेरै परेको अवस्थामा आगामी वर्षमा त्यसको असर प्रत्यक्ष देखिने अनुमान लगाउन सकिन्छ ?
अब चलचित्र धेरै नै कम बन्ने सम्भावना छ । अर्को कुरा चलचित्रबाहिरका व्यक्ति जसले चलचित्रलाई गहिराइबाट बुझ्नु भएकै छैन । उहाँहरूले यहाँभित्रका समस्या र फाइदालाई बुझ्नु भएको छैन । अब उहाँहरूलाई सम्भावना र रिक्स दुवै बताएर लगानी गर्न भनेको अवस्थामा चाहिँ निर्माता दोहोरिने अवस्था हुन्छ ।

अहिलेसम्म हामीले भन्ने गरेको ‘छक्का पञ्जा’ बनाउँछौं १८ करोड कमाउँछौं, यही होइन ?
हो, अधिकांशले भन्ने यही नै हो । तर त्यही मेकरको चलचित्र शुक्रबार बिहान ९ बजेको शोमा नै उत्रिरहेको हुन्छ । राम्रो बनाउँछु भन्दाभन्दै पनि उसको अध्ययन, बौद्धिक क्षमताले पुग्दैन होला । मैले ‘कोहलपुर एक्सप्रेस’ बनाउँदा पनि राम्रो नै बनाउँछु भनेको थिएँ । तर मेरो चलचित्रले समीक्षकलाई खुसी बनाउन सकेन । अब मैले आत्मसमीक्षा गर्नुपर्यो । यो चलचित्रमा भएका कमजोरी अर्को चलचित्रमा कसरी नदोहोर्याउने भनेर सोच्नुपर्छ । समीक्षकको एउटा जमात छ जसले समीक्षामार्फत चलचित्रलाई राम्रो बनाउन प्रेरित गरिहनुभएको छ उहाँहरू मेरो चलचित्रमार्फत कन्भिन्स हुन सक्नुपर्यो । चलचित्र कसरी बनाउने भनेर म सचेत भएँ भने निर्माता डुब्दै–डुब्दैनन् ।
 
चलचित्र राम्रो किन बन्दैनन् ?
हामी हतारमा गर्छौं । मैले पनि हतार गरेँ । म के बनाउँदै छु, मैले दर्शकलाई के दिन खोजिरहेको छु म आफैं स्पष्ट हुनुपर्छ । मनोरञ्जनसँगै सन्देश पनि दिँदै जानुपर्छ । यसका लागि पहिलो आफैं क्लियर हुनुपर्छ । सिनेमा कसरी राम्रो बनाउनुपर्छ भनेर निर्देशकले जिम्मेवारी महसुस गर्यो भने चलचित्र राम्रो बनाउन सकिन्छ । अनि निर्माता दोहोरिन थाल्छन् । नेपाली सिनेमामा लगानी गर्ने निर्मातालाई धेरै नाफा चाहिएकै छैन । लगानी रिकभर भएर ८/१० रुपैयाँ आयो भने मात्रै पनि सन्तुष्ट हुनुहुन्छ ।

अधिकांश मेकरहरू कथा/स्क्रिप्ट भएन त्यसैले राम्रो चलचित्र बनाउन सकेनौं भन्नुहुन्छ । कथा नभएकै हो ? 
होइन । हामीसँग धेरै कथा छन् । हामीसँग पर्याप्त मौलिक कथा छन् । तर त्यसमा लाग्ने लगानीका कारण अहिले नै त्यसलाई बनाउन खोज्नु मूर्खता होला । तर मौलिक कथा छन् । हाम्रा मौलिक कथालाई मौलिक शैलीमा बनाउन सकियो भने हाम्रा चलचित्रले त ओस्कार अवार्ड जित्न सक्छ नि । बलभद्र कुँवर, जङ्गबहादुर राणाको क्यारेक्टरमा चलचित्र बनाउन सकियो भने त ऐतिहासिक हुन्छ । मामालाई काठमाडौं भेट्न आएको व्यक्ति कसरी देशको सर्वोच्च पदमा पुगेर तत्कालीन श्री ५ लाई पनि डोमिनेट गरेर श्री ३ भएर बस्नुभयो । यसमा त गज्जबको चलचित्र बन्छ । 

कथा छन् र त्यसलाई स्क्रिप्टमा रूपान्तरण गर्ने कथाकार छैनन् भन्ने मेकरको गुनासो छ ।
लेखक पनि छन् । तर त्यो कहानीलाई स्क्रिप्टमा ढाल्न सक्ने हामीसँग बजेट छैन । ठूलो बजेट चाहिन्छ त्यो बजेटमा लगानी गरेर चलचित्र बनाए त्यो उठाउने बजार छैन हामीसँग ।
 
कला, साहित्यको भूगोल, वर्ण, जाति हुँदैन, राम्रो भए त्यसले आफैं बजार खोज्छ भन्ने मान्यता छ । तर हाम्रा चलचित्रले विश्व बजार खोज्न किन सक्दैन ?
आफ्नो बजारै हामीले समेट्न सकेका छैनौं । हामी काँकडभिट्टापारिको नेपालीभाषी असम, दार्जिलिङ, सिक्किमसम्म पुग्न सकेको छैनौं । नेपालबाहिर नेपालीभाषी १० करोड छन् त्यहाँ पुग्न सकेका छैनौं । मेरै गाउँमा मेरो चलचित्र दुई दिन मात्रै चल्यो । पहिला हामी आफ्नै बजार समेट्न सक्नुपर्छ अनि मात्रै बाहिर जाने हो । 

कथालाई राम्रोसँग भन्नसक्ने निर्देशकीय क्षमता भएका निर्देशक पो हामीसँग छैनन् कि ?
छन् । हाम्रैबाट गएर साथीहरू बलिउडमा कहाँ पुगिसके । मात्रै हामीसँग संरचना कस्तो छ भन्ने हो । सम्भावना र संस्कार कस्तो छ त्यसले अर्थ राख्छ । बजेट भए लेख्न र बनाउन सक्ने मान्छे रहेको मेरो अनुभवले बताउँछ । तर बजारले त्यो बजेट धान्न सक्दैन । 

नेपालमा फलानो ब्यानरको चलचित्र आउने भयो भनेर दर्शक उत्साही हुने दुईटा ब्यानर मात्रै छन्, छक्का पञ्जाको ब्यानर र सिनेमा आर्ट । यस्तै ब्यानर १५/२० वटा हुनुपर्छ । रेभिन्यु ठूलो मात्रामा उठ्न थाल्नुपर्छ अनि मात्रै हामी असम, दार्जिलिङ, सिक्किम हुँदै डायस्पोरा र विश्व बजारमा पुग्न सक्छौं । कम्तीमा २२–२५ प्रतिशत चलचित्रले वार्षिक लगानी उठाउन थालेको अवस्थामा चलचित्र उद्योग माथि उठिसकेको हुन्छ । विश्वका सफल चलचित्र उद्योगमा पनि ४० प्रतिशत चलचित्र मात्रै सफल हुने हुन् । 

हामी आफ्नै कथा भन्दैनौं, अरू कतैबाट ल्याउँछौं भन्ने समीक्षाहरू आइरहन्छन् । यो आरोप तपाईंलाई पनि लाग्यो । हामी त्यही भएर पछि परेका हौं ?
हो, हामीले त्यही गरिरहेका छौं । मेरो सवालमा पनि त्यही भयो । मेरो चलचित्र पनि भारतीय एक चलचित्रसँग मिल्न गयो । 

मिल्न गयो कि मिलाइयो ?
मिल्यो भनौं । सहज बाटो खोज्दा यस्तो भयो । त्यो गलत साबित भइसक्यो । अब हामीले आफ्नो धरातलको कथा खोज्नुपर्छ । 

कोहलपुुर एक्सप्रेस’ बनाएकामा अहिले पछुतो छ ?
छैन । मैले ‘कोहलपुर एक्सप्रेस’ बनाएँ भन्नेमा मलाई पछुतो छैन । तर त्यो चलचित्रले हाम्रो समाजको कथा बोकेको थिएन भन्नेमा चाहिँ पछुतो छ । मैले बनाइसकेपछि हाम्रो समाजको कथा त्यो चलचित्रले बनाउन सक्नुपथ्र्यो । तर त्यसो हुन सकेन । सामाजिक विषयवस्तुमा ढाल्न नसक्नु नै मेरो कमजोरी भयो ।
 
समीक्षकहरू चलचित्रकर्मीहरूले समीक्षा बुझेनन् अथवा मनन् गरेनन् भन्नुहुन्छ । तर चलचित्रकर्मीहरू समीक्षाको स्तर पनि उस्तै छ भन्नुहुन्छ । यो दोहोरी कहिलेसम्म चलिरहन्छ ?
यो कहिल्यै नसकिने दोहोरी हो । दुवै पक्षको चेक एन्ड ब्यालेन्सका लागि पनि एकले अर्कोका कमजोरी औंल्याइरहनुपर्छ । 

गुण र दोषका आधारमा भन्दा पनि अनुहार हेरेर समीक्षा गरिन्छ भन्ने समीक्षकलाई आरोप लाग्छ । त्यस्तै अवस्था हो कि समीक्षा मनन् गर्ने मेकर नभएको हो ?
समग्रमा भन्दा चलचित्रकर्मी पनि भ्रममा हुनुहुन्छ । मैले बनाएको चलचित्रलाई सबैले राम्रो भन्नैपर्छ भन्ने भ्रमबाट माथि उठ्नुपर्छ । ६० प्रतिशतले राम्रो भनेको अवस्थामा चलचित्र थिटएरमा हिट भइसकेको हुन्छ । यसमा मेकर स्पष्ट हुनुपर्छ । फलानोले यस्तो लेख्यो भनेर स्टाटस लेखेर बस्नुचाहिँ भएन । समीक्षा गर्नेले पनि यो सिनेमा मेरो जानराको चाहिँ होइन तर यो–यो जनराको सिनेमा मन पराउनुहुन्छ भने चाहिँ तपाईंलाई मनपर्न सक्छ भनेर लेख्न सक्नुपर्छ । 

नेपालको समीक्षा गिनेचुनेका सातवटा शब्दमा अड्किएको छ । ती सातवटा शब्द दोहोरिएनन् भने उहाँहरूको समीक्षा नै पूर्ण हुँदैन । अर्को कुरा नेपालको समीक्षा मेरो समीक्षा लगेर नाम मात्रै परिवर्तन गरेर अर्कोमा जोडिदिनुहुन्छ बाँकी सेम त्यही हो । उहाँहरूले हामीलाई त कपी गरेको आरोप लगाउनुहुन्छ । तर उहाँहरूको आफ्नै समीक्षा आफैंसँग कपी हुन्छ । समीक्षकहरूले समीक्षा लेख्ने कलमलाई हतियार बनाइरहनुभएको छ । कलम बोकेर १० वटा समीक्षा लेखेर, दुईटा स्क्रिप्ट खल्तीमा बोकेर मसँग खतरा स्क्रिप्ट छ भन्दै हिँड्न थाल्नुभएको छ । यो आफैंमा समीक्षाको क्षेत्रमा ठूलो समस्या हो । यसले सही समीक्षा लेख्न कहिल्यै प्रेरित गर्दैन । पहिला पूर्ण समीक्षक बन्नुपर्यो अनि मात्रै अरू कतै जम्प गर्न मिल्छ होला । हरेकसँग दुई/दुईवटा स्क्रिप्ट छ । उहाँहरू समीक्षक होइन फिल्म मेकर बन्न स्ट्रगल गरिरहनु भएको छ, अनि कसरी ब्यालेन्समा समीक्षा । त्यही भएर समीक्षा गाली र ठाडो शैलीमा आउने हो । 

आर्ट मुभी मनपर्यो भने समीक्षकले लेख्नुहुन्छ– तपाईंलाई डाँडाकाँडामा हिरो–हिरोइन नचाइएका, मान्छे उडाइएका चलचित्र मनपर्छ भने यो चलचित्र तपाईंका लागि होइन । एउटा चलचित्रको समीक्षा गर्दा अर्कोलाई कमर्सियल चलचित्रलाई किन गाली गरेको ?

त्यही सामाजिक विषयवस्तु कमर्सियल चलचित्रमा देखाउँदा सामाजिक यथार्थ नसमेटिएको हुने तर त्यही कुरा आर्ट मुभीमा देखाउँदा सामाजिक यथार्थ हुने । चलचित्रअनुसार भन्ने तरिका फरक हुन्छ भन्ने यथार्थ बुझ्ने समीक्षकचाहिँ नेपालमा छैनन् । 

गत वर्ष ५५ चलचित्र रिलिज भए, त्योभन्दा अगाडि ९६ चलचित्र रिलिज भएका थिए । यति धेरै चलचित्र हाम्रो बजारको आवश्यकता हो ? 
२५/३० वटाभन्दा धेरै हुनुहुँदैन जस्तो लाग्छ । तर प्रतिस्पर्धा त चाहिन्छ । सातामा दुईदेखि तीनवटा नेपाली चलचित्र जुधिरहेका हुन्छन् । सिनेमा चलिरहेका छैनन् । निर्माताहरू दोहोरिँदैनन् । तर पनि कहाँबाट निर्माताहरू आइरहेका छन्– थाहै छैन । बजारै सानो छ । २५/३० वटा चलचित्रको मात्रै बजार होे नेपाल । 

तर केही ब्यानरले त १५/१६ करोड कलेक्सन गरिरहेका छन् । यसले बजार त छ, चलचित्र राम्रा छैनन् भन्ने प्रमाणित गर्दैन ?
हो, तर यस्ता ब्यानर हामीसँग धेरै छैनन् । कर्पोरेट हाउसको लगानी छैन । आफैं स्थापित हुन मेकरले सिनेमा बनाउनुपरिरहेको छ । बजार खोल्न छक्कापञ्जा, सिनेमा आर्टजस्ता अरू १५/२० वटा ब्यानर चाहिन्छ । 

वर्षमै सयवटा चलचित्र रिलिज हुँदा विश्वासयोग्य एउटा पनि डिजिटल प्लेटफर्म नहुनुलाई कसरी हेर्ने ? 
डिजिटल प्लेटफर्मको सम्भाना विश्व बजारमा चलचित्रले पारेको प्रभावले निर्धारण गर्छ । हलिउड, बलिउड, टलिउडका चलचित्रको प्रभाव विश्वभर छ त्यसैले ती चलचित्र जुनसुकै प्लेटफर्ममा राखे पनि विश्वभरबाट हेरिन्छ । त्यसैले व्यापार उच्च हुन्छ । हाम्रोमा सिनेमै कमले हेर्छन् । त्यसमा पनि केही ब्यानरको मात्रै । अर्को कुरा हाम्रा चलचित्रका दर्शक नेपालभित्रै छन् । त्यसैले डिजिटल प्लेटर्फममा ठूलो लगानी हुन सकेन । र अर्को कुरा हाम्रा चलचित्र गुणस्तरीय भएर विश्व बजारमा पुग्न सकेको भए हाम्रो आफ्नै डिजिटल प्लेटफर्म चाहिँदैन थियो । विश्वका चलेका प्लेटफर्मले नै लिने थिए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC