काठमाडौं । बलात्कार र आनी बेपत्ता गरेको आरोप लागेका तपस्वी रामबहादुर बम्जन भनिने रामलाल बम्जनसहित जिल्ला अदालत, सर्लाहीमा बिहीबार साँझ मुद्दा दायर भइसकेको छ । जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीले बालबालिकासम्बन्धी ऐन, ०७६ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको हो ।
सर्लाहीका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमका अनुसार बम्जनसहित ३ जनालाई प्रतिवादी बनाइएको छ । मुख्य प्रतिवादी रामबहादुर बम्जन छन् भने उनलाई सघाएको आरोपमा आश्रम प्रमुख ज्ञानबहादुर बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङलाई पनि प्रतिवादी बनाइएको छ ।
गौतमका अनुसार बम्जनलाई १४ वर्षसम्म र अरू दुई जनालाई त्यसको आधा सजायको मागदाबी छ । पटक–पटक प्रहरीले बम्जनको आश्रममा छापा मारेको भए पनि उनलाई फेला पार्न सकेको छैन । बम्जनसहित तीनैजना फरार छन् ।
बम्जनमाथि ०७३ साउन २० मा आश्रममै आएकी आनीलाई प्रलोभनमा पारेर यौन शोषण र बलात्कार गरेको आरोप छ ।
उनीविरुद्ध ०७६ माघमा उजुरी परेको थियो । बलात्कारसम्बन्धी कसुरमा घटना भएको एक वर्षसम्ममा उजुरी दर्ता गरिसक्नुपर्ने र मुद्दा दायर गरिसक्नुपर्ने हदम्यादका कारण मुद्दा दायर गरिएको हो ।
यस्तोमा बमजन अब आफैं अदालतमा उपस्थित हुनसक्ने विज्ञहरू बताउँछन् । अदालतमा मुद्दाको फाइल पेस भइसकेकाले अब उनीविरुद्ध अदालतले आवश्यक ठानेमा बाहेक प्रहरीले अनुसन्धान गर्न पाउनेछैन् । त्यसैले उनी पक्राउ पर्नबाट उम्किँदै आएको प्रहरी अधिकारी नै बताउँछन् ।
अब कसरी अगाडि बढ्छ कानुनी प्रक्रिया ?
जिल्ला न्यायाधिवक्ता गौतमका अनुसार रामबहादुर बम्जन दोषी पाइए पीडितको उमेरअनुसारको सजाय हुनेछ । गौतमले भने, “बालबालिकासम्बन्धी ऐन ०७५ को दफा ६६ (३) (छ) र (ज) र ०७२ को (३) (छ) बमोजिम कारवाही हुन्छ ।”
उनले जबरजस्ती करणीअन्तर्गतको कसुर त गर्यो त्यसमाचाहिँ पीडितको उमेर अवस्थाअनुसार सजाय हुने व्यवस्था गरिएको छ बताए ।
गौतमका अनुसार मुलुकी अपराधको दफा २१९ मा १४ वर्षदेखि १६ वर्ष पूरा नभएको बालबालिका भए त्यस्तो कसुरलाई १२ देखि १४ वर्षसम्म सजाय हुन्छ भनेर स्पष्ट रूपमा लेखिएको छ ।
यो कानुन बमजनलाई आकर्षित हुने गौतमको भनाइ छ । बाँकी दुईजनाले बालिकालाई चिनाउने, बम्जनलाई भगाउने काम गरेकालाई उनीहरूलाई पनि मतियार बनाइएको हो । त्यसैले उनीहरूउपर आधा सजायको मागदाबी छ ।
गौतमका अनुसार अब अदालतले तीनैजना प्रतिवादीलाई पक्राउ पुर्जी जारी गर्नेछ । म्याद पनि हुन्छ । यदि उनीहरू म्याद बुझेर अदालतमा उपस्थित हुनसक्छन् । उनीहरूले रितपूर्वकको सूचना पाउनुपर्यो ।
सूचना जारी भएको आधिकारिक रूपमा उनीहरूले प्राप्त गरेको देखियो, म्याद तामेल भयो र प्रतिवादी उपस्थित भए अदालतमै बयान हुने व्यवस्था छ । त्यसपछि घटनाका प्रमाणहरू बुझिन्छ । प्रमाणहरू बुझेपछि कसुरदार हो होइन भन्ने मूल्याङ्कन हुन्छ । त्यसको आधारमा अदालतले फैसला गर्छ ।
यदि प्रतिवादी म्यादभित्र उपस्थित भएनन्, पक्राउ `पनि परेनन् भने त्यस्तो अवस्थामा तत्काल अनुसन्धानका क्रममा जम्मा भएका प्रमाण हेरिन्छ । पीडितको बकपत्र हुन्छ । पीडितको उजुरी अदालतमा हो वा होइन भन्ने कुरा हुन्छ । यो सबै हेरिसकेपछि अदालतले दोषी ठहर गर्न मिल्ने नमिल्ने अध्ययन गरेर फैसला सुनाउनसक्छ ।