अमेरिकाबाट नेपाल आउँदाको पीडा र हीनता

शिरिष राजभण्डारी

अमेरिकाबाट नेपाल आउँदाको पीडा र हीनता

संसारभरका मान्छे अहिले अनेक पीडामा छन्, तर विदेशमा बसेर नेपाल आउन चाहने र नेपाल आएका व्यक्तिलाई कसरी हीनताबोध र पीडा हुन्छ भन्ने भोग्नेलाई मात्र थाहा हुन्छ । यहाँ मेरो पीडा व्यक्त गर्न गइरहेको छु ।

म लकडाउनका कारणले तीनमहिना अमेरिकामानै अड्किएको थियो । मलाई नेपाल ल्याउनका लागि मौका पर्नेबित्तिकै मेरो बुवाले टिकट किन्नुभयो । नेपालको नागरिक उड्ययनले उड्न अनुमति दिएको टर्किश एयरमा टिकट पाइयो । 

नेपालसम्म पुग्न १५३७ अमेरिकी डलर लाग्ने भयो । म अमेरिका लामै समय बसेको कारण सामान धेरैनै थियो । इकोनोमी क्लासमा आउँदा २३ किलोको दुईवटा ब्याग मात्र दिने भनेकोले २५३७ अमेरिकी डलरमा बिजनेश क्लाशको टिकट किनियो ।  बिजनेश क्लाशनै भए पनि ह्यान्ड ब्याग कसैलाई पनि लिन दिइएन । त्योसम्म त ठिकै थियो । तर, त्यसपछिको घटनाले अव्यवस्थाको हदै नाघेको देखियो ।

प्लेनमा नेपाल आउन चाहने सबैले कोभिड संक्रमणको अवस्था देखिने पीसीआर वा आरडीटीको नतिजा भएको प्रमाणपत्र ल्याउन भनिएको थियो । तर, अधिकांश यात्रुले त्यस्तो प्रमाणपत्र लिएर आएको थाहा भएन । एयरपोर्टमा फाराम भर्न लगाए तर कसैले जाँच गरेन । अर्थात्, त्यत्रो दिन अमेरिकामा लकडाउनमा बसेर जोगिएर आएको, प्लेनमा रोग सर्ला भन्ने डरले मुटु धड्कियो ।

न्युयोर्कको जेएफके विमानस्थलबाट २३ जुनको दिन प्लेन उड्यो । सो प्लेन एकपल्ट इश्तानबुलमा इन्धन भर्नका लागि रोकियो र सीधै नेपाल आयो । त्यति लामो उडानको क्रममा यात्रुलाई केवल पानी र पाउरोटीबाहेक केही दिइएन ।  प्लेनको टिकट किन्दा नै इकोनोमी क्लाश र बिजनेश क्लाशमा एउटै प्रकारको खाना दिइनेछ भनिएको थियो, त्यसैले खाना फरक आशा गरिएको थिएन । 

तर, करिब बीस घण्टाको उडानमा केवल पानी र पाउरोटी दिँदा धेरैलाई उक्त उडान निकै पीडादायक भयो ।

ल भयो, जसरी भए पनि नेपाल आइपुगियो । नेपालको एयरपोर्टमा आएपछि पीडा, अपमान र अव्यवस्थाको अर्को नमुना देख्नुपर्यो । अध्यागमनबाट २ बजे काम सकियो तर सेनाले तयार पारेको बसमा लगेर राख्न पाँचघण्टा लाग्यो । बल्ल बल्ल सवा सात बजे बसमा लगियो । 

बसमा न त सामाजिक दूरीको मतलब गरियो, न कुनै सुविधाको ।  त्यसदिन पूरै एयरपोर्टमा केवल एउटा प्लने आउँदा पनि अव्यवस्थापनको चरम नमूना देखियो । अन्ततः होल्डिङमा लग्ने भनेर बस हिंड्यो । काठमाडौंका मान्छेलाई करिब ९ किलोमिटर बसमा चढाएर बसुन्धराको एउटा पार्टी प्यालेसमा लगियो, नाउँ रहेछ एभरेष्ट पार्टी प्यालेस । त्यस पार्टी प्यालेसमा लगेर के गर्लान् भनेको त केवल नाम, पासपोर्ट नम्बर र किन आएको, कहाँ बस्ने भनेर सोधियो । 

त्यति गर्नका लागि त्यत्रो घण्टा कुराएर पार्टी प्यालेसमा किन लग्नुपर्थ्यो । औपचारिकताको नाममा सबैतिर सम्बद्ध व्यक्तिले जनतालाई दुःख दिएर सरकारको नाममा बिल पठाउन त्यति सबै गरिँदै थियो । हामीले यो कुरा बुझेर पनि केही बोल्न सकेनौं, न त कतै सुनुवाई नै हुनेवाला थियो । जनतालाई यति दुःख दिने नेपाल सरकार, सेना, नागरिक उड्डयन र टर्किश एयरलाईन्सलाई केही हुनेवाला छैन । यो अव्यवस्थामा जति धेरै नेपाली आफ्नो देश भनेर आउँछन् तिनी सबैले यस्तै दुःख पाउँछन् र आफ्नो देशमा व्याप्त भ्रष्टाचार र अव्यवस्था देखेर लाज र घीनले दिक्क हुन्छन् ।

जे होस् प्लेनको पाउरोटीको भरमा २ बजे काठमाडौं उत्रिएको साढेआठ बजे घर पुगेपछि अब बाँचिन्छ भन्ने मनमा सोच आयो ।


 

प्रतिकृया दिनुहोस
ad