झम्सीखेलमा प्रचण्ड-नेपाल समूहको काउन्टर भेला

झम्सीखेलमा प्रचण्ड-नेपाल समूहको काउन्टर भेला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसमूहले झम्सीखेलमा काउन्टर भेला राखेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास दुरुपयोग गर्दै बैठककै बीचमा गुटको भेला राखेको भन्दै प्रचण्डले काउन्टर दिएका हुन् ।

“हामीसँग बालुवाटार थिएन । झम्सीखेलको एउटा रेस्टुरेन्टमा भेला भएर पार्टीलाई संस्थागत निर्णयमा हिँडाउन एक मत भयौं,” एक स्थायी कमिटी सदस्यले भने । अर्का स्थायी कमिटी सदस्य मातृका यादवले भने पार्टीलाई बलियो बनाउन भेला भएको बताए ।

“पार्टीलाई एकताबद्ध बनाएर जानुपर्छ । निर्णयमा हिँडाउनुपर्छ भन्ने भयो, बैठकमा प्रचण्डले आफ्ना कुरा राख्नुभयो । केही सदस्यले पनि बोलेका थिए,” उनले भने ।

बैठक साँझ ५ बजेदेखि राति ९ बजेसम्म चलेको थियो । बैठकमा माधव नेपाल समूहका योगेश भट्टराई र प्रचण्ड पक्षकामन्त्री लेखराज भट्ट सहभागी थिएनन् । भट्टलाई खबर गरिएको थिएन । योगेशले खबर पाएर पनि बेवास्ता गरेको नेपाल पक्षका एक नेताले भने ।

आजको झम्सीखेल भेलामा ६ जना सचिवालय सदस्य प्रचण्ड–नेपाल समूहको पक्षमा उभिएका थिए । प्रचण्ड, माधव, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ यसअघि नै एकठाउँमा थिए । आजबाट रामबहादुर थापा बादल पनि भैंसेपाटी गठबन्धनमै मिसिएको स्रोतको दाबी छ ।

यद्यपि, बादल बिहानको बालुवाटार भेलामा पनि सहभागी थिए । बालुवाटार भेलामा सहभागी हुने बादलका अतिरिक्त टोपबहादुर रायमाझी, मणि थापा, हरिबोल गजुरेल झम्सीखेल भेलामा दोहोरिएका थिए । त्यस्तै नेपाल समूहकामन्त्री घनश्याम भुसाल पनि दोहोरिएका थिए ।

त्यसबाहेक ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल झम्सीखेल भेलामा सहभागी भएको स्रोत बताउँछ ।

पार्टीको निर्णय मान्नुपर्छ

स्रोतका अनुसार आजको भेलाको रूपमा बालुवाटारलाई काउन्टर दिन भनिए पनि निष्कर्ष पार्टीको निर्णय मान्नुपर्ने निकालिएको थियो ।

भेलामा सहभागी एकनेताका अनुसार स्थायी कमिटीमा दुईतिहाइ मत प्रचण्ड–नेपाल समूहसँग छ भनेर देखाउन भेलाको आयोजना गरिएको थियो । भेलाले स्थायी कमिटीले गरेको निर्णय अध्यक्ष ओलीले मान्नुपर्ने निष्कर्ष निकालेको थियो ।

स्रोतका अनुसार आइतबार मदन जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले गम्भीर अर्थ लागेको भन्दै कारबाही गर्न शीर्ष नेता एकमत छन् । तर, कस्तो कारबाही भन्ने खुलेको छैन । 

“शीर्ष नेताले राजीनामा माग गरिसक्नुभएको छ, त्योभन्दा ठूलो र अर्को कारबाही के होला र ? जे भए पनि पार्टीले गरेको निर्णय सबैले मान्नुपर्ने निष्कर्ष निकालिएको छ,” एक नेताले भने ।
 

प्रतिकृया दिनुहोस
ad