विश्वमा४१ *** प्रजातिका बिराला छन् । यिनीहरुलाई ‘फेलिड’ परिवारमा राखिएको छ । नेपालमा लगभग २०८ प्रजातिका स्तनधारी प्राणी छन् । यीमध्ये १२ किसिमका त बिराला प्रजाति नै छन् । यी प्रजाति तराई, पहाडदेखि हिमालसम्म फैलिएका छन् । यीमध्ये चितुवाको भिन्न विशेषता भएकाले पारिस्थितिकी प्रणालीमा आफ्नै किसिमको महत्त्व हुन्छ । तराई, पहाडदेखि तल्लो हिमाली भेगसम्म चितुवा पाइन्छ । तर, यी अनेकौं पर्यावरणीय फाइदा रहेका प्रजातिको अहिले ह्रास हुँदै गएको छ । चोरी सिकार बढ्नु, वासस्थान घट्नु र प्रजाति विशेषका बारे ज्ञान नहुनु नै यसको प्रमुख कारण हुन् ।
अहिले पनि मध्यपहाडी भेगमा बाघ भनेर चिनिने यो अति संकटमा परेको प्रजाति हो । वन, घाँसे मैदान, झाडी र चट्टान भएको क्षेत्रमा बाघ पाइन्छ । यस प्रजातिको मुख्य आहारा भने सानो र मध्यम आकारका मृग प्रजातिहरु, जंगली बँदेलआदि हुन् । चितुवा र बाघ एउटै परिवारका भए पनि यिनीहरुबीच धेरै फरक हुन्छ ।
कोभिड–१९को महामारीसँगै वन्यजन्तु संरक्षण निकै चुनौतीपूर्ण हुनपुगेको छ । संरक्षित क्षेत्रभित्र होस् या बाहिर दिनहुँ वन्यजन्तुसम्बन्धी कुनै न कुनै घटना समाजिक सञ्जालमार्फत बाहिर आइरहेकोे छ । सञ्चार माध्यममा आएको खबरकै आधारमा पनि बन्दाबन्दीको समयमा गोर्खामा चार वटा, काठमाडौं, अर्घाखाँची, पर्वत, तनहुँ र दैलेखमा एक एक गरी आधा दर्जनभन्दा बढी चितुवा विभिन्न कारणले मरेका छन् । त्यसैगरी काठमाण्डौंको कीर्तिपुर, चितवन, म्याग्दी, पर्वत, पाल्पा र बैतडी गरी छवटाको उद्धार भएको छ । केही घटनामा मानिसहरु घाइते भएसँगै चितुवा मारिएका वा घाइते पारिएका छन् ।
चितुवा र मानव द्वन्द्व चर्किनुमा विभिन्न कारण देखिन्छन् । चितुवाको मुख्य वासस्थान क्षेत्र घट्नु, आहारा प्रजाति घट्नु, मानव वस्ती घना हुनु, जनचेतनाको अभाव हुनु, र स्रोत तथा साधन सीमित हुनु यसका प्रमुख कारण हुन् । तर, पहाडी बस्तीहरुका हकमा भने सामुदायिक वनको सफलतासँगै वैदेशिक रोजगारीका कारण घट्दो खेतीपातीले चितुवाको वासस्थान र संख्या दुवै बढेको हुनसक्छ । सोही अनुपातमा आहारा प्रजाति नबढेका कारण घरपालुवा जनावरको खोजी गर्दै चितुवा बस्तीतिर छिर्दा मानिसमाथि आक्रमण बढेको हुनसक्छ । साथै, भूकम्पका कारण भत्किएका वा बसोवास नभएका घर गोठहरुलाई चितुवाले आश्रयस्थल बनाएको पनि हुनसक्छ ।
कुनै खास किसिमको रोगव्याधि लागेर चितुवा बस्तीतिर बढी आउने गरेको भन्नेलाई पनि अनुसन्धानको विषयका रुपमा लिन सकिन्छ ।
नेपालको तराई भूभागमा पाइने बाघ, गैँडा र हात्तीजस्ता जनावर बस्ने जंगलको संरक्षणका लागि पनि पहाडमा बस्ने चितुवा संरक्षण जरुरी छ । तराईमा बग्ने सबै ठूला नदी हिमालबाट उत्पत्ति भई पहाड हुँदै वा कतिपय त पहाडबाटै उत्पत्ति भएर तराईतीर बग्छन् । सो नदीको मुहान सुक्न नदिन र अनवरतरुपमा बग्नका निम्ति चितुवाको मुख्य भूमिका रहेको पहाडको पारिस्थितिकी प्रणालीको संरक्षण जरुरी हुन्छ । पहाडमा चितुवा लोप हुँदा खतरा भने तराईमा विचरण गर्ने गैँडा, बाघसम्मलाई हुन्छ ।
प्रकृतिको सुन्दर उपहारसँग मानवको असमझदारी बढ्नु दुर्भाग्य हो । यसका लागि उत्तर पनि मानवबाटै पहिल्याउन जरुरी छ । हाम्रो संरक्षणको इतिहास धेरै लामो छैन । तथापि यसको यात्रा अद्भूत रहेको छ । हाम्रो देशको राजनीतिक, सामाजिक र अर्थव्यवस्थासँगै हाम्रो संरक्षण प्रणाली फेरिएको छ । कुनै बेला कठोर र कडा नियमलाई अँगालेर राज्यको प्रत्यक्ष निगरानीमा सुरु भएको हाम्रो संरक्षण कार्य अहिले समुदायसँग निकट हातेमालोे गरेर बढेको छ । यसरी संरक्षण हुँदै आएको प्राकृतिक स्रोतअन्तर्गत रहेको वन्यजन्तु संरक्षणमा भने अहिलेको अवस्थामा विशेष ध्यान दिनु आवश्यक देखिन्छ ।
चितुवा संरक्षण समस्याको प्रतिनिधि उदाहरण हो । यसबाहेक अरू कैयौं प्रजातिको व्यवस्थापनमा हामीले विशेष जोड दिन जरुरी छ । यसको लागि एउटै संस्था काफी छ भन्नु गलत हुन्छ । सरकारी, गैरसरकारी, समुदायमा आधारित संघ/संस्था, नागरिक समाज वा एकल व्यक्ति नै किन नहुन् विभिन्न सरोकारवाला संस्थाहरु सबैको संयुक्त प्रयास नै यसको प्रमुख आधार हो । यी सरोकारवालाहरुको पहिलो कदम भने जनचेतना नै हुनुपर्छ । हाम्रो समाजसँग जोडिएको सबै क्षेत्रलाई चितुवासँगै अन्य जनावरसम्बन्धी जानकार बनाउन जरुरी छ ।
दोस्रो, हाम्रो भूउपयोग प्रणाली हो । पहाडी क्षेत्रमा बस्तीहरु छरिएर रहेका छन् । यसले गर्दा वनहरु खण्डीकरण भई जनावरसँगको भौतिक दूरी कम भएको छ । त्यसमाथि हाम्रो हालको विकास प्रणालीले यसलाई थप बढाएको पाइन्छ । तसर्थ, कुनै पनि विकास कार्य गर्नुपूर्व वन, भूसंरक्षण, जलाधार र बस्तीलाई योजनाबद्ध ढंगले अगाडि बढाउने एकीकृत योजनालाई प्रभावकारी कार्यान्वयन गर्न अत्यावश्यक छ ।
तेस्रो, चितुवा उद्धारका लागि जिल्लास्तरीय समन्वय बढाउनु हो । कहाँ र कसरी उद्धार गर्ने भन्ने विषयमा उद्धारमा खटिने सरोकारवालाहरुलाई तालिम र ज्ञान दिनु आवश्यक हुन्छ । अहिले गरेको उद्धारको विधि हेर्दा सयौं मानिस ठूलै सर्कसमा सहभागी भएर तमासा हेरेझैँ देखिन्छ । यस्तो किसिमको उद्धार क्षणिक हुन्छ र यसले चितुवालाई उद्धार होइन थप तनाव र डर दिन्छ । फलस्वरूप, चितुवा केही समयपछि नै मर्ने गर्छ । यसो हुन नदिन उद्धारमा खटिनेहरु संयम र सावधानी अपनाउनु पर्छ । भिडलाई टाडै राख्नुपर्छ । यद्यपि यो निकै जटिल र कठिन कार्य हो । भिडलाई चितुवाको नजिक आउन नदिन उद्धारकर्ताबीच समन्वय र सहकार्य अमूल्य रहन्छ ।
घटना भएको स्थानका जनताले पनि चितुवा जंगली प्राणी हो र यसले कुनै पनि बेला आक्रमण गर्न सक्छ भन्ने हेक्का राख्न आवश्यक छ । चर्को हल्ला र भिड भए यो प्राणी आत्तिएर झनै आक्रमक हुनेगर्छ ।
साथै, यो प्राणी मानव स्वास्थ्यलाई हानीकारक विभिन्न परजीवीको आश्रयस्थल रुपमा रहेको हुन्छ । यसकारण, चितुवा उद्धारमा खटिने उद्धारकर्तालाई स्नेह र हौसला दिँदै उनीहरुले आग्रह गरेका कुरा मान्नु नै बुद्धिमानी हुनेछ ।
नेपालको पहाडी भेगमा तराईको अनुपातमा संरक्षित क्षेत्र धेरै कम छ । तसर्थ, चितुवा संरक्षणको सफलताले हाम्रो संरक्षित क्षेत्रबाहिरको वन्यजन्तु संरक्षणको सफलता मापन गर्ने हुनाले विशेष ध्यान दिन जरुरी छ । चितुवालाई समस्याभन्दा पनि सम्भावनाको रुपमा हेरेर सबै सरोकारवालाले चितुवालाई प्राथमिकतामा राखी सरकारको नेतृत्वमा समुदायसँग सहकार्य गर्न जरुरी छ । चितुवाजस्तो प्राणी जीवित रहे न जंगली अवस्थामै हामी र हाम्रा सन्तानले यसको फोटो र सेल्फी लिन पाउँला । लोपै भए त एकादेशको राजा भन्दै किताब पल्टाउँदै हेर्ने दिन आउन सक्छ ।
चितुवा एउटा प्रतिनिधिपात्र मात्रै हो । वनका धेरै प्रजातिहरु अहिले पनि मानवको अल्पज्ञानका कारण जोखिमा छन् । यी प्रजाति र यीनका वासस्थानको संरक्षण र संवर्धन गर्नु चेतनशील प्राणी भनिने मानव जातिको दायित्व हो ।
पाठक, सहायक संरक्षण अधिकृत, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग,
पौडेल, संयुक्त राज्य अमेरिकाको कोर्नेल विश्वविद्यालयमा विद्यावारिधि शोधार्थी ।
** लेखकको अनुरोधमा सच्याइएको