site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रुकुम, बलिउड र क्वारेन्टिनभित्रका हिंसा 

कोरोनाको संत्रास अझै कम भएको छैन । नेपालमा लकडाउन त खुकुलो भयो तर संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ । असार १० गतेसम्म कोरोना संक्रमित २२ जनाले ज्यान गुमाए पनि विगत ३ महिनामा कोरोनाका विभिन्न असरहरुका कारण अन्य धेरैको मृत्यु भएको छ । गर्भवती महिलाको उपचार नपाएर, नवजात शिशुको स्याहार र पोषण नपाएर, धेरैको यातायातको उचित व्यवस्था नभएर दुर्घटनाले, अनि हत्या, आत्महत्यालगायत विभिन्न कारणले अकालमा ज्यान गएको छ ।

कोरोना महामारीका बीच मृत्यु, बलात्कार, हत्या, आत्महत्या आदिका समाचार दिनहुँजसो पढ्नु र सुन्नु पर्दा दिक्क मान्नुबाहेक मैले केही गर्न सकेकी थिइन । बलात्कार र निर्मम हत्याको सिकार भएकी १३ वर्षकी बालिका निर्मला पन्तको परिवारले दुई वर्ष हुन लाग्दासमेत न्याय नपाएको हेर्न विवश हुँदै मजस्तै छटपटाहटमा तर किकर्तव्यविमूढ अवस्थामा धेरै जना होलान् । 

यसैबीच, जेठ ११ गते दुई दलित युवा नवराज विश्वकर्मा र टीकाराम सुनार भेरी नदीको किनारमा जाजरकोट नजिकै मृत अवस्थामा भेटिए । अन्य तीन युवाको लास पछि भेटियो र अन्य एक जना बेपत्ता भए । जाजरकोटका नवराजको रुकुमकी किशोरीसँग फेसबुकमार्फत भएको चिनजानको कोपिला फक्रिएर फूल बन्न नपाउँदै किशोरीका परिवार र सहयोगीको आक्रमणमा परी यी युवाको मृत्यु भयो । कारण, नवराज र मल्ल थरकी ती किशोरीको प्रेम, अनि उपल्लो जातकी केटीलाई दलितसँग विवाह गर्न नदिने हठ, केटीको अनुरोधमा १८ जना साथीहरुको “जन्ती” लिई केटी भगाउन जाजरकोटबाट रुकुम पुगेका केटाहरुलाई वडा अध्यक्षसमेतको संलग्नतामा घेरा हालेर कुटीकुटी हत्या । कति क्रूर, कति विभत्स, मानवता विहीन, संवेदनाहीन सामूहिक हत्या । 

Prabhu Bank
Agni Group
NIC Asia

यो घटनाको तीन सातापछि हिन्दुस्तानी चलचित्र जगतका प्रतिभावान कलाकार सुशान्त सिंह राजपूतले आत्महत्या गरेको समाचार धेरै संचार माध्यमले प्राथमिकताका साथ प्रकाशित गरे । एक उत्कृष्ट युवा कलाकारलाई गुमाउनु परेको पीडासँगै बलिउडभित्रको नातावाद कृपावादको जालोसमेत छर्लङ्ग भयो । के कारणले सुशान्तले आत्महत्याको बाटो रोजे भन्ने विषयमा अनुसन्धान जारी छ ।

यही असार १ गते धनगढीको कैलालीमा क्वारेन्टिनमा रहेकी युवतिलाई स्वयम्सेवक, स्वास्थ्यकर्मीसमेतको संलग्नतामा बलात्कार गरिएछ । उक्त घटनाका आरोपी १८–२० वर्ष उमेरका ३ जना युवालाई थुनामा राखी अनुसन्धान भइरहेछ ।

Global Ime bank

यी तीन प्रतिनिधि घटनामात्र हुन् । अन्य धेरै यस्ता घटना भएका छन् । असार ८ गते ‘कान्तिपुर’ दैनिकमा प्रकाशित एक लेखमा दिइएको तथ्यांकले म झसङ्ग भएँ । उक्त लेखअनुसार बन्दाबन्दी (लकडाउन) सुरु भएको एक महिनाभित्र महिला आयोगको हेल्पलाइनमा ६०४ र प्रहरीमा ४३२ घरेलु हिंसाका उजुरी परेका रहेछन् । अनि, यसैबीच ४०० जना महिलाले आत्महत्या गरेका रहेछन् ।

’नयाँ पत्रिका’ दैनिकमा असार ८ गते नै छापिएको आलेखअनुसार लकडाउनको ८३ दिनमा ३७३ बलात्कारका घटनाहरु भएका रहेछन् । यस अवधिमा अन्य अपराधका ३७६ घटना भऐका थिए । यी खबरहरु पढेपछि मलाई चिकित्सकीय दृष्टिकोणबाट विश्लेषण गरेर हिंसा रोकथामका उपाय बारे केही लेख्ने हुटहुटी लाग्यो । 

मेरा मनमा यस्ता प्रश्नहरु अनायासै आउन थाले 

–किन यति धेरै हिंसा छ हाम्रो समाजमा ?

–तथाकथित उपल्लो जातिले देखाएको अति निकृष्ट व्यवहारलाई के भन्ने ? कसरी यस्तो अमानवीय व्यवहार गर्ने व्यक्ति या समूह “माथिल्लो” जात हुन सक्छ ?

–अमेरिकामा अश्वेत व्यक्ति जोन फ्लोइडको हत्या हुनु र नेपालमा विश्वकर्मा भएकै कारण मल्लहरुबाट हत्या हुनुमा के फरक छ ?

क्वारेन्टिनमा बसेकी महिलालाई बलात्कार गर्ने स्वास्थ्य सेवामा समर्पित व्यक्तिको दुष्टतालाई निन्दा र भत्र्सना नगरी चुप लागेर बस्न सकिन्छ र ?

म चुप बस्न सक्तिन र मैले चुप बस्नु हुँदैन भन्ने ठानेर मैले यो लेख लेख्ने सोच बनाएँ । अनि केही तथ्यांक र वैज्ञानिक विश्लेषण खोज्ने जमर्को गरेँ ।

संयुक्त राष्ट्रसंघको लागूपदार्थ र अपराध नियन्त्रणमा सहयोग पुर्‍याउने कार्यालय युनाइटेड नेसन्स अफिस अन ड्रग एन्ड क्राइमको सन् २०१३ को प्रतिवेदन अनुसार हिंसाका कारणहरुलाई मुख्यतः तीन प्रकारले वर्गीकरण गर्न सकिन्छ ।

१.    सम्बन्धपरक 
घरेलु हिंसा, वैवाहिक बलात्कार, बालयौन दुव्र्यवहारजस्ता आफ्ना नातेदार या नजिकको छिमेकी या परिचित व्यक्तिहरुबाट हुने हिंसा ।
२.    आपराधिक 
गुन्डागर्दी, दादागिरीजस्ता समूहगत प्रयासहरुबाट डराउन, धम्क्याउन, आफ्नो प्रभुत्व जमाउन गरिने हिंसालगायत अन्य अपराध कर्महरु ।
३.    सामाजिक राजनीतिक 
सामाजिक या राजनीतिकरुपमा आआफ्नो श्रेष्ठता प्रमाणित गर्ने अभिप्रायले या सामाजिक राजनीतिक लाभ प्राप्त गर्ने अभिप्रायले गरिने हिंसा ।

विश्वभरमा यी सबै कारणले १४ लाख व्यक्तिले प्रत्येक वर्ष ज्यान गुमाउने रहेछन् । अनि यीमध्ये ४ लाख ७० हजार रहेछन् हत्याहरु ।

प्रश्न उठ्छ के हिंसा गर्नु मानवीय स्वभाव नै हो ? के मानिसको विकासक्रममा अर्थात् “इभोल्युसन” हुँदै गर्दा हिंस्रक गुण विकसित भएको हो ?

हिंसा मानवीय प्रकृति होइन भन्ने मानवशास्त्रीहरुले अध्ययनबाट प्रमाणित गरेका छन् । परापूर्वकालमा मानिस सिकार खेलेर र जंगलबाट कन्दमूललगायत खोजेर खान्थ्यो । त्यसबेला आफू र आफ्नो परिवार जोगाउन, खानेकुराको बाँडफाँटमा चित्त नबुझ्दा हिंसा धेरै हुन्थे । बालमृत्यु उच्च थियो, सन्तान धेरै जन्मन्थे तर विभिन्न अभावबीच वयस्क हुनेहरु आफू र आआफ्ना समूहको सुरक्षामा दत्तचित्त भएर लाग्थे । 

विकासको क्रममा विगत ५ लाख वर्षदेखि मानिसको शरीरको साथसाथै दिमागको पनि विकास भएको छ । दिमागमा रहेको ‘प्रिफ्रन्टल कर्टेक्स’ भन्ने भाग विकसित हुँदै जाँदा मानिसको समानुभूति र तर्क क्षमता, दूरदृष्टि आदिको पनि विकास भएको छ । मानव समाज नै पहिलेको तुलनामा बढी संवेदनशील र क्षमाशील भएको छ । हत्याको संख्या पहिलेको अनुपातमा धेरै कम भएको छ ।

यातनाविरुद्ध कानुनहरु बनेका छन् । धेरै देशहरुले फाँसी प्रतिबन्धित गरेका छन् भने दोस्रो विश्वयुद्ध पछि ठूला ठूला युद्धहरु पनि भएका छ्रैनन् । मानव अधिकारको रक्षा गर्न धेरै राष्ट्रहरु प्रतिबद्ध छन् । यी सबैका माझ पनि अझै हत्या हिंसा निर्मूल हुुन भने सकेका छैनन् ।

रुकुम घटनाले अन्तर्राष्ट्रिय चासो समेत आकृष्ट गर्‍यो । संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त मिसेल वेसलेटले एक विज्ञप्ति जारी गरिन् । त्यसको भावार्थ निम्न प्रकारको थियो –

“हाम्रो संसारमा एक्काइसौं शताब्दीमा पनि जातपातमा आधारित पूर्वाग्रह जरा गाडेर बसेको छ भन्ने कुरा धेरै कष्टकर छ, यी दुई युवा व्यक्तिहरु जसले आआफ्नो जन्मका दुर्घटना र समाजका विभिन्न व्यवधानबीच पनि सँगै जिउने आशा लिएका थिए, म उनीहरुका लागि धेरै दुःखी छु ।”

हो नि त, कुनै नेपालीको काठमाडाैंमा जन्म हुनु या रुकुममा जन्म हुनु संयोग या आकस्मिक घटना मात्र त हो नि । अनि मल्ल हुनु या विश्वकर्मा या कुनै तथाकथित उपल्लो जात या दलित । अनि कोही धनी परिवारमा या कोही गरिब यी जन्मका संयोगमात्र हुन् । 

सबै मानिस समान हुन्, सबैको रगतको रङ्ग रातो हुन्छ भन्ने ज्ञान हुँदाहुँदै पनि यो विभेद किन ? 

विभेदको समाधान हिंसा त पक्कै होइन ।

स्वास्थ्यको कोणबाट हेर्दा हिंसाको रोकथाम र उपचार चार चरणमा गर्न सकिन्छ । पहिलो – समस्याको सही पहिचान, दोस्रो – हिंसाका कारणहरुको विश्लेषण, तेस्रो – हिंसा न्यूनीकरण र उपचारका कार्यक्रम तर्जुमा र तिनको प्रयोग, चौथो – कार्यक्रम विस्तार र त्यसमा पहुँच ।

विज्ञहरुले भनेका छन् शोषण, बदलाभाव, श्रेष्ठताको अनुभूति, स्वैरकल्पना, अतिवाद, मानसिकता आदिले हिंसालाई जन्म दिन्छन् ।

हिंसाको न्यूनीकरणका लागि व्यक्तिगत, पारिवारिक, सामाजिक प्रयासहरु महत्च्वपूर्ण हुन्छन् । भौतिक, आर्थिक र अन्य सुविधा हासिल गर्ने लोभले पनि हिंसालाई बढावा दिने भएकाले कुनै किसिमको प्रोत्साहनका लागि हिंसा प्रयोग निरुत्साहित गरिनुपर्छ । 

राज्य बलियो छ । कानुनको पालना गर्न÷गराउन प्रतिबद्ध भए हिंसा कम पनि हुन्छ । अमेरिकामा गरेको एक अध्ययनले सरकार परिवर्तन भएपछि हिंसाको तथ्यांकमा पनि तलमाथि हुने गरेको देखिएको छ । नेपालमा विभिन्न कालखण्डमा राजनीतिका नाममा हिंसा भएका छन् । कतिपय पीडितहरुले अझै न्याय पाएका छैनन् । दण्डहीनताको संस्कृति मौलाउँदै गएमा र सरकार हिंसाप्रति सहिष्णु भएमा पीडितले न्याय पाउने सम्भावना कम हुन्छ ।

बालबालिकालाई उचित हेरचाह गर्नु हिंसा न्यूनीकरणको प्रथम बिन्दु हो । अनुशासनको नाममा बालबालिकालाई यातना दिएमा भविष्यमा उनीहरुमा हिंसालाई प्रश्रय दिने मानसिकता विकसित हुन सक्छ । घरभित्र हिंसा देखेका बालबालिकाले पछि गएर आफैँ हिंसा गर्छन् भनेर तथ्यांकहरुले बताएका छन् । यसैले पनि महिला हिंसा रोकथामले प्राथमिकता पाउनु अनिवार्य हुन्छ ।

आर्थिक उन्नति, उचित शिक्षादिक्षा आदिद्वारा हिंसा न्यून गर्न सकिन्छ । हाम्रा पाठ्यक्रमहरुमा नैतिक शिक्षा राखिनु जरुरी छ । साथै मद्यपानलाई निरुत्साहन गरिनुपर्छ । कर उठाउने लोभमा राज्यले रक्सी, चुरोटजस्ता वस्तुको खरिद विक्रीलाई प्रोत्साहन गर्नु उचित होइन ।

हिंसाविरुद्ध शून्य सहनशीलताका साथ सामाजिक सचेतना कार्यक्रमहरु, पीडितप्रति हेय भाव नराखिनु र न्यायमा सहज पहुँच सहित न्यायको प्रत्याभूति भएमा हिंसा न्यूनीकरणमा सघाउ पुग्छ ।

कोरोना रोकथाममा हामी सबै एकजुट भएका छौँ । हिंसाविरुद्ध पनि एकजुट हुने प्रण गरौँ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC