दूतावासले धान्नै सक्दैन ! श्रमिकको गुनासो कसले सुनिदिने ?

सुरेश भट्ट आश्रिन

 दूतावासले धान्नै सक्दैन ! श्रमिकको गुनासो कसले सुनिदिने ?

एकाबिहानै फोन आयो — सर, हामी ३७ र अर्को १८ जना दूतावास घेर्न जाँदैछौ । अति भो !

मैले तत्काल भने — भाइ, हामी जहाँ छौँ सोही देशको नियम कानुन पालना गर्नुपर्छ । गलत कदम उठाउने दुस्साहस नगरौँ ।

— त्यसो भए के गर्ने त ? हामी घर नजाने ? दूतावासले हाम्रो कुरै सुन्दैन । तपाईँ आउनुस् हामीलाई सहयोग गरिदिनुस् । दूतावासका कर्मचारीलाई हाम्रो कुरा सुन्न भन्दिनुस् ।

फोन राखेर समय हेरेको विहान ७ बजेको रहेछ । केही समय घोत्लिएपछि सोचेँ, — म बबुरोको कुरा पो कस्ले सुन्ला र ! पुनः सोचे म गइन भने ती भाइहरूले मप्रति गरेको विश्वास गुम्नेछ । उनीहरूको आग्रहलाई लत्याउनु एकजना आप्रवासी श्रमिकले अर्को श्रमिकको हितमा असहयोग गर्नु हो । जानुपर्छ । म जान्छु । निर्णय गरेँ ।
डेराबाट निक्लिनुअघि नित्यकर्म गरेर बाहिर निस्किएँ । चर्को घामको रापले सडकमा एउटा भँगेरो जीवनमरणको दोसाँधमा छट्पटाई रहेको देखेँ । अफसोस ! नजिक पुगेर हेर्दा उसले प्राण त्यागिसकेको थियो ।

जीवन बचाउन संघर्ष गर्दागर्दै भँगेराको प्राण ग्एको देख्दा मन नरमाइलो भयो । थप जिम्मेवारी महसुस भयो । दूतावास जाने ती श्रमिक दाजुभाइहरूलाई सहयोग गर्न अलमल आलटाल नगरी ट्याक्सी समातेर दूतावास अबुहमरतर्फ लागेँ । ट्याक्सी हुइँकियो ।

बाटोमा जाँदाजाँदै तिलु शर्मा पौडेल, थम गिरी, आत्रेय दाई, गोपाल न्यौपाने (प्रदेशी) र सन्तोष पौडेललाई सम्झिएँ । सहयोग मागेँ, आफू दूतावास जाँदै गरेको जानाकारी दिए ।

ट्याक्सी दूतावास छेवैमा रोकियो । बिल देखाउँदै हिन्दी भाषामा भन्यो — भाइ २६ रियाल । आज मलाई पैसासँग सरोकार थिएन । यस कोभिड–१९ को प्रतिकूल अवस्थामा सहयोग गर्ने, हाम्रा नेपाली श्रमिकहरुको दुःख पीडामा मलम बन्ने तीव्र इच्छामात्र थियो । यसअघि पनि म आबद्ध संगठन (विवेकशील नेपाली दल) ले दोहा कतारमा पीडितका आवाज लिएर दूतावास नधाएको भने होइन । श्रमिकका लागि परामर्श सेवा, सहायता वितरण र कोरोनाबाट बच्न चेतनामूलक कार्यक्रम गर्दैआएको थियो ।

ट्याक्सीबाट ओर्लिएर दूतावासको ढोकामा चारैतिर नजर डुलाएँ । दूतावासको ढोकामा पुगेका श्रमिकहरू गर्मीबाट बच्न कुनै बुट्यानको छहारीमा टाउको लुकाउँदै गरेको देखिन्थ्यो ।

मैले गर्नसक्ने केही थिएन । सक्ने भनेको ती श्रमिकको पीडा महसुस गर्ने र आवाज बनिदिनेमात्र न हो । बिहान फोन गर्ने व्यक्तिलाई खोजेँ । कतै देखिन । फोन गरेँ — भाई म दूतावासको गेटअगाडि छु । बिहान ९ बजेको अरबको घामको तापक्रम ४०–४५ डिग्री हुँदो हो । बिहान फोन गर्ने भाइ आइपुगे ।

नजिकबाट — सुरेश दाइ हो ? सोधे । हो — मैले भने । भाइले सबैलाई म भएतिर आउन आह्वान र संकेत गरे । उनीको ३०–३५ जनाको समूह घर जान पाउने आशा बोकेर आउँदै थिए । सबैका अनुहार हँसिला भए पनि मनमा दुःखपीडा भरी गुम्सिएका । उनीहरुमा अब दूतावासले आवाज सुन्छ र घरजान पाइन्छ भन्ने आशा पलाएजस्तो लाग्थ्यो । 

दूतावासमा पुगिसकेका ३०–३५ जना श्रमिक दाजुभाइले पीडाको बेलिविस्तार लगाए — हामी ४ — ५ महिनादेखि बेतलबी बसेका छौँ । एक जनाले भने — मलाई पेटको क्यान्सर छ । तैपनि घर जान पाइन । दूतावासले अनेक प्रक्रिया पूरा गरेर मात्र आउनू भन्छ । अर्कोले फोटो देखाउँदै बोले — सानी छोरी अहिले बिरामी छिन् अस्पतालमा । सर, दुःखमा म परिवारको साथमा नभए पैसाले के गर्नू ! घर जाने व्यवस्था मिलाई दिनूपर्‍यो ।

मोबाइल बज्यो — सुरेश सर, म कुमार मैनाली । मेरो गाउँले भाइको मलेशियामा मृत्यु भएछ । घरमा रूवाबासी छ । के गर्ने होला ? मृतकको दाइ यहाँ कतारमा छ । सकिन्छ भने सहयोगको अपेक्षा गरेको छु । हुन त तपाईँले गर्न सक्ने केही होइन र पनि दुतावाससम्म आवाज पु¥याउने काम गरिदिनु होला ।
दूतावासको ढोकामा एक कर्मचारीले (नाम खुलाउन चाहिन) जम्मा भएका श्रमिकहरूले घर जान पाऊँ भनी दिएको निवेदन एकएक गर्दै समात्दै थिए ।

दूतावासको गेटमा रहेका कर्मचारीसँग भित्र जान मैले अनुरोध गरेँ । पहिले सीधै अस्वीकार भयो । मुखमा लगाएको मास्क खोलेर आफ्नो पहिचान दिएपछि भने — समय भएको छैन । कस्लाई भेट्न जाने हो ? कसैलाई होइन बाहिर रहेका हाम्रा नेपाली श्रमिक दाजुभाइको आवाज लिएर जाने हो — मैले भने । पख्नुस् माथि खबर गर्छू — कर्मचारीले भने ।

भित्र जान पर्खिनु परेपछि त्यो समय पुनः साथीहरूको सहयोगमा लागेँ । समस्याअनुसार निवेदन लेखिदिने, दूतावासले माग गरेअनुसारको कागजपत्र पूरा भए नभएको हेर्ने र दुःखको पोको मेरा सामु बिसाउनेहरूका कुरा सुनिदिने गर्न थालेँ ।

जानुस् — खबर आयो । दूतावासभित्र विभिन्न समस्या लिएर समाधान खोज्न आउनेहरू निकै थिए । सरासर माथिको कोठा गएर कोरोना उद्धार कार्यमा संलग्न दूतावासका कर्मचारीसँग भेट गरेँ । भने — सर बाहिर हाम्रा दाजुभाइहरू आएका छन् । पीडाले आक्रान्त भएरै नाराबाजी गर्ने अवस्थासम्म पुगेका छन् । उनीहरूको थुप्रै समस्या र गुनासो छ दूतावासप्रति । सम्बोधन गर्नुहोला, पीडितका कुरा सुनिदिनु होला — अनुरोध गरेँ र बाहिर सुनेका पीडा सुनाएँ ।

दूतावासका एक जना कर्मचारीले आफ्नो भडास पोख्दै भने — कतिलाई सम्झाउने ? के भन्ने? सम्झाएर सम्झिने भए पो सम्झाउने । यतिका श्रमिकका समस्या छन् । कसरी पीडितलाई सान्त्वना दिने ? सम्झाउने तपाइँहरूको काम हो । बाहिर भएको भीडलाई शान्त बनाइदिनूस् — मैले पुनः अनुरोध गरेँ । कर्मचारीहरूको आक्रोश पनि नाजायजै त थिएन ।

चार लाख नेपाली भएको ठाऊँमा करीब ४० हजार नेपाली रोजगार गुमाएका, बिरामी भएका केहीको करार अवधि समाप्त भएका र केही गैरकानुनीरूपमा काम गरेर हिरासतमा भएका र बिरामीहरू तत्काल घर फर्किन चाहन्छन् ।

अहिलेसम्म दोहाबाट १३ वटा चार्टर प्लेनमा जम्मा २२ — २३ सय जना घर फर्किएका छन् । यो संख्याको आधारमा दोहा आउने प्लेन निकै कम हो । यहाँ सरकारको अकर्मण्यता र अक्षमताको दोष भने नेपाली दूतावासले सहेको छ । दूतावासले धान्नै नसक्ने अवस्थामा नेपालीहरू दैनिक दूतावास धाउने गर्छन् ।

एकजना कर्मचारी भन्छन् — नेपाल सरकारले दूतावाससँग समन्वय गरी घर जाने श्रमिकहरूको संख्याको आधारमा पर्याप्त उद्धार उडान पठाउने हो भने यताको समस्या सजिलै समाधान गर्न सकिन्छ ।

नियमित उडान कुरेर घरबिदामा जान बसेकाको संख्याको लेखाजोखा अब के गर्न पर्यो र ? मैले यहाँ मुख्य दोषी नेपाल सरकार देखेको छू ।

दूतावासबाट प्राप्त जानाकारीअनुसार मार्चसम्म रोजगारी नभएका र गुमाएका नेपालीहरूलाई लैजाने तयारी भएको थियो । तर एउटामात्र उडानले कतिलाई पठाउने ?

हिरासतमा रहेका नेपालीका बारे एकिन जानकरी प्राप्त नभएको दूतावासको भनाइ छ ।

यतिबेला प्रवासमा रहेका आफ्ना नागरिकको सुरक्षित जीवनका लागि सरकारले कर्तव्य निर्वाह गरेको देखिन्न । अन्य मुलुकले देशबाहिर फसेका नागरिकलाई कूटनीतिक नियोग परिचालन गरी पर्याप्त उद्धार उडानमार्फत स्वदेश फर्काइरहेका छन् । तर, नेपाल सरकारले विश्व स्वास्थ्य संगठनको निर्देशनको दुहाई दिँदै जो नागरिक जहाँ छन्, त्यहीँ सुरक्षित भई बस्नू भन्दै सूचना जारी गरी जिम्मेवारीबाट पन्छिएको छ । यसले गर्दा प्रवासी नेपालीहरूमा नैराश्य उत्पन्न भएको छ ।

हाल दोहा कतार

प्रतिकृया दिनुहोस
ad