site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नियति
Ghorahi CementGhorahi Cement

रञ्जु पाण्डे


मनसुन सुरु नहुँदै पानी बर्सिन थालेको छ । आज पनि आकाश डम्म फुलेर बसेको छ त्यसैगरी, जसरी खेल्दाखेल्दै केटाकेटीहरू एकछिन मुख फुलाएर दुईतिर फर्किन्छन् । आज आकाशमा कालो बादल यसरी मडारिएको छ, मानौ एकैछिनमा भयङ्कर पानी पर्नेछ । र अनिष्ट गर्नेछ !

बन्दाबन्दीले गर्दा निकै समयदेखि गाउँमा थन्किएको म, जस्तापाताले बारेर बनाइएको अस्थायी भान्सामा सोयाबिनको झोल भात खान भर्खर बसेको मात्र थिएँ, मोबाइलको घण्टी बज्यो । मोबाइलमा सहरबाट अफिसको हाकिम’साब हुनुहुँदो रहेछ । हत्तपत्त थाल छोडेर जुरुक्क उठेँं र अभिवादन गरेँं, “नमस्कार सर” । यद्यपि थाहा छ कि म उठे–बसेको फोनबाट देखिन्न । यो त मेरो संस्कारले दिएको पँुंजी हो, ठूलालाई मान्ने । 

Agni Group

“नमस्कार । सन्चै हुनुहुन्छ ?” 

“सन्चै छु सर, बन्दले गर्दा आउन सकिएको छैन । के गर्ने, गाउँमै थुनिएर बस्नुपरेको छ ।” 

Global Ime bank

मैले यतिभन्दा नभन्दै उताबाट आवाज आयो “अहिले आउनुपर्दैन । यतिबेला हामीलाई तपाईंको आवश्यकता परेन । पछि परेको अवस्थामा खबर गरौंँला । असारपछि तपाईंको जागिर नरहेको सूचना गर्न मात्रै फोन गरेको ।” 

म खङ्ग्रङ हुन्छु र थचक्क बस्छु । मलाई थाहा छैन त्यति बेला म आफैँ बसेँ या आगो लागेको कुनै रूख खरानी भएर ढलेजसरी भुइँंमा गल्र्याम्म ढलेँ ! सँगै खाँदै गरेका मेरा स–साना छोराछोरी मलाई उठाउन आए । 

“बाबा के भयो हजुरलाई ?” 

मैले आफ्नो शरीरलाई सम्हाल्दै विचलित त्यो मनलाई छोपेँं र भने “हैन, केही भएको छैन । तिमीहरू जाऊ खाना खान ।” 

मलाई रिङ्गटा लागेर बान्ता आउलाजस्तो भयो । बिस्तारै बारी तिर गएर मुखमा औंला छिराएर बान्ता गर्न खोजेँ । तर अलिकति अमिलो पानीबाहेक केहि निस्केन । बरु त्यो सँगसँगै मेरो आन्द्रा, भुँडी, मुटु, कलेजो निस्केला झैँ गरी हुंँडलियो । सोचेँ, भित्र जे छ त्यही निस्किने त हो नि ! 

हो त नि ! जोसँग जे छ त्यहि निस्कने त रहेछ । हिजो नखाई सुतेको म आज खान बसेको मात्रै त थिएँ, अनि के निस्किन्थ्यो ! तर किन हो अझै पनि वाक्वाकी लागि नै रह्यो । 

होइन, यो के भएको मलाई ? आफैंलाई प्रश्न गर्दै म अझै पर–पर गएँ, खाली खुट्टा माटोमा कुल्चँदै कुल्चँदै । 

म त अझै पर पर जान्थे हुँला, पछाडिबाट भाउजूको आवाजले नरोकेको भए । “मकै लगाएको ठाउँमा कुल्चिएर के गर्नु भा’को बाबु त्यो ? त्यो साँध ननाघ्नू त यसरी । कति दुःखले गरेको खेती सहर बस्नेलाई के थाहा हुन्छ र !” 

मलाई अर्को झट्का लाग्यो । सहर पसेपछिको पहिलो यति लामो बसाइँ थियो गाउँमा । आफ्नै जन्मथलोमा । जन्मथलोको आफ्नै खेतबारीमा कुल्चिँदा हिजो अस्तिदेखिको भाउजूको त्यो मौनताभित्र लुकेको कुनै शंकाको बाँध फुटेजस्तै गरी उनी चिच्याएकी थिइन् । 

कुरा त सही गर्नुभयो भाउजूले, कि सहरमा बस्नेलाई गाउँको दुःख थाहा हुन्न । तर भाउजूलाई पनि सहरमा डेरा लिई बसेर छोराछोरी पढाउन, स्याहार्न मलाई परेको दुःख के थाहा ? भाउजूको यो भनाइमा मलाई एकैछिन झट्का लागे पनि त्यसको जवाफको तयारीमा भने म पहिल्यै थिएँ । 

केही दिनदेखि दाजुभाउजूको व्यवहारबाट मैले यो अनुमान लगाइरहेको थिएँ कि गाउँमा एकलौटी खेती गरेर, अन्न तरकारी बिक्री गरेर सहरमा छोराछोरी पढाइरहनु भएका दाजुभाउजूलाई यो लामो बन्दाबन्दीले खेतीमा मलाई स्वाद पसेको अनि माटोमा रमाएको देखेर ‘भाइ पनि यतै बसेर खेती गर्ने भन्छ कि र त्यो एकलौटी खेती भाग लगाउनुपर्छ कि’ भन्ने असुरक्षा बढिरहेको छ । त्यसैले म मानसिक रूपमा तयार थिएँ, कुनै पनि बेला यस्तो आवाज आउँनेछ, जसले मलाई आफ्नै माटोमा पनि बिझाउने तुल्याउनेछ ! 

म उहीँ फर्किए जहाँ बिनातयारीमा मलाई अचानक सुनाइएको छ “तेरो जागिर गयो ।” फेरि भाउन्न होला जस्तो भयो । तर यतिखेर त मैले त्यो आफूले टेकेको माटो र साँध छोड्नु थियो । किनकि भाउजूको शब्दको डोरीले मलाई छेकिसकेको थियो । 

म एकछिन टक्क अडिएँ । मेरो आफ्नो बाटो, आफ्नो साँध सम्झने कोसिस गरेँ । र झट्ट सम्झेझैँ गरी जसरी आएको थिएँ उसैगरी फर्केर लमकलमक त्यही अस्थायी भान्सा कोठामा गएँ, जहाँ मेरा छोराछोरीलाई सोयाबिनको झोलसँग भात खुवाउँदै थिइन् सरिता । मेरी अर्धांगिनी, मेरी पत्नी, मेरा छोराछोरीकी आमा सरिता । 

“के भयो हजुरलाई ? किन यसरी खान बसेको मान्छे जुरुक्क उठेर जानु भा’को ? कसको फोन आएको ? हस्पिटलबाट हो ? कसैलाई केही भयो कि ? कि मेरो अप्रेसनका लागि टाइम दिन फोन गरेको हो ? कि मेरो रिपोर्ट आयो ?” सरिताले यसरी म माथि प्रश्नहरू बर्साइन् कि म अझै अलिकति ढिला आएको भए उनको मनको यो शंकाको सन्त्रास अझै बढ्दै जान्थ्यो होला । 

उनको यो सन्त्रासलाई मैले रोक्दै भनेँ “केही हैन के । कति धेरै कुरा सोचिरहेको । खुरुखुरु भात खुवाउ न केटाकेटीलाई ।” 

“अनि के हो, भन्नु न त ? मलाई नभनेसम्म त यस्तै–यस्तै शंका भइरहन्छ नि मनमा ।” उनको यो ढिपीमा म केही भनिदिन बाध्य भएँ । “खासै केही हैन, अस्तिन, काठमाडांैबाट आउनुअघि मालपोत हाकिमको घरको बगैँंचामा फूलहरू लगाउँदा एउटा अलि ठूलो रूखको जरा हल्लिएको रहेछ । त्यही ढलेछ । तिमी कहिले आउछौँ त्यसलाई उठाउन’ भनेर फोन गर्नुभएको ।” 

“बल्ल शान्ति भो मनमा, म त के अपसकुन भएछ भनेर कस्तो डराएँ ! यति सानो कुरा रहेछ ! हेर्नु त, राम्रो काम गर्ने भएरै हाकिमले आफ्नो बगैंचामा ढलेको एउटा रूख उठाउन पनि हजुरलाई सम्झिनुभयो ।” 

उनले यसो भनिरहँदा उनको अनुहारको प्रशन्नताले मलाई चसक्क पोल्यो । उनको यो उज्यालोलाई म कसरी निभ्न दिउँ । यो चस्का लुकाउन मैले आफ्नो अनुहारमा जबरजस्ती फिस्स हाँसो ल्याएँ जसले उनलाई त्यो सोयाबिनको झोल भात खाइरहँदा च्वाट्ट अचारको काम गरोस् ।

० ० ०

भान्सा बनाउन लिएको ऋण नतिरी गाउँबाट कसरी जाऊँ ? सहर जाउँ त छोराछोरीलाई कसरी पढाउँ ? यता दाजुभाउजूलाई म सहर नगएर यतै खेती गरेर बस्छु कि भन्ने पीर बढ्दो छ ! यहीँ बसोस् भन्ने उनीहरू चाहँदैनन् । काठमाडौं जानेबित्तिकै घरबेटीले तीन महिनाको भाडा माग्छ, कसरी दिउँ ? केटाकेटीको स्कुलले ‘फी’ माग्छ, कसरी दिउँ ? त्यही एउटा आड–भरोसा थियो, सरिताको औषधि उपचार, केटाकेटीको पढाइ खर्च अनि खानपानका लागि । अब यो सब कसरी जुटाउँ, नियमित पैसा आउने जागिर गएपछि ? लौ न म अब के गरूँ ! १५ वर्षदेखि लगातार खादँैं आएको जागिर यसरी थाहै नदिई खोसिँंदा म अब कसरी काठमाडौँमा बाँचौँं, हे भगवान ! 

“ऐया” भन्दै सरिता ब्युझिन् । मेरो हातले उनको छातीमा छुन पुगेको रहेछ । “के भयो ?” जवाफमा भनिन् “अस्तिदेखि फेरि दुख्न थालेको छ यो छाती ।” 

“पख न त, अब काठमाडौं पुग्नेबित्तिक्कै गंगालाल अस्पताल जान्छु अनि बुझ्छु नि त । औषधि फेर्नुपर्छ कि फेरि अप्रेसन गर्न पर्छ कि भनेर ।” म उनलाई सान्तवना दिँदै भन्छु । 

“अनि आफूचाहिँ नसुतेर के सोचि’रा त ? सुत्नु नि ।” उनले मलाई आफ्नो हात र खुट्टाले यसरी अठ्याउँछिन्, मानौं म उनलाई सुतेकै बेलामा छोडेर एक्लै सुटुक्क सहर फर्किन्छु ! 

उनको यो हर्कतमा म बिनाप्रतिकार आफूलाई छाडिदिन्छु । लाग्छ यतिबेला मेरो प्राण नै गए पनि उनको मायाले मलाई मोक्ष मिल्नेछ । मेरो आँखाको डिलबाट तरक्क एक थोपा आँशु झरेर कानको डिलसम्म पुग्छ । अनि अर्को आँखाबाट पनि त्यसै गरी झर्छ आँशु । होइन, यो के अचम्म ! आँशु झर्नेबित्तिक्कै मलाई हलुङ्गोे भा’जस्तो हुन्छ ! अनि लाग्यो व्यर्थैमा भनेका रहेछन् “लोग्नेमान्छे भएर रुनु हुन्न ।”

त्यसैले मैले आफ्नो आँशुको बाँधलाई रोक्न चाहिनँ । बरु सरिताले था’नपाओस् भनेर घाँटी सफा गरेजस्तै गरी खाक्क–खुक्क गर्दै उनको टाउकोलाई आफ्नो छातीमा टाँसे र आफ्नो हातले मसक्क कसेंँ । बिचरी उनी निदाइन् ।
 
तीन–तीनपटक अप्रेसन गरिसकेकी उनलाई आफ्नो जागिर गएको कुरा सुनाएर चौथोपटक उनको मुटुको खुला सर्जरी आफ्नै हातले कसरी गरुँ ? यद्यपि ममा पहाड खसेको छ । जिम्मेवारीको पहाड र त्यसमा म थिचिइरहेको छु । मलाई सास फेर्न गाह्रो भै’रहेको छ । र पनि मैले यसलाई अहिले सरितासँग बाँड्न ठीक ठानिनँ । मलाई औडाहा भै’रहेछ । सरिता मस्त निदाइरहेकी छन् मेरो छातीलाई सिरानी बनाएर । म उनी निदाएको हेरिरहेँ ।

रात जति सुकै काहालीलाग्दो किन नहोस्, अन्धकारलाई च्यातेर बिहान भएरै छोड्छ भनेझैँ मैले पनि निदाउने कोसिस गर्दै सरितालाई चपक्क च्यापेर आफ्नो आँशुका द्वार बन्द गरेँ । र मनमनै प्रार्थना गरेँं– ‘हे ईश्वर पार लगाऊ । सबैको बगैंँचा सुगन्धित, हराभरा बनाउने म एउटा मालीको आफ्नै बगैंचा उजाडिँदै छ । म तिम्रो द्वार खट्खटाउँदै छु । ममाथि न्याय गर !’
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC