site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

देश कोभिड—१९ को संक्रमण र त्यसको व्यवस्थापनमा सरकारले देखाएको नालायकी तथा बदनियतबाट आक्रान्त छ । यति नै बेला सहलको प्रकोप सुरु भएको छ । कोभिड—१९ को कुव्यवस्थापन र त्यस क्रममा देखिएको भ्रष्टाचारको छानबिनको माग गर्दै युवा अभियन्ताहरू आन्दोलनमा छन् । दैनिक रोजगारीमात्र हैन आर्जिक सम्पत्ति नै स्वाहा हुने देखेपछि ट्याक्सी चालकहरू आन्दोलनमा उत्रेका छन् । यस्तो अवस्थामा सरकार युद्धस्तरमा समस्या समाधानमा लाग्नुपर्ने हो । कोभिड—१९ को संक्रमणबाट परेको आर्थिक सामाजिक प्रभाव न्यून गरेर जनजीवन कम्तीमा पहिलेकै अवस्थामा फर्काउन सरकारले विशेष निर्णय लिनु पथ्र्यो । सलहको प्रकोप पीडितहरूका लागि सहायताको घोषणा गर्नुपथ्र्यो । आन्दोलनरतहरूको माग सुनेर सम्बोधन गर्नुपथ्र्यो ।  दुर्भाग्य, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूबीचको झगडाले सिंगो सरकार ‘कक्रक्क’ परेको छ ।  


सत्तारुढ दलका नेताहरूको झगडा भने जनताका कुनै माग वा मर्काका विषयमा भएको होइन । कोभिड—१९ को व्यवस्थापन गर्न अक्षम भएको वा महामारीका बेलामा पनि भ्रष्टाचार गर्नेहरूको संरक्षण गरेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको भने होइन । प्रधानमन्त्री ओलीले सत्ताको स्वाद एक्लै लिए र अरू नेतालाई भाग दिएनन् भन्ने जस्ता नितान्त स्वार्थपरक कारण देखाएर देश संकटमा भएकै बेला सरकारको ध्यान अन्यत्रै लैजाने काम पटकपटक गरियो । करिब दुई महिनाअगाडि पनि प्रधानमन्त्री ओलीलाई हटाउन भन्दै पार्टीको सचिवालयमा चर्को खलबल मच्चाइएको थियो ।  त्यति बेला चिकित्सा सामग्री खरिदमा अनियमितता भएको सरकार स्वयंले स्वीकार गरेको थियो । तर, नेकपाका नेताहरूले प्रधानमन्त्री ओलीका निकट सहयोगीहरूबाट राष्ट्रको ढुकुटीमा गरिएको लुटलाई बहसको विषय पनि बनाएनन् । यसबाट स्पष्ट हुन्छ सत्तारुढ दलका नेताहरूको विवाद  देश र जनताको हितका लागि हैन ।


अगिल्ला पटकहरूजस्तै अहिले पनि सत्ताका केही लाभहरू लिनेदिने गरेर विवाद फास्स न फुस्स पनि हुनसक्छ । नभए पार्टीको सचिवालय र स्थायी कमिटीमा लगभग एक्लिएका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीलाई पदबाट हटाउने निर्णय पनि हुनसक्छ । प्रधानमन्त्री ओली स्वयं एउटा पद छाडेर अर्को जोगाउन तयार पनि हुनसक्छन् । तर, जे गरे पनि अहिलेको नेकपाका नेताहरूको क्रियाकलापको औचित्य भने सिद्ध हुनसक्तैन । र केही दिनमा यही किचलो फेरि बल्झिनेछैन पनि भन्न सकिँदैन । यसैले देशप्रति उत्तरदायी हुने हो भने नेकपा र प्रधानमन्त्री ओलीले संवैधानिक प्रक्रिया अपनाएर विवाद टुंगो लगाऊन् । जननिर्वाचित संसद्बाट चुनिएका प्रधानमन्त्रीलाई पार्टी विशेषका मनोनीत नेताहरूले हटाउनु लोकतान्त्रिक र न्यायसंगत हुँदैन । यसैले प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिनु उचित हुनेछ । गैरसंवैधानिक शक्ति केन्द्रबाट शासनमा हस्तक्षेप गर्ने भारदारी अभ्यास बन्द गरियोस् ।    
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC