site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना प्रेम
Ghorahi CementGhorahi Cement

भाउपन्थी


केटी सानै थिई वा ठूली त्यसको मतलब भएन । तर एउटा कथा हुन सक्थ्यो, कोरोनाकालको । त्यो पनि केटासित केटीले कुरा गरी र प्रेम स्वीकार गरी भने । पहिले कुरा गर्थी र ऊ पनि बोल्थ्यो । केटीलाई प्रेमपाशमा पार्ने हिसाबले होइन, छिमेकमा बस्नुका नाताले । लकडाउनपछि कम भयो । केटी प्रेमका कुरा गर्न मान्दैनथी । भन्थी, आमाले प्रेममा धोका पाएकी छन् । यो कुरो स्पष्ट थिएन । उसकी आमा श्रीमान्सँगै थिई । एकल होइन । यतिमात्र थियो, श्रीमान् विदेश गएको फर्केन । महिलाहरू पनि विदेश गए भने नफर्कन सक्छन् । घरमा छोराछोरी हुनु भएन । लोग्नेमान्छेलाई भन्दा महिलालाई सन्तानको मायाले बढी तान्छ । 

केटीले कुरा गर्दै गएपछि पछि अलि नरम भएजस्ती लाग्यो केटोलाई । प्रेमातुर होइन । केटीमा प्रेमप्रति विश्वास जगाउन केटाले धेरै माझ्नुपर्‍यो । केटोले सोभैm यो भन्न पाएन— आई लभ यू । केटीले भन्न सक्थी— यो भनेको के ? यसको अर्थ ? ऊ भन्ने थियो– म तिमीलाई प्रेम गर्छु भनेको नि । लकडाउनले अलि अन्तराल आइदिएको थियो । अलि समय लिनुपर्ने थियो । केटीले भनिराखेकी थिई उसकी आमाले प्रेममा धोका पाएकी छ । धोका दिनेहरूले वास्तविक प्रेम गर्दैनन् भन्ने केटीलाई विश्वास दिलाउन केटो लागिपरेको थियो । केटो सफल होला ? 

Agni Group

केटोले भनिहाल्न सकिरहेको थिएन ‘आइ लभ यू’ । एकपटक परीक्षणका लागि भनिहाल्यो, साहस गरेर । अत्तालिएको थियो, अमेजन जङ्गलको साहसिक यात्रामा निस्केजस्तो । आफ्नै मुलुकको चारकोसे झाडी मासिन–मासिन लागेकाले केटोले अमेजन रोज्यो ।  

पहिले नै यसो भन्न पर्दैनथ्यो ।

Global Ime bank

अहिले भनेँ नि । 

तिमी घनचक्कर हौ । 

को म ? 

हो । ढिलो भइसकेको भए ? 

त्यसमा मेरो के लाग्थ्यो ? 

अनि आई लभ यू किन ? विदेशी भाषामा ?   

फेसनै हो, आई लभ यू भन्नु । 

कुन भाषामा हो यो ?

अङ्ग्रेजीमा । 

फ्रान्सेली भाषमा भन्न सक्छौ ? 

भन्न सक्दिनँ । तर म तिमीसित प्रेम गर्छु त भनिसकेँ । 

अहिले नै त्यसको जवाफ मसँग छैन । प्रेम हुन पनि सक्छ र...नहुन पनि ।

मसँग प्रेम नहुनुले तिमीलाई पछुतो हुनेछ । 

नभए के गर्छौं ? मजस्ता केटी अरू पनि छन् । 

यसरी आत्मरक्षामा निपूर्ण थिई केटी । लभ भइसकेको थियो होला । घर टाँसिएकै थियो । केटी नै बढी केटाको कोठामा आउने गर्थी । राति पनि । प्रेममा धोका भन्नु के हो, त्यसको साक्ष्य जुटाउन । आउँथी राति र भन्थी गम्भीर भएर—
गलत नसोच है ।

गलत काम नगरेसम्म सोच्ने मौकै हुँदैन । 

केटो पनि मौकामा चुक्दैनथ्यो । मौकाको फाइदा उठाउन हैन, गलत काम नगरे पनि गलत कामको दूरगामी अर्थ केटीलाई प्रस्ट्याइदिन्थ्यो । 

म बोल्ड छु । यसको गलत अर्थ लाग्न सक्छ । 

केटी कुनै कोणबाट पनि बोल्ड थिइन । सामान्य लुगामै थिई । पूरै जीउ ढाकिने । किताब माग्न आएकी थिई । 

तिमीले पहल गर्‍यौ भने मात्रै बोल्डको अर्थ लाग्न सक्छ । 

केटो यति भनेर खितित्त हाँस्थ्यो । 

हाँस्नु पर्ने म । तिमी किन हाँस्यौ । त्यो पनि खितित्त ?

यस्ती थिई केटी । केटोलाई धरापमा पार्ने । 

उसले ठट्टैमा भन्थ्यो, आमाले प्रेममा धोका पाएको सन्दर्भमा, उसो भए, आमासित भेट गराऊ । म प्रेममा धोका किन पाउनुभो भनेर सोधुँला । उसको आशय हुन्थ्यो, तिम्री आमालाई धोका दिने मानिस जस्तो म नहुँला । उसले मलाई रिसाएर हेर्थी । 

अरूको पर्सनल कुरामा किन ? 

किनपछि अरू वाक्य पूरा हुने गरी पूरै भन्दैनथी । मात्र किन भनेर पूरै कुरो विस्तारसाथ आँखैले मन पराए/नपराएको भनिदिन्थी । उसले भन्नुपर्ने त थियो, म तिम्रा आँखा असाध्य मन पराउँछु । तर उसको अभिव्यक्ति मात्र आँखाबाट आउँदैनथे, पूरै व्यक्तित्व नै वाक्य भएर अगाडि उभिदिन्थ्यो । यो उसको विशेषता थियो । 

कोरोना आयो । साथै लकडाउन पनि । जाने नामै लिइरहेको थिएन । कोरोनाका सय दिनसम्म कहरमा काटियो । केटी घरमै थिई । ऊ पनि घरैमा । सकस थियो । ती दिनभित्रै एक दिन केटी मास्क लगाएर बाहिर निस्की । ऊ पनि मास्क लगाएर निस्क्यो । 

मोबाइल किन नउठाएको ?

आमाले नउठाउनू भनेपछि ।

निरङ्कुशताको हदै भयो । 

अहिले कता ? 

तिमीले झ्यालबाट हेर्‍यौ मलाई ?

कति हेरेँ । तिमीले हेर्दा म नदेखिने, मैले हेर्दा तिमी नदेखिने । 

यो हुनै सक्दैन । केटी हो, जे भने पनि हुन्छ, जति पनि पाइन्छन् भन्या होला । 

यो कोरोना, यो लकडाउन ! तिमी जस्ती पाइन्न । 

केटोभित्र प्रेम उर्लेर आयो, लभ यू भन्नै खोजेको थियो, थामियो । भाषाको समस्या थियो ।  
  
अस्ति नै तिमी त्यो कुन केटीसित गफिरहेका थियौ ? 

उसले सोधेकी कुन केटी हो भन्ने ऊ जान्दथ्यो । लकडाउनअघिको भए पनि । कोरोनामा यसको के सन्दर्भ ? प्रेममा सोधपुछ जरुरी हुन्छ ।  

ए ऊ । 

अँ, ऊ...। नाम नभन्दा पनि हुन्छ । 

किन ? सबैसित एउटा–एउटा नाम त हुन्छ । 

शत्रुको नाम थाहा नपाएकै राम्रो ।

तिम्री शत्रु कसरी ? उसले तिम्रो के बिगारेकी छ ?

त्यहाँ ऊ थप्न चाहन्थ्यो, तिमी मसित लभ गर्छौ भन्ने खुलेकै छैन । अर्थात् बलियो पुष्टि भएको छैन ।

जसरी भए पनि । तिमीलाई मतलब ?  

केटीभित्र उत्सुकताभन्दा पनि अर्की केटीसित किन कुरा गरेको भन्ने रिस थियो । 

मभन्दा अर्की पनि रहिछ तिमीले हाँसीहाँसी कुरा गर्ने ? 

उसलाई जलाउन मजा आइरहेथ्यो । 

तिमी मसित बोल्नै चाहँदिनौ । 

को बोल्न नचाहेको रे ? म ? 

केटीले केटालाई आश्चर्य भावले हेरी । 

भन त उसो भए म अहिले के गरिरहेछु । 

यो त तिमी बाटामा भेट भएर हो । मैले नबोलाएको भए तिमी मलाई नदेखेभैmँ गरेर जाने थियौ । 

त्यसै भेट भएको कि मौकाले ? 

मौकाले भने पनि तिमी त तर्केर जाने थियौ । 

अनि के गर्ने त ? तिमी जहाँ हुन्छौ तीँ खोजेर आउने ? 

आउँदा पनि के बिगार हुने हो र ?

म त केटी हुँ । 

त्यो तिमीले नभने पनि थाहा छ । 

तिमीलाई कसरी थाहा छ म केटी हुँ भनेर ? 

यसको जवाफ थिएन । एउटी केटीलाई केटी हो भनेर प्रमाणित गर्न के गर्नुपर्छ ? कस्तो प्रमाण ?

ऊ केटीका कुराले अत्तालिन्छ । केटीले यस्तो एउटा कुनोमा लगेर अप्ठ्यारोमा पार्छे कि त्यसको जवाफ दिनै नसक्ने होइन्छ । शब्दातीत— त्यस्तो भन्नु त भएन तर भाषा काम लाग्न सक्दैन । 

तिमी मैले सोधेको कुराको किन जवाफ दिन्नौ ? 

केटी केटाको अगाडि टाँसिने गरी ठिङ्ग उभिई । केटाको छाती छुनै लागेको थियो केटीको उन्नत अग्रभागले । केटीले आपूmलाई के साबित गर्न खोजेकी हो ? केटा त भनिरहेछ ऊ केटी हो । 

मलाई थाहा छ तिमी केटाहरू कस्ता हुन्छौ भन्ने ?

कस्ता हुन्छन् लु भन त ।

भैगो । यो पनि थाहा छ केटीबाट तिमीहरू के चाहन्छौ । 

के चाहन्छौँ ? 

तिमी आफैं त केटा हौ । तिमीलाई थाहा छैन के चाहन्छौ भन्ने ? 

केटीले भनेपछि सोच्नुपर्ने भयो । केटाहरू केटीबाट के चाहन्छन् ? गोता मार्नु पर्ने प्रश्न बनेको हो कि ? 

तिमी अहिले कता जाँदै छौ ? 

जता गए पनि तिमीलाई मतलब ? 

उसो भए म तिम्रो पछि लागेर यति टाढा किन आएँ ?

मैले त भनिनँ । 

नभने पनि । तिमीले मेरो पिछा नगर त भनिनौ ।

म त घरका लागि सामान लिन जाँदै छु । बाटामा भेटिएका अरू केटीको तिमी पिछा गर्छौ ?

राम्री लागे गर्छु । 

....तिमी पनि अरू केटा जस्तै छौ ।  

म त्यस्तो होइन । तिमी यो आरोप फिर्ता लेऊ । 

लिन्नँ । नभए तिमी अस्ति त्यो केटीसित के कुरा गरिहेका थियौ । अभैm हाँसेर । 

हाँसेर त म तिमीसित पनि बोलिरहेछु । 

अनि त्यो केटीले सोधिन मसँग तिमी किन हाँसेर बोलेको भनेर ? 

तिमीलाई कसरी थाहा भयो ? 

हेर, मोरीले मेरो डाह गरेकी । 

केटीहरू पनि उस्तै हुन्छन् । 

केटा जस्तै । 

केटी हाँसी । मुख थुनेर । हाँसो बाहिर ल्याइन । 

कोरानाको रुक्षतामा बर्सातको पहिलो थोपा गालामा तप्केको अनुभव गर्यो केटाले ।

के सामान लिन गइरहिछौ ?

चिनी, आलु र....।

खै देऊ पैसा । म ल्याइदिन्छु । 

रित्तो खल्ती केटीको पिछा गरिरहेछौ ? 

केटीले दिएको पैसा लिएर ऊ सामान ल्याउन पसलतिर लाग्यो । 

तर केटी पछिपछि आइसकेकी थिई । ग्राहक उभिन बनाइएको एक मिटर दूरीको अर्को घेरामा उसको पछाडि उभिएकी थिई ।

किन आएको ?... सामान किनेर आफ्नै घरतिर लाग्छ कि भनेर ?

तिमीलाई एक्लै छाड्न सकिनँ ।  

केटो बोलेन । लाग्यो, धेरै प्रकाशवर्ष नाघेर केटीलाई बल्ल भेटिरहेछ । केटो प्रस्टसित भन्न सक्थ्यो, आई लभ यू । 

भाषाको समस्या हुने थिएन । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २०, २०७७  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC