तराईमा संक्रमण रोक्न विशेष ध्यान देऊ ! 

संकटमा पनि न प्रदेश २ को राजनीतिक नेतृत्वले व्यवस्थापन कौशल देखायो न केन्द्र सरकार गम्भीर देखियो

कोभिड–१९ को संक्रमण नियन्त्रण भइसकेको ठानियो भने परिणाम भयावह हुनसक्छ । सुरुदेखि नै कोभिड–१९ को संक्रमणको व्यवस्थापनमा सरकारको रणनीति गलत र नियत कपटी देखिएको थियो । तर चार महिना लामो बन्दाबन्दी (लकडाउन) को अर्थतन्त्र र जनजीवनका लागि निकै महँगो हुनपुग्यो ।  तैपनि, बन्दाबन्दी अन्त्य गर्दा सरकारले जनस्वास्थ्यको भन्दा आर्थिक आधार लिएपछि संक्रमणको दोस्रो लहर फैलिन थालेको देखिन्छ । दोस्रो लहरमा अपेक्षाकृत बढी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा कोभिड–१९ को संक्रमण भएको समाचार आएको छ । त्यसमा पनि तराईका केही जिल्लामा त संक्रमण समुदायमै पुगेको सन्देहसमेत गरिएको छ । विशेषगरी प्रदेश नम्बर २ को वीरगन्जदेखि राजविराजसम्म कोभिड–१९ इलाका बन्ने जोखिम देखिएको छ । यसैले तत्काल त्यस क्षेत्रमा संक्रमण व्यवस्थापनका लागि सावधानी र परीक्षण बढाउनु आवश्यक देखिन्छ । 

सरकारले देशभर एकैपटक र एकैप्रकारको बन्दाबन्दी (लकडाउन) लागू र अन्त्य गर्नु गलत भएको देखियो । त्यसबीचमा कतिपय क्षेत्रमा सावधानी, तयारी र केही हदसम्म परीक्षण नै पनि सन्तोषजनक रह्यो । पहाडका अधिकांश क्वारेन्टिनहरू पनि स्थानीय तहको व्यवस्थापनमा राम्ररी नै सञ्चालन भए । तर, तराईका जिल्लाहरूमा प्रायः क्वारेन्टिन, सावधानी र परीक्षण सन्तोषजनक भएनन् । प्रदेश २ का सबै जिल्ला भारतको विहार राज्यसँग जोडिएका छन् । विहारमा संक्रमण बढी रहेको छ । विहारमा संक्रमण नहुँदा नेपाल आउन चाहनेलाई सीमामा रोक्ने गरियो । सीमामा रोकिएकाहरूलाई देशभित्र आउन दिने बेलामा विहारमा संक्रमण फैलन थालिसकेको थियो । त्यसपछि अधिकांश संक्रमण भारत वा तेस्रो मुलुकबाट आउनेहरूबाट सरेको छ । तर, सरकारले बन्दाबन्दी अन्त्य गर्दा संक्रमणको अवस्था नहेरी देशभर एकैपटक एकैप्रकारले गरिदियो । यो सायद, स्वास्थ्यभन्दा आर्थिक कारणले बन्दाबन्दी हटाउनुको परिणाम हो । 

प्रदेश २ का जिल्लामा संक्रमण भयावह देखिनुको प्रमुख कारण भने भारतसँग जोडिनु हो । तर, त्यसका साथै यहीँका आन्तरिक कारणले पनि त्यस प्रदेशको जोखिम बढेको छ । भौगोलिक दृष्टिबाट सबै समथर भूभाग भएकाले आन्तरिक आवागमनमा पनि सजिलो छ । कुनै नाका वा राजमार्गमा निगरानी गरेर यहाँको वैध अवैध आवतजावत रोक्नै सकिँदैन । बस्तीहरूमा जनघनत्व बढी छ । गरिबी पनि प्रदेश नम्बर २ मा मध्यपहाडका तुलनामा बढी छ । यसैगरी स्वास्थ्य चेतना पनि कमजोरै छ । यति नै बेला बाढीको प्रकोप सुरु भएको छ । बाढीपीडितहरूका लागि कोभिड–१९ बाट बच्ने सावधानीभन्दा बाढीबाट जोगिने उपाय बढी महत्त्वपूर्ण हुन्छ ।

प्रतिव्यक्ति स्वास्थ्य सेवाका दृष्टिमा पनि तराईको यो भूभाग औसतभन्दा पछाडि नै देखिन्छ । यसैले प्रदेश नम्बर २ मा कोभिड–१९ को महामारीको जोखिम बढी हुन्छ । अर्कोतिर, स्थानीय र प्रदेश सरकार पनि अरू प्रदेशका तुलनामा अपवादबाहेक यहीँ निकम्मा देखिएका छन् । यहाँको राजनीतिक नेतृत्वले संकटका समयमा पनि व्यवस्थापन कौशल देखाउन सकेन । उता, केन्द्र सरकार प्रदेश २ को विशेष आवश्यकताप्रति गम्भीर भएन । यी सबै कारणले तराईको यो भूभाग महामारी क्षेत्र बन्ने जोखिम बढेको हो । यसैले नेपाल सरकारले प्रदेश नम्बर २ मा तत्काल ध्यान केन्द्रित गरी स्थानीय रणनीति विकास गर्नुपर्ने देखिन्छ । प्रदेश २ का लागि विशेष रणनीति तयार गरियो भने अरू प्रदेशमा पर्ने तराईका जिल्लामा पनि आवश्यकताअनुसार अपनाउन सकिन्छ । तराईका गाउँले बस्तीमा महामारी फैलियो भने अकल्पनीयरूपमा भयावह हुनसक्छ । 
 

प्रतिकृया दिनुहोस
ad