site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बाबाकी छोरी
Sarbottam CementSarbottam Cement

खगेन्द्र गिरी


महिनौंपछि विद्या लुइँटेलले दैनिकीको सुरूवात अलग तरिकाले गरी ।

सामान्यतया उठेर केहीबेर ऊ ओछ्यानमा बस्थी । विरक्ति, अत्यास वा उत्तेजना जस्ता भावना जगाउने कुनै सपना देखेको भए त्यसबारे एकछिन गम्थी । नत्र पहिले बाथरूम र त्यसपछि भान्सामा पस्थी । 

Prabhu Bank
Agni Group
NIC Asia

सबैभन्दा पहिले चिया लिएर ऊ छोरीलाई उठाउन जान्थी । आभालाई सधैं नौ बजे काममा पुग्नुपथ्र्यो । सात बजेभन्दा ढिला उठे उसलाई तयार हुने समय पुग्दैनथ्यो । ढिला उठाएको दोष आमाको थाप्लोमा हालेर खाना नखाई हिँड्ने गर्थी । 

त्यसपछि भातभान्सा, सरसफाइ र कहिलेकाहीँ पाहुनापाछाको सत्कारमा दिन गुज्रिन्थ्यो । साँझ परेपछि एकछिन योग अनि उही भातभान्सा, जुठाभाँडा । अर्थात् घरबूढीका रुपमा उसको दैनिकी एकनासको थियो । 

Global Ime bank

तर आज उठ्नेबित्तिकै उसलाई छोरीको चिन्ताले सताउन थाल्यो । 

विद्या र पीयूषराज शर्माकी एउटै सन्तान थिई, आभा शर्मा । एक्लो सन्तान भएकैले सानो छउन्जेल आमाबाबु उसको अति ख्याल गर्थे । अझ पीयूष छोरी भनेपछि मरिहत्ते गथ्र्यो । आभा पनि नाम सोध्नेहरुलाई तोतेबोलीमा दिन्थी, “म त बाबाकी छोरी ।”

प्लस टू सकेर जब ऊ इन्जिनियरिङ पढ्न बिदेसिई, पीयूषले छोरीका विषयमा ज्यादा सोच्न छाडिदियो । उसले बुझिसकेको थियो, अब उसका पखेटा लागिसकेका छन्, सहीगलत छुट्याउन सक्ने भइसकेकी छे । त्यसैले उसका बारेमा तनाव लिनु उच्च रक्तचापलाई निम्त्याउनु मात्र हो । 

तर आमाको मन अलग तरिकाले हिसाब गथ्र्यो । छोरीको जीवनमा कुनै बाधाअप्ठ्यारो आइपरे विद्या सोच्थी, कतै मेरै कारणले त यस्तो भएको होइन ? त्यसैले अध्यात्ममा कुनै विश्वास नभए पनि छोरी जन्मेपछि दुःखबिमार हुँदा उसले देवीदेउता भाकल गर्न र कहिलेकाहीँ पूजापाठ पनि गर्न थालेकी थिई । अझ छोरी विदेश गएपछि त ऊ हरेक साँझ भान्साकोठाको एउटा कुनामा शिवपार्वतीको तस्बिरअगाडि दुई काँटी धूप जलाएर आभाको सुस्वास्थ्यको पुकारा गर्थी ।

जब छोरी घर फर्किई, नाम चलेको निजी कम्पनीमा लाख रूपैयाँभन्दा माथिको जागिर खान थाली; घरमा हुकुम चलाउन थाली, विद्याले पूजापाठ चटक्कै त्यागिदिई । बरू छोरीले नै उसलाई योग गर्न र आफ्नो स्वास्थ्यमा ज्यादा ध्यान दिन सिकाई । वर्षौंदेखिको छोरीप्रतिको चिन्ता कतिखेर दूर भयो, उसले मेसो पनि पाइन । 

तर अघिल्लो साँझबाट विद्याको मन फेरि धर्मराउन थालेको थियो ।

आभा अरु दिनभन्दा अलि चाँडै घर आएकी थिई र उसको अनुहार पनि उज्यालो थिएन । 

घरभित्र पस्नेबित्तिकै विद्याले लख काटी, केही न केही गडबडी छ । “सन्चो छैन कि क्या हो तँलाई ?” विद्याले सोधी । तर जवाफ पाइन । आभा गोडा बजार्दै आफ्नो कोठामा पसी । 

यसको रहस्य खाना खान बसेपछि मात्रै खुल्यो । 

“मैले रिजाइन गरिदें,” आमाबाबु दुवैको अनुहार नहेरी आभाले यसरी भनी मानौं सभापतिले सभा विसर्जन गरेको हो । उसको आवाजले इसारा गरिरहेको थियो– मेरो यो घोषणामा कुनै बहस नहोस् । 

विद्या र पीयूष दुवैले साँप कुल्चे जस्तो चिसो झड्का महसुस गरे ।

जागिर सुरू गरेदेखि नै आभा परिवारको हर्ताकर्ता बन्न थालेकी थिई । जमानाअनुसारको नयाँ रीतिथितिमा अभ्यस्त भएकाले मात्रै होइन, परिवारको सबैभन्दा धेरै कमाउने सदस्य भएकाले पनि ऊ बुढेसकालको ढोका ढकढक्याउन थालेका दुई आमाबाबुका लागि अभिभावक बनिरहेकी थिई । छोरी फर्केर आएदेखि नै विद्याले स्कुल पढाउन छाडिदिएकी थिई । पीयूष पनि सेवानिवृत्तिको सङ्घारमा थियो । छोरीको जागिर नहुँदैमा के खाऊँ, के लाऊँ नहुने भए पनि परिवारमा लामो समय कमाउने सम्भावना भएको एक मात्र सदस्य उही थिई । तसर्थ ऊ हरेक विषयमा निर्णायक बन्दै गएकी थिई ।

“छँदाखाँदाको जागिर किन छोडिस् त ?” छोरीको जागिर आर्थिक रुपले परिवारका लागि कति महत्वपूर्ण थियो, त्यो देखिएला कि भन्ने भयबाट ग्रस्त हुँदै विद्याले सोधी । 

आभाले आँखा पल्टाएर आमाको अनुहार हेरी अनि घाँटी सफा गर्दै आश्वस्त तुल्याउने प्रयासमा भनी, “त्यस्तो जागिर जति पनि पाइन्छ ।”

“तैपनि त्यति ठूलो मान्छेको कम्पनी...,” विद्याले कुरा पूरा गरिन । आभा देशकै सबैभन्दा ठूलो व्यापारिक घरानाको कम्पनीमा काम गर्थी । 

“तपाईंलाई के थाहा, त्यस्ता ठूला मान्छे कति अधम छन् !” आभा कुर्सीमा अडेस लागेर च्याँठ्ठिई । 

“भएको चाहिँ के हो, त्यो भन् न,” पीयूषले उसलाई शान्त पार्ने प्रयास गर्दै भन्यो । 

आभा जहाँ काम गर्थी, त्यहाँ दर्जनौं कर्मचारी थिए । प्रायः ती सबै इन्जिनियर थिए । भनिरहनुपरेन, तीमध्ये दुईचार जनाबाहेक पुरूष थिए । तीमध्ये पनि धेरैजसो या त महिला–पुरुष सम्बन्धबारे क, ख नपढी इन्जिनियर बनेका थिए या जन्मेदेखि सिकेको सभ्याताको ज्ञानलाई रेनकोट झैं बेसमेन्टको पार्किङमै छाडेर अफिसमा पस्थे । त्यसैले नै महिला कर्मचारीलाई उनीहरु ब्वाँसो–व्यवहार गर्थे । एक्लै भेट्दा, करिडोरमा हिँड्दा धक्का दिने, अनावश्यक छुने, सबैका अगाडि उसको शारीरिक रुपरङमाथि खिल्ली उडाउने जस्ता गतिविधिमा तिनको विशेष रूचि थियो । 

सुरूमा अठारौं शताब्दीको वातावरणमा काम गर्दै छु भन्ने थाहा पाउनासाथ आभालाई रिँगाटा छुटेको थियो । तर त्यतिबेला उसमा नयाँनयाँ जोस थियो । जस्तै खराब अवस्थालाई पनि बदल्न सक्छु भन्ने आँट थियो । उसले त्यो प्रयास पनि गरी । 

काम सुरू गरेको दोस्रो महिनामै उसले आफ्नो फ्लोरका सबै कर्मचारी र कार्यकारी प्रमुखसम्मलाई ‘वर्कप्लेस ह्यारासमेन्ट’ के हो, यो किन खराब छ, यसले कर्मचारीको कार्यक्षमता र कम्पनीलाई कस्तो घाटा हुन्छ जस्ता विषय समेटेर इमेल लेखी । 

कम्पनीमा हलचल मच्चियो । इमेलको प्रभाव सुरूमा राम्रै देखियो । कार्यकारी प्रमुखले फ्लोरमै आएर उसको तारिफ गर्यो । महिला कर्मचारीका लागि त ऊ प्रिय नै बनी । काम सुरू गरेको पहिलो वर्ष ‘इम्प्लोई अफ दी इयर’ पनि घोषित भई । उसलाई पनि लागेको थियो, मैले सानोतिनो क्रान्ति नै गरें । ऊ मक्ख थिई । 

तर केही महिनाअघिबाट उसको यो भ्रम टुट्न थालेको थियो । एक दिन एक सहकर्मीले उसलाई एउटा स्क्रिनसट पठाई । एक नग्न महिलाको शरीरमा उसको टाउको जोडिएको थियो । बिस्तारै थाहा भयो, त्यो र त्यस्तै अन्य तस्बिरले कम्पनीका पुरूष कर्मचारीहरुको इनबक्समा यात्रा गर्न थालेको धेरै भइसकेको थियो । 

उसले बैठकमा कुरा उठाई, त्यस्तो काम गर्नेहरुलाई कारबाहीको माग गर्दै कार्यकारी प्रमुखलाई लिखित निवेदन दिई । कार्यकारी प्रमुखले कारबाही गर्ने प्रतिबद्धता जनाए । छानबिनका लागि भनेर तीन सदस्यीय समिति पनि बन्यो । तर त्यसको केही नतिजा निस्किएन । 

महिनौं बित्यो, न त कम्पनीमा महिला कर्मचारीको अवस्थामा खासै सुधार भयो, न कसैलाई कारबाही भयो । बरू उसका टाउको जोडिएका नग्न तस्बिर थरीथरीका सन्देशसहित फेसबुकका गुप्त पेजहरुमा पोस्ट हुन थाले । ऊ साथीहरुबाट दिनहुँ तिनका स्क्रिनसट पाउन थाली । 

अन्ततः उसले प्रहरीमा उजुरी दिने निर्णय गरी । त्यो सुइँको पाउनेबित्तिकै कार्यकारी प्रमुख उसकै अघिल्तिर झुल्कियो ।

“त्यो मान्छे को हो, पत्ता लगाएर हामी जसरी नि कारबाही गर्छौं,” उसले भन्यो, “तपाईं केही दिन पर्खिदिनुस् ।”

आभा मानिन । 

एकछिनपछि कम्पनीका अध्यक्षकै फोन उसलाई आयो, “हामी अहिले चारैतिरबाट दबाबमा छौं । सरकार पनि पछि लागेको छ । यो विषय प्रहरीमा पुग्नेबित्तिकै हामी अप्ठेरोमा पर्छौं । कृपया तपाईंले विचार गरिदिनुपर्यो ।”

“तपाईंलाई जति आफ्नो कम्पनीको रेपुटेसनको चिन्ता छ, मलाई पनि आफ्नो इज्जतको त्यति नै चिन्ता छ,” यति भनेर उसले फोन राखिदिई । राजीनामा र प्रहरीमा दिने उजुरी पालैले टाइप गरी र राजीनामा बुझाएर बाहिर निस्किई । तर ऊ प्रहरी चौकी होइन, घर आई । 

सबै कुरा सुनिसकेपछि पीयूषले फैसलाको स्वरमा भन्यो, “ठीक गरिस् तैंले । त्यस्ता लाछीहरुकहाँ परेन काम गर्न ।”

विद्या पनि सहमत भई । 

. . . 

ओछ्यानबाट निस्किनेबित्तिकै विद्याले सोची, आज छोरीलाई उठाउँदिनँ । बिहानभरि सुतोस् र थकान मेटाओस् । त्यसैले ऊ भान्सामा पसेर पहिले बूढोका लागि कफी बनाई । आफूलाई मनतातो पानीमा आधा कागतीको रस निचोरी र दुवै लिएर बैठक कोठामा पुगी । दुवै पिउन थाले । 

पीयूष एक हातले कफी समातेर अर्को हातले पत्रिका पल्टाइरहेको थियो । छेउमा बसेर विद्या पनि समाचारमा आँखा डुलाइरहेकी थिई । पीयूष जहाँ अडिएर पढ्थ्यो, विद्या पनि त्यही समाचार पढ्थी । बूढोले छिटोछिटो पाना पल्टाए ऊ शीर्षक मात्रै पढ्थी ।

अचानक दुवै जनाको आँखा सातौं पृष्ठको एउटा लेखमा गएर अड्कियो ।

विद्या पत्रिका छाडेर लोग्नेको अनुहार नियाल्न थाली । पीयूषले कफीको कप बिसाएर हतारहतार नाडीघडी हे¥यो, मानौं ऊ आफ्नो मृत्युको समय निश्चित गर्न चाहन्छ ।

बिहानको ७ः५५ बजेको थियो । 

हिउँदको काठमाडौं ठिहीले काँपिरहेको भए पनि विद्याले देखी, उसको लोग्ने चिटचिट पसिना काडिरहेको थियो । ऊ घरीघरी लामो सास फेरिरहेको थियो । उसले टोपी झिकेर सोफामा राख्यो, चस्मा निकालेर सुरूवालमा पुछ्यो र फेरि लगायो ।
 
लेखको शीर्षकमा अरु कसैको नाम हुन्थ्यो भने पीयूष सेता जुँगा मुसार्दै भन्ने थियो, “कति भद्दा शीर्षक राख्छन् अचेलका उरन्ठ्यौला सम्पादक ?”

तर ऊ यस बेला सम्पादकको शीर्षक राख्ने क्षमतामाथि चिन्तन गर्ने अवस्थामा थिएन । 

विद्या विश्वास गर्न सकिरहेकी थिइन । त्यसैले उसले दोहो¥याएर पढी । तर शीर्षक उही थियो— प्रा.डा. पीयूषराज शर्माले ममाथि महिनौं यौन दुव्र्यवहार गरे । 

लेखकको नाम थियो, सविना ताम्राकार । जो लामो समय पीयूषकै विद्यार्थी र अहिले विश्वविद्यालयकी लेक्चरर थिई । 

. . .

कसैले पीयूषलाई ऊ अरुको कुरा सुन्दैन, सन्की छ, आत्मप्रशंसक छ, प्राज्ञिक शुद्धताको पछि लाग्छ जस्ता आरोप लगाएको भए मानिसहरुले त्यसलाई अनौठो ठान्ने थिएनन् । 

तर ऊ यौन दुराचारी हो भन्ने आरोप पत्याउन धेरैलाई मुस्किल थियो । किनभने धेरैका अगाडि अत्यन्त सज्जन, भद्र र लजालु स्वभावको व्यक्ति थियो ऊ । ऊ नारीवादी विचारधाराको सशक्त प्रवक्ता थियो । नारीवादी कोणबाट उसले जति समालोचना कसैले लेखेको थिएन । 

साहित्यको इतिहास, प्रगतिशीलता, नारीवादी आन्दोलन, समाजशास्त्र, शिक्षाशास्त्र जस्ता विषयमा बोल्न उसलाई दैनिकजसो सेमिनार, गोष्ठीहरुमा निम्त्याइन्थ्यो । उसका आलेख सबैजसो दैनिक पत्रिकाका विचार स्तम्भ र शनिवासरीय साप्ताहिक परिशिष्टाङ्कमा छापिन्थे । उसका लेक्चर विद्यार्थीले रेकर्ड गरेर राख्थे । अर्थात् उसले बोलेका, लेखेका कुरा बहसका विषय बन्थे । विचार निर्माताहरुको सानो झुन्डको एउटा सदस्य थियो ऊ ।

केही वर्षअघि मात्र संसारभर ह्यासट्याग मी टू अभियान सुरू हुँदै गर्दा पीयूषले नै नेपालमा विद्यमान लैङ्गिक शक्तिसंरचना भत्काउन यस्तो आन्दोलन किन महत्वपूर्ण छ भनेर सात हजार शब्दको लेख छापेको थियो । र आफूलाई नारीवादी ठान्ने थुप्रैले त्यसलाई ट्विटर र फेसबुकमा सेयर गरेका थिए । त्यसपछि यसबारे लेखिएका हरेक लेखले सो लेखलाई उद्धृत गरेका थिए । 

तसर्थ पीयूषले आफ्नै एक विद्यार्थीलाई यौन दुव्र्यवहार ग¥यो भन्ने खुलासा धेरै आँखा र कानका लागि अविश्वसनीय थियो, अरुहरुका लागि चाखिलो ।

परिवारमा त यसले प्रलय नै निम्त्याएको थियो । 

विद्याले बिहान खाना बनाइन । आभाले उठेर घरको ‘मुड’ ठीक गर्न कुनै गीत गुनगुनाइन । दिउँसो पीयूष कुनै कार्यक्रममा गएन । कसैलाई फोन गर्ने, फेसबुक, ट्विटर, इन्स्टा खोल्ने वा ढोकाबाट बाहिर निस्किने हिम्मत कसैले जुटाउन सकेन । सबै जना मौन थिए ।

यो एउटा यस्तो झट्का थियो, जसले पूरै परिवारको होस उडाइदिएको थियो । दिन ढल्किन थालेपछि मात्रै उनीहरुले घटनाको गाम्भीर्य ठीक तरिकाले बुझ्न थाले । सम्हालिएर यसबारे सोचविचार गर्न थाले ।

“बाबा यो सब के हो ?” आभाले मौन भङ्ग गरी । 

सोफामा बसेर एकोहोरिइरहेको पीयूष झस्कियो । अनुहारमा हतासाको बिजुली दौडियो । लज्जाबोधले उसको शिर नुहेको थियो । के उत्तर दिने, उसलाई थाहा थिएन ।

ऊ केही नभनी उठेर सुत्ने कोठामा पस्यो । 

विद्या सोफामा बसेर झोक्र्याइरहेकी थिई । उसले कहिल्यै सोचेकी थिइन, यो दिन पनि उसले बाँच्नुपर्नेछ । 

आफ्नो त्रिपन्नवर्षे जीवनमा कहाँनिर गल्ती भयो, विद्या फर्केर हेर्ने प्रयासमा थिई ।

जिन्दगीमा उसले जति पटक अब भने म सबै झन्झटबाट मुक्त भएँ भन्ने सोची, त्यति नै पटक उसलाई अघिको भन्दा ठूलो बोझले थिच्ने गरेको थियो । 

काँठमा जन्मेकी थिई ऊ । बाबुआमा हुनेखाने भईकन अत्यन्त पिछडिएका थिए । एसएलसी पास गर्नेबित्तिकै केटो खोजेर उसको बिहे गर्दिन आँटेका थिए । कुनै मुस्किलले रोइकराई बिहे रोक्न लगाएकी थिई ।

बाबुआमालाई जसोतसो फकाएर क्याम्पस भर्ना भएपछि उसले सोचेकी थिई, अब जिन्दगीले लय पक्रियो, एमएसम्म राम्ररी पढाइ सक्छु, त्यसपछि राम्रो जागिर खान्छु, घरबार त भइहाल्छ । तर उसले बुझी– पढाइ, जागिर जस्ता कुरा समस्याका समाधान होइन रहेछन्, बरू आफैंमा समस्या रहेछन् । अझ केटीमान्छेका लागि पाइलापाइलामा बाधा रहेछ । घरमा आएको बिहे प्रस्तावको लर्को अस्वीकार गर्दागर्दा बिए सक्नेबित्तिकै उसलाई लाग्न थाल्यो, म कतै पछि त परिनँ । ऊ आत्तिन थाली । त्यसैले एमए पास गरेर त्यहीँ पढाउन थालेको केटाले विवाह प्रस्ताव राख्नासाथ उसले हुन्छ भनिदिई ।

पीयूषसँग बिहे भएपछि उसलाई फेरि लाग्यो, अब चाहिँ साँच्चै नै चिन्ता लिनुपर्ने विषय केही बाँकी रहेन । तर दुर्भाग्यवश फेरि उसले थाहा पाई, दाम्पत्य जीवन पनि दुःखको अन्त्य होइन, सुरूवात रहेछ । 

विद्याको यो दुःखको सुरूवात भयो– बिहेअघि पीयूष अरु कसैलाई प्रेम गथ्र्यो र पीयूषको मनमा त्यो स्थानले आफूले लिन कहिल्यै सम्भव छैन भन्ने ज्ञानबाट । 

विश्वविद्यालयको सबभन्दा तीक्ष्ण विद्यार्थी थियो, पीयूष । ऊ कक्षाकै एउटी केटीलाई खुब मन पराउँथ्यो । उनीहरुबीच प्रेमपत्र आदानप्रदान हुन्थे । तर त्यो केटीले कक्षाकै अर्को केटोसँग बिहे गरी, जो एमएको परीक्षामा प्रथम भएको थियो । 

अर्को वर्ष पीयूष र विद्याको लगनगाँठो कसियो । 

र जब विद्याले थाहा पाई, उसको रुपरङ, बोलीचाली, चालढाल र अङ्गप्रत्यङ्ग मात्र होइन, भविष्यमा उसले प्राप्त गर्ने सबै सफलता÷असफलताको तुलना पीयूषको पूर्वप्रेमिकासँग हुनेछ, उसका पनि पीयूषप्रतिका भावना ठन्डा हुन थाले । उनीहरुको दाम्पत्य बाहिरबाट हेर्दा जति सुन्दर थियो, वास्तविकतामा त्यस्तो थिएन । 

पत्नीमाथि पीयूषले कहिल्यै हात उठाएन, शारीरिक कष्ट दिएन । तर दाम्पत्य टिकाउने अनन्त सङ्घर्षमा विद्याले नै सबैजसो त्याग गर्नुप¥यो ।
छोरी फर्केपछि नै ऊ ठान्न थालेकी थिई, जिन्दगीभरको कुदाकुदपछि अब सबथोक आरामले अघि बढ्नेछ । कुनै असाध्य रोगले नगाँजे बाँकी समय शान्तिपूर्वक गुजार्ने उसको योजना थियो । 

तर यतिबेला उसलाई लागिरहेको थियो, जिन्दगी एउटा ठूलो धोका थियो । उसलाई एउटा यस्तो खेल खेल्न विवश गरिएको थियो, जहाँ उसले रोजेका हरेक विकल्प, हिँडेका हरेक बाटोले उसलाई गलत गन्तव्यमा पुर्याउँथे । 

के पीयूषसँग बिहेको निर्णय ऊ आफैंले गरेकी थिइन ? के छोरी जन्मेपछि क्याम्पस पढाउन छाड्ने निर्णय ऊ आफैंले गरेकी थिइन ? के आफूले सुरू गरिसकेको पिएचडी छाडेर पीयूषको पिएचडीका लागि सँगै अमेरिका जाने निर्णय ऊ आफैंले गरेकी थिइन ? छोरी पढ्न गएपछि क्याम्पस पढाउने हैसियत हुँदाहुँदै स्कुल पढाउने निर्णय पनि ऊ आफैंले गरेकी होइन ? 

तर किन उसलाई यतिबेला पछुतो लागिरहेको थियो ? उसले कुनै गल्ती गरेकी थिइन । उसले आफ्नो र परिवारको भविष्य कहिल्यै दाउमा लगाइन । तर किन अरुले खेलेको जुवामा उसको हार भयो ? बाँचुन्जेल सबैथोक राम्रो गरें भनेर गर्व गर्ने बेला किन जिन्दगी बेकार ठहरियो ? 

आभाले आमाको निःशब्द आँसु पुछिदिई । आमाको व्यथा आभा बुझ्थी । तर त्यसलाई निको पार्ने शक्ति ऊसँग थिएन । 

. . .
अब के गर्ने ? प्रश्न कन्चटमा ताकिएको बन्दुक जसरी ऊतिर तेर्सिएको थियो । 

पीयूषसँग मात्र दुई विकल्प थिए । या त सबै आरोप स्विकारेर माफी माग्ने र विश्वविद्यालयबाट राजीनामा दिने, या भट्टचनले जस्तै यो सब षड्यन्त्र हो भनेर पन्छिने । दुवै विकल्पमा सुरक्षाको सुनिश्चितता भने थिएन । 

“के मैले होइन भनेर अड्डी कसें भने, मेरा साथीहरुले साथ देलान् ?” ओछ्यानमा पल्टिँदै स्पष्ट आवाजमा आफैंलाई सोध्यो । त्यसपछि मनमनै आफूले गुन लगाएका साथीहरुको नामको सूची बनाउन थाल्यो, जो यस बखत उसलाई काम लाग्न सक्थे । 

उसले फोनतिर नजर लगायो । बिहानदेखि एउटै फोन वा म्यासेज आएको थिएन । “कतै म मरी त सकिनँ ?” उसले आफ्नै नाडी छाम्यो । 

“हत्तेरी ! म केमा फस्न आइपुगें ?” उसले पूरै टाउकोमा बाँकी रहेका थोरै कपाल सुमसुम्यायो ।

उसले सम्झियो– जवानीका दिनमा ऊ महिलाका विषयमा साह्रै लज्जालु थियो । अगाडि केटी मान्छे देख्नेबित्तिकै उसको मुख बन्द हुन्थ्यो । असजिलो महसुस गर्न थाल्थ्यो । बिहे नगरून्जेल उसले मन खोलेर कुरा गरेको केटीमान्छे उही प्रेमिका मात्र थिई, त्यो पनि पत्रमार्फत । साथमा हुँदा ऊसँग पनि बोल्न धक मान्थ्यो । एक पटक सिनेमा हेर्न गएका बेला उसले भनेकी थिई, “तिमी त नौ कक्षा पढ्ने केटी जस्तो छौ क्या !” 

पढाउन थालेपछि बिस्तारै विद्यार्थीहरुसँग बोल्ने अभ्यासले गर्दा उसको आत्मविश्वास बढ्दै गयो । कक्षामा पनि कहिलेकाहीँ रसिक रुपमा प्रस्तुत हुन थाल्यो । विद्यार्थीहरुले उसको यो रुप बढी मन पराए । यद्यपि उसले शिष्टता कहिल्यै त्यागेन । 

सार्वजनिक रुपमा उसको त्यो शिष्टता अझै कायम थियो । तर एकान्तमा, मौका पाउँदा धेरै वर्ष पहिलेदेखि नै ऊ अरु थुप्रै लोग्ने मान्छे जस्तै विषालु, आक्रामक थियो । यसको अर्थ यो होइन कि एकान्तमा कुनै महिलालाई देख्नेबित्तिकै ऊ ब्वाँसो जसरी झम्टिन्थ्यो । एकाधसँग बाहेक ऊ सबैसँग अत्यन्त भद्र, दयालु र शिष्ट व्यवहार गथ्र्यो । 

ती एकाध, जो उसका दुव्र्यवहारको निसाना बनेका थिए, उसका लागि पियानोका की जस्ता थिए । ऊ अन्तःप्रज्ञाबाटै थाहा पाउँथ्यो, कुन की दबाए कस्तो आवाज आउँछ । कोसँग ठट्टा मात्रै गर्ने, कसको हातसम्म समाउने, कसको पिठ्यूँमा धाप मार्ने, कसको गाला तान्ने र कोसँग यी सबै सीमा पार गर्ने भन्ने थाहा पाउन उसलाई लामो सङ्गत गरिरहन पर्दैनथ्यो । 

त्यस्ता महिला मात्रै उसको निसानामा पर्थे, जो सुरूमा उसको छेउमा उभिन पाउनुलाई पनि अहोभाग्य ठान्थे । विश्वविद्यालयकै नामी प्राध्यापकसँग व्यक्तिगत परिचय कायम गर्नु, भलाकुसारी गर्नु उनीहरुका लागि ठूलो उपलब्धि हुने गथ्र्यो । उसको असली परिचय पाइसकेपछि सबै आश्चर्यचकित पर्थे । त्यसपछि कति चुपचाप ऊबाट टाढा भाग्थे । कतिलाई उसको विरूद्ध बोलूँबोलूँ लाग्थ्यो । तर त्यसपछि आफूलाई आइपर्ने अप्ठ्यारोको हिसाबकिताब गरेर नबोल्नुमा भलाइ देख्थे । आफूले पाएको पीडा, धोकालाई उनीहरु एकलव्यको बूढीऔंलासँग तुलना गर्दै आफ्नो मूर्खतालाई धिक्कार्दै बस्थे । त्यसैले यतिका वर्ष, एक दर्जनभन्दा बढी महिलाले आफूमाथि भएको दुव्र्यवहारबारे मुख खोलेनन् ।

आफूले दुव्र्यवहार गरेका कुनै पनि महिलाबारे उसले गम्भीरतापूर्वक सोचेको थिएन । उसलाई कहिल्यै लागेन, ती सजीव प्राणी हुन्, उसको अत्याचारबाट ती प्रताडित महसुस गर्छन् र उसलाई हिंस्रक जनावर ठान्छन् । 

तर पीयूषले एउटी साह्रै कमजोर, हिम्मतहीन ठानेकी एक विद्यार्थीले उसको हिसाबकिताब सबै असफल तुल्याइदिई । र अब चकित, विस्मित हुने पालो पीयूषको थियो । 

संसारका सबै मानिसलाई ऊ समान ठान्थ्यो । तर अरु समानताका हिमायती जस्तै उसमा पनि आफ्नो श्रेष्ठताप्रति सघन विश्वास थियो । जतिजति उसले यो घटनाबारे सोच्दै गयो, उसको दृष्टिकोण उतिउति स्पष्ट बन्दै भयो । ऊ सेक्सपियरेली दुःखान्त र उत्तरआधुनिकतावादको विद्वान् थियो । त्यसैले आफूमाथिको दुव्र्यवहार आरोपलाई ऊ संसारको सबैभन्दा ठूलो दुःखान्त मान्न सक्दैनथ्यो । न त जे भएको थियो, त्यसलाई नै अन्तिम सत्य मानेर बस्न सक्थ्यो । किनभने सत्य के हो, त्यो ऊ आफैंले पनि स्थापित गर्न सक्थ्यो । उसका लागि वास्तविक सत्य र आफूले निर्माण गरेको वैकल्पिक सत्यबीच खास अन्तर थिएन । किनभने उसँग त्यो शक्ति थियो । 

ऊ उठ्यो, ल्यापटप खोल्यो र लेखको खण्डनमा दुई अनुच्छेद लेख्यो । त्यसलाई युनिकोडमा कन्भर्ट गरेर ट्विट गर्यो, जुन लामो ‘थ्रेड’ बन्यो । त्यसपछि विश्वविद्यालयका उपकुलपतिलाई फोन लगायो । दुईतीन प्राध्यापक साथीहरुलाई पनि आफूमाथि षड्यन्त्र भएको सुनाउँदै विश्वविद्यालय र आफूलाई बचाउन केही गर्न आग्रह ग¥यो । त्यसपछि भान्सामा छिरेर दुई गिलास पानी पियो र बैठक कोठामा गएर छोरीका अघिल्तिर बस्यो । 

“यो सब किन भयो बाबा ? हाउ कुड यू डू इट टू हर ?” धेरैबेर बुबालाई क्वारक्वार्ती हेरेपछि आभाले टेबलमा पल्टिएको पत्रिकातर्फ सङ्केत गर्दै आधा नेपाली र आधा अङ्ग्रेजीमा सोधी ।

“सब झूट हो । यसको विश्वास गरेर मलाई गाली नगर,” पीयूषले शान्त स्वरमा भन्यो । 

“मलाई त्यस्तो लाग्दैन,” आभाले निर्धक्क स्वरमा भनी । 

“आफ्नो बाउको कुरा तँलाई विश्वास लाग्दैन,” पीयूषले आवाजमा ५० प्रतिशत गुनासो घोलेर भन्यो, “अरुमाथि हिलो छ्याप्न आफ्नो इज्जत पनि बेच्नेहरुको कुरा पत्याएर बस् अब ।”

सोफामा बसेकी आभा भुइँको गलैंचामा सरी । 

“उसले झूट बोल्नुपर्ने कुनै कारण देख्दिनँ,” आभा पछि हट्ने मुडमा थिइन ।

पीयूष सकपकायो र चुप लाग्यो । 

“एउटी विवाहित महिला, बच्चाकी आमा, युनिभर्सिटीमा भर्खर लेक्चरर भएकी,” आभाले थपी, “तपाईंको बारेमा झूट बोलेर के पाउँछे ?”

“त्यसले बदला लिन खोजेकी हो, मसँग, अरु केही होइन,” पीयूषले भन्यो, “आयोगको अन्तर्वार्तामा एकदम कमजोर जवाफ दिएकी थिई । मैले सबैका सामु तिमी लेक्चरर हुन लायक छैनौ भनेको थिएँ...।”

“झूट,” आभाले चर्को स्वरमा भनी, “तपाईंले झूट बोलेको बच्चाले पनि थाहा पाउँछ ।”

“हुँ,” पीयूषले रिसले आँखा ठूलो पार्दै भन्यो, “बेकारको कुरा !”

टेबलबाट पत्रिका तानेर आभा पढ्न थाली ।

“महिनौं उसको ताडना सहेर थेसिस सकेपछि मैले सोचेकी थिएँ, अब यो नर्कबाट सदाका लागि मुक्त भएँ । फेरि उसको अनुहार नहेर्ने सर्तमा मैले आफूमाथिको पीडा नपोख्ने निर्णय गरेकी थिएँ । तर त्यही विश्वविद्यालयमा काम गर्न थालेपछि दिनमै अनेकौं पटक ऊसँग जम्काभेट हुन थाल्यो । कहिले बोलीचालीले, कहिले हाउभाउले उस बेला उसले दिएको यातनालाई सम्झाइरहन थाल्यो । त्यसपछि म उसको पोल खोल्ने निर्णयमा पुगें । थाहा छैन, म जस्ता कमजोर कति विद्यार्थीमाथि दुव्र्यवहार गरेर पनि ऊ बिनाकुनै हीनताबोध शिर ठाडो पारेर विश्वविद्यालयमा घुमिरहेको थियो । तर हामी जस्ता पीडितहरु भने शिर निहु¥याएर बोल्न नसकेकोमा आत्मग्लानिमा जल्दै बाँच्न विवश थियौं ।”

उसले पढिसक्दा केहीबेर चकमन्न भयो । सोफामा पल्टिएकी विद्या उठेर अडेस लागी । लोग्नेको अनुहार चिथोर्नबाट उसले आफूलाई मुस्किलले रोकिरहेकी थिई ।

“धन्दा नमान,” पीयूषले पत्नीतिर हेर्दै दुवै जनालाई सम्बोधन गरेर भन्यो, “सब ठीक हुन्छ । म ठीक गर्छु ।”

“के गर्नुहुन्छ ?” 

“हँ ?” पीयूषले झस्केको आवाजमा सोध्यो, केहीबेर रोकियो र बोल्यो, “अब चुपचाप बस्ने कुरा आएन । मैले यसको खण्डन गरिसकें ।”

“तपाईं अर्को गल्ती गर्दै हुनुहुन्छ,” आभा बोली ।

“एकदुई दिनमा सब थाहा भइहाल्छ,” पीयूषले उत्तर दियो ।

“जे मन लाग्छ, त्यही गर्नुस्,” अलिकति शान्त आवाजमा आमातर्फ देखाउँदै आभा बोली, “हामी चाहिँ तपाईंलाई साथ दिन सक्दैनौं ।”

पीयूष उठ्यो, अनुहारमा मुस्कान ल्याएर भन्यो, “चिन्ता नगर, के गर्नुपर्छ, मलाई थाहा छ ।” 

ऊ उठेर बाहिर अन्धकारमा निस्कियो । आभा भान्सातिर लागी । 

यो वादविवादमा विद्या मात्र दर्शक बनिरही । 

घरमा सबैको स्थान प्रस्ट थियो । उसको पति आफ्नो इज्जत जोगाउन लड्ने पक्षमा थियो । उसकी छोरी पीडक बाबुको विपक्षमा थिई । तर विद्याले यी दुवै पक्षमा आफ्नो स्थान देख्न सकिन । भलै उसले महसुस गरी, छोरी बाबुको होइन, उसको पक्षमा थिई ।

वास्तवमा दिनभर उसले निकै अनौठो अनुभूति गरिरहेकी थिई । ऊ जे भोगिरहेकी थिई, त्यो मात्र दुःख वा पीडा थिएन । अघिल्लो दिन छोरीले जागिर छोड्दा ऊ केही हदसम्म दुःखी थिई । किनभने त्यो एउटा क्षति थियो र क्षतिमा दुःखी हुनुपर्छ भन्ने उसले हुर्किंदै सिकेकी थिई । छोरीप्रति उसको सहानुभूति थियो । तर आफ्नो लोग्नेले अर्की महिलालाई यौन उत्पीडन गर्दा के महसुस गर्ने, उसले कहिल्यै सिकेकी थिइन । कसैले उसलाई सिकाएका थिएनन् । यस विषयमा उसले कहिल्यै सोचेकी, कसैसँग कुरा गरेकी थिइन । लोग्नेको विरूद्ध बोल्ने हिम्मत नभएर ऊ यस्तो अप्ठ्यारोमा परेकी थिइन । 

ऊ मनमनै आफूलाई गाली गरिरहेकी थिई, ३० वर्षसम्म लोग्नेको चरित्र उसको आँखाबाट कसरी ओझेलमा पर्यो ?

. . . 

एक साता बित्यो । घरको परिस्थितिमा खास फेरबदल आएको थिएन । आमाछोरी दुवैको नजरमा पीयूष गिरिसकेको थियो । तर उसलाई घरबाट भने निकालेका थिएनन् । 

बाहिरी संसारमा भने धेरै ठूलो उथलपुथल आइसकेको थियो । केही दिन सञ्चारमाध्यममा तातो विषय बन्यो, पीयूष । तर उसका शक्तिका अघिल्तिर आरोप लगाउने महिला सविना ताम्राकार कमजोर ठहरिई । उसको लेख छापिएको भोलिपल्टै विश्वविद्यालयको उपकुलपतिले भन्यो, “मलाई प्राध्यापक शर्माको निर्दोषितामा पूर्ण विश्वास छ ।” विभागीय प्रमुखको लेख नै छापियो, “विश्वविद्यालयको गहनाको रुपमा स्थापित प्राध्यापकविरुद्ध भयङ्कर षड्यन्त्र भयो । यसले विश्वविद्यालयलाई पुर्याएको क्षति अपूरणीय छ ।” एक महिला प्राध्यापकले लेखी, “यस्तो आधारहीन आरोपले अन्ततः महिला आन्दोलनलाई नै क्षति पु¥याउँछ ।” सविनाकै साथी लेक्चररको आरोप थियो, “सविना मानिसक रोगी हो । लामो समयदेखि डिप्रेसनको दबाइ खाइरहेकी छ ।” दुई दिन उपकुलपति र पीयूषको राजीनामा माग्दै प्रदर्शन गरेको विद्यार्थी युनियन तेस्रो दिनबाट मौन बन्यो । सामाजिक सञ्जालमा त यो झनै विवादको विषय थियो । घरबाहिर निस्किनेबित्तिकै सविना युट्युबरहरुको घेरामा पर्थी ।

आभा छक्क थिई– ट्विटर, फेसबुक, युट्युब होस् या पत्रिका, सविनाको पक्षमा एकदमै कम मानिसले बोलेका थिए । पीयूषको पोल खोल्ने उसको निर्णयको बचाउ गर्नेहरुको सङ्ख्या औंलामा गन्न सकिन्थ्यो । 

एक साँझ आभाले सविनाको ट्विटर फिड हेरी । त्यहाँ सेयर गरिएको लेखमा गालीको वर्षा देखेर उसलाई वाकवाकी लाग्यो । 

“१० वर्षअघि मोज गरेर अहिले किन ? उति बेला तिम्रो मुख केले थुनेको थियो ?” एउटाले कमेन्ट गरेको थियो । 

“कति डलर लिएर तिम्ले एक होनाहार विद्वान्माथि मी टू लगायौ ?” अर्कोको प्रश्न थियो । 

उसले सविनाको सोही दिनको एउटा ट्विट देखी– जहाँ उसले भयङ्कर निराशा देखी । ऊ जतिजति स्क्रोल गर्दै गई, उतिउति नै तर्सिंदै गई । सविनाका हरेक ट्विटले उसको विक्षिप्त अवस्था दर्साउँथ्यो । ती ट्विटले धोका, निरीहता, पतिसँगको खराब सम्बन्ध, आफ्नो निर्णयप्रति पछुतो मात्र होइन, जीवनको अन्त्य गर्ने मनसायसमेत सङ्केत गर्थे । आतङ्कित भएर आभाले ट्विटर बन्द गरी र ओछ्यानमा पल्टिई । 

यतिन्जेल आभालाई लागिरहेको थियो, पीडक बाबुलाई साथ नदिएर उसले आफ्नो हिस्साको कर्तव्य पूरा गरी । तर के यो पर्याप्त थियो ? उसको बाबुको कारण नर्कमय जीवन बिताइरहेकी एक महिलाप्रति उसको कुनै जिम्मेवारी थिएन ? एक पीडित महिलाप्रति उसको कुनै कर्तव्य थिएन ? ऊ आफू पनि केही दिनअघि मात्रै जागिरबाट हात धुन बाध्य भएकी होइन ? प्रहरीमा नगएर ऊ गल्ती त गरिरहेकी थिइन ? के उसको र सविनाको पीडामा समानता छैन ? सविनालाई आत्महत्या गर्न नदिनु, अझ उसलाई हार्न नदिनु उसको पनि कर्तव्य होइन ? सविना, ऊ, पीयूषको दुव्र्यवहार सहेका अरु महिला र संसारभरका पीडित महिला एकजुट नभई यो घिनलाग्दो संसार बदल्न सम्भव होला ?

एकपछि अर्को प्रश्नको घन उसको टाउको बजारिँदै गयो । ऊ ओछ्यानबाट उठी । 

तीन दिनअघि सविनाको नम्बर पाएर पनि उसले फोन गर्न सकेकी थिइन । अन्ततः उसले त्यो हिम्मत जुटाई र नम्बर डायल गरी ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  ०६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC