लकडाउनले थन्किए रंगकर्मी, अभिनयमा फर्कन यस्तो तयारी !

‘यदि एक पक्ष मात्रै पनि तयार भएन भने कलाकार आफ्नो अभिनय र भूमिकामा केन्द्रित हुन सक्दैन’

लकडाउनले थन्किए रंगकर्मी, अभिनयमा फर्कन यस्तो तयारी !

काठमाडौं । रंगमञ्च कलाले भरिएको त्यस्तो घर हो, जहाँ दर्शक प्रत्यक्ष रूपमा जोडिएर कथा र भूमिकामा बग्ने गर्छ । दर्शकलाई कथामा बाँधेर आफूसँगै छिनमै हँसाउने त छिनमै रुवाउने कलात्मक काम रंगकर्मीले गर्छन् । आफूमा त्यो खुबी ल्याउन रंगकर्मीहरू नाटकको महिनौं अघिदेखि रिहर्सल र शारीरिक अभ्यासमा जुट्छन् । 

नाटकमा अभिनय देखाउन शारीरिक व्यायमले ठूलो भूमिका खेल्नेमा रंगकर्मीहरू विश्वास गर्छन् । अभिनय गर्नु भनेको संवादसँगै शारीरिक हाउभाउलाई पनि अर्थपूर्ण रूपमा बगाउन रिहर्सल गर्नुपर्ने उनीहरू बताउँछन् ।

रंगकर्मीको दैनिकी अभिनय नै हो । थिएटर चैतदेखि बन्द भएपछि रंगकर्मीहरू नित्यकर्मदेखि टाढा छन् । झन्डै पाँच महिनादेखि रिहर्सल र नाटक गर्न नपाएका रंगकर्मीहरूलाई लय समात्न गाह्रो भइरहेको छ । लामो समयपछि फर्किंदा सुरुको समय केही धरमराएको जस्तो भए पनि छिटै शरीर र मस्तिष्कले लय समात्नेमा उनीहरू विश्वस्त छन् ।

०००

रंगकर्मी सरस्वती अधिकारी नाटक सुरु हुनुअघि १, २ महिना रिहर्सल हुनैपर्ने बताउँछिन् । थिएटर प्रत्यक्ष हुने भएकाले रिटेक हुँदैन जसका कारण कलाकारमा निपूर्णता र भूमिकालाई आफूभित्र महसुस गरेको हुनुपर्ने भएकाले मञ्चनअघि लामो रिहर्सल हुन्छ ।

अहिले अरू कलाकारजस्तै उनी पनि विगत ४ महिनादेखि नाटक र अभिनयबाट टाढा छिन् । अझै थिएटरमा पहिलेजस्तै नाटक मञ्चन कहिलेदेखि सुरु हुन्छ उनलाई थाहा छैन । तर लामो समय अभिनयबाट टाढा रहेकाले एकैपटक लय समात्न गाह्रो हुने हो कि भन्ने चिन्ता पनि छ ।

अब रिहर्सलमा फर्किंदा केही दिन वा साता शरीर र मस्तिष्क ‘फर्म’ मा आउन गाह्रो भए पनि २–३ पटकको अभ्यासले पहिलेजस्तै सजिलो हुने उनको विश्वास छ । अभिनयलाई साइकल चलाउन जान्ने सीपसँग तुलना गर्दै उनी भन्छिन्, “यो भनेको हामीले बच्चैमा साइकल चलाउन सिकिसकेको जस्तै हो । हामीले सानोमा साइकल चलाउन सिकिसकेका छौं भने अहिले चलाउँदा केही धरमर पक्कै होला तर सीप छ भने चलाउन सक्छौं । त्यस्तै अभिनय पनि हाम्रा लागि यस्तै हो, हामीमा सीप र अनुभव छ भने सक्छौं, किनभने हामीले अभिनय गर्न बिर्सेका हुँदैनौं ।”

उनी हरेक कलाकारमा अभिनय गर्ने क्षमता जन्मजातै हुन्छ भन्ने कुरामा विश्वास गर्छिन् । जसका कारण कलाकारहरू कलामा बगेर हरेक किसिमको भावलाई छिनमै उतार्न पोख्त हुन्छन् । सुरुको एक महिना आरामले आफ्ना लागि समय बिताइरहेकी उनी पछिल्लो समय भने रिहर्सलमा फर्किन सहज होस् भनेर इन्टरनेटमा नाटकअघि शरीरलाई तयार पार्न गरिने (बडी वार्म अप) तथा रिहर्सलहरू हेरिरहेकी छिन् ।

०००

यस्तै अर्की रंगकर्मी संगीता उराँव पनि यो लामो थन्काइपछि पहिलोपटक रंगमञ्चमा फर्किदा केही गाह्रो हुने कुरामा सहमत छिन् । “हामीले कुनै पनि नाटक मञ्चन गर्नुअघि महिनौं लगाएर त्यसको तयारी गर्छौं । पहिले नियमित अभ्यास भइरहन्थ्यो र हाम्रो शरीर र मस्तिष्कमा पनि त्यही बानी परिसकेको हुन्थ्यो । तर अब त्यो छुटिसकेकाले पहिलेकै लयमा फर्किन केही असहज हुन्छ होला तर त्यो क्षणिक हुनेछ ।”

कलाको मैदानमा फर्किंदा गाह्रो नहोस् भनेर अहिले उनी घिमिरे युवराजको शिल्पी थिएटरमै अरू कलाकारहरूसँग शारीरिक अभ्यास गरिरहेकी छिन् । हुन त यो (वार्म अपको) कक्षाअघि पनि शिल्पीको खबरदारी कार्यक्रमका लागि संगीताले अभिनयको मैदानमा फर्किने मौका पाइसेकी थिइन् ।

अब पुनः रिहर्सलमा फर्किंदा अरू कलाकारलाई जस्तो उनलाई गाह्रो नहुनेमा विश्वस्त छिन् । साथै अरूबेला एकपछि अर्को गर्दै फरक–फरक भूमिकामा बाँच्नुपर्ने भएकाले अघिल्लो पात्रको ह्याङ दोस्रोमा देखिने थियो । लामो समयको ‘ग्याप’ ले अगाडिको सबै पात्रलाई बिर्सिएर नयाँमा आफूलाई ढाल्न सजिलो हुन्छ कि भन्ने आशा पनि उनमा कायमै छ । 

०००

रंगकर्मी झकेन्द्र बीसी लकडाउन सुरु हुनुअघि नै काम विशेषले जन्मथलो कैलाली गएका थिए । पछि सरकारले लकडाउन घोषणा गर्‍यो र उनी उतै रोकिए ।  सुरुको १, २ महिना गाउँघर, परिवार र साथीहरूसँगै रमाएका उनलाई त्यसपछि भने उकुसमुकुस र छट्पटाइले पिरोल्न थाल्यो । 

“१, २ महिना रमाएँ । तर पछि म को हुँ ? म त पहिलेकै कसैको छोरा, कसैको साथी त्यही गाउँघरकै झकेन्द्र रहेछुजस्तो भएको थियो,” उनी भन्छन्, “किनभने काठमाडौंमा अभिनय गरेर पाएको कलाकार भन्ने नाम यहाँ हराइसकेको थियो । म रंगमञ्च र अभिनयबाट टाढा थिएँ ।”

उनी अभिनयमा (बडी ल्यांग्वेज) को एकदमै महत्त्वपूर्ण भूमिका रहने बताउँछन् । “हामीले संवाद बोलिरहँदा बोल्ने मात्रै गर्दैनौं, त्यसलाई नेतृत्व गर्दै हाम्रो शरीरले पनि व्यक्त गरिरहेको हुन्छ । जसका कारण लामो समय शरीरलाई अभ्यास नगराई शिथिल बनाइराख्यौं भने हामीलाई मञ्चमा फर्किन एकदमै गाह्रो हुनेछ ।” त्यसैले उनी रिहर्सल गर्न नपाए पनि शारीरिक व्यायाम भने गरिहेका छन् ।

मार्सल आर्टका विद्यार्थी उनी रंगमञ्चमा जोडिएसँगै नाटकघरमा रिहर्सलअघि गराइने (वार्म अप) कक्षाले व्यायाम र अभिनयको गहिरो सम्बन्धबारे थाहा पाएको बताउँछन् । 

अब थिएटरमा फर्किंदा शरीरलाई फर्ममा ल्याउन शारीरिक व्यामले मद्दत गरे पनि कोरोनाको कहरले पुर्‍याएको मानसिक चिन्ता र डरले अभिनयमा केही असर गर्ने र लामो समयपछि कर्मथलो फर्किंदा त्यहाँको वातावरणसँग घुलमिल हुन पनि केही समय लाग्न सक्ने बताउँछन् ।

०००

अर्का रंगकर्मी विकास पन्त पनि अब थिएटरमा फर्किंदा कलाकार मानसिक रूपमा तयार हुन केही समय लाग्ने बताउँछन् । उनी भन्छन्, “शरीरलाई फर्ममा ल्याउन त शारीरिक अभ्यास गरिरहेका छौं । तर यो महामारीले मानसिक रूपमा केही डिस्टर्ब भने भइरहेका छौं ।” पन्तका अनुसार अभिनय गर्नु भनेको शारीरिक र मानसिक दुवै रूपमा सबल र तयार हुनु हो । “यदि एक पक्ष मात्रै पनि तयार भएन भने कलाकार आफ्नो अभिनय र भूमिकामा केन्द्रित हुन सक्दैन,” उनले भने ।

वर्षा महर्जन

प्रतिकृया दिनुहोस
ad