तरुणहरू ‘दाइको गुट’मा बाँडिने कि एकजुट हुने ? 

रमेश बस्ताकोटी 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही २०७७ साल फागुन ७ गतेबाट सुरु हुने कार्यतालिका सार्वजनिक भएको छ । महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणलगायतका अभ्यास सुरु भइसकेका छन् । यसैले सबैको ध्यान नेपाली कांग्रेसको महाधिवेशनतिर तानिन थालेको छ ।

नेपाली कांग्रेस मुलुककै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो । कांग्रेसले महाधिवेशनमार्फत् लिने नीति तथा कार्यक्रमले समग्र नेपाली जनता र मुलुकको भविष्य निर्धारणमा प्रभाव पार्नसक्छ । त्यसकारण पनि कांग्रेसको महाधिवेशनप्रति जनचासो हुनु स्वाभाविकै हो । कांग्रेसको १४ औं महाधिवेशन नीति तथा कार्यक्रमका दृष्टिले त महत्त्वपूर्ण छँदैछ अझ महत्त्वपूर्ण अर्को पक्ष नेतृत्वको हो । 

बीपी कोइरालाले युवा अवस्थामा नै नेपाली कांग्रेस पार्टीको स्थापना गरेका थिए । बीपी कोइराला ३५ वर्षको उमेरमा पार्टी सभापति र  ४३ वर्षको उमेरमा देशको प्रधानमन्त्री बनेका थिए । अर्थात्, विगतमा कांग्रेसको नेतृत्व मूलतः तरुणहरूले नै गरेका थिए । नेपाली कांग्रेस पार्टी स्थापना हुँदा यसका संस्थापक पनि सबै जुझारु युवा थिए । 
चौधौं महाधिवेशनको रौनक सुरु भएसँगै कांग्रेसभित्र फेरि युवा नेतृत्वको विषयले प्रवेश पाएको छ । नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा ७४ वर्षका भए । वरिष्ठ नेता रामचन्द्र पौडेल ७५ वर्षका भए । महामन्त्री डा. शशांक कोइराला ६१ वर्षका भए भने नेता कृष्णप्रसाद सिटौला ७१ वर्षका भए । यसको मतलब कांग्रेसको नेतृत्व तहमा रहेका सबै नेता ६० वर्ष कटिसकेका छन् । यसो त यो पार्टीलाई विगत लामो समयदेखि ६० माथिको पुस्ताले नेतृत्व गरिरहेको छ । यद्यपि, नेपाली कांग्रेस निर्माणमा उनीहरुको विशेष भूमिका थियो । तर, यसको अर्थ अभिभावकको भूमिकामा बस्ने बेलामा नेतृत्वमै टाँसिनुपर्छ भन्ने पनि त होइन । 

हुनत, उमेरले नभएर विचारले युवा हुने हो भन्ने तर्क पनि आउँछ । केही हदसम्म त्यो सही पनि हो । अर्थात्, तरुणोचित जोसिलो प्रगतिशील विचार ६० कटेका नेताले राख्दैनन् भन्ने होइन । व्यक्ति बूढो हुँदैमा बिचार र नीति पनि पुरातन नै हुन्छ भन्ने त छैन । तर के नेपाली कांग्रेसभित्र त्यस्तो अवस्था छ त ? सबैले एकपटक गम्भीर भएर सोचौँ । 

नेपाली कांग्रेसको वर्तमान नेतृत्व पंक्तिले न कुनै कार्यक्रम दिन सकेको छ न त कुनै कार्यदिशा नै छ । कम्युनिस्टहरुको लहलहैमा लागेर यही नेतृत्वले पार्टीको आकार कहाँ पुर्‍यायो यहाँ भनिरहनु नपर्ला । त्यसकारण अब देउवा, पौडेल, सिटौलालगायतको पुस्ताले विश्राम गर्नुपर्छ । पार्टीमा अब युवा नेतृत्व स्थापित हुनु आवश्यक छ । 

कांग्रेसभित्र कैयौं सक्षम र आशालाग्दा युवा नेतृत्वमा आउन सुयोग्य छन् । के उनहरु सबैलाई ६० कटेको पुस्ताको पछि लगाएर तिनको सिर्जनशीलता र ऊर्जा मारिरहने हो ? अहिले पनि नेपाली कांग्रेसमा डा. चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गगन थापा, गुरु घिमिरे, बद्री पाण्डे, प्रदीप पौडेल, महेन्द्र शर्माजस्ता आशालाग्दा तरुण छन् । तिनले यो पार्टी र देशका लागि आफ्ना विचारद्वारा परिवर्तन ल्याउन सक्छन् भन्ने कम्युनिस्टहरु पनि स्वीकार गर्छन् । यी बाहेक पनि धेरै आशा लाग्दा युवा नेता कांग्रेसमा छन् । सबैको नाम उल्लेख गरिरहन संभव भएन । यसको मतलब के हो भने कांग्रेसलाई नेतृत्व गर्न सक्षम तरुणहरुको एउटा ठूलो पुस्ता तयार भइसकेको छ । त्यसकारण अब युवालाई नेतृत्व हस्तान्तरण गर्न ढिला गर्नु हुँदैन । 

कांग्रेसका महाधिवेशन प्रतिनिधिले अब यस विषयमा सोच्नु आवश्यक छ । सधैँ फलानो दाइ भनेर पछि लाग्नुको साटो अब सोच विचार गरेर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आवश्यक छ । यसका लागि कांग्रेसको १४ औं महाधिवेशनमा तत्लो तहबाटै व्यापक मात्रामा तरूणहरु निर्वाचित भएर आउन जरुरी छ । देशभर युवाको पक्षमा महोल बनाउन सकियो भने त्यो असंभव पनि छैन । 

अब अर्को तर्क आउन सक्छ – युवा भने पनि तिनै ‘दाइ’हरुको पिछलग्गु न हुन् । अनि युवा नेतृत्वको बहस गर्नुको के अर्थ ? युवा भनेका नेताहरुनै केन्द्रीय सदस्य जित्न दाइहरुकै आर्शीवाद नपाई संभव छैन भने युवा नेतृत्वको बहसको के अर्थ ? यो सन्देह सही हो । अहिले युवा भनेका नेता पनि कुनै न कुनै दाइको गुटमा छन् । उनीहरु त्यस्ता गुटबाट बाहिर निस्केर समग्र युवाको हितमा बोल्ने आँट गर्लान् ? नेतृत्वमा हस्तक्षेप गर्ने आँट गर्लान् ? भन्ने विषय शंकाकै घेराभित्र छ । तैपनि, कांग्रेसभित्र युवा नेतृत्वको बहस समग्र पार्टीको परिवेशलाई नबुझी चलाइएको हैन । घेराबाट निस्केर आउन गाह्रो अवश्य होला तर इच्छाशक्ति भए असंभव चाहिँ छैन । 

अतः कांग्रेसका युवा नेता अब एक ठाउँमा उभिनु आवश्यक छ । नेतृत्वमा प्रभावकारी हस्तक्षेप गर्ने हो भने तरुणहरू एक ठाउँमा उभिनुको विकल्प छैन । एक ठाउँमा उभिएर देशभर युवा नेतृत्वको पक्षमा वातावरण नबनाउने हो भने फेरि पनि दाइहरुकै पछि लागेर नेतृत्वमा पुग्न ७० वर्ष पुग्ने दिन कुरेर बस्नुपर्नेछ । त्यसकारण चौधौं महाधिवेशन युवा नेताहरूका लागि परीक्षाको घडी पनि हो । यो परीक्षामा खरो उत्रिएर एकपटक महाधिवेशनमार्फत् युवा नेतृत्व स्थापनामा जोड दिऊँं । नेतृत्वमा को पुग्ला त्यसलाई महत्त्वपूर्ण विषय नठानौ । मूल कुरा युवा पुस्ता नेतृत्वमा पुग्नुपर्छ भन्ने हो । आज एउटा युवा पुग्यो भने भोलि अर्को युवा पुग्छ । त्यसले गर्दा पार्टी गतिशील हुन्छ । विपक्षीसँग लड्न सजिलो हुन्छ । त्यसैले सबै युवा नेताले यस पटक यो या त्यो नभनी युवा नेतृत्व स्थापना अभियानमा समर्पित हुनु जरुरी देखिन्छ । 

अहिलेकै कांग्रेस नेतृत्वले सघाएर तरुण पुस्तामा नेतृत्व हस्तान्तरण गर्न सके झनै सुनमा सुगन्ध हुने थियो । सार्वजनिक सेवामा उमेरको पछिल्लो हद ६५ छ । कांग्रेसमा पनि अब ६५ वर्षको काटेका नेताहरु अभिभावकीय भूमिकामा बस्दा नै उत्तम हुन्छ । देशभरका तरुणहरूले अब कांग्रेसभित्र युवा नेतृत्वको अभियानलाई व्यापक बनाउन आवश्यक छ । समय अब आएको छ । यसपटक महाधिवेशन मार्फत् युवा नेतृत्व स्थापित भयो भनेमात्र सही अर्थमा कांग्रेसले देशको नेतृत्व गर्न सक्छ । अर्थात्, कांग्रेसले एक पटक फेरि मुलुकको ठूलो पार्टी बनेर देशको नेतृत्व गर्न सक्छ । यसका लागि कांग्रेसको मूल नेतृत्व तहमा यही महाधिवेशनबाट तरुणहरुलाई पुर्‍याउनै पर्छ । कांग्रेसका युवाले हिम्मत गरुन् – अब दाइको गुट छाडेर एकजुट हुन । दाइकै गुटमा बसिरहने हो आफ्नो त नेतृत्व गर्ने पालो आउँदैन नै पार्टी र देशको पनि भलो हुँदैन । तरुणहरूले साँच्चै नै आँट्ने हो भने असम्भव छैन । हिम्मत गर ! 

प्रतिकृया दिनुहोस
ad