site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
वित्तीय क्षेत्रको अनियमितता हेर्न राष्ट्र बैंक काफी
Sarbottam CementSarbottam Cement

सरकारले चैत ११ बाट गरेको लकडाउन केही खुकुलो बनाएसँगै आर्थिक गतिविधि सुरु हुँदै गएका छन् । सरकारले बजेट ल्याएसँगै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको छ । मौद्रिक नीतिले सरकारले घोषणा गरेको ५ प्रतिशत ब्याजदरको पुनर्कर्जाको मोडालिटीसँगै लकडाउनले गर्दा थला परेका र बैंकका ऋण तिर्न नसकेका उद्योग व्यवसायलाई कस्तो नीति ल्याउँछ भन्ने धेरैको चासो देखिन्छ । यस्तै कर्जाको ब्याजदर घट्ने अपेक्षा उद्योगी व्यवसायीले गरिरहेका छन् । 

कोभिड १९ पछिको वित्तीय अवस्था, आगामी मौद्रिक नीति र व्यवसायको पुनरुउत्थान, कर्जाको ब्याजदर घट्ने सम्भावनालगायत विषयमा केन्द्रित रहेर बाह्रखरीका विजय पराजुलीले नेपाल बैंकर्स संघका कार्यकारी सदस्यसमेत रहेका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीसँग गरेको कुराकानी :

कोभिड १९ ले वित्तीय क्षेत्रमा पारेको असरलाई कसरी विश्लेषण गर्नुभएको छ ?

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड १९ ले नेपालको वित्तीय क्षेत्रमा मात्रै नभएर विश्व अर्थतन्तन्त्रमै प्रभाव पारेको छ । कोभिड १९ कहिलेसम्म रहने हो भन्ने अन्योलको अवस्था अझै छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको रिपोर्ट हेर्दा पनि विश्व अर्थतन्त्रमा करिब ५ प्रतिशतले संकुचन आउने देखिएको छ । सन् २०२०–२१ मा १२ ट्रिलियन डलरभन्दा बढीको आर्थिक नोक्सानी हुने अवस्था रहँदा त्यसको प्रभाव नेपालीको वित्तीय बजारमा पर्नु स्वभाविकै हो । 

९० दिनभन्दा बढीको लकडाउनमा कुनै प्रकारको आर्थिक गतिविधि नहुँदा नेपालले पनि पछिल्लो ३–४ वर्षदेखि उच्च आर्थिक वृद्धि हासिल गरेको थियो त्यो नहुने पक्का भइसकेको अवस्था छ । यसले नेपालको फाइनान्सियल मार्केटलाई नेगेटिभ असर पर्छ नै । अहिले ७५ प्रतिशतजति देशमा विस्तारै लकडाउनपछि अवस्था सामान्य हुँदै गएको देखिन्छ । तर कन्ट्याक भएर हुने व्यवसायमा अहिले पनि ठूलै अन्योल देखिन्छ । तर रिटेलमा भने रिकभर हुन खोजेजस्तो पनि देखिन्छ । नेपालमा पनि त्यहि अवस्थामा जाने हो भने कोभिड १९ को असर दीर्घकालीन रूपमै पर्छ ।

Global Ime bank

सरकारले गरेको लकडाउन खुकुलो भएसँगै व्यवसाय पनि सुरु भएका छन् । कोभिड १९ ले बैंक तथा वित्तीय क्षेत्रको लगानी जोखिममा परेको भन्ने गरिएको छ । अवस्था के छ ?

लकडाउनको समयमा अथवा असार मसान्तसम्म नेपाल राष्ट्र बैंकले नै ऋणीलाई कर्जा अथवा ब्याज पछि तिर्दा हुन्छ भनेको अवस्था छ । यो समयमा धेरै व्यवसाय सञ्चालन हुन नसकेको र १०–१२ दिनयता व्यवसाय केही सुरु हुन खोजेजस्तो देखिन्छ । अहिले नै कति कर्जा जोखिममा छ भनेर आकलन गर्न मुस्किल देखिन्छ । कर्जा तिर्ने समय पनि असार मसान्तसम्म छ । 

अहिले हामीले निक्षेपकर्ताको ब्याज नियमित रूपमा तिरिरहेका छौं तर ऋणीबाट पैसा उठ्न भने समय लागेको अवस्था छ । भोलिका दिनमा यसको सम्भावित जोखिम भनेको कुुन व्यवसाय कसरी सञ्चालन हुन्छन्, नगद प्रवाहमा हुँदै गएपछि तिराउँदै गयो भने समस्या पनि समाधान हुन्छ भन्ने हो । तर रिभाइब हुन सकेनन् भने ठूलो मात्रामा निष्क्रिय कर्जा बढ्न सक्ने देखिन्छ । 

कोभिड १९ ले बैंकहरूको निष्क्रिय कर्जा बढ्न सक्छ भन्नुभयो तर कति प्रतिशतसम्म बढ्ने देख्नुहुन्छ ?

त्यो त कस्तो पोलिसी आउँछ, मौद्रिक नीतिले कसरी सम्बोधन गर्छ र व्यवसायीले व्यवसायलाई कसरी रिभाइब गरेर लैजानुहुन्छ भन्ने कुरामा निर्भर गर्छ । तर निष्क्रिय कर्जा बढ्ने निश्चित छ । चैतसम्म नर्मल अवस्थामै काम भइरहेको थियो । चैतपछि लकडाउन भयो । अब देखिएको सम्भावित जोखिम भनेको ठूला क्षेत्रहरू पर्यटन, ट्राभल, होटल, सार्वजनिक यातायात क्षेत्रमा समस्या हुन्छ भनिरहेका छौं । तर, ती क्षेत्रमा सप्लाई गर्ने सप्लाई चेनहरू साना एसएमई, माइक्रो एसएमई छन् । जसको व्यवसायको आकार पनि सानो छ ती बढी जोखिममा हुन्छन् । यसलाई कसरी व्यवस्थापन गर्छौं त्यसमा पनि निर्भर गर्छ ।

विश्वव्यापी रूपमा पनि सरकार र केन्द्रीय बैंकले स्टिमुलस प्याकेज ल्याएर आर्थिक गतिविधि अगाडि बढाउन खोजेजस्तो देखिन्छ । नेपालमा पनि त्यो प्याकेज कस्तो किसिमको आउँछ र कसरी सपोर्ट हुन्छ भन्ने कुराले भोलिका दिनमा निष्क्रिय कर्जा कसरी बढेर जान्छ भन्न सकिन्छ । 

जोखिममा परेको कर्जाको रिकभरीका लागि बैंकहरू कसरी अगाडि बढ्छन् ?

अहिलेको समस्या भनेको नगद प्रभाव नभएको हो । रिटेल व्यवसायहरू होलान् जहाँ लकडाउनपछि नर्मल अवस्था आउनेवित्तकै आफै‌ पर्ववत अवस्था जाने सक्ने सम्भावना छ । केही व्यवसाय जहाँ फिजिकल कन्ट्याक हुनुपर्छ जस्तो, हस्पिटालिटीको क्षेत्रमा तुरुन्तै रिकभर भइहाल्ने अवस्था हुँदैन । कोभिडका कारण मानिसहरूको व्यवहार परिर्वतन आउँछजस्तो लाग्छ । उनीहरूलाई पहिलेको अवस्थामा आउन समय लाग्ने देखिन्छ । 

कोभिड १९ बाट प्रभावित व्यवसायीलाई कसरी राहत दिने ? 

अहिले समस्या छ र त्यो क्षेत्रमा हामीले लगानी गरेका छौं । लगानी गरेको क्षेत्रमा यदि रिभाइब हुन सक्छ र हामीले प्लान बनाएर एक वर्ष वा दुई वर्ष एक प्रकारको स्पेस पाए अथवा सपोर्ट भए रिभाइब हुन्छ भन्ने किसिमले सपोर्ट गर्नुपर्ने हुन्छ । यदि निर्माणाधीन कुनै परियोजना छ भने, त्यसलाई अहिले नै तिनुपर्ने ब्याज पुँजीकरण गर्ने र पछि परियोजना सम्मपन्न भएर नगद प्रवाह सिर्जना गरेपछि तिराउँदै जाने गरियो भने त्यसले उहाँहरूलाई पनि काम गर्ने ठाउँ हुन्छ । 

अहिलेको निर्माणाधीन परियोजनाहरू जस्तै जलविद्युतसँग ब्याज पनि माग्न थाल्यौं भने कर्जा डिफल्टमा जाने भयो भने काम पनि रोकिने भयो । त्यसैले ब्याज पुँजीकरण, कर्जाको पुनर्तालिकीकरण अथवा पुनर्संरचनाजस्ता सुविधा दिएर अगाडि बढाउनुपर्छ भन्ने हो । अहिले ब्याज पुँजीकरण र पुनर्संरचना गर्दा राष्ट्र बैंकको स्वीकृति लिएर गर्नुपर्छ भने अब बैंकलाई नै छाडिदिने तथा बैंक र ऋणी बसेर कसरी जाने भन्ने प्लान बनाएर अगाडि जाने भन्ने हो । यस्तो अवस्थामा बैंकको भूमिका ऋणीलाई सहयोग गरेर सँगै लैजाने होजस्तो लाग्छ । 

तत्कालका लागि ब्याज पुँजीकरण र कर्जाको पुनर्तालिकीकरण गर्दा ब्यालेन्स सिट पोजेटिभ देखिएला तर भोलिका दिनमा कर्जा जोखिम बढ्यो नि ?

यस्तो खालको वातावरणमा कर्जाको जोखिम त त्यसै पनि बढ्ने भयो । कोभिड १९ को प्रभाव कहिले कति हुने भन्ने एकिन नहुँदा जोखिम त हुने नै भयो । पहिले जुन अनुमानमा व्यापार गरेको थियो अब त्यो नहुन पनि सक्छ । जस्तो आजभन्दा दुई वर्षअगाडि कसैले होटल बनाउँदा २०२० मा २० लाख पर्यटक आउँछन् भन्ने अपेक्षा थियो । आज २० लाख हैन त्यो भन्ने धेरै कम भएपछि त्यसमा नोक्सान भयो । त्यस हिसाबले पनि जोखिम अहिले नै बढिसकेको अवस्था हो । 

तर अब अहिले नै सबै कुरा सकियो भन्ने पनि छैन । विस्तारै बजार विकास हुँदै जान्छ र नयाँ किसिमले व्यापार व्यवसाय सुरु हुन्छ भने त्यतिन्जेलसम्मका लागि हामीले व्यवसाय गर्न अक्सिजनका रूपमा सपोर्ट गर्दै सँगै लिएर गयौं भने भोलि एउटा समयमा व्यवसाय सुरु हुन्छ । त्यसका लागि के–के सम्भावना रहन्छ र त्यसको नतिजा हेरेर गर्छौं । त्यसैले जोखिम अहिले पनि छ र रहिरहन्छ तर त्यसबाट बाहिर आउने तरिका भनेको निश्चित समय दिएर अगाडि बढ्न दिनु नै हो जस्तो लाग्छ ।

भोलिका दिनमा पुनरुउत्थान सम्भव देखिएको कर्जालाई पुनर्तालिकीकरण गरेर अरूलाई अहिलेबाटै प्रोभिजन गर्नु वित्तीय क्षेत्र र अर्थतत्रका लागि राम्रो होला ?

यस्तो असामान्य अवस्था प्रोभिजन गर्नु राम्रो कुरा हो । जति सकिन्छ बढी प्रोभिजन गरेर राख्नु राम्रो हुन्छ । त्यसले भोलिलाई आफूलाई बलियो पनि बनाउँछ । एनएमबी बैंकको कुरा गर्दा हामीले गरिरहेका छौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्रै ८० करोडभन्दा बढीको प्रोभिजन गर्यौं । राष्ट्र बैंकले अहिले प्रोभिजन गर्नु नपर्ने भनेर रिल्याक्सेसन दिएको थियो । हामीले विस्तारै ब्यालेन्स सिटको अवस्थालाई सुधार गर्दै हुन सक्ने सम्भावित जोखिमलाई सोचेर प्रोभिजन गर्नु राम्रो कुरा हो । 

प्रोभिजन गर्नु राम्रो हो तर प्रोभिजन गर्र्दैमा जोखिममा रहेको व्यवसायलाई सहयोग नै नगर्ने भन्ने हुँदैन । उसलाई सपोर्ट गर्दै लानुपर्छ । कतिसम्म प्रोभिजन गर्ने भन्ने कुरा अवस्था हेर्दै फरक हुँदै जाने कुरा हुन्छ ।

सरकारले बजेटमार्फत घोषणा गरेको ५० अर्बको स्टिमुलस प्याकेज र एक खर्बको पुनर्कर्जा कोष अहिलेको परिस्थितिमा कसरी वितरण गर्न उपयुक्त हुन्छ ?

यसलाई वितरण गर्दा ऋणीलाई तीन भागमा विभाजन गर्नुपर्छ । एउटा सबैभन्दा बढी प्रभाव परेको क्षेत्रहरू जुन पर्यटन, सार्वजनिक यातायात, होटल, यस्ता क्षेत्र जसलाई २–३ वर्षभन्दा अगाडि रिभाइब गर्न गाह्रो क्षेत्र हो । साना एसएमई, माइक्रो एसएमई जुन ३–४ महिना बिजनेस नहुँदै आफूसँग रिजर्भ नहुँदा सर्भाइब हुनलाई नै गाह्रो भइरहेको क्षेत्र पनि छन् ।

अर्को लकडाउनभित्र मुभमेन्ट नहुँदा व्यापार गर्न नसक्ने तर लडाउन खुलेर विस्तारै नर्मल हुँदा पहिलेकै अवस्थामा जान सक्ने व्यवसाय पनि छन् यसलाई मध्यम जोखिम भएको भनौं । त्यस्तै केही व्यवसायहरू छन् जुन अहिले हेर्दा राम्रो बिजनेस गरिरहेका पनि छन्, जस्तै स्वास्थ्यसँग सम्बन्धित भयो खाद्यन्नको ढुवानी, आईटीसँग सम्बन्धित व्यवसायहरू कोभिड १९ अगाडिको भन्दा राम्रो अवसरसहित व्यवसाय गरिरहेका छन् । 

सबैभन्दा बढी प्रभाव भएको र त्यसमाथि पनि सानो व्यवसाय, जसको अहिले कुनै सपोर्ट नहुँदा उठ्नै नसक्ने किसिमको अवस्था हुनेलाई प्राथमिकतामा राखेर पुनर्कर्जा प्रदान गर्नुपर्ने देखिन्छ ।

बैंकर्स संघले मौद्रिक नीतिको सुझाव पठाउँदा तरलता बढाउनेमा केन्द्रित भएको जस्तो देखियो ? आगामी दिनमा वित्तीय प्रणालीमा तरलता संकट आउने पूर्वानुमान हो अथवा यसलाई कसरी बुझ्ने ?

संसारभर यस्तो मन्दी अथवा असहज अवस्था आउँदा बजारको कन्फिडेन्टका लागि तरलता प्रभाव बढाइरहनुपर्ने हुन्छ । अन्य मुलुकमा पनि त्यहाँको केन्द्रीय बैंक र सरकारले सकेसम्म त्यहाँको व्यवसायलाई अगाडि बढाउन दिने र तरलताको प्रवाह गरेर व्यवसायको वातावरण र माग पक्षलाई चलायमान बनाउने नीति लिएको हुन्छ । त्यसलै हाम्रो पनि व्यवसाय रिभाइब हुँदा कर्जाको माग हुन्छ र त्यो बेलाको अवस्थालाई व्यवस्थापन गर्न पनि तरलता बढाउन केन्द्रित हुनुपर्छ भनेको हो । 

वित्तीय क्षेत्र जहिले पनि तरलतामै केन्द्रित हुन्छ, यदि तरलता टाइट हुने हो भने यस्तो मन्दीको अवस्थाबाट बाहिर निस्किँदा सिस्टमै बिग्रन्छ । त्यसैले भोलिको माग र कर्जाको आवश्यकतालाई परिपूर्ति गर्न तरलता बढाएर राख्न जरुरी छ । त्यसैले पनि बैंकर्स संघले तरलता बढाउने खालको नीति आयो भने भोलि आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने गरी कर्जाको माग पूरा हुन सक्छ भनेको हो ।

कर्जाको माग बढ्दा बैंकिङ प्रणालीमा तरलता अभाव नहोस् भन्ने उद्देश्य हो ?

हो । सबै बैंकलाई अन्तर्राष्ट्रिय बजारमा भएको तरलता पनि ल्याउन सक्ने अवस्थामा राख्नुपर्छ । भोलिका दिनमा सरकारले २२० अर्ब आन्तरिक ऋणबाट स्रोत जुटाउने भनेको छ । त्यस्तै भोलिका दिनमा आयात र रेमिट्यान्स घट्ने सम्भावना देखिरहेको छ । वैदेशिक रोजगारीमा गएका युवा नेपाल आउने र रेमिट्यान्स घट्ने क्रम देखिइसकेको छ । जुन ठाउँबाट रेमिट्यान्स आउने हो त्यहाँको अर्थतन्त्रमा पनि नरम्रो प्रभाव परेको छ । त्यसैले भोलिका दिनमा तरलता अथवा बजेटको स्रोतमै एक प्रकारको अन्योल हुने अवस्थामा बजारमा तरलता पर्याप्त बनाइरहन आवश्यक छ । कर्जाको जुन माग हुन सक्छ त्यसलाई धान्न सक्ने अवस्था हुन आवश्यक छ ।

सीसीडी रेसियो हटाउने माग गर्नुभएको छ । कल र करेन्टका साथै बचत निक्षेप नै पनि अस्थिर रहेको नेपालको वित्तीय प्रणालीमा यसले जोखिम बढाउँदैन ?

नेट लिक्युडिटी सेसियो अथवा अन्य माध्यमबाट पनि कन्ट्रोल गर्ने ठाउँ छ । सीसीडीबाट मात्रै कन्ट्रोल गर्नुपर्ने भन्ने अवस्था रहँदैन । त्यो बैंकले आफ्नो अवस्था हेरेर निक्षेपको प्रकृति हेरेर गर्ने गरी बैंकलाई छाड्दा पनि हुन्छ भन्ने कुरा हो । त्योबाहेक राष्ट्र बैंकको लिक्युडिटी रेसियो यति हुने भनेको छ त्यसले बैंकलाई निक्षेपको क्वालिटी मेन्टेन गर्न र दीर्घकालीन तथा अल्पकालीन तरलता व्यवस्थापन गर्न कन्ट्रोल गर्छ । त्यसले अहिलेको अवस्थामा सीसीडी हटाउँदा जति पनि रहेका फन्ड लगानीयोग्य फन्डमा परिणत भएर अहिलेको आवश्यकतालाई परिपूर्ति गर्न सकिन्छ भन्ने हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको छ ? आगामी मौद्रिक नीतिको प्राथमिकता के हुनुपर्छ जस्तो लाग्छ ?

मौद्रिक नीतिले प्रभाव परेको क्षेत्रलाई रिभाइब गर्न सक्ने नीति ल्याउन आवश्यक छ । जसलाई समय र ठाउँ दिएर अगाडि बढाउन सकियो भने भोलिका दिनमा फेरि व्यवसाय आफ्नो ट्र्याकमा आएपछि अर्थतन्त्रलाई सपोर्ट हुन्छ ।

त्यसका लागि पहिलो त तरलताको कुरा नै होला । आउने मौद्रिक नीतिले नेपालमा तरलता आवश्यक पर्नेबित्तिकै विदेशबाट ल्याउन सक्ने नीति ल्याएर त्यसलाई सहजीकरण गर्न आवाश्यक छ । आर्थिक गतिविधि बढाउन आवश्यक नीति ल्याउनुपर्छ । विदेशबाट पैसा ल्याउन सहज गराउन डलर र नेपाली रुपैयाँको स्वाप फ्यासिलिटी दिने हो भने त्यसले नेपाली रुपैयाँको तरलता बढाउँछ, भने बैंकहरूलाई पनि बाहिरबाट पैसा ल्याउँदा मूल्यमा परिवर्तन भएर हुने जोखिमलाई कम गर्छ ।

निजी क्षेत्रले कर्जाको ब्याजदर ५ प्रतिशत हुनुपर्ने माग उठाइरहेका छन् । कर्जाको ब्याजदर ५ प्रतिशतमा ल्याउने सम्भावना कतिको देख्नुहुन्छ ?

पहिलेभन्दा ब्याजदर सहज भएको अवस्था छ । अबको दिनमा पनि घट्दै जाला तर बजारले त्यसलाई निर्धारण गर्छ । हामीसँग तीन करोडभन्दा बढी निक्षेपकर्ता छन् । हामीसँग ठूलो मात्रामा व्यक्तिगत निक्षेप छ । उहाँहरूले पनि मुद्रास्फीतिसँग जोडिएको रिटर्न पाउनुपर्यो । यस्तो अवस्था उच्च ब्याजदर हुँदा त्यसलाई चलाउन गाह्रो हुन्छ त्यसलाई सहज बनाउनुपर्छ भन्ने कुरा हो । तर कति प्रतिशतमा जान्छ भन्ने कुरा त बजारले निर्धारण गर्ला ।

लागत घटाउन साउन १ देखि निक्षेपको ब्याजदर घटाउन तयारीमा बैंकहरू जुटेको भन्ने चर्चा छ खासमा के हो ?

निक्षेपकर्ताले पनि उचित रिर्टन पाउनुभएन भने भोलि बैंकिङ सिस्टमबाट पैसा बाहिर जाने अवस्था आएर अर्को जोखिम आउँछ । निक्षेपको वास्तविक ब्याजदर (मुद्रस्फीति र निक्षेपको ब्याजदरम हुने अन्तर) पोटेजेटिभ हुनुपर्छ भन्ने मानिन्छ । बजेटले लिएको मुद्रास्फीति ७ प्रतिशत छ । ब्याजदर घटबढ त जहिले पनि हुन्छ तर मुद्रास्फीतिको हाराहारीमा निक्षेपको ब्याजदर हुने गरी लैजानुपर्छ जस्तो लाग्छ ।

उसो भए निक्षेपको ब्याजदर धेरै घटाउने अवस्था छैन ?

अहिले हेर्दा मुद्रास्फीति ७ प्रतिशत नै हो र त्यसको हाराहारीमा निक्षेपको ब्याज हुनपर्छ भन्ने हो । त्योभन्दा घटाउँदा अर्को जोखिम पनि छ । अहिले बैंकिङ प्रणालीमा भएको पैसा बाहिर जाने अथवा अनुत्पादनक क्षेत्रमा जाने हो भने भोलि यसले ठूलो समस्या ल्याउन सक्छ भन्ने हिसाबले ब्यालेन्स रूपमा जानुपर्छ जस्तो लाग्छ ।
 
केही समययता वित्तीय क्षेत्र अधिक तरलताको अवस्थामा छ, यसले वित्तीय क्षेत्रलाइ कस्तो प्रभाव पर्छ ?

हाल वित्तीय क्षेत्र औसत करिब ७३ प्रतिशको सीसीडी रेसियोमा चलिरहेको छ । हामीसँग लगानीयोग्य रकम पर्याप्त छ । हामीले जति कर्जा लगानी गर्छौं त्योभन्दा बढी बाँकी रहेको लगानीयोग्य रकम लोकल मनी मार्केटमा लगाउने हो । त्यो लगानीको अवस्था त्यति धेरै नहुँदा त्यसले बैंकहरूको लागत बढाउने हुन्छ । हामीले निक्षेप ७ प्रतिशतको उच्च ब्याजदरमा लिन्छौं त्यसलाई लगेर त्यतिकै राख्नुपर्यो अथवा १–२ प्रतिशतमा ट्रेजरी बिलमा लगानी गर्नुपर्यो भने त्यसले हाम्रो आम्दानीमा प्रभाव पर्छ । 

यसले बजारमा प्रतिस्पर्धा गराएर ब्याजदर कम गराउन सहयोग गर्ला तर त्यसलाई एउटा उचित लेभलमा राख्नुपर्छ । कर्जाको मागै नभएर अधिक तरलताको अवस्था आएको हो अब विस्तारै बढ्दै जाला ।
 

सरकारले वाणिज्य बैंकको हरेक शाखाले १० वटा सहुलियत कर्जा प्रदान गर्नुपर्ने भनेको छ । मौद्रिक नीतिले त्यसलाई थप स्पष्ट बनाउला ? यसरी सरकारले संख्या नै तोक्नुपर्ने अवस्था किन आयो ?

प्रत्येक शाखाले १० वटा प्रदान गर्नैपर्नेभन्दा पनि हामीसँग जति शाखा छ त्यसको १० गुणा बढी प्रदान गर्ने तर सबै शाखाबाट १० वटा अनिवार्यभन्दा त्यति सम्भव नहोला । हाम्रो शाखाहरू कतिपय यस्तो ठाउँमा पनि छ जहाँबाट १० वटा कर्जा दिन सम्भव पनि नहोला । कुनै ठाउँमा २०–३० वटा दिने अवस्था पनि होला त्यसैले समग्रमा प्रतिशाखा १० वटा हुने गरी व्यवस्था हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । 

अर्को यस्तो मन्दी आउँदा प्रभाव तल्लो तहमा बढी पर्ने हुन्छ । त्यसलाई सहयोग  गर्न यस्तो नीति ल्याउँदा तल्लो तहको व्यवसायमा तरलता प्रवाहमा सहज होला भन्ने सरकारको उद्देश्य हो जस्तो लाग्छ । अर्को भनेको हिजो विदेशमा काम गरेका युवाहरू प्रतिकूल परिस्थितिले गर्दा अब विस्तारै नेपाली भित्रिने क्रम देखिएको छ । उहाँहरूसँग भएको सीपलाई उद्यमशीलतामा लगाउने हो भने बैंकहरूले लोन दिनुपर्ने अवस्था हुन्छ त्यसैले यो ठीकै हो जस्तो लाग्छ ।

बैंक तथा वित्तीय क्षेत्रमा अख्तियार भित्र्याउने सरकारको योजना रहेको देखिन्न्छ । सरकारको उक्त कदमलाई के भन्नुहुन्छ ?

बैंकिङ क्षेत्र नेपालमा सबैभन्दा पारदर्शी क्षेत्र हो । राष्ट्र बैंकको उच्च नियमनमा चलेको संस्थाहरू बैंक हो । यदि वित्तीय क्षेत्र पारदर्शी रूपमा नचल्ने र अनियमितता हुने हो भने आजको दिनसम्म बैंकिङ क्षेत्र यति स्वस्थ हुँदैन थियो । हामीले यति ठूलो कर राज्यलाई तिर्न पनि सक्दैनौ थियौं होला ।  वित्तीय क्षेत्रले अर्थतन्त्रमा ठुलै योगदान गरिरहेको अवस्थामा र राष्ट्र बैंकले एक प्रकारले नियमन गरेर चलाइरहेको हुँदा वित्तीय क्षेत्रलाई अहिलेकै अवस्थामा चल्न दिँदा उचित हुन्छ । 

अन्य क्षेत्रको प्रवेश गराउँदा अहिले भइरहेको स्वच्छतामा कमी आउन सक्छ । त्यसैले बैंकहरू र निजी क्षेत्र आफ्नै किसिमले चल्न दिँदा देश र नेपालको आर्थिक क्षेत्रका लागि राम्रो हुन्थ्यो ।

वित्तीय क्षेत्रको अनियमितता हेर्न राष्ट्र बैंक नै पर्याप्त छ भन्न खोज्नुभयो ? 

हो, वित्तीय क्षेत्रमा अनियमितता छ भने त्यसलाई हेर्न राष्ट्र बैंक पर्याप्त छ । वित्तीय क्षेत्रले १०–१२ वर्षयता गरेको कामले के देखाउँछ भने यदि अनियमितता भएको भए यो क्षेत्र आफैंमा कमजोर भएर जान्थ्यो । यो निक्षेपकर्ताको पैसा लिएर लगानी गर्ने ठाउँ हो । बैंकहरू ठूलो प्रोफेसनालिजमसहित चलेकाले अन्य कुनै अन्तरदृष्टि जरुरी छजस्तो लाग्दैन ।
 
लकडाउनयता एनएमबी बैंकले कसरी सेवा प्रदान गरिरहेको छ र व्यवसायको अवस्था कस्तो छ ?

अहिले सबै शाखा सुरु गरी सेवा प्रदान गरिरहेका छौं । लकडाउन सुरु हुँदा ठूलो चुनौती कसरी ग्राहकलाई सेवा प्रदान गर्ने भन्ने थियो । सेवा प्रदान गर्दा शाखाहरू धेरै खोल्दा कर्मचारीलाई जोखिम थियो त्यसलै कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राखेर सकेसम्म कम शाखा खोल्यौं भने बढी कारोबार विद्युतीय माध्यमबाट गर्न खोज्यौं । सकेसम्म पैसा झिक्न र राख्न पनि विद्युतीय माध्यम  उपलब्ध गरायौं । 

एटीएमका साथै, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत सबै किसिमको विद्युतीय कारोबार साथै भुक्तानी गर्न क्यूआर कोडलगायत सुविधा दियौं । साथै एनएमबी बैंकले लकडाउन चलिरहँदा नेपालमै पहिलोपटक फेसबुकबाटै खाता खोल्न सक्ने गरी प्रोडक्ट ल्यायौं । त्यसले गर्दा जसको खाता थिएन लकडाउनमा असहज अवस्था थियो उसले बैंकमै नआईकन खाता खोल्न सक्ने अवस्था हामीले सिर्जना गर्यौ । 

अबको दिनमा हामीले विद्युतीय कारोबारलाई बढी प्राथमिकता दिने र सकेसम्म फिजिकल बैंकिङलाई घटाउँदै लैजाने हो । सबैभन्दा महत्त्वपूर्ण कुरा अब विद्युतीय कारोबारका लागि जागरण सिर्जना भएको छ । अर्को भनेको बैंक पनि र सम्पूर्ण देशलाई आत्मनिर्भर बनाउनुपर्छ, उत्पादन क्षेत्रमा काम गर्नुपर्छ भन्ने पाठ सिकाएको र त्यता केन्द्रित भएर अगाडि बढ्ने अवस्था आएको छ । 

नाकाबन्दी हुँदा पनि यस्तो अवस्था आएको थियो तर अहिले असहज परिस्थितिमा आत्मनिर्भर भयो भने ठूलो दुर्घटनाबाट जोगिन सक्छौं भन्ने सन्देश दिएजस्तो लाग्छ । बैंकहरू त्यस्ता क्षेत्रमा एग्रेसिभ रूपमा लगानी गर्न तयार छन् ।

युवा परिषदसँग सहकार्य गरेर एक वर्षमा वैदेशिक रोजगारीबाट फर्केका हजार युवालाई सहुलियत कर्जा प्रदान गर्ने एनएमबीको योजना के हुँदै छ ?

हामीले त्यसका लागि रिटर्नी माइग्रन्ट नेपालसँग सम्झौता पनि गरेका थियौं । उक्त काममा बैंक अहिले पनि लागिरहेको छ । उहाँहरूको सिफारिसमा हामीले थुप्रै कर्जा प्रवाह गरिसकेका छौं । रिटर्नी माइग्रेनटभन्दा बाहिर जो नेपालमै बसेर केही गर्न खोजिरहनुभएको छ उहाँहरूलाई पनि सहुलियत कर्जा प्रदान गरिरहेका छौं । 

त्यो अहिले आएर झनै महत्त्वपूर्ण हुन गर्यो । सरकारले पनि सहुलियपूर्ण कर्जा भनेर अगाडि बढाउन खोजेको छ । हामीले त्यतिबेला सोचेको नेतृत्व अहिले आएर थप महत्त्वपूर्ण होलाजस्तो छ । अहिले वैदेशिक रोजगारीमा रहेका युवाको रोजागारी गुमेको अवस्था र प्रतिकूल परिस्थतिले गर्दा विस्तारै उनीहरू नेपाल फर्किन खोजेका छन् । हामी उनीहरूलाई सपोर्ट गर्न तयार छौं । 

त्यति मात्रै होइन अन्य कुनै सीपजस्तै ट्रक अथवा ट्याक्सी चलाउने सीप छ भने उनीहरूलाई पनि उत्पादनसँग जोडेर लैजाने सोच बनाइरहेका छौं । 

एनएमबी बैंकले नेपालमा विदेबाट ऋण ल्याउन सुरु गर्यो, दुईपटक ल्याइसकेको छ, पुनः ल्याउने तयारमा छ कि प्रक्रिया के हुँदै छ ? 

हामी अन्तिम अवस्थामा पुगेका छौं । एउटा स्वीकृति भएर बसेको छ भने अर्को भरखरै सम्झौता भएको छ । हामी विदेशबाट ऋण ल्याउन लागिपरेका छौं । अहिले पनि त्यसको आवश्यकता हामीले देखेका छौं । अझै यस्तो बेलामा उत्पादन क्षेत्रमा जान थप पैसा आवश्यकता पर्छ । अर्थतन्त्र पुनरुउत्थानका लागि निकै ठूलो पुँजीको आवश्यकता पर्छ । जुन नेपाल भित्रबाट मात्रै जुट्न अवस्था रहँदैन । हामी विदेशबाट ऋण ल्याउन तयारी अवस्थामा छौं । २–३ वटा पाइपलाइनमै बसेको अवस्था छ । एउटा फाइनल भएर सम्झौता भइसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC