site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 सुधारिएको भूमण्डलीकरणका पक्षमा

कोभिड–१९ महाव्याधिले ग्लोबलाइजेसन अर्थात् भूमण्डलीकरणका विषयमा मनन् गर्नका लागि धेरै समय प्रदान गर्‍यो । विश्वव्यापी उथलपुथलको यस समयमा ग्लोबलाइजेसनको समस्या र राष्ट्रिय सीमाको परिधिभित्र खुम्चनुमा फाइदा पनि देखियो । यसरी हेर्दा, अहिलेको संकटले अन्य धेरै विषयमा जस्तै पुरानै प्रवृत्तिलाई फेरि गति प्रदान गरेको छ । सन् २०१२ देखिनै व्यापार र कुल गार्हस्थ उत्पादनको अनुपातमा कमी आएको छ । भूमण्डलीकरणको मापन गरिने यो प्रमुख औजारमा नै खिया लागेपछि यसका विरोधीहरू अहिले केही समयका लागि चर्चित बनेका छन् । 

भूमण्डलीकरणमा अविश्वास गर्न यसका विरोधी आन्दोलनहरूसँग प्रशस्त कारण छन् र हालका दिनमा कारण अझ थपिएका छन् । अत्यन्त जरुरी वस्तुको अभाव — फेस मास्क देखि यिस्ट (मर्चा) — ले हामीले प्रयोग गर्ने जरुरी वस्तुहरूको आपूर्ति व्यवस्था त्यति सशक्त नभएको र विश्व आपूर्ति संरचना कमजोर भएको प्रमाणित गरेको छ । यस्ता वस्तु केही देशमा धेरै मात्रामा थुप्रिने तर कतिपय देशमा चाहिने मात्रामा पनि नहुने अवस्था देखियो । भूमण्डलीकरणले खासगरी विकसित मुलुकमा धेरैको आर्थिक अवस्था कमजोर बनाएको देखियो । 

आर्थिक अवस्था बिग्रेको सबैभन्दा स्पष्ट उदाहरणका लागि संयुक्त राज्य अमेरिका प्रशस्त छ । यो देशमा अत्यन्त गरिब ५० प्रतिशत जनताको सरदर आम्दानीमा सन् १९८० देखि २०१० सम्म साँच्चिकै कमी आएको छ । अमेरिकाले आफ्ना उत्पादन कार्य अन्यत्र सार्दा उत्पन्न कारणबाट मात्र यस्तो भएको होइन (यान्त्रिकीकरणले ल्याएको असमानता कतिपय अवस्थामा बेवास्ता गरिन्छ), तर यो महत्त्वपूर्ण कारण चाहिं हो । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्वव्यापी उत्पादन प्रक्रियामा आमूल परिवर्तन गर्ने सोचमा भने रोक लगाउनु पर्छ । अर्थशास्त्री आदम स्मिथको विशिष्टीकरणको सिद्धान्त तथा डेभिड रिकार्डोको तुलनात्मक लाभ (कम्पेरेटिभ एडभान्टेज) को सिद्धान्त २०० वर्षअघि जति सत्य थिए अहिले पनि त्यतिनै पक्का छन् । समष्टिगतरुपमा हेर्दा विश्वव्यापीकरणले अर्बौं जनतालाई निरपेक्ष गरिबीको रेखाबाट माथि उठाउन निकै मद्दत गरेको छ । त्यसैले यसलाई मेटाउने होइन बरु यसमा सुधार गरिनुपर्छ । 

क्षेत्रीय आर्थिक एकीकरण बढाउने संस्थाहरूले आवश्यक वस्तु उत्पादनको ‘भ्यालु चेन’ बलियो बनाउन जरुरी छ । इलेक्ट्रोनिक्सको चिप बनाउने काममा मात्र होइन अन्य जरुरी सामग्री जस्तै खानेकुरामा पनि भ्यालु चेन सशक्त बनाउन जरुरी देखिन्छ । उद्योगहरूले चाहिएको बेलामा उत्पादन गर्ने सोच परिवर्तन गरेर परेको बेलामा उत्पादन गर्नसक्ने सोच विकास गर्नुपर्छ । यसले सामान सस्त्याउने वा आर्थिक मुनाफा बढाउने होइन बरु सहज आपूर्तिको प्रत्याभूति गर्छ । यो कार्य कुशलतापूर्वक सम्पन्न गर्न निरंकुश शासन चाहिँदैन बरु विविधतायुक्त विश्व वितरण प्रणालीको जरुरत हुन्छ । 

Global Ime bank

साथै, देशहरूबीच देखिएको ठूलो असमानताविरुद्धको लडाइँं जारी राख्नु पर्छ । राष्ट्रिय र स्थानीय सरकारले मजदुरको आधारभूत अधिकारको रक्षा र तिनको मर्यादित भविष्य सुनिश्चित गर्नेगरी कामदार सुरक्षाको उपाय अपनाउनुपर्छ । यसको लागि धेरै देशमा लागू भएको न्यूनतम ज्यालाको प्रत्याभूति गरिनुपर्छ । भविष्यको आर्थिक क्षेत्र भनेको अहिलेको शिक्षा हो, त्यसमा लगानी गरिनुपर्छ । त्यस्तै जनताको रोजगारी कार्यक्रमलाई हरित आर्थिक क्रान्तिसँग जोड्नुपर्छ ।

विश्व व्यापार व्यवस्थामा देखिएको समस्यालाई नीति निर्माताले तुरुन्तै सम्बोधन गर्नुपर्छ । अब आउने विश्व व्यापार संगठनका महानिर्देशकको छनोट पनि महत्त्वपूर्ण हुनेछ । तर, जो आए पनि दोहा राउन्डबाट उँधो लागेको यस संस्थालाई जोगाउनु चुनौतीपूर्ण छ । त्यस्तै, सदस्य राष्ट्रहरूले आफूलाई विकाशशील वा विकसित भनेर विनाकुनै वस्तुगत आधारमा घोषणा गर्नसक्ने अधिकार तथा पुनरावेदन समितिको असफलताको मार पनि नयाँ हुने नेतृत्वको काँधमा पर्नेछ । यो पुनरावेदन समिति अन्तर्राष्ट्रिय व्यापार संगठनको महत्त्वपूर्ण अंग हो । किनभने यसको अनुपस्थितिमा व्यापार युद्ध बढेरै जानेछ । 

जनसाधारणले भूमण्डलीकरण अर्थात् ग्लोबलाइजेसनलाई अन्तर्राष्ट्रिय व्यापारको वृद्धि तथा वित्तीय पुँजीको स्वतन्त्र विचरण भन्ने बुझ्छन् । तर, अर्थशास्त्री ड्यानी रोड्रिक भन्छन् – भूमण्डलीकरणलाई यीनै कुराको आधारमा मात्र बुझ्नु जरुरी छैन । वास्तवमा विश्वव्यापी सार्वजनिक सम्पत्ति (ग्लोबल पब्लिक गुड्स) मा सहभागितामूलक सरकारको विषय गहिरिएर सोचिनु पर्छ ता कि यो अन्तर्राष्ट्रिय सहकार्यको प्रमुख मार्ग बनोस् । 

चिन्ताजनक तथा बहुआयामिक संकट जस्तै कोभिड–१९ तथा वातावरण परिवर्तनका विषयलाई अन्तर्राष्ट्रिय सामूहिक सहयोगबाटै सम्बोधन गर्न सकिन्छ । कुनै आर्थिक शक्ति वा राष्ट्रिय सरकारको प्रयास यस्तो समस्या समाधान गर्न उपयुक्त नहुन सक्छ । र सबै देशको भिन्नाभिन्नै शक्तिलाई जोडेर पनि बहुपक्षीय संस्थाको क्षमतालाई प्रतिस्थापन गर्न सकिँदैन । 

विश्व महाव्याधि तथा अरु मुख्य जनस्वास्थ्य संकटसँग लड्न विश्व स्वास्थ्य संगठनलाई आर्थिक र राजनीतिकरुपमा सशक्त बनाउनुपर्छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विश्व स्वास्थ्य संगठनबाट आफ्नो देश अलग्याउने निर्णय पक्कै पनि यो विषयमा उल्टो कदम हो । उनको कदमलाई निर्वाचनमुखी अल्पदृष्टि भन्न सकिन्छ । 

नीति निर्माताहरूले अविलम्ब विश्व स्वास्थ्य संगठनको सुधारमा काम गरेर यस संस्थाको वित्तीय अवस्था सुधार गर्नुपर्छ । यसका लागि सदस्य राष्ट्रबाट अनिवार्य सहयोग माग गर्नुपर्छ । सन् २०२०–०२१ मा विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो दाता कुनै एक देश नभएर अमेरिकी उद्यमीले स्थापना गरेको एक परोपकारी संस्था ‘बिल एन्ड मेलिण्डा गेट्स फाउण्डेसन’ बन्दैछ । यस्तो अस्वीकार्य अवस्था रहनु ठीक होइन । विश्व स्वास्थ्य संगठनसँग सशक्त कर्मचारीको समूह र क्षमता हुनुपर्छ जसले गर्दा सदस्य राष्ट्रलाई बाध्यकारी प्रतिबन्ध लगाउन सकियोस् । यसो गर्न सकिएको खण्डमा राष्ट्रिय स्वार्थभन्दा विज्ञान माथि हुनसक्नेछ । 

वातावरणको विषयमा कुरा गर्दा हामीले के बुझ्नुपर्छ भने वातावरणीय परिवर्तन भनेको यो शताब्दीकै लडाइँ हो । सरकार र निजी क्षेत्रले बदलिँदो परिस्थितिमा सहकार्य गरेर हरित अर्थतन्त्र अहिलेको लागि फाइदाजनक र भविष्यका सन्ततिका लागि पनि नाफाजन्य हो भनेर चेतना जगाउनसक्नु परेको छ । अहिलेको अवस्थाले हामीलाई हरेक आर्थिक पुनरुत्थानको क्षेत्रमा हरित सर्त लागू गर्ने मौका प्रदान गरेको छ जुन युरोपियन युनियनको हरित कोषले (ग्रिन फन्ड) पनि प्रमाणित गरेको छ । त्यसैले सहरहरू तथा अन्य सक्रिय व्यक्तिले जनस्तरको छलफलमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ । सी–४० प्रयासले ९६ मुख्य शहरलाई वातावरण परिवर्तनको विषयमा एकै स्थानमा ल्याएर एक उदाहरणीय र निकै प्रेरणदायी कार्य गरेको छ ।

अर्थतन्त्रको पुनरुत्थानको प्रक्रियामा जाँदा कार्बन उत्सर्जन नियन्त्रणको विषयलाई ध्यान दिइएन भने प्रत्युत्पादक हुनेछ । भविष्यमा आउने कोभिड–१९को भ्याक्सिनमा एकाधिकार जमाउने उद्देश्य राखेर त्यसको वितरण समतामूलक हुन रोकियो भने यो महाव्याधिले अर्थतन्त्र र जनस्वास्थ्यमा ल्याएको खतराको समाधान हुन सक्तैन । अनि संरक्षणवाद तथा राष्ट्रिय मोर्चाबन्दी लागू गर्नु पनि आजको समस्याका लागि हिजोको उपाय लगाउनु हो । 

विश्वव्यापीकरणविरुद्ध देखिएको निराशा र चिन्ता स्वाभाविक हो । विगतमा यसले विश्व आर्थिक अवस्थालाई सुधार्न के कति गर्‍यो भन्ने विषयले यो निराशा र चिन्ता दूर गर्न सकिंदैन । तर, भूमण्डलीकरणलाई समापन गर्ने कोसिस गर्नुभन्दा धैर्यपूर्वक अझ सुधारिएको भूमण्डलीकरणमा जानु बढी उपयोगी हुन्छ । 

(स्पेनका पूर्वविदेश मन्त्री एवं हाल विश्व अर्थतन्त्र तथा भूराजनीति केन्द्रका  अध्यक्ष )  

Copyright: Project Syndicate, 2020.
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC