न्याय सत्य खोज्ने प्रक्रिया हो । अहिले हामीले प्रयोग गरेको न्याय प्रणाली उपनिवेशी न्याय प्रणालीबाट आएको हो, र अहिले पनि उपनिवेशी नै छ। भारतबाट भौतिक उपनिवेश गयो, तर हाम्रा न्याय क्षेत्रमा गाडिएको उपनिवेशी न्याय प्रणाली कहिले पनि गएन । जनताको आस्था न्याय प्रणालीप्रति शून्य छ। छट्पटी गर्नुबाहेक केही छैन। सबै कुरा औपचारिकतामा सकिन्छ । नियुक्ति, कार्यविधि, फैसला सबै । तर पनि यही क्षेत्रमा म निरन्तर लागिरहेको छु। मलाई विश्वास छ, अब आउने पुस्ताले यसलाई बदल्नेछ। हामीले गरेको फोहोर नयाँ पुस्ताले सोहोर्नेछ। तर बीस वर्ष लाग्छ। भोलि इतिहास लेखिनेछ। इतिहासबाट डराउन सिक्नु सबैका लागि कल्याण हुन्छ।
१. न्याय प्रणालीमा सामाजिक न्यायको अवधारणा जिरो छ। कम्पनीले व्यक्तिविरुद्ध मौलिक हक उल्लंघनका मुद्दा हाल्छ्न्, तत्काल पेसी पर्छ। विकासका योजना रोक्ने अन्तरिम आदेश जारी हुन्छ्न् । धनीका मुद्दा हेर्ने कमर्सियल इजलास छ्न्, वकालत सेवा होइन व्यापार भएको छ। न्यायाधीश गोजीका लिस्टबाट मध्यरातमा नियुक्त हुन्छ्न् । राम्रा जति न्यायाधीश डामिन्छ्न् । विचरा बनेका छ्न् । छोराछोरी पढाउन जागिर कायम राखेर बसेका छ्न् ।
२. एकपटक एक आततायी श्रीमतीले आफू बच्न घचेट्दा लागेको चोटले लोग्ने मरेछ, विचारा त्यो महिलालाई जोगाउन सकिएन । उनी सजाय भोग्दा भोग्दै टीबी लागेर मरिन्। दाङमा झुटो मुद्दामा फसाएको विजय शर्माको पीडा सुन्छु, फोन उठाउन मन लाग्दैन । पुलिसले भात खाएको पैसा माग्दा झगडा परेर जिउ मास्ने बेच्ने मुद्दा लागेकी महिला जेलमा सडेको देखेको छु। कम्पनीले भ्याट नतिरेको आरोपमा इन्जिनियरले जेल भोग्नुपर्ने बाध्यता छ। गरिब जति जेलमा छ्न् । सामाजिक न्यायको एक शब्द उच्चारण कहीं हुँदैनन् । सरकार कम्युनिस्टको, बारमा कम्युनिस्ट, महान्यायाधिवक्ताको अफिस कम्युनिस्टको नेतृत्वमा । किन गरिब मात्र जेलमा, अनि किन धनीको सजाय मात्र कम हुने ? आफूलाई मार्क्सवादी विज्ञानको विद्यार्थी भन्न लाज लाग्छ। न्याय काङ्ग्रेस, कम्युनिस्ट, वकिल, न्यायाधीश, नेता कर्मचारी सबैको कठ्पुतली बन्यो। आएरले एउटा फैसला लेखेका छन्, जब समाजमा न्याय मर्छ समाजमा मानिसको हालत पोखरीबाट बाहिर निकालेको माछाजस्तै हुन्छ।
३. जुरिमेट्रिक्स लागाएर अध्ययन गर्दा दुई ठकुरी न्यायाधीशले गरेका फैसलाले एउटा रोचक तथ्य बाहिर ल्यायो । एक जनालाई भरुवा बन्दुकले मारेको रहेछ। अर्कोमा हँसियाले घाँटी काटेर मारेको रहेछ। मार्ने र मर्ने साथीहरू। फैसलामा बन्दुक घातक हतियार मानिएनछ। हँसियाचाहिँ घातक भएछ। बन्दुक हान्नेलाई सजाय घटाइएछ। हँसिया हान्नेलाई सर्वस्व भएछ। किनकि घरमा बन्दुक भित्तामा झुन्ड्याउने बाबुसाहेबहरुलाई नाथे भरुवा बन्दुक घातक नलाग्नु स्वाभाविकै हो । त्यसैले रञ्जन कोइरालाले सजाय घटी पाउनु ठूलो कुरा होइन। उनी हिजोका डीआईजी हुन्। माथि भनिएकी महिलाको समाजमा के महत्त्व ?
४. हामीले चलाएको न्यायको स्रोत मेडिसन, चर्चिल, जोहन लक, कोलम्बस, स्टुवार्ट मिल, म्याकाउले, मैन, अस्टिनबाट आएको छ। जोहन लकले भने, दक्षिण अमेरिका र उतर अमेरिकाका आदिवासी अपराधी मान्छेबाट मानवलाई जोगाउन उनीहरुलाई मार्दा अपराध हुँदैन । चर्चिलले भने खरायोजस्तो नानी पाउने इन्डियन मर्दा किन आपत्ति ? अंग्रेज महिलालाई छुँदा बीस वर्ष सजाय र सेता मालिकले कामदार महिला बलात्कार गर्दा महिलाले शुद्ध चरित्र प्रमाणित गर्नुपर्ने। गरिबलाई न्याय कमन लमा छैन। अमेरिकामा २७ लाख कैदी, ९० प्रतिशत काला गरिब र आदिवासी ।
५. न्याय गर्न अवधारणा चाहिन्छ। कृष्ण आयर र भगवतीमा सामाजिक न्यायको अवधारणा थियो, हाम्रोमा त न्यायाधीश जागिर हो । न्याय जागिर हो । त्यसैले रञ्जनले न्याय पाउँछन्, गरिबले पाउँदैनन् । विजय शर्मा जेलमा धनी र पदवाला जति बाहिर । हाम्रो अदालतमा सबैथोक छ। सामाजिक न्याय र न्यायमा निष्पक्षता छैन। त्यसैले यो अड्डा हो। न्यायालय ?
डा. संग्रौलाको सामाजिक सञ्जाल फेसबुकबाट