site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

आफूले गर्नुपर्ने काम राम्ररी नगर्नेहरूलाई तिनका कारण भएको क्षतिका लागि दोषी ठहर गरी सजाय दिने व्यवस्था नहुँदासम्म मेलम्चीकोजस्तो दुर्घटना दोहोरिइरहन्छ । यही असार २१ गते मेलम्ची खानेपानी आयोजनाको सुरुङमा परीक्षणका लागि एउटा खण्डमा पानी छाडिएको थियो । त्यही परीक्षणका क्रममा अम्बाथानको गेट भत्केर दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित सुरुङको गेट भत्किएपछि मेलम्ची आयोजना सम्पन्न हुने अवधि फेरि अनिश्चित भएको छ । इटालेली ठेकेदार भागेपछि आयोजना निर्माणको जिम्मा चिनियाँलाई दिइएको थियो । मेलम्चीको पानी सुन्दरीजलसम्म ल्याउन सुरुङ खनिएको छ । त्यही सुरुङमा रहेका गेटहरूमध्ये एउटासम्म मूहानबाट पानी पठाएर परीक्षण गरिएको थियो । सुरुङको गेट यसरी भत्केपछि स्थानीय बासिन्दा कुनै बेला बस्ती नै ध्वस्त हुने पो हो कि भन्दै त्रस्त भएका छन् ।  ** यसैबीच सम्बिन्धत मन्त्रालयले सुरूङको ढोका अचानक खुलेको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । 

मेलम्ची खानेपानी आयोजना सम्भवतः सरकारको असफल व्यवस्थापन र भ्रष्टाचारको उदाहरण नै हो । दुई दशक बढी हुँदा पनि आयोजना पूरा हुनसकेको छैन । र, यस्तै हो भने यो कहिल्यै पूरा नहुने आयोजनाको उदाहरण बन्नेछ । प्रतिस्पर्धामा छानिएको सीएमसी कम्पनीले धेरै काम गरिसकेको प्रचारवाजी सरकारी अधिकारीहरूले गरेकै बेला ठेकेदारले नेपालको काम छाडेर हिँडेको थियो । सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवका कारण ठेकेदारले काम गर्न नसकेको चर्चा त्यति बेलै भएको थियो । पछि मन्त्री र सचिवका बीचमा त सार्वजनिकरूपमै आरोपप्रत्यारोप भएको थियो । त्यसपछि सिनो हाइड्रो नामक चिनियाँ कम्पनीले मुहानमा गरिने निर्माण ‘हेडवर्क्स’ र सुरुङको बाँकी काम ‘फिनिसिङ’को जिम्मा पाएको थियो । चिनियाँ कम्पनीले काम सुरु गरेपछि पलाएको मेलम्ची आयोजना सम्पन्न हुने आशामा भने फेरि तुषारपात भएको छ । 

अम्बेथानमा सुरुङको गेट भत्किनु कसैले नियोजितरूपमा गरेको अपराध त होइन होला तर ‘भवितव्य’ पनि होइन । योजनाको डिजाइनदेखि निर्माण र अहिले परीक्षणमध्ये कुनै न कुनै चरणमा भएको हेलचेक्य्राइँकै कारण यो घटना भएको हो । राम्ररी छानबिन गरियो भने दोषी खुट्याउन सकिनेछ । यसैले मेलम्ची आयोजनाको सुरुङलगायतको निर्माण कार्यको गुणस्तरमा सन्देह उत्पन्न भएकाले पनि यसको छानबिन गरी सुरुङ मार्गका बासिन्दालगायतका जनतालाई आश्वस्त गर्नु सरकारको कर्तव्य हो । मेलम्ची क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदले मंगलवारै प्रेस वक्तव्य जारी गरेर केही अत्यन्त गम्भीर र महत्त्वपूर्ण प्रश्नहरू उठाएका छन् । उनले जनप्रतिनिधिहरूलाई थाहै नदिई हतारमा सुरुङमा पानी पठाउनुको कारण ‘राम्रोसँग सुरुङ वा गेटको सेटिङ नभई परीक्षण त गरिएन?’ भन्दै सन्देह प्रकट गरेका छन् । लामो समय लागेको र अनेकौं व्यवधानबीच निर्माण भएको आयोजनाको सम्पूर्ण निर्माणकै राम्ररी परीक्षण गर्न पनि उनले सुझाव दिएका छन् । सत्तारुढ दलकै सांसदको सन्देह र सुझावको सरकारले उपेक्षा नगरोस् । यतिमात्र हैन निर्माणको गुणस्तरको परीक्षणमा विकास साझेदारहरूले पनि ध्यान दिऊन् । साथै, यसपटकको दुर्घटनाको पूर्ण छानबिन गरेर दोषीलाई कारबाही गरियोस् । भ्रष्टाचारका विषयमा त के कारबाही होला र ? 
   
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC