site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रको मूल्यमा नेकपा सरकार

सरकार बन्नकै लागि राष्ट्र होइन, राष्ट्रको लागि सरकार हो । जनताको लागि सरकार हो, सरकारको लागि जनता त्यतिबेला हुन्छन् जतिबेला सरकारले आफ्नो दायित्व जनता र मुलुकको लागि समर्पित गरेको अनुभूति हुन्छ । अन्यथा सरकारकै लागि जनता होइनन् । जनता र राष्ट्र  आफ्नो सत्ताको लागि भन्ठानेर व्यवहार गर्नेसरकार हुनु देशका लागि दुर्भाग्य हो । नेपाल यतिबेला यस्तै सरकारको चंगुलमा फस्दै छ ।

मुलुकको मूल्यमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सरकार चलिरहने ध्येयको सपना देख्दैछ । सरकारको आन्तरिक वा बाह्य नीतिका गतिविधि र मति हेर्दा सकारात्मक अवस्था पाइँदैन । नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार जानेर हो वा अन्जानमा वा नियतवश भित्री र बाहिरी व्यवहारमा चुकेको स्पष्ट संकेत सबैले महसुस गरेकै कुरा हो । 

नेकपा सरकारले अहिलेकै कार्यशैली निरन्तर जारी राखे यसको मूल्य अन्ततः जनता र राष्ट्रले चुकाउनुपर्ने स्पष्ट भइसकेको छ । भन्दा यी कुरा कठोर लाग्ने र मान्नेहरु छन् तर सत्य चाहिँ यही हो स्वीकार्नै पर्नेछ । घरेलु समस्या समाधान गर्न वा बाह्य सम्बन्धलाई मधुर र नेपाल पक्षीय बनाउन सरकारले गरेको कार्य परिणामलाई एकैछिन सोचियो भने देश झन्डै असफलताको डिलमा पुगेको स्पष्ट देखिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

देश प्रतिदिन समस्याको घेरामा फस्दै छ । कोरोनाभाइरसको नियन्त्रण र उपचारको लागि सरकारी प्रयत्नलाई स्वतन्त्र स्वास्थ्य विज्ञ कसैले पनि चित्त बुझ्दो ठानेका छैनन् । कोरोना संक्रमणको परीक्षण घटाएर संक्रमित घटेको प्रचार गरिँदैछ । विदेशबाट आउने र ल्याइएका नेपालीको आवश्यक परीक्षण नगरी गाउँघर पठाइएको छ । अहिलेसम्म निजी स्वास्थ संस्थाको सहयोग भाइरस परीक्षणका लागि जुटाउन सकेको छैन । 

विप्रेषण बढ्दा रमाउने सरकारले बाध्यताले विदेशबाट फर्कने नेपाली श्रमिकसँग चर्को हवाई शुल्क लिएको छ । आर्थिक अभाव रहेकालाई श्रमिक कल्याण कोष खर्चेर ल्याउन अदालतले दिएको आदेशलाई समेत सरकारले अहिलेसम्म बेवास्ता गरेको छ । घरजग्गा धितो राखेर चर्को ब्याजमा रकम जुटाई विदेश गएकाहरुको रोजगारी खोसिएपछि भएको अत्यन्त कष्टकर अवस्थाप्रति सरकारले आँखा चिम्लिएको छ । 

Global Ime bank

कोरोनाभाइरसले सरकारको बाहेक प्रायः सबै पेसा, व्यवसाय ठप्प भए । धेरैको आम्दानीमा बिर्को लाग्यो । दैनिक श्रममा बाँचेकाहरुको दिनचर्या अत्यन्त दुःखद भएको सबैले देखे, जानेको कुरा हो । कोरोनाअघिको सहज बेलामा सबैले आआफ्नो कामधन्दा गरेका थिए । दुःख, सुख दिन बिताएकै थिए । सरकारसँग उनीहरुको खासै माग र अपेक्षा थिएन । कोरोना संक्रमणको रोकथामका लागि सरकारले लामो बन्दाबन्दी(लकडाउन) घोषणा गर्यो । उत्पादन र आम्दानी प्रायः ठप्प भयो । असर जीवनयापनमा पर्यो । अझै अर्ध बन्दाबन्दी त जारी नै छ । 

सहज बेलामा होइन, यस्तै कष्टको बेला प्रभावित सबैको अपेक्षा र सहयोगको माग सरकारसँग हुनु स्वाभाविक हो  । अन्तर्राष्ट्रिय प्रयासलाई हेर्दा पनि आफ्ना नागरिक वा उत्पादन क्षेत्रलाई तिनले गरेको सहयोग मननीय छ । नेपालका नागरिकसम्बद्ध निकायले पनि सरकारी सहयोगको अपेक्षा यतिबेला गरिरहेका छन् तर कसैको समस्या सम्बोधन गर्न सरकार तत्पर र सक्षम  छैन । 

कोभिड —१९ को कहर फैलिएको पाँच महिना हुँदासम्म पनि स्वास्थ्यकर्मी र संस्थाको माग अधुरै छ । जोखिम मोलेर निरन्तर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका सुरक्षाकर्मी र पत्रकारको सुरक्षामा समुचित व्यवस्था गरिएको छैन । सञ्चार माध्यम क्रमशः धराशायी अवस्थामा पुगेका छन् । पत्रकारको रोजीरोटी गुमेको छ तर आफूलाई लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको वक्तव्य दिने सरकार तिनको जीवन रक्षाको भरोसा बन्दैन ।

यस्तै औषधि व्यवसायीले सहयोगको माग गरेका छन् । यातायात व्यवसायीले राखेको सहयोगको माग पनि अधुरै छ । साना र रुग्ण उद्योगहरुले सरकारको मुख ताके पनि तिनीहरुलाई  निराश नै बनाइएको छ । शिक्षा क्षेत्रको दुर्गति र अनिश्चय भावी पुस्ताका लागि अन्धकार हुने देखिन्छ । कृषकहरु सहयोग र समयमा मल बीउ नपाएर दुःखी छन् । सबैको अभिभावक मानिने सरकार अभिभावकत्व लिन पूरै निस्पृह वा अक्षम साबित भएको छ । 

यही बेला मुलुक बाढी पहिरोले आक्रान्त भएको छ । सयौंले जीवन गुमाए, करोडौँको धनमाल क्षति भयो ।  कतिपयको वास खुला आकाश र रुखमुनि भएको छ । कोही छिमेकी र विद्यालय भवनको शरणमा पुगेका छन् । कतिको बस्ती नै उजाडिएको छ । खानलाउन केही बाँकी छैन । वर्षा अझै जारी छ । संकट टरेको छैन । सरकार पीडितलाई सहयोग, उपचार र सुरक्षा वा वासको प्रत्याभूति दिन सकिरहेको छैन । 

प्रश्न, कुन चाहिँ क्षेत्रको उद्धार गर्न नेकपा सरकार सक्षम भयो त ? कसैलाई पनि सरकार हुनुको अनुभूति छैन । चारैतिर लथालिङ छ र यस्ता क्षेत्र अरु धेरै छन् । संकटमा मुलुक र जनता घेरिएको दुःखद अवस्थामा समेत ‘सर्पको मुखमा परेको भ्यागुतोले अर्को चारा टिप्न खोजे’ झैँ सरकार र सम्बद्ध निकाय भ्रष्टाचारमा लिप्त रहेको घटना प्रतिदिन जस्तै सार्वजनिक भएका छन् । आफन्त र गुटका समर्थकलाई पोस्नेबाहेक अरू केही नगरेर नेकपा सरकारले सुशासन र विधिको बाटो त्यागेको त उहील्यै हो ।  

बाह्य सन्दर्भमा सबैले भन्ने गरेको र परम्परादेखि स्वीकार गरिएको नेपाली भूराजनीतिको जोखिम वा संवेदनामाथि सरकारमात्रै होइन सरकारी दल नेकपा नै गैरजिम्मेवार प्रस्तुत भएको छ । नेपाली सबैको एकता, दबाब र जोडमा नेपालको नक्सा अद्यावधिक गर्न सरकार तयार भयो । भारत अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर आफ्नो ऐतिहासिक भूमि प्रस्तुत गर्न तयार भएर सरकारले राम्रै काम गर्यो । त्यसपछिको सरकारी रबैया आफ्नो भूमि फिर्ता लिने कूटनीतिक कौशलभन्दा बिथोल्ने अकूटनीतिक शैलीमा प्रस्तुत हुनु रहस्यपूर्ण लाग्दैछ ।     

प्रधानमन्त्री केपी ओली सरकारको सबै असफलता वा अक्षमतालाई राष्ट्रवादको पर्दाले छोप्न खोजेको देखिँदैछन् । भारतीय अघोषित नाकाबन्दीको मुखर विरोधबाट मिलेको समर्थन उनका लागि ‘लिस्नो’ जस्तो साबित भएको छ । नक्सा अद्यावधिकपछि आएको जनसमर्थनलाई राष्ट्रवादको भाष्य दिएका ‘उत्तेजित’ प्रधानमन्त्री र नेकपाले भारत विरोधलाई अक्षमता लुकाउने र सरकारमा बसिरहने अमोघ अस्त्रजस्तै प्रयोग गर्दैछन् । चीनको दबाबमा टिकेको तथ्य मनन गर्नुको सट्टा प्रधानमन्त्री ओली भारतलाई घोच्ने प्रकारले अनावश्यक टीप्पणी गर्न उद्यत छन्, सायद् यसरी नै चीन खुसी हुने उनको बुझाइ छ ।

नेपालमा भारतको विरोधले किन समर्थन पाइरहेछ ? यस विषयमा सोच्नुपर्ने भारत सरकारले हो । यसमा बढी त भारत सरकारको व्यवहार दोषी छ । सीमा विवाद, सीमामा नेपाली जनधन डुबानमा पार्ने उसको संरचना र एसएसबीले सीमाक्षेत्रका नेपालीप्रति गर्ने कतिपय अनुचित व्यवहार जस्ता भारत सिर्जित अनगिन्ति कारणहरुकै परिणाम नेपालमा भारत विरोध फस्टाएको हो । भारतीय केही सञ्चार माध्यम नेपालबाट आएको बाढीले भारतीय नगरीहरु डुबान र कष्टमा परेको तर नेपाल तटबन्ध बनाउन दिँदैन भन्ने आवाजमा सुनिन्छन् । 

ती भारतीय माध्यमले बुझ्नुपर्ने – नेपालले तटबन्ध बनाउन रोकेको छैन र भारतले आफ्नो सीमा संरचना अन्तर्राष्ट्रिय मान्यता अनुसार बनाओस् भन्नेमात्र नेपालको भनाइ हो । सीमा क्षेत्रबाट कमसे कम सात, दस किलोमिटर दूरीमा बनाइनुपर्ने मान्यताविपरीत दर्जनौं भारतीय बाँधहरु पाँचसय मिटरदेखि दुई, तीन किमीका दूरीमा बनाइएका छन् । ती बाँधले हजारौं एकड नेपाली भूमि प्रतिवर्ष डुबानमा परेका छन् । सम्बन्ध सुधारको लागि आफ्नो सरकारले छिमेकीप्रति गरेको अर्घेल्याइँमा भारतीय माध्यमको पनि विवेक जाग्नुपर्ने थियो । यस्ता कारण सरकारबीच सम्बन्धमा सधैँजसो खटपट रह्यो तर नेपाल भारतको जनस्तरको सम्बन्ध भने अनुपम नै हो । 

नेकपा सरकार दुई देशको जनसम्बन्धलाई पनि बिथोल्न उद्यत रहेजस्तो छ । अरु घोचपेचका कुरा छोडौँ प्रधानमन्त्री ओलीले आदिकवि भानुभक्त आचार्यको जयन्तीमा बोल्दै अयोध्या र राजा रामबारे दिएको अभिव्यक्तिले दुःखाएको चित्तको वाणी सुन्दा यस्तो लाग्छ । हिन्दु धर्मका अधिसंख्यक रामलाई भगवान ठान्छन् । भारतको अयोध्यामा राम मन्दिरको निर्माणप्रति लामो विवाद र त्यसमा जोडिएकोे हिन्दु संवेदना  प्रधानमन्त्री ओलीलाई थाहा नभएको पक्कै होइन । यस्तो विषयमा पुरातात्विक अध्यनयन र प्रमाणविना नाम जुधेकै आधारमा प्रधानमन्त्रीले गरेको टिप्पणी हल्का र आलोचित हुने नै भयो । धेरै मानिस र ठाउँको नाम जुध्नु प्रमाण नभएर संयोग मात्र हुनसक्छ । तथ्य चाहियो ।  

प्रधानमन्त्रीलाई लागेको हुनसक्छ, बुद्ध भारतमा जन्मिएका हुन् भन्नेलाई जबाफ दिइहाँलू वा सत्ता सहजताका लागि अयोध्या र भगवान रामप्रतिको टिप्पणी राष्ट्रवादको अर्को लहर हुनेछ । उत्तरतिर लम्पसार सिरानी हालेर खोक्रो राष्ट्रवादको स्वाद लिनखोज्दा बिग्रने जनस्तरको छिमेकी सम्बन्धप्रति नेकपा अध्यक्ष ओलीले उपेक्षा गरे । भगवान पशुपति नाथप्रति श्रद्धा राख्ने करोडौं भारतीय हिन्दु, सन्त, महन्तलाई नेपालसँग धार्मिक आस्थाको सम्बन्धले पनि जोडेको थियो वा छ । त्यो सम्बन्धलाई पनि तीतो बनाउने आधारहीन टिप्पणी प्रधानमन्त्रीले कुबेलामा गरे । 

विश्वस्तरमा पनि नेपालको ओज पातलिँदै छ । नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्वको सरकारले सम्बोधन गर्नु त परै जाओस् तर आन्तरिक र बाह्य समस्यालाई थप जटिल बनाउँदै लगेको छ र यसको आखिरी मूल्य जनता वा राष्ट्रले नै चुकाउनु पर्नेछ । यतिविघ्न समस्या र जटिलता उत्पन्न गरेको सरकार र नेकपाले समाधान देलान् भन्ने विश्वास नागरिकस्तरबाट उडिसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  ०७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC