site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
साहित्य तत्कालै लेखिनुपर्छ भन्ने छैन
Sarbottam CementSarbottam Cement

आख्यानकार नारायण ढकालको व्यक्तित्व बहुआयामिक छ । एकातिर उनी सिद्धहस्त आख्यानकार हुन् भने अर्कोतिर कुशल पत्रकार पनि । एक समय राजनीतिमा सक्रिय ढकालका समसामयिक राजनीति माथि विश्लेषणात्मक लेखहरू पनि प्रकाशित हुँदै आएका छन् । समग्रमा ढकाल, एउटा पाठकले निरन्तर खोज्ने लेखक हुन् । कोरोना भाइरसको महामारीका कारण चैत ११ यता करिब तीन महिना मुलुक बन्दाबन्दीको अवस्थामा रह्यो । यो समय उनका लागि लेखपढ्का हिसाबले कस्तो रह्यो ? यसै सेरोफेरोमा रहेर उपन्यासकार ढकालसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानी प्रस्तुत छ ।  

पछिल्लो तीन महिनामा तपाईंको साहित्यिक गतिविधि कस्तो रह्यो ?
कोभिड–१९ को सुरु हुनुभन्दा अगाडि नै पनि म मेरा पेसागत कामहरूबाट फुर्सदमै थिएँ । त्यसैले केही समयदेखि मेरो काम भनेकै पढ्ने लेख्ने मात्रै थियो । पत्रकारिताबाट निवृत्त भइसकेको र अरू काम पनि केही नभएकाले पढ्नु सबैभन्दा महत्त्वपूर्ण काम भयो मेरा लागि । तर अचानक नयाँ परिस्थिति सिर्जना भयो, बन्दाबन्दी (लकडाउन) को । यो विशेष परिस्थितिले मेरो काम गराईमा त खासै केही अन्तर ल्याएन । तर स्कुल बन्द भए । त्यसले गर्दा केटाकेटी स्कुल नगएर घरै बस्न थाले । त्यसैले धेरैजसो समय केटाकेटीहरूसँग बित्न थाले । 

अर्थात्, केही सामान्य परिवर्तन मात्रै भयो भन्छु म । होइन भने त मलाई सधैँ लकडाउनजस्तै थियो । यता लकडाउनले स्कुलहरू बन्द हुनु विद्यार्थीका लागि एकदमै नराम्रो हो । उनीहरूको काम छैन । तिनको नियमित तालिका क्रमभंग भएको छ । त्यसले गर्दा उनीहरूलाई पनि त समय दिनैपर्‍यो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसबाहेकको समय कसरी बिताउनुभयो ?
लकडाउनमा मैले थालेको काम भनेको ‘महाभारत’ ग्रन्थको अध्ययन हो । महाभारतको हिन्दी टेलिशृंखला पनि हेरेँ, यसबीचमा । त्यसो त ‘महाभारत’को विश्लेषणात्मक कृतिहरू पहिले पनि पढेको हुँ । तर महाभारतको मौलिक ग्रन्थ– जुन गीताप्रेस गोरखपुरले ६ भागमा प्रकाशित गरेको छ– त्यो पढेको थिइनँ । त्यसमा करिब ६ हजार ५ सय पृष्ठ छ । लकडाउनमा त्यही पुस्तक पढ्न सुरु गरेँ । लकडाउन लामै जाला भन्ने लागेर नै मैले महाभारत पढ्न सुरु गरेको हुँ । यतिखेर दोस्रो खण्डतिर पुग्दै छु । 

त्यसोभए संस्कृतका श्लोकहरू पनि पढ्दै हुनुहुन्छ ?
होइन । संस्कृतको ‘बेस’ होइन मेरो । संस्कृतको सामान्य अभ्यास वरिपरि मात्रै बसेको हुँ म । यो महाभारत मूल ग्रन्थ संस्कृत र हिन्दी भाषामा छ । यद्यपि यो महाभारत पढ्दा मलाई विशेष के अनुभूति भयो भने, मैले पहिले जति पनि महाभारत र तत्सम्बन्धी पुस्तक पढेको थिएँ ती सबै कच्चा रहेछन् ! (यति बताउँदै गर्दा नारायण ढकाल हाँसे ।) लाग्यो, त्यसबेला सामान्य महाभारत मात्रै पढिएछ । महाभारतभित्र अरू धेरै कुरा रहेछन् !

Global Ime bank

मूलग्रन्थ गम्भीर भएर पढ्नुपर्ने किताब रहेछ ? 
यो किताब पढे पछि म आफैं एउटा डरलाग्दो मनस्थितिबाट गुज्रिएँ । डरलाग्दो यस अर्थमा कि, जेजति हाम्रो हिन्दु वैदिक आधारित समाजका मूल्यहरू बने, ती मूल्यहरूमाथि यसको दह्रो पकड रहेछ । यसलाई धेरै पुराणहरूको सारांश, दर्शनको सारांश, राज्यसत्ता सञ्चालनका धेरै विषयको सारांश भनिन्छ । त्यसलाई अर्को वेद पनि भन्ने गर्छन् कतिपय समालोचकहरू । त्यसैले धेरै र अथाह विषय त्यसमा रहेछन् भन्ने लाग्यो मलाई । त्यसमा सहश्र कुराहरू रहेछन् ।

तर कतिपय सन्दर्भहरू पढेर म आफैं पनि दंग परेको छु ! अर्थात् धेरै नमिल्ने कुराहरू पनि त्यसमा रहेछन् । जस्तो, धेरै विभेदका कुराहरू, महिलाहरूसँग भएको बल काम लाग्दैन वा ब्राह्मणले पढोस् नपढोस्, त्यो परमादरणीय हुन्छ भनिएका सन्दर्भहरू । दानका विषयमा पनि महाभारतमा धेरै कुरा लेखिएका छन् । ती विषय सन्दर्भ पढेर भने म दंग भएँ ! 

अर्थात्, महाभारतका कतिपय कुराले हामीलाई दिक्क लगाउँछ । त्यसमा भएका नराम्रा कुराहरू पनि हामी अनुशरण गरिरहेका छौं । तर राम्रा कुराहरू सायद अनुसरण गरिएका छैनन् । तत्कालीन अवस्थामा कतिपय कुरा सापेक्ष थिए होलान् । तर आजका सन्दर्भमा त्यसका कतिपय विषय कलातीत भइसकेका छन् । ती समय सन्दर्भभन्दा बाहिर गइसके ।

‘महाभारत’ नै किन रोज्नुभयो, पढ्नलाई ? 
म धन्यवाद दिन चाहन्छु साहित्यकार रामजीप्रसाद उपाध्याय पोखरेल (राप्रउ पोखरेल) लाई । जसले मलाई महाभारतको मूल ग्रन्थ पढ् कि पढ् भनेर सधैँ सुझाउनुभयो । महाभारतलाई लिएर लेखिएका अरू किताब पढेर काम नै लाग्दैन भनेर उहाँले मलाई पटकपटक भन्नुभयो । ‘मूल ग्रन्थ पढ्नु, त्यहाँबाट धेरै कुरा थाहा पाइन्छ’ भन्नु भएकाले पनि मैले ‘महाभारत’ मूल ग्रन्थ पढ्ने निश्चय गरेको थिए । र त्यो पढ्ने समय जुर्यो लकडाउनको समयमा ।

आममानिसले ‘महाभारत’ पढ्ने कि नपढ्ने ?
यो मानिसको रुचिको कुरा हो । ज्ञान प्राप्तिका लागि मानिस कतिको व्यग्र छ । त्यसमा भर पर्ने कुरा हो, ग्रन्थको अध्ययन । सबैले सबै किताब पढ्नु नै पर्छ भन्न सकिँदैन । हरेक मान्छेले किताब नपढी हुँदैन भन्ने मान्यता पनि म राख्दिनँ । म, आफ्नो समाजलाई कसरी बुझ्ने, आफ्नो इतिहासलाई कसरी बुझ्ने भन्ने स्वाभावको मानिस भएकाले ‘महाभारत’ पढ्नुपर्छ भन्ने सोच्छु । मेरो विचारसँग कसैले सामञ्जस्य राख्नुहुन्छ भने म उहाँहरूले अनिवार्य रूपमा महाभारत पढ्नुपर्छ भन्न सक्छु ।

हामीकहाँ जेजति आख्यान साहित्य प्रकाशित छन्, तीनका विषय कुनै न कुनै रूपमा ‘महाभारत’मा भेटिन्छन् भन्ने पनि छ नि ?
हाम्रो समाजको जुन परम्परा छ, विश्वासको जुन जग छ, त्यसभित्र त्यो बसेको देखिन्छ नै । जस्तो, महाभारतमै कनिष्क नामका एक पात्रले धृतराष्ट्रलाई दिएको जुन सल्लाह छ, त्यो अहिलेको सरकारमा बसेकाहरूलाई दिएको सल्लाह झैं लाग्छ ! त्यसमा कनिष्कले धृतराष्ट्रलाई भनेका छन्, ‘जो कमजोर छ त्यसलाई दया नगर । राजनीतिमा दयाको स्थान हुँदैन । विनम्र भयो भन्दैमा शत्रुलाई छाड्ने कुरा नगर है ।’ र, हामी कहाँको राजनीतिमा पनि त्यही परम्परा देखिएको छ ! त्यसैले पनि म महाभारत पढेर रमाइरहेको छु । 

यसको अर्थ तपाईंको यो समय उपलब्धिमूलक रह्यो ?
मैले भने नि, म कि पढ्छु कि लेख्छु । तर पछिल्लो समयमा मैले केही लेखिरहेको छैन । किनभने नयाँ विषय र विचारहरूसँग मेरो साक्षात्कार भइरहेको छैन । त्यसैले पनि लेखिएको छैन । पुराना विषयमा पनि केही लेखिरहेको छैन । ‘महाभारत’ ग्रन्थ पनि एकैपटक पढिरहेको छैन । फुर्सद मिलाएर पढिरहेको छु ।

आज मात्रै मैल दानको प्रसंग पढेँ । केही दिनअघि पतिव्रता विषयसँग जोडिएको प्रसंग पढेको थिएँ । पतिव्रताभन्दा ठूलो अरू धर्म नै छैन भनिएको रहेछ ! त्यसैले मैले अघि पनि भने, महाभारतका कतिपय प्रसंग आजको समयमा हेर्ने हो भने हासो उठ्ने खालको छ । अर्को कुरो, महाभारतका कतिपय चरित्र पुनर्लेखन गर्नेहरूले अति बढ्ता महत्त्व दिएका छन् । तर त्यस्तो पनि देखिँदैन मूल महाभारतमा । जस्तो धर्मराज युधिष्टिर भनिन्छ । जुवामा हारेर फेरि हार्न र वनवास जानै जुवा खेल्नेलाई कसरी ‘धर्मराज’ भन्न सकिन्छ र ?

यसबीच ‘महाभारत’ को मूल ग्रन्थ मात्रै पढ्नुभयो कि अरू पनि केही...? 
यसबीच अरू पनि केही किताब पढेँ । हार्पर लीको एउटा किताब पढेँं । यो रंगभेद नीति सम्बन्धमा लेखिएको छ । नकिम महफुजको किताब पनि पढेंँ । नेपालको इतिहास पढेँं । तर नियमित रूपले ‘महाभारत’ का चालीस–पचास पृष्ठ मैले दिनकै पढेको हुन्थेँ । त्यति गर्दा पनि भर्खर १५/१६ सय पेज पढेको छु । अझै धेरै बाँकी छ पढ्नलाई । 

लकडाउनको यो अवस्था आख्यान वा साहित्य सिर्जनाका लागि उर्वर परिस्थिति हो वा होइन ?
मानिसमा संकटहरू बेलाबेला आइरहेका छन् । संसारमा सबैभन्दा ज्ञानी तथा विवेकशील प्राणी भनेकै मानिस हुन् । इतिहासलाई हाइलाइट गर्नसक्ने पनि मानिस हुन् भने सबैभन्दा झुटो बोल्नसक्ने पनि मानिस हुन् ! मानिसले विज्ञान पनि बुझेका छन् । यति हुँदाहुँदै पनि प्राकृतिक समस्यासँग वा मानव निर्मित समस्याहरूलाई मानिसले राम्ररी समाधान गर्न सकेको देखिँदैन । अहिले हेर्ने हो भने चुनौती सामना गर्न सकेका छैनन् । पहिले पनि स्पानिस फ्लु भएको थियो । करोडौं मानिसको निधन भएको थियो । विश्व मानव इतिहासमै भएको घटना हो स्पानिस फ्लु । त्यसपछि पनि अनेक किसिमका यस्ता घटनाहरू नभएका होइनन् ।

तर साहित्य सिर्जनाका निम्ति यो महामारी वा यस्तै अन्य विषय हुन्छ भन्ने मलाई लाग्दैन । साहित्य भनेको तत्कालमा भएको कुनै इभेन्टको प्रतिक्रिया मात्रै होइन । त्यसका धेरै पक्षहरू हुन्छन् । मूलतः यसले गरेका प्रभाव, सिर्जित सम्बन्धमा आएको विखरावदेखि लिएर मानवनतामा आएको संकटका विषयमा त पछि लेखिएलान् नै । तर तत्कालै यसबारे लेखिने स्थिति रहेको मलाई लाग्दैन । हो, पछिल्लो समयमा कोरोनालाई लिएर कविता आएका छन् । कथा पनि आउन थालेका छन् । तर मैले भने नि, मलाई कुनै पनि घटनामा तुरुन्त कथा वा आख्यान साहित्य बनिहाल्छ भन्ने लाग्दैन ।

जस्तो कि, भूकम्पका बेलामा पनि यस्ता कुरा नउठेका होइनन् । त्यसबखत वर्गहरू समाप्त भए भनियो । उतिखेर सडकमा धनी पनि थिए । गरिब पनि थिए । पछि धनी, धनी नै रहे । गरिब आफ्नै ठाउँमा आफ्नो समस्याका साथै रहे । तिनको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । त्यसैले समयले ल्याएका यस्ता घटना परिघटनामा तत्काल साहित्य लेखिहाल्नुपर्छ भन्ने मलाई लाग्दैन ।

तर त्यसले कथाधार त दिन्छ होला नि ?
कथा आधार त दिन्छ । अहिले नै पनि, विज्ञानमा यति ठूलो उन्नति भएको छ भनिन्छ । तर कोरोना भाइरस कस्तो भाइरस हो भन्ने विषयमै पनि अन्योल देखिन्छ । यसको उपचार पद्धति अन्योलमै छ । लकडाउन समस्याको समाधान हो कि होइन कि ? कन्फ्युजन छ सबैतिर ! यस्ता कुराले साहित्य चिन्तकहरूलाई धेरै कुरा त दिने त छँदै छ । 

सबैभन्दा ठूलो कुरो त के भने, यस्ता घटनाहरूले मानवतासँग जोडिने कि मानवद्वेशी यात्रामा जाने, यस कुराको कित्ता काट पनि त हुनसक्छ । संसारभरि सहकार्य सहयोगको वातावरण हुनुपर्ने थियो, त्यो भएन । देखिएन ! देशभित्रै पनि सहकार्य र सहयोगको वातावरण देखिएको छैन । राज्यसत्ता एकातिर छ ! जनताको ठूलो पंक्ति अर्कोतिर छ ! राज्यसत्ताले यसलाई आफ्नो रक्षाकवचका रूपमा मात्रै लिएको पनि देखिन्छ । यस्तो वातावरण र परिस्थिति नेपालको मात्रै होइन, वैश्विक समस्या नै भएको देख्न सकिन्छ । तसर्थ, चिन्तकहरूका लेखनमा यस्ता विषयहरू थपिन सक्छ ।

समय सीमाले बाँधिएका यस्ता कृति कालजयी हुनसक्छन् ?
त्यो त लेख्ने मानिसको क्षमतामा भरपर्ने कुरा हो । कसैले पढ्दै नपढी महान् कृति लेखेका छन् । यो लेखकको सामर्थ्यमा भर पर्ने कुरा हो । तर समयको प्यारोडी हामीले लेख्न हुँदैन । त्यो साहित्य हुन सक्दैन । त्यो गम्भीर हुँदैन र त्यसले दिशाबोध पनि गर्न सक्दैन । त्यसैले पनि यस्ता विषयमा लेख्न केही समय लाग्छ नै ।

यो समयको साहित्यिक गतिविधिलाई कसरी हेरिरहनुभएको छ ?
कतिपयले समयको सदुपयोग गर्दै लेखिरहेको कुरा मैले पनि सुनेको छु । त्यो अहिलेको विषय मात्र नभएर पहिलेदेखि आफूले रोजेको सोचेको विषयमा लेखिरहनु भएको हुनसक्छ । फुर्सदको समयमा लेखिनु स्वाभाविक नै हो । 

बन्दाबन्दीको यो विषम् परिस्थितिमा प्रज्ञा प्रतिष्ठानले पाका साहित्यकारहरूलाई अलिकति पनि हेरेन भन्ने कुरा पनि उठेको छ । तपाईं के भन्नुहुन्छ ?
एकेडेमी (प्रज्ञा प्रतिष्ठान) काम लाग्ने छैन । पञ्चायतकालमा पनि एकेडेमी राम्रो थिएन । २०४६ पछिको परिवर्तनले एकेडेमी राम्रो होला, त्यसले राम्रो काम गर्ला भनेको त्यसले पनि राम्रो काम गर्न सकेको देखिएन । अहिलेको एकेडेमी त झनै सबैभन्दा गए–गुज्रेको छ । अहिलेको नेतृत्वबाट केही होला भन्ने आशा गर्न पनि सकिँदैन । एकेडेमी त पार्टीका कथित बुद्धिजीवीहरूको जागिर खाने ठाउँ भएको छ । त्यसैले ‘पञ्चायतको जुठो टपरी’ भनेर मैले पहिले नै पनि लेखेको हुँ ।

वास्तवमा पेसागत दक्षताले उच्च क्षमता भएका मानिस त्यहाँ छैनन् । एकेडेमीमा कस्ता लेखकहरूको प्रतिनिधित्व हुनुपथ्र्यो ? कस्ताको प्रतिनिधित्व त्यहाँ छ, यसले नै देखाउँछ, तिनले राम्रो गर्छन् कि गर्दैनन् भन्ने ! अहिलेको एकेडेमीबाट कसैले केही आशा गर्नु नै बेकार छ । बरु आफूहरू नैै मिलेर केही गरेदेखि राम्रो हुन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC