टेड्रोस भर्सेज मनोज

टेड्रोस भर्सेज मनोज

भूमण्डलीकरणसँगै विश्वका हरेक घटनाले अर्को देशमा प्रभाव पारिरहेको हुन्छ । त्यसको पछिल्लो ज्वलन्त उदाहरण हो– कोभिड १९ । चीनको वुहानबाट सुरु भएको कोरोनाको महामारी विश्वका २१६ देशमा मात्रै पुगेन । यो भाइरससँगै शक्ति राष्ट्रहरूमा राजनीति पनि पुग्यो । 

स्वास्थ्यमा महामारी देखिए त्यसबाट बच्ने उपाय, सावधानीको सूत्र, औषधि उपचार, महामारी रोकथामलगायत विषयमा विश्वलाई सूचित गर्ने विश्व स्वास्थ्य संगठनले हो । र विश्वले विश्वास गर्न पनि उसैलाई हो । तर यसपटक विश्व स्वास्थ्य संगठनमाथि नै राजनीति भयो । शक्ति राष्ट्रहरू कोरोना नियन्त्रण होइन विश्व स्वास्थ्य संगठनलाई माध्यम बनाएर आफ्नो शक्ति बलियो बनाउन लडाइँ गर्न थाले । विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघजस्ता संस्था चाहिने यस्तै साह्रो–गाह्रोमा हो । त्यसैले यस्ता संस्थामाथि नै राजनीति हुँदा विश्वको ध्यान खिचियो । अमेरिकाले कोरोना भाइरसको उत्पती चीनले आफ्नो प्रयोगशालामा गरेको आरोप लगायो । विश्व स्वास्थ्य संगठनका प्रमुखको नियुक्ति पनि चीनको रोजाइमा भएको अमेरिकाले दाबी गर्यो । चीनमा कोरोनाले ठूलो संख्यामा हताहती भए पनि विश्व स्वास्थ्य संगठनले तथ्यांक लुकाएको अमेरिकी राष्ट्रपतिले नै आरोप लगाए । कोरोनाले संसार थलिएका बेला अमेरिका र चीनको यो शीतयुद्धलाई विश्वले नियाल्यो । मनोज गजुरेलले ननियाल्ने कुरै थिएन । 

विश्वका चर्चित पात्रहरूको सशरीर व्यङ्ग्य गरिसकेको अवस्थामा यो वर्ष त्यस्तो कुन पात्र होला ? मनोजले विश्व स्वास्थ्य संगठनका अध्यक्ष टेड्रोस अडानोम गेब्रियसको विकल्प देखेनन् । कारण कोरोनाले गर्दा यो वर्ष संसारमा उनी सबैभन्दा धेरै सुनिए, हेरिए र खोजिएका पात्र हुन् । अनि डोनाल्ड ट्रम्प र सी जिनपिङले उनैमार्फत शक्तिका लागि राजनीति गरे । मनोजले टेड्रोसमार्फत शक्ति राष्ट्रहरूलाई व्यङ्ग्य कस्ने सोचे । 

यसका लागि उनले टेड्रोसजस्तै देखिनु थियो । उनको भाषा र टोनको नक्कल गर्नु थियो । त्यसका लागि उनले सुरु गरे टेड्रोसको इतिहास खोज्न । इथियोपियाका पूर्वस्वास्थ्यमन्त्री रहेछन् । अफ्रिकन–अमेरिकन इङ्ग्लिस थियो । नक्कल गर्न थाले । भलै ट्रम्पदेखि नरेन्द्र मोदीसम्मको नक्कल गरिसकेका कारण उनलाई त्यति धेरै गाह्रो भने भएन जति स्क्रिप्ट तयार पार्न कठिन भयो । 

“संसारका शक्ति राष्ट्र र व्यक्तिलाई म्यासेज र व्यङ्ग्य गर्ने अवसरका रूपमा मैले टेड्रोसलाई छानेँ,” उनी भन्छन्, “उहाँको गेटअप, बोल्ने शैली, खानपानलाई मैले तीन महिनादेखि अध्ययन गरेँ ।” 

मनोजले जसलाई लक्षित गरेर व्यङ्य गर्छन् । त्यो लक्षित वर्गले सुन्छ वा सुन्दैन थाहा छैन । तर मनोज प्रायः हरेक वर्ष विश्वका चर्चित पात्र र चर्चित विषयमा व्यङ्ग्य कस्न छाड्दैनन् । 

“जुन वर्गप्रति लक्षित गरेर सुनोस् भन्ने चहाना छ । सुनेको खण्डमा पक्कै खुसी त लाग्छ नै । अहिले रहेक व्यक्ति मिडिया हो । सामाजिक सञ्जाल र डिजिटल मिडियाको यो फाइदा पनि हो,” उनी भन्छन्, “मैले गरेको टेड्रोसको नक्कलको क्लिप्स उनको फेसबुक र ट्विटरमा सेयर भइरहेको देखेको छु । त्यसैले पक्कै पनि सम्बन्धित व्यक्तिमा पुग्छ भन्ने लाग्छ ।” 

केही वर्षअगाडि उनले डोनाल्ड ट्रम्पको नक्कल गर्दा अमेरिकी सञ्चारमाध्यमहरूले राम्रै कभरेज गरेका थिए । 

० ० ०

अर्नव गोश्वामी भारतका सर्वाधिक विवादित पत्रकार हुन् । उनलाई पहिलादेखि नै मनोज फलो गरिरहेका हुन्थे । अथिति बोलाउने र बोल्नै नदिने उनको स्वाभाव हो । उनको प्रस्तुति मनोरञ्जक लाग्थ्यो । कारण, पत्रकारिताको धर्मभन्दा बाहिर गएको देख्थे । यो प्रश्नको जवाफ देऊ भन्ने तर प्रश्नै नसोध्ने उनको बानी नै हो । 

कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतले आफ्नो भूमि भन्दै नक्सामा समेट्यो । त्यसको जवाफमा नेपालले पनि उक्त भूमि समेटेर नयाँ नक्सा जारी गर्यो । नेपालले नयाँ नक्सा जारी गरेपछि सुरु भएको विवाद भारतीय मिडियामा छताछुल्ल भयो । 

अर्नव गोश्वामीले कांग्रेस नेता मीनेन्द्र रिजालसँग भिडियो अन्तर्वार्ता गरे । त्यसपछि मनोजले गोश्वामीलाई झन् धेरै फलो गर्न थाले । मीनेन्द्र रिजालले उनलाई भनेका थिए– तिमी स्टेटमेन्ट दिँदै छौ कि प्रश्न सोधिरहेका छौं ? मीनेन्द्रले झपारेपछि उनी केही हच्किए । 

मनोजले त्यसपछि उनले लिएका थुप्रै अन्तर्वार्ता हेरे । निष्कर्ष निस्कियो, आफ्नो चर्को स्वरमा अतिथि दब्यो भने पेल्दै लैजाने तर ऊभन्दा चर्को बोलिदयो भने हच्किने रहेछन् । यो शैली व्यङ्ग्य गर्न लायक ठाने मनोजले र यो गाईजात्रामा उनको नक्कल गर्दै छन् । 

ऋषि धमलाको पनि नेपालमा बेग्लै खालको शैली छ । त्यसैले अनर्व र ऋषि धमलाबीच संवाद गरेका छन् । मनोज अर्नव बनेका छन् भने ऋषिको चरित्रमा सुमन कार्की देखिनेछन् । 

नेपाल–भारतबीचको सम्बन्ध, दुई देशका नागरिकबीचको प्रेमपूर्ण सम्बन्ध, भारतले नेपाललाई पछिल्लो समय गरेको राजनीतिक व्यवहार, सीमा अतिक्रमण यो व्यङ्ग्यमा समेटिएको छ ।

“अर्नवको स्वर साँच्चै चर्को छ । यति चर्को कि सुटिङ गर्दा हाम्रो स्टुडियो वरपरका घरका मान्छे के लफडा भयो भनेर घरबाहिर निस्किएर सोध्नुभएको थियो,” मनोज सम्झिन्छन् । 

० ० ०

नेकपालाई पनि योपटक मनोजसहितको समूहले व्यङ्ग्य कस्न बिर्सिएको छैन । नेकपाको दुईतिहाइको एयरलाइन्सको सरकारको क्याप्टेनका रूपमा मनोज र सीताराम कट्टेल (धुर्मुस) ले व्यङ्ग्य कसेका छन् । एयर होस्टेसका रूपमा कुञ्जना घिमिरे (सुन्तली) छिन् । एभिएसन म्युजियममा गएर छायांकन गरेका छन् । 

चार वर्षअगाडि शीर्ष नेताहरूलाई अगाडि राखेर मनोज र धुर्मुुसले तत्कालीन माओवादी र एमालेलाई अथवा ठूला पार्टीलाई गाईजात्रामै मिल्न दबाबसहितको व्यङ्य गरेका थिए । 

नभन्दै दुई ठूला दल माओवादी र एमाले मिले । चुनावमार्फत ठूलो दल बने । संसदमा दुईतिहाइ पुर्याउन सक्ने भए । 

तर त्यसको उपलब्धि जनतालाई के ? ठूला दल मिलेपछि जुन अपेक्षा उनीहरूबाट जनताले गरेका थिए । त्यो न पूरा हुन सक्यो न त्यो छाँटै देखाए । उल्टै दलमा रडाको मच्चिएको छ । यो गतिविधिले जनतामा निराशा छायो । त्यसैले मनोज र सीताराम यो गाईजात्रामा भन्दै छन्– तपाईंहरू अब डेट एक्सपायर भइसक्नुभयो । राजनीतिबाट स्वेच्छिक अवकाश लिनुस् । दुर्घटनाको खतरा बढ्यो नेतृत्व सम्हाल्ने जिम्मा युवालाई दिनुस् । हजुरबुवा पुस्ताले नाति पुस्ताको भवना समेट्न सक्दैन । 

यसमा मनोज प्रचण्डको र सीताराम केपी ओलीको नक्कलमा छन् । 

० ० ०

डोनाल्ड ट्रम्पको त नक्कल मनोजले पहिल्यै गरिसकेका थिए । तर योपटक उनले ट्रम्पसँग जोडिएका अर्का पात्रको पनि नक्कल गरेका छन् । 

कोरोनाले विश्व थलिएका बेला माक्स लगाउन विश्व स्वास्थ्य संठन तथा महामारी विशेषज्ञहरूले आग्रह गरिरहेका बेला ट्रम्पले भने लामो समय यो सुझावको आलोचना गरिरहे । 

यही बेला पूर्वीय सनातन वैदिक संस्कृति कति शक्तिशाली छ भन्ने प्रमाणित गर्ने एउटा समाचार सार्वजनिक भयो । त्यो थियो, ट्रम्पले ह्वाइट हाउसअगाडि हिन्दु पुजारी बोलाएर कोरोनाविरुद्ध स्वस्ति शान्ति गरे । त्यसलाई मनोजले टपक्क टिपे । शक्ति राष्ट्रका शक्तिशाली नेताहरूलाई सम्बोधन गरेर क्षमा पूजा गरेका छन् ।
 
० ० ०

अर्को विषय ४० वर्षपछिको प्रविधिको परिकल्पना गरेको छ यो गाईजात्राले । ४० वर्षपछि नेपाल प्रविधिको क्षेत्रमा कतिमाथि पुग्ला ?, त्यो सुविधा सम्पन्न प्रविधिको समयमा नेपाली कमेडीको स्तर कहाँ पुग्ला मनोजको प्रस्तुति छ ।

साहित्यिक दर्शकलाई पनि उनले समेट्ने कोसिस गरेका छन् । यसका लागि मनोज बन्दै छन्, भानुभक्त आचार्य । नेपाली साहित्यमा आएको विकृति र विसंगतिमाथि चिरफार गर्नेछन् । 

पपेड प्ले गर्दै गरेको चरित्रका रूपमा पनि यो वर्ष मनोजलाई देख्न सकिनेछ । 

यो वर्षको गाईजात्रा पनि कोरोनाको कहरमा पर्यो । प्रज्ञा भवनमा हुँदै आएको गाइजात्रा दर्शकले टेलिभिजनमा हेर्दै छन् । 

“यो गाईजात्राको म त एउटा सदस्य मात्रै हो । मजस्ता थुप्रै साथी हुनुहुन्छ । हामी सबै मिलेर यो वर्षको गाईजात्राको रथ गुडाएका छौं,” मनोज भन्छन् । 

प्रतिकृया दिनुहोस
ad