site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पीडित बन्दै स्रष्टा, बेखबर संघ–संस्था
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल
० ० ०
काठमाडौं । अघिल्लो साता गायिका सोफिया थापाको गीत हिन्दु जागरण नेपालको दबाबमा हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानलबाट हटायो । पूर्वप्रधानमन्त्री  बाबुराम भट्टराईदेखि साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा नेपाली कांग्रेसका नेता गगन थापाले गीत हटाउन बाध्य बनाइएको भन्दै हिन्दु जागरण नेपालको आलोचना गरे । तर गीत–संगीतसँग सम्बन्धित विभिन्न संघ–संस्था भने मौन बसे । 

गीत गाएकै कारण गायिकालाई धम्की आयो । गीत अपलोड गर्ने संस्थालाई धम्की थेग्न नसकेर गीत हटाउनु पर्यो । गायिकाले आफ्नो सुरक्षाको माग गर्दै प्रहरीसामु निवेदन दिइन् । तर यी सब घटनाबारे गायक–गायिकाहरू हकअधिकारको रक्षार्थ गठित संस्था प्रस्तोता समाज भने बेखबर छ । यो घटना भइसकेको करिब एक सातापछि पनि घटनाप्रति प्रस्तोता समाजको धारणा के हो भनेर प्रतिक्रिया लिन खोज्दा समाजका अध्यक्षले घटनाबारे सुइँको समेत पाएका छैनन् ।

“कसको कस्तो गीतमा दबाब आएछ मलाई त थाहा छैन । कसको गीत रछ ?” प्रस्तोता समाजका अध्यक्ष शिव हमाल प्रतिप्रश्न गर्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गीतको बोल, त्यसको आशय, गाउने व्यक्तिको नाम, हटाउन दिइएको दबाब, दबाबकै कारण गीत हटाइएको र सुरक्षाको माग गर्दै सर्जकले प्रहरीसामु दिएको निवेदनबारे जानकारी दिएपछि शिव भन्छन्, “खोइ अरू स्क्यान्डलले यसलाई ओझेलमा पारेको रछ कि क्या हो मैले त पहिलोपटक तपाईंबाटै सुनेँ ।”

उनी हटाउनुपर्ने खालका गीतहरू सर्जकहरूले गाउन नहुने बताउछन् । राम्रो गीतलाई हटा भनेर चौतर्फी दबाब आउँदैन भन्दै उनी भन्छन्, “हिन्दु जागरणजस्तो संस्थाले साह्रै अपाच्य भएरै हटाएको होला । तर मैले गीत सुनेको छैन । समाजमा विकृति ल्याउने, समाज भाँड्ने अपाच्य, अश्लील गीत त हटाएको राम्रो । तर स्रष्टाको सिर्जनाको सम्मानचाहिँ गर्नुपर्ने हो । यद्यपि स्रष्टाले आफ्ना सिर्जनाको संरक्षण हुने गरी आफैंले सोच्नुपर्छ भन्ने लाग्छ ।” 

Global Ime bank

प्रस्तोता समाज मात्रै होइन गीत–संगीतसँग सम्बन्धित अन्य संघ–संस्था पनि मौन रहे । गीतकार संघ र संगीतकार संघले पनि आधिकारिक धारणा सार्वजनिक गरेनन् ।

संगीतकार संघका अध्यक्ष शान्तिराम राई आफ्नो संस्थाका सदस्यबाहेक अन्य कलाकारबारे संघले नबोल्ने बताए । “पहिलो कुरा हामीलाई संघको विधानले संघका सदस्यभन्दा बाहिर रहेका जो सुकै कलाकार भए पनि बोल्न दिँदैन,” उनी भन्छन्, “त्यसैले त संस्थामा आबद्ध हुनुपर्छ भनेको हो । संस्थाको सदस्यता लिँदा यस्तै बेलामा त फाइदा हुन्छ ।” भलै ३५ वर्षे आफ्नो सांगीतिक करिअरमा सोफियाको नाम पहिलोपटक आफूले सुनेको तर पनि व्यक्तिगत रूपमा उनलाई सहयोग रहने बताए । स्रष्टाको सिर्जनामाथि अंकुश लगााउन खोज्नेविरुद्ध आफू सधैं आवाज उठाउन तयार रहेको बताउँछन् । 

संगीतकार संघको विधानमा धेरै परिर्माजन आवश्यक रहेको भन्दै अध्यक्ष राई आफ्नो कार्यकालमा यसको परिमार्जन गरिने बताउँछन् । 

यता, संगीतकार संघका संस्थापक उपाध्यक्ष लक्ष्मण शेष भने सिर्जनामाथि अंकुश लगाउने र स्रष्टाको अधिकार हनन् गर्ने प्रवृत्तिविरुद्ध बोल्न संघलाई विधानले नरोक्ने बताउँछन् । 

“हामीले नै बनाएको विधान हो । संघको संस्थापक उपाध्यक्ष मै हुँ । संघले आफ्ना सदस्य कलाकार तथा सजर्कलाई अफ्ठयारो पर्दा बोल्ने भन्ने छ । तर यसको अर्थ सदस्य नरहेका सर्जकका पक्षमा बोल्नै हुँदैन भन्ने होइन । संस्था भनेको कोही व्यक्ति विशेषको हुँदैन । समग्र क्षेत्रका लागि हो । सबैका लागि हो ।” 

उनी विभिन्न बहानामा सिर्जनामाथि अंकुश लगाउने प्रयास भइरहेको भन्दै यस्तो अवस्थामा गीत–संगीतसँग सम्बन्धित सबै संघ–संस्थाले एकमुख भएर आवाज उठाउनुपर्ने बताउँछन् ।

गीतकार संघको पनि यो विषयलाई लिएर आधिकारिक धारणा आएन । गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा संस्थागत रूपमा धारणा सार्वजनिक गर्न कोरोनाका कारण सम्भव नभएको बताउँछन् । “साथीहरू अझै पनि कोरोनाका कारण भेट्न डराउँछन् । त्यसैले संस्थागत रूपमा बोल्न सकिएन,” उनी भन्छन्, “केही दिनमा संस्थाका पदाधिकारीहरूसँग भर्चुअल बैठक बसेर आधिकारिक धारणा बनाउनेछौं ।” 

अध्यक्ष देवकोटाले गीतकारहरू कोरोना संक्रमणको जोखिमले एक–अर्कालाई भेट्न डराउँछन् भने पनि सांगीतिक क्षेत्र चलायमान भइसकेको छ । गीत रेकर्डिङ भइरहेका छन् । स्टुडियोमा गीतकार, संगीतकार तथा गायकहरू रेकर्डिङमा फलानो व्यक्तिसँग भनेर सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरिरहेका छन् । म्युजिक भिडियोहरू खिच्ने काम भइरहेको छ । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष तथा गायक तथा संकलक दुर्गा रायमाझीका अनुसार यो वर्ष हालसम्म करिब पाँच करोडका तिज गीत बनिसकेका छन् । “यो वर्ष अहिलेसम्म रेकर्ड भएका तिज गीत र तिनको भिडियोमा मात्रै करिब ५ करोड लगानी भइसकेको छ,” दुर्गा भन्छन् । यसले पनि सर्जक तथा कलाकार घरभित्रै बसेका छन् भन्ने कुरा बहानाबाजी मात्रै भएको प्रस्ट हुन्छ । 

यद्यपि गीतकार संघका अध्यक्ष देवकोटा गीत–संगीतमाथि हस्तक्षेप भएको आफूले महसुस गरेको बताउँछन् । 

गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा समाज सुधारक गीतको विरोध गर्नुको अर्थ नरहेको बताउँछन् । व्यङ्यात्मक चेत र पथपदर्शक गीतको विरोध गर्नुपर्ने कुनै कारण नरेहेको उनी बताउँछन् । समाज सुधारका लागि आलोचनात्मक चेतसहितका व्यङ्ग्य मिश्रित गीत र समाजमा रहेका खराब संस्कार परिमार्जनका लागि अपिल गरिएका गीत लेख्नु तथा गाउनु स्रष्टाको दायित्व भएको उनको भनाइ छ । 

उनी सोफियाको गीत हटाउन लगाउनु अतिवादी प्रवृत्ति भएको टिप्पणी गर्दै उक्त गीतमा हिन्दु धर्मको विरोध आफूले नदेखेको बताउँछन् । 

गायक रामकृष्ण ढकाल प्रजातान्त्रिक मुलुकमा अभिव्यक्तिको स्वतन्त्रता सबैमा रहेको भन्दै त्यसको उपभोग गर्न सबै स्वतन्त्र रहेको उनी बताउँछन् । यद्यपि सर्जक स्वयंले अरुलाई लाल्छना लगाउने र व्यक्तिलाई असर गर्ने खालका शब्द भने प्रयोग गर्न नहुने उनको भनाइ छ । 

“गीत रेकर्डेड हुने र त्यसको ठूलो असर वा प्रभाव पार्ने भएकाले आफ्नो सिर्जना कस्तो छ सर्जक स्वयं सचेत हुनुपर्छ,” रामकृष्ण ढकाल भन्छन्, “तर अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्नचाहिँ कुनै पनि बहानामा पाइँदैन ।” 

सर्जक संयमित भएर आफ्नो अभिव्यक्ति राख्दा त्यसमाथि दबाब र धम्की आउँदा सम्बन्धित संघ–संस्था बोल्नुपर्ने उनको भनाइ छ । “सम्बन्धित संघ–संस्था भनेको यस्तै बेलाका लागि त हो । यस्तो अवस्थामा आवाज उठाइदिन पनि जरुरी हुन्छ ।”

विनापूर्वाग्रह र खराब मनासय नराखी गाइएका गीत तथा अन्य सिर्जनामा कहीँकतैबाट पनि अंकुश लगाउन नहुनेमा उनको जोड छ । 

गीतकार दिनेश अधिकारी, राजेन्द्र थापा, कुमार बस्नेत, गीतकार तथा गजलकार कृष्णहरि बास्कोटालगायतले विद्यमान संस्कार तथा संस्कृति परिमार्जनका लागि अपिल गरेका तथा आलोचनात्मक व्यङ्ग्य गर्दैमा कुनै पनि सर्जक तथा सिर्जनामाथि अंकुश लगाउन नहुनेमा जोड दिएका छन् । उनीहरूले सर्जक अन्यायमा परेको अवस्थामा उसको संरक्षक राज्य स्वयं हुनुपर्ने बताएका छन् । पूर्व सचिवसमेत रहेका गीतकार दिनेश अधिकारी अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुष्ठित गरिएको खण्डमा पीडितलाई न्यायको ढोका ढक्ढक्याउन सुझाव दिन्छन् । 

अघिल्लो साता गायिका सोफिया थापाले ‘यस वर्षको तिज नो व्रत प्लिज’ बोलको गीत सार्वजनिक गरेपछि हिन्दु जारण नेपालको धम्कीका कारण हाइलाइट्स नेपालले उक्त गीत युट्युब च्यानलबाट हटाएको थियो । 

सर्जकको सिर्जना आफूलाई मन नपरेकै भरमा जबरजस्ती हटाउन बाध्य पारेको भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता गगन थापा, साझा पार्टी संयोजक रवीन्द्र मिश्र लगायतले उक्त हिन्दु जागरण नेपालको धम्कीप्रति आलोचना गर्दै आपत्ति जनाए पनि यो समाचार तयार पार्दासम्म गीत–संगीतसँग सम्बन्धित संघ–संस्था भने मौन रहेको भन्दै उनीहरूको आलोचना भइरहेको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पनि यो विषयमा बेखबर छ । प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) आफूलाई सोफियाको गीत र त्यसमा सिर्जना भएको विवादबारे थाहै नभएको भन्दै यसबारे बोल्न चाहेनन् । प्रतिष्ठान संगीत क्षेत्रको एकमात्रै सरकारी उच्च निकाय हो । 

आफूलाई पर्दा रोइकराई गर्ने तर अरूलाई पर्दा रमिते बन्ने नेपाली सांगीतिक क्षेत्रको रोगै रहेको संगीतकार लक्ष्मण शेष बताउँछन् । 

“नेतृत्व लिन लालायित हुने तर जिम्मेवारी लिन पन्छिने हाम्रा संघ–संस्थाको विशेषतै बनेको छ,” यो प्रवृत्ति अन्त्य नभएसम्म यस्ता आक्रमण नरोकिने र स्रष्टा कमजोर भइरहने उनको भनाइ छ । 

संगीतकार वसन्त सापकोटा आफूलाई पर्दा मात्रै संघ–संस्थाको कुरा गर्ने तर अरूलाई परेका बेला नबोल्ने संस्कृति रहेको बताउँछन् । सबै सामूहिक रूपमा सँगै हिँड्ने संस्कारको अभाव रहेको उनी बताउँछन् । 

“कुन कुरा सही र कुन गलत भन्नका लागि संगीत विकास बोर्डको आवश्यकता पर्छ । यदि यस्तो बोर्ड भएको भए गीत निकाल्नुभन्दा अगाडि नै कतिसम्म ठीक हुन्छ भनेर निक्र्योल गरिने हुँदा यस्तो विवादै आउँदैन,” वसन्त भन्छन्, “संस्कार, संस्कृति, रितिरिवाज र धर्मका विषयमा कति बोल्ने र कति नबोल्ने कुनै व्यक्ति विशेष र संस्थालाई अफ्ठ्यारो हुन्छ । त्यसैले पनि यस्ता संवेदनशील विषयमा निर्णय लिन पनि बोर्डको आवश्कयता पर्छ । नियमनकारी निकायको टड्कारो खाँचो छ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC