site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

देश संकटमा भएका बेला सरकारलाई भने कसैले विश्वास पनि नगर्ने र टेर्दा पनि नटेर्ने अवस्था देखियो । कोभिड–१९ को कुव्यवस्थापन, महामारीमा पनि भ्रष्टाचारमा लिप्तता तथा जनताका यावत् समस्या पन्छाएर सत्तारुढ दलका शीर्ष नेताहरूको पदमुख्री विवाद देखेर नै जनताले सरकारलाई नपत्याउने र नटेर्ने अठोट गरेको हुनुपर्छ । नत्र, महामारीको खतरा झन् बढेका बेला आफ्नै सुरक्षाका लागि प्रयोग गर्नुपर्ने मास्क लगाउनेजस्ता सावधानी अपनाउन पनि सरकारले बारम्बार कारबाहीको धम्की दिनुपर्ने पक्कै थिएन । सरकारले बन्दाबन्दी लगाउने र हटाउने निर्णय हचुवाका भरमा गरेकाले पनि जनतामा वितृष्णा जागेको हुनसक्छ । बजार त सरकारले खुलायो तर पोखराको एउटा समाचारअनुसार ग्राहकहरू बजारमा जान तयार देखिएनन् । सार्वजनिक यातायातका सम्बन्धले लागू गरेको नियमलाई त सत्तारुढ दलकै एकजना नेताले ‘गृह मन्त्रालयको जात्रा’को संज्ञा दिएका छन् । विश्व स्वास्थ्य संगठनले निषेध गरेको आरडीटी परीक्षण रोक्न नागरिक अभियन्ताले अनशन बस्नुपर्छ । सरकार सत्याग्रहीसँग सम्झौता गर्छ कार्यान्वयन गर्दैन । जनस्वास्थ्यका प्रमुख सरोकारको विषय कार्यान्वयन होस् भनेर सत्याग्रहीले फेरि अनशन गर्नुपर्छ । अनि जनताले के टेरुन् ? के विश्वास गरून् ?  


आफैँलाई हानि हुने विषयमा समेत जनताले सरकारको आह्वान, निर्देशन, धम्कीको किन अवज्ञा गरेका होलान् ? जनता मूर्ख नै हुन् त ? कि यो अवज्ञा सरकारप्रति असन्तुष्टिको अभिव्यक्ति हो ?  सत्तारुढ दलका सयौं कार्यकर्ता भौतिक दूरी र सुरक्षा सावधानीसमेत नअपनाई जम्मा हुन्छन् र त्यस्तो कार्यक्रममा मन्त्रीलगायत नेताहरू सहभागी बन्छन् भने जनसाधारणले भौतिक दूरी वा अरू सावधानी अपनाउँदैमा संक्रमण रोकिन सक्तैन । काभ्रेमा हालै भएको एउटा कार्यक्रम त यसको प्रतिनिधि उदाहरणमात्र हो । सरकारी अधिकारीहरूको यस्तै व्यवहारले जनतामा आक्रोश उत्पन्न भएको र सरकारका सबै आह्वान, आदेश र चेतावनीको अवज्ञा गर्ने अठोट जागेको हुनसक्छ । सार्वजनिक यातायातसम्बन्धी सरकारी निर्णय मूर्खताको अर्को उदाहरण हो । एएटा बसबाट ओरालेर केही समय पैदल हिँडाएर अर्को बसमा चढ्दा संक्रमण कम हुने नभएर बढ्ने जोखिम हुन्छ । 


लामो बन्दाबन्दी खुल्यो भन्दा जनतामा केही रोमाञ्चक स्वच्छन्दता जागेको हुनुसक्छ । तर, अहिले कोभिड–१९ को संक्रमणलाई बेवास्ता गर्ने रोमाञ्च निकै महँगो हुनसक्छ । कदाचित् संक्रमण भइहाल्यो भने आफूमात्र हैन परिवारकै जीवन संकटमा पर्छ । यसैले सबैभन्दा पहिले सचेत नागरिक सबैले मास्क लगाउने, साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र भौतिक दूरी कायम राख्नेजस्ता कोभिड–१९ को संक्रमणबाट जोगिने उपाय अपनाउनु आवश्यक छ । अहिलेसम्म कोभिड–१९ का बारेको प्रचारप्रसार ज्ञानको तहमै सीमित रहेको देखिन्छ । ज्ञानले व्यक्तिको धारणा र अन्ततः अभ्यासमा परिवर्तन गर्न सक्नुपर्छ । ज्ञान, धारणा र अभ्यासबीचको अन्तर समाप्त नहुँदासम्म ज्ञान जीवनोपयोगी हुनसक्तैन । यसैले सरकारले कारबाहीको धम्कीजस्तो प्रत्युत्पादक उपायमा हैन जनतालाई आफ्नो अभ्यास परिवर्तन गर्न मनाउने सञ्चार रणनीति अपनाउनु जरुरी देखिन्छ । यस्तै, लामो दूरीमा एउटै गाडीमा हिँड्दा संक्रमण हुने र जिल्लाभित्र मात्र हिँड्दा नहुने त पक्कै होइन । यसैले सार्वजनिक यातायातसम्बन्धी अहिलेको मूर्खतापूर्ण बन्देज खारेज गर्नुपर्छ । जनतालाई विश्वासमा लिन सत्याग्रहीहरूसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्छ । सरकार चलाउनेहरूमा एक्काइसौं शताब्दीमा पनि प्रहरीका भरमा शासन गर्न खोज्ने शठता देखिनु नेपालीको दुर्भाग्य नै हो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC