site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फेरिएला विश्वव्यवस्था ?

चीनको वुहान सहरमा २०१९ को डिसेम्बरमा देखापरेको कोभिड–१९ दनियाँभर इतिहासकै ठूलो महामारीका रुपमा फैलियो । विश्व स्वास्थ्य संगठनले संक्रमणको जोखिम अझै  बढ्दै जाने बताएको छ । आधुनिक विज्ञान, प्रविधि र आर्थिकरुपमा सम्पन्न राष्ट्रहरुले समेत हालसम्म यसको चिकित्सा विधि पत्ता लगाउन सकेका छैनन् । 

एसियाका चीन, दक्षिण कोरिया, जापान, सिंगापुर, ताइवानलगायतका केही देशले कम जनधनको क्षतिमा नै यसको रोकथाम गरेको देखिएको छ । तर, विश्वका शक्ति राष्ट्रहरु भनिएका पश्चिमका अमेरिका, बेलायत, स्पेन, इटाली, फ्रान्स, ब्राजिललगाएतका देशलाई यसले नराम्ररी प्रभावित पा¥यो । कोभिड–१९ ले विश्वका शक्ति राष्ट्रहरुमा पारेको प्रभाव र जनधनको क्षतिको आधारमा अहिले विश्वव्यवस्थामा नै परिवर्तन आउने हो कि भन्ने नयाँ बहस प्रारम्भ भएको छ । 

के हो विश्वव्यवस्था दृष्टिकोण ?

Prabhu Bank
Agni Group
NIC Asia

विश्वव्यवस्था दृष्टिकोणले विश्व अर्थतन्त्रलाई एउटा संरचना मानेर त्यसमा संलग्न प्रत्येक राष्ट्रबीचको आर्थिक र राजनीतिक सम्बन्धको व्याख्या र विश्लेषण गर्छ । यसलाई नवमाक्र्सवादी दृष्टिकोण पनि भनिन्छ । यस दृष्टिकोणका प्रबद्र्धकहरुमा अमेरिकन सामाजशास्त्री इम्यानुवल वालेर्स्टाईन, जर्मन अमेरिकन समाजशास्त्री ए.जी. फ्रैंक, हेलसिन्की विश्वविद्यालयका प्राध्यापक विबेरी के. गिल्स, अमेरिकी समाजशास्त्री क्रिस्टोफर चेस डनलगायतका हुन् । उनीहरुका अनुसार विद्यमान विश्वव्यवस्था पुँजीवादी विश्व अर्थव्यवस्था हो । यो व्यवस्था  निरन्तर पुँजी सञ्चय गर्ने प्रक्रिया हो । समाजशास्त्रको अध्ययनमा सन् १९७० को दशकबाट यस दृष्टिकोणलाई विश्वव्यापी अन्तरदेशीय आर्थिक सम्बन्ध व्याख्या गर्ने नवीन सिद्धान्तको रुपमा लिइएको पाइन्छ ।  

यस दृष्टिकोणले विश्वका राष्ट्रहरुबीचको व्यापार र विनिमयलाई केन्द्रमा राखेर प्रत्येक राष्ट्रबीच रहेको उत्पादन प्रणाली, विनिमय, आयत निर्यातका वस्तु, सांस्कृतिक आदनप्रदान आदिका बारेमा विश्लेषण गरिन्छ । धनी देशहरु र गरिब देशहरुबीचको आर्थिक सम्बन्धको विश्लेषण गरी विकसित पुँजीवादी राष्ट्रहरुलाई केन्द्र, विकासशील राष्ट्रहरुलाई अर्धपृष्ठ र अविकसित राष्ट्रहरुलाई पृष्ठ भाग अर्थात् कमजोर राष्ट्रको कोटीमा राखिन्छ । 

Global Ime bank

विश्वव्यवस्थाको ऐतिहासिक विकासको सम्बन्धमा दुई फरक विचारहरु छन् । यीमध्येका इम्यानुयल वालेर्स्टाइन सन् १४५० तिर युरोपमा सामन्तवादी उत्पादन प्रणालीको अन्त्यपछि पुँजीवादी उत्पादनको प्रारम्भ भएको र यही बेलाबाट वर्तमान विश्वव्यवस्थाको सुरु भएको तर्क गर्छन् । विश्वको विभिन्न भागमा रहेको निर्वाहमुखी साना आर्थिक प्रणाली र विश्व साम्राज्यहरुको पतन पश्चात् सन् १५०० बाट आधुनिक पुँजीवादी विश्व प्रणालीको उदय भएको वालेर्स्टाईनको दाबी छ । 

वालेर्स्टाइनका अनुसार सोह्राैँ शताब्दीदेखि पश्चिमी युरोपका बेलायत, फ्रान्स, जर्मनी, बेल्जियम, अस्ट्रिया, नेदरल्यान्डजस्ता देशहरु विश्व अर्थतन्त्रको केन्द्र भागमा रहेका थिए । दोस्रो विश्वयुद्धपश्चात् अमेरिका र जापान पनि विश्व अर्थव्यवस्थाका केन्द्र भागमा पुगे । वालेर्स्टाइनको निष्कर्ष के हो भने हालको पुँजीवादमा आधारित विश्वव्यवस्थाको उदय र यसको विकास पाँच सय वर्षअघि युरोपबाट भएको हो र विगत सत्तरी वर्षदेखि मात्र यसको केन्द्र अमेरिकामा सरेको हो । 

एजी फ्रैंक र उनका विचारमा सहमत राख्ने बेरी के. गिल्स, क्रिष्टोफर चेस डनलगायतले विश्वव्यवस्थाको उदय पाँच हजार वर्ष पहिले एसियाबाट भएको हो भन्ने तर्क गर्छन् । फ्रैंकको तर्क छ — सन् १८०० सम्म व्यापारिक तथा राजनीतिक केन्द्र एसिया नै थियो भने युरोप सीमान्तकृत अवस्थामा थियो । इसापूर्व २७००–२५०० को अवधिमा मेसोपोटामिया (हालको इराक, कुवेत) मा विकास भएको अन्तरदेशीय व्यापार, इसापूर्व १५०० ताका चीनमा भएको रेसम व्यापारलगायतका उदाहरणहरुबाट विश्वव्यवस्था र पुँजीवादको विकास एसियाबाट प्रारम्भ भएको उनीहरुको दाबी छ । 

फ्रैँक र गिल्सका अनुसार विश्वव्यवस्थाको केन्द्र स्थिर रहँदैन । यो गाडीको पांग्रा घुमेजस्तै निरन्तर घुमिरहने प्रक्रिया हो । त्यसैले पाँच हजार वर्षदेखि सोह्राैँ शताब्दीसम्म विश्वव्यवस्थाको केन्द्र एसिया थियो भने सोह्राैँदेखि उन्नाइसाैँ शताब्दीसम्म युरोप बन्यो । दोस्रो विश्वयुद्धपश्चात विश्वव्यवस्थाको केन्द्र अमेरिकामा स्थानन्तरण भयो । 

विश्वव्यवस्थामा परिवर्तन आउला त ?

वर्तमान विश्वव्यवस्था एकल विश्व अर्थतन्त्रमा आधारित छ र त्यो पुँजीवादी अर्थव्यवस्था हो । के कोभिड–१९ को प्रभावले यस प्रकारको विश्वव्यवस्थामा परिवर्तन आउला ? हिजोआज प्राज्ञिक वृत्तमा यो बहस चलेको पाइन्छ । अधिकांश बहस कोभिड–१९ संक्रमण रोकथामको क्षमता र उक्त देशमा भएको जनधनको क्षतिलाई आधार मानेर गरिएका देखिन्छन् । तिनले विश्वव्यवस्थाको ऐतिहासिक र सैद्धान्तिक पक्षलाई उजागर गरेको पाइँदैन ।  

फ्रैंक र गिल्सका अनुसार विश्वव्यवस्थाकोे इतिहास पाँच हजार वर्ष पुरानो छ । विश्वमा भएको पुँजीवादको विकासको आधारमा यसको केन्द्र स्थानन्तरण वा परिवर्तन हुँदैआएको छ । इसापूर्व २७०० देखि हालसम्मको अन्तरदेशीय व्यापार विनिमय प्रक्रियामा ती देशहरुले गरेको पुँजी संचयको आधारमा विश्वव्यवस्थाको केन्द्र निर्धारण हुँदैआएको छ । पाँच हजार वर्षदेखि सोह्राैँ शताब्दीसम्म विश्वव्यवस्थाको केन्द्र एसिया थियो भने त्यसपछि उन्नाइसाैँ शताब्दीसम्म युरोप केन्द्र बन्यो । अमेरिका यस व्यवस्थाको केन्द्र बनेको त सत्तरी वर्षमात्र भयो । यसको केन्द्र परिवर्तन हुनुको आधार अन्तरदेशीय व्यापार विनिमय प्रक्रियामा उक्त देशले गरेको पुँजी सञ्चय तथा नाफाको अनुपात हो । 

हाल यो प्रक्रियामा अधिक पुँजी सञ्चय तथा नाफा गर्ने देश अमेरिका हो । त्यसपछि क्रमश चीन, जापान, जर्मनी र बेलायत छन् । दुई दशकयता चीनले अन्तर्राष्ट्रिय बजारमा प्रभाव जमाउँदै अमेरिकालाई चुनौती दिइआएको छ । सन् २०१९ को कुल गार्हस्थ्य उत्पादन हेर्दा अमेरिकाको २१. ४२८ ट्रिलियन र चीनको १४.१४० ट्रिलियन अमेरिकी डलर रहेको देखिन्छ । यो तथ्यांकअनुसार विश्व अर्थतन्त्रमा चीनले तत्काल अमेरिकालाई उछिन्ने सम्भावना देखिँदैन ।

अर्थतन्त्रमा गिरावट आउँछ भनेर अमेरिकाले घोषित लकडाउनसमेत गरेन । कोभिड–१९ को कारण गिरावट आएर अमेरिकी अर्थतन्त्रमा पूरै मन्दी आए विश्व अर्थतन्त्रमा चीन पहिलो स्थानमा पुग्नेछ । त्यसो भयो भने विश्वव्यवस्थाको केन्द्र अमेरिकाबाट एसियामा स्थानन्तरण हुनेछ । यो विश्वव्यवस्थाको निरन्तर चल्ने स्वाभाविक प्रक्रियामात्र हो । यसले विश्वव्यवस्था नै परिवर्तन गरेको तात्त्विक अर्थ राख्दैन । 

विश्वव्यवस्थाको सैद्धान्तिक आधार पुँजीवादी विश्व अर्थतन्त्र हो । कम्युनिस्ट घोषणापत्रका लेखक जर्मन चिन्तक कार्ल माक्र्सले समाज परिवर्तनका चरणहरुमा आदिम, दास, सामन्त, पुँजीवादी र समाजवादी गरेर विभाजन गरेका छन् । उनका अनुसार हालको पुँजीवादी विश्वव्यवस्थामा परिवर्तन आउन कि समाजवादी विश्वव्यवस्थामा प्रवेश गर्नु पर्‍यो नभए सामन्तवादी युगमा फर्कनु पर्‍यो ।

तर, अव विश्व सामन्तवादतर्फ फर्कने संभावना छैन । त्यसो भए समाजवादी विश्वव्यवस्था आउला त ? अबको विश्व अर्थतन्त्रको केन्द्र चीन बन्यो भने समाजवादी विश्वव्यवस्था बन्ला त ? त्यो पनि संभव छैन । चीनको आर्थिक नीतिअनुसार अबको तीस वर्षपछि चीनको अर्थतन्त्र मुख्यतया बजारोन्मुख हुने र अधिकांश औद्योगिक एवं व्यापारिक क्षेत्र निजी स्वामित्वका फर्महरुको प्रभुत्वमा हुने भनिएको छ । यो भनेको पुँजीवादी व्यवस्थाको प्रभुत्व हो । त्यसैले कोभिड–१९ को कारण विश्वव्यवस्थाको केन्द्र अमेरिकाबाट चीनमा स्थानन्तरण भए पनि सारमा त्यो पुँजीवादी विश्वव्यवस्था नै हुनेछ ।     

     
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १७, २०७७  २१:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC