site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मीरा र यो मात चढेको साँझमा...
Sarbottam CementSarbottam Cement

काठमाडाैं । वरिष्ठ गायिका मीरा राणाले सयौं गीत गाएकी छन् । उनले गाएका हरेक गीत उत्तिक्कै मिठा र लोकप्रिय छन् । ऊर्जावान छन् । ‘म त नाच्नै पो जान्दिन’ भन्ने मानिसलाई पनि मीराका गीतहरूले नचाउँछन् ।

उनका कतिपय गीत सुन्दा आँखामा आँशु भरिन्छ । कतिपय गीत सुन्दा मन आनन्दित हुन्छ । यस्ता सयौं गीत छन् चर्चा गर्नुपर्ने, वरिष्ठ गायिका मीराका । यहाँ भने हामी तीनवटा गीतको मात्रै चर्चा गर्दै छाैं । 

एउटा अत्याधुनिक क्याब्रे गीत ‘यो मात चढेको साँझमा...’ जुन चलचित्र ‘मनको बाँध’का लागि गाइएको थियो । त्यस्तै लोकलयमा आधारित गीत ‘मखमली चोलो चाहिँदैन...’ र अर्को हो, ‘मेरो पाउमा आज कोही पाउजु बाँध... । 

Prabhu Bank
Agni Group
NIC Asia

मीराले टेलिफोनमा कुरा गर्दै भनिन्, “तपाईले रोजेका तीनवटै गीत मेरा लागि महत्त्वपूर्ण गीत हुन् । ‘मनको बाँध’को ‘यो मात चढेको साँझमा...’, मैले गाएको पहिलो अतिआधुनिक क्याब्रे गीत हो । सायद क्याब्रे गीत नेपाली संगीत क्षेत्रमा पहिलो पटक गाइएको होला ! ‘मेरो पाउमा आज कोही पाउजु बाँध...’ क्लासिकल गीत हो । यसलाई आधुनिक शास्त्रीय गीत भन्नुपर्छ । र अर्को गीत ‘मखमली चोलो चाहिँदैन...’, जुन गीत स्टेज परफरमेन्समा दर्शकहरूलाई नचाउने गीतका रूपमा चर्चित भयो ।” 

२०२२ सालदेखि रेडियोमा गीत गाउन सुरु गरेकी मीरा राणाले पाँच दशक बढीको समय गायनमा बिताइसकेकी छन् । आज पनि उनी स्टेजमा गीत गाउन ओर्लिँदा दर्शकको चाहनालाई विशेष ध्यान दिन्छिन् । दर्शकको रुचिका गीत गाउँछिन् ।

Global Ime bank

यो मात चढेको साँझमा...

‘मनको बाँध’ चलचित्रको यो गीत पहिले तारा देवीले नै गाउने कुरो थियो, सायद । यद्यपि, यो अत्याधुनिक क्याब्रे गीत भएकाले एउटा अर्को आवाज पनि खोजिँदै थियो । तत्कालीन शाही नेपाल चलचित्र संस्थानले यो चलचित्र बनाउँदै थियो भने गीत रेकर्डिङको जिम्मा रत्न रेकर्डिङले लिएको थियो ।

मीरा भन्छिन्, “यो गीत मैले गाउने कुरो थिएन । न त यो गीत गाउन मलाई कसैले भनेको नै थियो । म रेडियो नेपालमा करारमा जागिरे थिएँ । रत्न रेकर्डिङ संस्थान त्यहीँभित्र रेडियो परिसरमै थियो । रत्न रेकर्डिङमा उत्तमलाल श्रेष्ठ प्रमुख हुनुहुन्थ्यो । ‘यो गीत गाउन मीरालाई लाने’ भनेर माथि–माथि कुरा भएको रहेछ, सायद । तर, तलसम्म अर्थात् मसम्म कुरो आइपुगेको थिएन ।”

त्यसैबेला एक दिन रेडियो परिसरमै उत्तमलाल श्रेष्ठसँग मीराको भेट भयो । भेटमा श्रेष्ठले मीरालाई ‘नाति दाइले केही भन्नुभयो ?’ भनेर सोधे । उनले आफूलाई केही नसोधिएको बताइन् । 

चलचित्र ‘मनको बाँध’ मा संगीत दिँदै थिए नातिकाजी र शिवशंकरले । त्यसैले पनि उत्तमलालले मीरालाई नाति दाइसँग कुरा भए नभएको विषयमा सोधेका थिए । “भन्नु पर्ने...” भन्दै केहीबेर उत्तमलाल मौन भए । अनि उनले फेरि सोधे, “साँच्चिकै भन्नु भएको छैन ?” मीराले पनि “अहँ” भनिन् ।

त्यसपछि उत्तमलालले “लौ पर्सि जाने भइसकियो । भनेको छैन रे !” भन्दै मीरालाई लिएर संगीतकार नातिकाजीको कोठामा गए । नातिकाजीसँग भेटेर उनले नेवारी भाषामा केही कुरा गरे । त्यहाँ नातिकाजीले “मीराले टिपिहाल्छ भनेर उसलाई नभनेको” भने । 

नाति दाइको कुरा सुनेर मीरा चकित परिन् । ‘टिपिहाल्छ...’ भनेको के हो ? मीरालाई खुलदुली भयो । 

त्यसको भोलिपल्ट रत्न रेकर्डिङमा मीरालाई बोलाएर ‘मनको बाँध’को गीत रेकर्ड गर्न कलकत्ता जानुपर्ने बताइयो । यसरी गीत गाउने कुरै त थाहा थिएन भने मीरालाई धुन र शब्द बारे केही थाहा हुने कुरै थिएन । 

त्यसको दुई तीन दिनपछि नै ‘मनको बाँध’को सांगीतिक टोली कलकत्ता उड्यो । जसमा तारादेवी, बच्चुकैलाशहरू पनि थिए । कलकत्ता पुगेर उनीहरू सबै महाराष्ट्र भवनमा बसे ।

भोलिपल्ट संगीतकार नातिकाजी श्रेष्ठले तारादेवीलाई ‘फुलको थुँगा...’ गीतको अभ्यास गराए । उनले तारादेवीको अभ्यास सुनिन् । अभ्यासको क्रम रोकियो । त्यसपछि मीरा राणालाई अभ्यास गर्न भनियो र गीतको शब्द दिएर लय सुनाइयो । गीत थियो ‘यो मात चढेको साँझमा ...।’

यो गीतको अभ्यास सुरु भयो । अभ्यास गर्दैगर्दा फिल्ममा गीतको सिचुएसनको कुरा उठ्यो । चलचित्रमा यो गीत रेस्टुरेन्टमा क्याब्रे डान्सरले गाउने भनियो । त्यसपछि अभ्यास गर्दागर्दै मीराले आफ्ना कुरा राखिन् । उनले गीतका अगाडि हार्मिङ ‘लललललललल... ललला’ हाल्ने र मुखडा सकिएपछि हाँस्ने भनेर सुझाइन् ।  

मीरा भन्छिन्, “नाति दाइले यसोभन्दा केही पनि बोल्नु भएन । हास्नु मात्रै भयो । उहाँको स्वभाव नै त्यस्तै थियो । अलि रिजर्भ बस्ने । मैले सुझाएअनुसार नै गीत रिहर्सल गरेँ । र दाइहरूसित सिक्दै गएँ । गाउँदै गएँ । मैले क्लासिकल संगीत सिकेकाले पनि मलाई यो गीत गाउन गाह्रो भएन ।”

यहाँ गीतको अभ्यास सुरु थियो । एक दुई दिनभित्रै चलचित्र निर्देशक प्रकाश थापा मुम्बईबाट कलकत्ता आए । गीतको रिहर्सलका बखत मीराले गाउने गीतमा भएको थोरै परिवर्तनको कुरा भयो । 

त्यसपछि किरण खरेलका शब्दलाई नातिकाजीले हारमोनियममा फेँटे । मीराले आफूले रिहर्सल गरेको गीत गाइन् । उनले गीतको सुरुमा हार्मिङ्ग हालिन् र बीचमा मिठो हाँसो दिइन् । गीतको रिहर्सल सुन्दै प्रकाश थापा दङ्ग परे, र जुरुक्क उठ्दै भने, “वाह ! ए हुइ न बात ! मैले खोजेको नै यही हो ।”

मीरा राणाले यो गीत रेकर्ड गरिन् । यो गीतको गायनमा आफूले न्याय गरेको बताउने मीरा चलचित्रमा डान्सर विमला श्रेष्ठले पनि पूरापुर न्याय गरेको बताउँछिन् । 

मखमली चोलो चाहिँदैन...

स्टेजमा मीरा राणाले गाउन सुरु गरेपछि दर्शकदीर्घामा बसेका दर्शक नाच्न सुरु गरिहाल्थे । ठेट लोकगीत नभए पनि तीसको दशकको प्रारम्भ तिरको लोकशैलीको यो गीत सबैलाई नाच्न उत्साहित बनाउने गीत बन्यो ।

गोपाल योञ्जनले आफ्नो स्टेज परफरमेन्स देखेरै यो गीत बनाएको मीराको भनाइ छ । यो गीत ठेट लोकगीत नभए पनि स्टेजमा दर्शक तताउने गीत बनेको उनी स्वीकार्छिन् ।

मीरा एक पटक स्टेजमा आएपछि आधा घन्टासम्म गीत गाइरहनु पर्ने अवस्था सिर्जना हुन्थ्यो । त्यसअघि स्टेजमा कुनै महिला गायिकाले परफरमेन्स गरेर गीत गाउने चलन खासै थिएन ।

मीरा भन्छिन्, “एक त महिलालाई हेर्ने दृष्टिकोण नै फरक थियो त्यो बेला । तर, पनि मैले नशालु रात नशालु साथ..., मेरो मुटुको माझमा..., ‘मखमली चोलो चाहिँदैन... जस्ता अनेकन गीत गाएर दर्शक स्रोताको मन जितेकी थिएँ ।”

‘मखमली चोलो...’ पनि रत्न रेकर्डिङकै गीत हो । गोपाल योञ्जनको शब्द र संगीत यस गीतमा सजिएको छ । यो गीत रेकर्ड गर्दा पनि सबै संगीतकर्मीहरू बाजा बजाउँदै झुमिरहेको सम्झिरहेकी थिइन्, मीरा । उनी भन्छिन्, “यो गीत गोपाल दाइले तिम्रा लागि एउटा गीत बनाएको छु भनेर बोलाउनु भएको थियो । जब यस गीतको धुन सुनाउनु भयो, त्यो सुन्दा नै मेरा नशानशा नाचिरहेका थिए !”  

रेकर्डिङका बखत म्युजिसियनहरू पनि सहयोगी रहेको उनी बताउँछिन् । फिलिङसहित गीत गाउने भएकाले र गीत बुझेर गाउने भएकाले नै पनि उनका यी गीतहरू स्रोताले मनपराएको उनलाई लाग्छ । उनी भन्छिन्, “पहिले म गीतको शब्द र संगीतमा आफैं भिज्थेँ । त्यसपछि मात्रै गाउँथेँ ।”

 

 

मेरो पाउमा आज कोही पाउजु बाँध...

गोपाल योञ्जनकै रचना र संगीतमा बनेको गीत हो ‘मेरो पाउमा आज कोही पाउजु बाँध, मेरो मायाले मलाई बोलायो...’ । 

गोपाल योञ्जनसँग मीराको भेट २०२६ सालतिर भएको थियो, पुलिस क्लबको कार्यक्रममा । त्यसैबेला उनको स्वर गोपालले जाँचेका थिए । मीराले केही गीत गोपाललाई सुनाएकी थिइन् । गोपाल पनि खुसी भएका थिए ।

‘चिरेर मुटु यो तिमीले के पायौ...’ बोलको युगल गीतमा कमला श्रेष्ठसँग आवाज मिलाउँदै मीराले गाइन् । यो गीतको रचना मविवि शाहले गरेका थिए भने गोपाल योञ्जनको संगीत । यो पनि क्लासिकल गीत नै थियो । जुन गीत पुलिस क्लबको कार्यक्रमका लागि रेकर्ड भएको थियो ।

एकदिन गोपालले मीरालाई ‘तिम्रा लागि एउटा गीत बनाएको छु, आउ’ भने । यो युगल गीतका लागि अर्को स्वर दिने भएका थिए, नारायणगोपालले । तर, यो कुरा मीरालाई थाहा थिएन । मीरा, गोपाल कहाँ पुगिन्, गीत रिहर्सल गर्न । यसरी गीतको अभ्यास हुँदै गयो । गीतको अभ्यासमा गोपाल योञ्जन आफैंले गायकीमा साथ दिँदै आएका थिए । 

महिना दिन लगाएर मीराले गीतको रिहर्सल गरिन् । रत्न रेकर्डिङका गीतहरू बिहानपख रेडियो नेपालको स्टुडियोमा नै रेकर्ड हुन्थ्यो । गीत रेकर्डिङको दिन मीरा, बिहानै रेडियो नेपाल पुगिन् । रेकर्डिङका लागि सबै व्यवस्था मिलाइयो । तर गीत रेकर्ड भएन । 

मीरा सम्झिन्छिन्, “भोलिपल्ट पनि गीत रेकर्ड गर्न भनेर बिहानै रेडियो नेपाल पुगेँ । रेकर्डिङका लागि सारा तयारी भइसकेको थियो । तर, गीत रेकर्डमा अलमल यथावत थियो ! म केही बुझ्न सकिरहेकी थिइनँ । त्यसपछि गोपाल दाइले भन्नुभयो, ‘म आफैं गाउँछु ।’ गोपाल दाइ र मेरो आवाजमा यो गीत ‘मेरा पाउमा आज...’ रेकर्ड भयो । त्यतिबेला गोपाल दाइका आँखा रातो न रातो भएको मैले देखेकी थिएँ । सायद गोपाल दाइ कसैसँग रिसाउनु भएको थियो ।”

यति हुँदा पनि मीराले म यो गीत कोसँग गाउँदै छु भनेर सोधिनन् । सोध्ने कुरो पनि थिएन । उनी भन्छिन्, “आफ्ना अग्रज गुरुहरूसँग कसरी सोध्नु !” अर्थात् गुरुहरूप्रति अथाह सम्मान थियो त्यसबेलाका गायक गायिकाहरूमा । गुरुलाई अति नै आदर गर्थे कलाकारहरू । 

यो गीत रेकर्ड हुने दिन गोपाल योञ्जनको आँखामा भरिएको रिस देख्दा उनी झस्किएकी पनि थिइन् । उनी भन्छिन्, “गोपाल दाइ र मैले गीत गायौँ । रेकर्डिङ राम्रो नै भयो । तर, पनि गीतको अन्त्यतिर मेरो सुरले अलिकति ठाउँ छोडेको हो कि भन्ने मलाई आज पनि लाग्छ । गोपाल दाइको तनावले गर्दा म पनि सायद टेन्सनमा आएँ । त्यसैले मेरो सुर अलिकति खस्कियो । म यो कुरा आज पहिलो चोटी भन्दै छु । तर, गीत बज्न थालेपछि सबैले गीत मनपराए । मेरो सुर ‘तलबितल’ भएको स्रोताहरूले थाहा पाउनु भएन ।” 

सकिएपछि रेडियोको क्यान्टिनमा गोपाल योञ्जन कसैसँग भन्दै थिए रे, “मितज्यूले यस्तो गर्न नहुने !” यो सुनेपछि मात्रै मीरालाई थाहा भयो कि यो गीत नारायण गोपालसँग उनले गाउनु पर्ने रहेछ । तर, नारायणगोपाल नआएपछि गोपाल योञ्जन आफैंले यसमा स्वर दिए ।

मीरा भन्छिन्, “पछि नारायणगोपाल दाइसँग मैले ‘मेरो जोवन लैजाऊ...’, र ‘तिमी देऊ या नदेऊ...’ गीत गाएँ । यो दुवै गति खुबै मनपराउनु भयो स्रोताहरूले ।”

गोपाल योञ्जनसँग यो गीत अभ्यास गर्दाको क्षण सम्झना गर्छिन् मीरा । रिहर्सल हुँदा गोपाल योञ्जनले हारमोनियममा औंला फेँट्दा मीरा राणा हारमोनियममा सुर कसरी लगाउँछन् भन्ने हेरिरहन्थिन् । र उनले हारमोनियममा लिएको सुर सप्तक (सार सप्तक, मध्य सप्तक र मन्द सप्तक) सबै पछ्याउँदै गीत गाउँथिन् । मीराको गायनको उत्साह देखेर गोपाल झनै माथिल्लो सुरमा जान्थे । मीरा पनि के कम, उनी पनि गोपालको सुरलाई पछ्याउँथिन् । 

मीरा राणा भन्छिन्, “वास्तवमा गायकीमा मोही मथेजस्तो मथ्नु हुन्थ्यो गोपाल दाइ । म आजको अवस्थामा उभिनुमा उहाँहरूजस्ता गुरुहरूको नै देन हो ।”

तस्बिर : सुनील प्रधान

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC