साउन महिनाको पञ्चमी तिथिका दिन नागहरूको पूजा र कागजमा नागका चित्र लेखेर वा छापेर घरघरमा टाँस्ने गरिन्छ । नागलाई सर्पहरूको राजा मानी पुज्ने चलन आदिम कालदेखि नै प्रारम्भ भएको मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकोले पानीका लागि विशेष पर्व पनि भनिन्छ । पूर्वीय हिन्दू ग्रन्थहरू नागसँग जोडेर विभिन्न कथाहरू भन्ने गरिएको छ । वराह पुराणमा उल्लेख भएअनुसार साउन महिनाको शुक्ल पञ्चमीमा नागराजासँग ब्रह्माको संवाद भएको भन्ने कथनका आधारमा पनि यस तिथिमा नाग टाँस्ने गरिन्छ । जमिनभित्र बस्ने नागले घरको धरातललाई हलचल गर्न नदिने र घरमा सुख, शान्ति र समृद्धि हुने धार्मिक मान्यता छ । नागपञ्चमी श्रद्धा र विश्वासको पर्व पनि हो । यस दिनमा नागको साथै नागधारी शिवको पनि पूजा आराधना गरिन्छ ।
नागपञ्चमीमा नाग देवताका निम्ति व्रत लिने प्रचलन छ । यस व्रतमा पूरै दिन निराहार बसेर सूर्यास्त भएपछि नाग देवताको लागि खीर पकाइन्छ । त्यसलाई प्रसादका रूपमा नाग देवताको मूर्तिमा अर्पण गरिन्छ । शिवमन्दिर वा छरछिमेकमा प्रसादका हिसाबले बाँड्ने गरिन्छ । स्वयम् नाग थरका मानिसहरूले पनि खाने गर्छन् । देवालयबाट फर्केर घरमा आई नागको तस्बिरमा दूध, अर्घ, अक्षता, पूmल, दुबो राखी गाईको गोबरको सहायताले घरको मूल ढोकामाथि नागको आठमुखे चित्र टाँस्ने गरिन्छ । अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने अनि आगो र सर्पको भय नहुने धार्मिक विश्वास रहिआएको छ । यस दिन खनजोत गर्न नहुने अनि घरको जग राख्नु अशुभ मानिन्छ । किनभने पातालमा नागदेवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भन्ने मान्यताले भूमि खोस्रिने गरिँदैन ।
नागपञ्चमीको समय वर्षायाम पर्ने भएकोले यतिबेला सर्प, बिच्छीलगायत विषालु जीव जनावरहरूको प्रकोप हुने गर्दछ । यो पूजा गर्नाले यस्ता विषालु जीवजन्तुबाट मानव जीवन जोखिममा पर्दैन भन्ने पूर्वीय मान्यता छ । वर्षायामको बेलामा नागपूजा गर्दा सर्पको डर नहुने भन्ने कुराको केही आधारहरू हुन सक्छ । एक त चाडपर्वका बेला घर वरिपरि झारपात उखेलेर सफा बनाइन्छ । अर्को त घाम र पानीका कारण सर्पहरू सुरक्षित रहनका लागि वा ओभानो र शीतल ठाउँ खोज्दै घरभित्र पस्छन् । सरसफाइ नगर्ने हो भने सर्पको बिगबिगी हुन्छ । यसले गर्दा पनि घरको सरसफाइमा लाग्न उत्प्रेरित गर्छ । यसैले पनि साउन महिनाको पञ्चमी तिथिमा नागको पूजा आराधना गर्नु मानव हितका लागि सान्दर्भिक हुन्छ ।
नागपञ्चमी किन र कसरी मनाउन थालियो भन्ने सवालमा विभिन्न किंवदन्तीहरू छन् । यसमध्ये एउटा भनाइ छ – एक किसानले आफ्नो खेत खनिरहेको बेला नागका तीनवटा बच्चा भेट्टायो र मारिदियो । ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रूद्ध भई । रिसले चुर नागिनीले तत्काल किसानलाई मार्दा पनि रिस नमरेपछि किसानको घरमा गएर पत्नी र दुई छोरालाई समेत मारिदिएको प्रसङ्ग सुनिन्छ । घरमा छोरी पनि भएकी र ऊ बाहिर गएको समय परेकाले बाँची तर नागिनीले उसलाई पनि मार्न खोज्दै हिँडी । बाटोमा फेलापारी डस्न खोज्दा उसले अनुनय विनय गर्दै नमारेमा तपाईको पूजा आराधना उपासना गर्छु ।
अनि दूधलगायत दूधबाट बनेका परिकार खान दिन्छु भनेपछि नागिनीले दया गरी किसानकी छोरी बचेकी थिई रे । मृत्युबाट बचेकी किसानकी छोरी खुसी भएर नागिनीको पूजा गरी दूध खान दिई । यसबाट खुसी भएकी नागिनीले वर भागभन्दा किसानकी छोरीले मातापिता र भाइको जीवनदान दिनुहोस् भनी वर मागी र नागिनीले तथास्तु भन्दै सबैलाई ब्युताई दिई । यो दिन साउन शुक्ल पञ्चमी परेकाले यही दिनबाट नागको पूजा गर्न र घरघरमा नाग टाँस्ने परम्परा रहिआएको हो भन्ने किंवदन्ती छ ।
नाग पानीका देवता हुन् । एकपटक गुरु गोरखनाथले नौ नागको आशनमा बसी बाह्र वर्षसम्म तपस्या गरे । यसरी नागलाई थिचेर बसेकाले सारा धर्तीमा खडेरी पर्यो । यो थाहा पाएर गोरखनाथ उठे । नागहरू मुक्त भए । धर्तीमा वर्षा भयो । यो भनाइ पूर्वीय धर्मग्रन्थमा उल्लेख छ, भनिन्छ । नागदेवताले संसारको सबैभन्दा बहुमूल्य रत्न मणिलाई शिरमा राखेका हुन्छन् । श्रीखण्ड र सङ्गीत नागलाई निकै मन पर्छ । यसबाट मुक्त हुँदा र वर्षायामको पानी र गर्मीले गर्दा जमिन भित्रबाट शीतलताका लागि बाहिर निस्कँदा मानिसलाई डस्ने हुनाले साउन महिनामा नागको पूजा गर्ने गरिन्छ । पूजा गरिने अष्टनागहरू अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख छन् । यी नागहरूले वायुमा रहेको विषलाई खिच्ने गर्छन् । नागले मानवजाति र प्राणी हितका लागि सुकार्य गरेकाले सबैले पुज्ने गर्छन् । वैज्ञानिकहरूले पनि यो कुरा पुष्टि गरी सकेका छन् ।
नाग वा सर्प वातावरण मैत्री हुने हुँदा यसको विनाश होइन, संरक्षण गर्नुपर्छ भन्ने मान्यता छ । यसकारण पनि प्रवृmतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गर्छन् । सर्पको संरक्षणले मानवलगायत अन्य प्राणीलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानले पुष्टि गरेको छ । यसैले ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बँच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
काठमाडौं उपत्यकामा नागपञ्चमी विशेष रूपमा मनाइने गरिन्छ । काठमाडौं उपत्यकाको विशाल दहको पानी चोभारबाट बाहिर पठाउँदा यहाँ बसोबास गर्दै आएका कर्कोटक नागलाई टौदहमा राखियो । शेष नागलाई काठमाडौंभित्र पर्ने नागदहमा राखियो । अन्य दहहरूमा नागहरूको बासस्थान मिलाइयो भन्ने भनाइ प्रचलित छ ।
नेपाली संस्वृmति र परम्परामा नागहरूलाई उच्च स्थान दिइएको छ । भगवान् शिवको घाँटीमा नागले बेरेको छ भने कुमारी, भैरव र अजिमाहरूको गहना पनि नाग कै रहेको छ । राजा महाराजा बस्ने सिंहासन पनि नागकै आकृतिको बनाइन्छ । विष्णुको शैया नागकै छ । अन्य धेरै देवताहरूको पटुका पनि नाग नै छ । बुद्ध, कृष्ण, गुहेश्वरी आदि धेरै देवीदेवतालाई एक टाउकोदेखि लिएर धेरै टाउको भएका नागहरूले ओढाइएको छ । नाग बास गरेको ठाउँमा लक्ष्मीले बास गर्छिन्, शान्ति भई फलिफाप हुन्छ भन्ने जनश्रुति छ । यसकारण पनि घरको जग हाल्दा विशेष रूपमा नागको पूजा गरी घरमा नागको लागि अलग्गै स्थान छोडिराख्ने प्रचलन उपत्यकाका आदिवासीहरूको रहेको छ । नागको महिमाको सम्झना गरी राख्न नागपोखरी, नागस्थान, नागढुङ्गा आदि नामका ठाउँ काठमाडौं वरपर निकै प्रसिद्ध छन् । नागप्रति आस्था राख्दै चाडपर्व, विवाह, व्रतबन्ध, शुभ अन्नप्रासन आदिमा विधिपूर्वक नागदेवताको पूजा गरिन्छ । यसकारण नागपञ्चमी अझै पनि परम्परागतरूपमा मनाइएको पाइन्छ ।