सत्य मेटिँदैन, न्याय भेटिँदैन ! 

शान्ति बस्नेत

 सत्य मेटिँदैन, न्याय भेटिँदैन ! 

ढिलोचाँडो सत्यको जित हुन्छ भनिन्थ्यो । तर, कलियुय भएर हो कि सत्यको परिभाषा नै फेरिएको भान हुन थालेको छ । सत्य अहिले धन, पद र पहुँच हुनेहरुको किनबेचको वस्तु बन्दै गएको छ । सत्यको दियो निभ्दै गएको छ । 

न्यायालयबाट नै अन्यायको परेकालाई दण्ड र अन्याय गर्नेलाई पुरस्कृत गर्दै गएको देखिन थालेको छ । न्यायालयजस्तो विश्वासको केन्द्रबाटै जनताको विश्वास गुमेको छ । जनताले अन्याय ठान्ने काम गर्ने कस्तो न्यायालय हो ? कहाँ गएर अब न्याय खोजौँ हामी ? 

बन्दावन्दीको समयमा महिला हिंसाका घटना धेरै नै बढेकाछन् । जति घटनासगै अन्याय पनि बढेको छ । महिलाहरु कुनै स्थानमा पनि सुरक्षित छैनन् । 

जघन्य अपराधमा कैद भोगेको ज्यानमारालाई त फूलमालासहित कारागारबाट छुटकारा दिने न्यायाधीशले सर्वसाधारण महिलालाई सत्यतथ्य छानबिन गरेर न्याय देलान् भनेर आशा गर्न सकिन्छ र ?  घरघरमा नारी असुरक्षित छन् । राज्य यसरी कानमा तेल हालेर बस्न मिल्छ ? सत्यको पक्षमा सडकमा मात्रै आवाज उठाउनु पर्ने हो ?

सांसदहरुको के हो काम कर्तव्य ? जनता अन्यायमा पर्दा पनि मुसा बिरालोजस्तो झगडा गर्दै बस्ने हो ? जनताले त्यही भनेर सिंहदरबारमा सियो भएर पसेर सिंहजस्तो बन्ने मौका दिएका हुन् ? आफ्नो काम र कर्तव्यमा मौन बस्न वा आनाकानी गर्न मिल्छ ? 

एउटा नारीले आफ्नो खुसीको पहिरन लगाएर हिँड्दा चाहिँ सामाजिक संजालमा उपहास गर्न सबैलाई समय हुने तर एसिड प्रयोग गरी महिलालाई कुरुप बनाउने कुकर्म हुँदा भने किन सबै मौन ? महिलालाई किन समाजले हरेक कुराबाट पाइलैपिच्छे दण्डित गर्ने ? नारी भएर बाँच्नु अपराध हो ? किन हरेक ठाउँमा यस्तो सजाय दिइन्छ ? 

नारीलाई राज्यले अधिकार त दिएको छ तर महत्त्वपूर्ण भूमिका दिन किन नसकेको ? के नारी कमजोर भएर नै हो त ? नारीलाई हरेक पदहरुमा पनि न्यूनरुपमा उपस्थिति दिइएको छ । हरेक स्थान, तहदेखि मन्त्रिपरिषद्सम्ममा कमजोर भूमिकामा महिलाको उपस्थिति पितृसत्तात्मक सोचको प्रभुत्वका कारणले भएको हो । पद पाए पनि निर्णय गर्ने स्थानसम्म पुग्दा हरेक महिलाको उपस्थिति नै शून्य बराबरको हुन्छ र निर्णय गर्नुपर्दा पनि महिलाको आवाजलाई शून्य मान्यता दिइन्छ । कानुन सरकारी वा गैरसरकारी पुस्तकालयमा सजाउनमात्रै सीमित छ । 

उदाहरणका लागि रञ्जन कोइरालाजस्ताले न्यायालयबाट सजिलै उन्मुक्ति पाउने गरेकाछन् भने गीता ढकालजस्ता महिला पलपलमा पुरुषबाट र न्यायालयबाट पटकपटक मर्नु परेको छ । हो न्यायालयको यस्तै निर्णयले गर्दा समाजमा नारीहरु पटकपटक मर्नुपरेको छ । यस्तो कुकर्मले सिङ्गो देशलाई नै लज्जाबोध भएको छ ।

हरेक स्थानका महिला अधिकारकर्मीहरु के गरेर बसिरहेका छन् ? न्यायलाई यसरी मार्न दिनु पनि पदको दुरुपयोग नै हो । अधिकारका कुरामात्रै गरेर हुन्न । अब त अति भयो । सदनमा भएका सबै महिलाले आबाज उठाऊ । खबरदारी गर । नत्र सडकमा अब आगो बल्नेछ र त्यसले धेरैलाई झुल्स्याउने छ । 
 

प्रतिकृया दिनुहोस
ad