site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गुरु चर्चा 
Sarbottam CementSarbottam Cement

विज्ञान शर्मा 


समाजमा हामी जो कोही सम्मानित जीवन बाँचिरहेका छौं भने, त्यसको नेपथ्यमा छन्– ती शिक्षकहरू, जसले हामीलाई शिक्षित बनायो । अझ बाल्यकालका शिक्षक त्यस्तो गुरु हो, जसले अक्षर चिन्न मात्र सिकाएन, काँचो माटोलाई आकार दियो । बाल मनोविज्ञानलाई दिशानिर्देश गर्यो, जीवनलाई हेर्ने दृष्टिकोण निर्माण गरिदियो ।

अपवाद छाड्ने हो भने हरेक शिक्षक आफ्ना विद्यार्थी अब्बल र उत्कृष्ट भएको हेर्न चाहन्छ । ऊ आफ्ना विद्यार्थी सफलताको शिखर चुमेको हेर्न चाहन्छ र उनीहरूले जीवनमा हासिल गरेको उपलब्धिप्रति गर्व गर्दै अरूलाई सुनाउँछ,– “ऊ मेरो विद्यार्थी हो नि ।” 

Prabhu Bank
Agni Group
NIC Asia

हुर्कँदै गरेको बालमस्तिष्कमा ज्ञान भर्न शिक्षकले अनेकौं यत्न गर्छ । कथा सुनाउँछ, पढाउँछ, गाली गर्छ, झापड पनि हान्छ । तर, यसको नियत र अभिष्ट एउटै हुन्छ– आफूले पढाएको विद्यार्थी जान्ने बुझ्ने होस् । 

बदलिँदो समयसँगै शिक्षाको परिभाषा र शिक्षणविधिमा पनि परिवर्तन आएको छ । यो परिवर्तनले विद्यार्थीलाई शिक्षकले पढाउने तरिकाहरूमा परिवर्तन ल्याइदिएको छ । 

Global Ime bank

आफूलाई शिक्षा दिने शिक्षकलाई सम्मान गर्दै आफ्ना शिक्षकबारे बाल्यकालका सम्झनाहरू यहाँ स्मरण गर्न चाहन्छु । यसक्रममा केही शिक्षकले प्रयोग गरेका शिक्षण विधिहरूबारे पनि उल्लेख गरेको छु । उहाँहरू कसैलाई पनि नकारात्मक रूपमा प्रस्तुत गर्नु मेरो उद्देश्य होइन, न यो उहाँहरूमाथिको मूल्याङ्कन नै । यो त केवल दिमागमा गाँठो परेर बसेका स्मरणहरूलाई फुकाउने प्रयत्न मात्रै हो ।

स्कुलको पहिलो दिन :
पाँच वर्षको हुँदा स्कुले जीवनको पहिलो दिन निकै उत्साहले भरिएको थियो । दादा र दिदी स्कुल गएको देखेर आफू जान नपाएकोमा झगडा गर्ने क्रम रोकिएको दिन थियो, त्यो । तर दोस्रो दिन यति कठोर भएर आयो कि म स्कुल जान पटक्कै मानिनँ । स्कुल जान अटेर गरेपछि गाई बाँध्ने दाम्लोले बुबाले मेरो हात बाँध्नुभयो र घिसारेर बाटोसम्म लानुभयो । ठूलो कक्षामा पढ्ने गाउँकै एकजना दिदीले फकाउँदै स्कुलसम्म पुर्‍याएकी थिइन् । आखिर म किन स्कुल जान मानेको थिइनँ त ? यसको खास कारण थियो । तर, यो विषयमा न त कसैले सोध्यो, न मैले नै भनें ।

पहिलो दिन स्कुल जाँदा अचम्मको अभाष भएको थियो । स्कुल यति अव्यवस्थित र भिडग्रस्त थियो कि त्यहाँ मैले म कहाँ र किन आएको हुँ भन्ने ठम्याउन सकिरहेको थिइनँ । मैले चिनेको एउटै अनुहार त्यो भिडमा थिएन । ५ वर्षको बालक म कक्षामा बस्न नसकेपछि बाहिर निस्किएको थिएँ । 

स्कुलको एउटा कोठाबाट गीतजस्तो केही गुञ्जिरहेको थियो, के रहेछ भनेर भित्ताको प्वाल (मकेला) बाट हेर्न के खोजेको थिएँ, भित्रबाट कसैले फू... गरेर जोडले हावा फुकिदिएपछि मेरो आँखाभित्र धुलो पसेको थियो । यो पीडा सहन नसकेर स्कुलको विशाल चौरमा धेरै बेर रोएको थिएँ । तर मेरो दुःखमा साथ दिने त्यो भिडमा कोही थिएन । सबै आ–आफ्नो सुरमा थिए । सायद आँसुले धुलो पखालियो, केही बिसेक भयो । अब न त म कक्षाकोठामा फर्कन सक्थे न त एक्लै घर आउन नै । त्यसमाथि टाँक खोल्न नसकेकाले पिसाबले भिजेर हाफ प्यान्ट चिसो भएको थियो । त्यस दिनदेखि स्कुल जाने रहर मरेका थिए । त्यही दिनेदेखि मलाई स्कुलतर्फ रहरले होइन, बाध्यताले डोर्यायो । 


उद्देश्य एक, विधि अनेक
स्कुलका खुड्किलाहरू पार गर्ने क्रममा धेरै शिक्षकसँग साक्षात्कार हुने अवसर प्राप्त भयो । हामीलाई बुझाउन शिक्षकहरूले प्रयोग गर्ने विधि अनेक थिए, तर उद्देश्य एउटै थियो– उहाँहरूले पढाएको विषय विद्यार्थीले बुझुन् । 

शत्रु बढाइदिने शिक्षिका :
कक्षा ४ देखि नयाँ शिक्षिका पायौं, अंग्रेजी पढाउने । नयाँ पाठ सुरु गर्नुअघि उहाँ निकै मिहिनेत गर्नुहुन्थ्यो । पहिलो दिन अंग्रेजीको नेपाली शब्दार्थ लेखाइदिनु हुन्थ्यो । दोस्रो दिन कडा परीक्षा लिनुहुन्थ्यो । उहाँले अंग्रेजी शब्द उच्चारण गर्नुहुन्थ्यो र त्यसको हिज्जे र नेपाली अर्थ सोध्नुहुन्थ्यो । सजायको निकै नौलो प्रयोग उहाँको थियो । सुरुमा एकजनालाई सोध्नुहुन्थो, उसले जान्यो भने सजायबाट छुट पायो, यदि जानेन भने ऊभन्दा पछि जसले सही उत्तर दिन्थ्यो, उसले नजानेकाहरूलाई दुईवटै गालामा जोड्ले चट्कन हान्नुपर्ने हुन्थ्यो । यो क्रम सबै विद्यार्थीलाई प्रश्न सोधेर नसकिँदासम्म चल्थ्यो । तर यस्तो नियमले हामी विद्यार्थीबीच शत्रुतापूर्ण वातावरण निर्माण गर्ने रेखा खिचिदिन्थ्यो ! हामी कसले कति जोडले चट्कायो, कसलाई माया गरेर थोरै चट्कायो, कसलाई बदला लिने गरी चट्कायो भन्ने कुराको एकएक हिसाब गरेर बस्थ्यौं । या त, बाटो ढुकेर कुट्थ्यौं या त अरू साथीहरूले बाटो ढुकेर हामीलाई कुट्थे । 

तेस्रो दिन बल्ल उहाँ पाठमा प्रवेश गर्नुहुन्थ्यो । यसरी उहाँको सिकाइ विधिले हामीले निकै शत्रु कमाउँथ्यौं । यो विधिको फाइदा के थियो भने हिज्जे र शब्दको अर्थ जसरी भए पनि जान्नै पथ्र्यो तर बेफाइदा भने अनेक थिए । साथीकै हातबाट पिटिँदा आत्मसम्मान माटोमै मिल्थ्यो, दुखाइ त छँदै छ । 

हामीमध्ये केही साथीले कुटाइ पचाइसकेका थिए र प्रत्येक पाठ आउनुअघि कुटाइका लागि तयार भएर बस्थे । उनीहरूमा पढाइ र शिक्षकप्रति नकारात्मकभाव हावी हुँदै गइरहको थियो । अर्को परिणाम के थियो भने साथीहरूबीच शत्रुतापूर्ण वातावरण सिर्जना भएको थियो जसले गर्दा फिल्मी शैलीमा बाटो कुरेर कुट्ने वा कुटिने क्रम लामो समयसम्म चलेको थियो । यो खेल ६ कक्षासम्म नआउञ्जेल चलिरह्यो ।   

प्रतिशोध लिने शिक्षक : 
आठ कक्षामा पढ्दा पनि अंग्रेजीकै तनाव जारी थियो । एकजना शिक्षक अनौठो स्वभावको हुनुहुन्थ्यो । उहाँले प्रश्न त गर्नुहुन्थ्यो तर उहाँले खोजेको उत्तर के हो भनेर ठम्याउन हामीलाई निकै गाह्रो हुन्थ्यो । उहाँले प्रायः सोध्नुहुन्थ्यो, “सबैले स्पेलिङ घोकेका छौ, हैन त ?” हामी ‘छौँ’ पनि भन्न सक्दैनथ्यौं, ‘छैनौं’ भन्न पनि सक्दैनथ्यौं । यसको कारण के थियो भने ‘छैनौं’ भन्यो भने ‘कसले छैनौं भन्यो’ भनेर डन्डा सोझ्याउनुहुन्थ्यो । ‘छौं’ भन्यो भने जसले भन्यो, उसलाई तोकेरै अफ्ठ्यारो शब्दको हिज्जे सोध्नुहुन्थ्यो । 

यसैक्रममा एकपटक ‘छौं’ भनेर उत्तर फर्काएपछि मलाई म्यागेजिन शब्दको हिज्जे आएन । त्यसपछि मैले डन्डा खानुपरेको थियो । पुरै शैक्षिक सत्रभरि हामी विलखबन्दमा प¥यौं । ‘छौं’ र ‘छैनौं’ को दोधारमा हाम्रा हातहरू आधा उठ्थे । आफ्नो प्रश्नमा हामीले किन आधा मात्र हात उठाउँथ्यौं भन्ने कुरा उहाँले चाल पाउनुभयो वा भएन त्यो थाहा पाउन सकिएन । 

फकाएर सिकाउने शिक्षक :
कक्षा ९ मा गणित पढाउने शिक्षकको विधि भने खास थियो । सबैभन्दा राम्रो पक्ष के थियो भने उहाँको कक्षामा विद्यार्थीले जतिपटक पनि ‘मैले बुझिनँ, फेरि भन्दिनुस्’ भन्ने छुट पाउँथे । गृहकार्य कसैले बुझाएन भने किन बुझाएन् भनेर कारण खोज्नुहुन्थ्यो । र, थप प्रश्नको उत्तरसहित अर्को दिन गृहकार्य बुझाउने छुट विद्यार्थीले पाउँथे । 

नजानेर अन्य शिक्षकको कक्षामा कुटाइ खाने कमजोर विद्यार्थीका लागि यो कक्षामा विशेष सुविधा थियो । त्यो के भने, गृहकार्य वा कक्षाकार्यमा प्रश्नको पुरै र ठीक उत्तर दिनैपर्छ भन्ने थिएन तर गणितको हिसाब गर्दै जाँदा कहाँनेर नजानेर अड्किए भन्ने कुराको पुष्टि गर्नुपथ्र्यो । उहाँ फेरि सिकाउनुहुन्थ्यो वा जानेको विद्यार्थीलाई सिकाउन भन्नुहुन्थ्यो । उहाँको यो विधिले साथीहरूबीचको शत्रुता भुल्न निकै मद्दत गर्यो । बाटो ढुकेर कुट्नुपर्ने वा कुटिनुपर्ने शृङ्खलाको अन्त्य पनि उहाँको शिक्षण विधिले गरिदियो । 

सजिलो तरिकाले सिकाउने शिक्षक
अंग्रेजी पढाउने प्रधानाध्यापक पाएपछि केही सहज भयो । उहाँ निकै सरल र शान्त स्वभावको हुनुहुन्थ्यो, जुन उहाँको अध्यापनमा पनि झल्किन्थ्यो । केही निजी विद्यालयबाट ९ कक्षामा सरकारी विद्यालयमा भर्ना हुन आएका साथीहरू पनि थिए । उनीहरूले ‘सो’ को ठाउँमा ‘दियरफोर’, ‘कोर्स’ को ठाउँमा ‘करिकुलम’ जस्ता हामीले जानेकोभन्दा फरक शब्दहरू प्रयोग गर्थे । यसले हामीलाई अंग्रेजीमा निकै कमजोर भएको महसुस गराउँथ्यो । 

हामी सकिनसकी त्यस्ता शब्द सिक्ने र लेख्ने प्रयास गथ्र्यौं तर पर्यायवाची शब्दले कतै कतै गलत अर्थ दिने गथ्र्यो । यस्तो दबाब विद्यार्थीले नझेलुन् भनेर उहाँले सरल शब्द प्रयोग गर्न प्रेरणा दिनुहुन्थ्यो । यसै क्रममा “फ्लाइङ ससर” लाई हामीले उड्ने थाल भनेर घोकेका थियौं तर पछि उहाँले नै ‘यो भात खाने थाल नभईकन प्लेटजस्तो देखिने आकासमा उड्ने हवाइजहाज जस्तै यन्त्र हो’ भनेर बुझाउनुभएको अहिले पनि मस्तिष्कमा ताजै छ । 

अन्त्यमा, यसरी शिक्षकबारे अनेक स्मृति विद्यार्थीको मानसपटलमा बसिरहेका हुन्छन् । भारतका ११औं राष्ट्रपति एपीजे अब्दुल कलामको एउटा भनाइ कतै पढेको थिएँ । पेसाले वैज्ञानिक कलामले आफूलाई अरूले असल शिक्षक भनेर सम्झिदिए भने त्यो नै जीवनको ठूलो सम्मान हुुने बताएका थिए । शिक्षक भनेको हरेक व्यक्तिका गुरु हुन् । जीवनका मार्ग निर्देशक हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २०, २०७७  १०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC