site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
संकटको त्रिवेणीमा फसेको संसार

कोभिडको पहिलो चरणको महामारीबाट अर्थतन्त्र जोगाउन बिस्तारै विश्व बजार खोलिएसँगै कतिपयले कडा सामाजिक दूरीको नियमसमेत बेवास्ता गर्न थालेपछि कोभिड–१९ को दोस्रो चरणको संक्रमण पनि क्रमशः बढ्दैछ । यो रोगसँग लड्ने विश्वसनीय औषधि वा भ्याक्सिन पत्ता नलाग्दासम्म मानव समाजलाई कोभिडअघिको अवस्थामा पुर्‍याउने सोच अवास्तविक चाहनामात्र हुनेछ । अझ, यस्तो चाहना राख्नाले स्थानीय तथा क्षेत्रीय तहमा दोस्रो चरणको संक्रमणको खतरा बढ्नसक्छ । 

पहिलो तहको संक्रमणबाट नीति निर्माता, स्वास्थ्यकर्मी, वैज्ञानिक तथा जनसाधारणले अवश्य पनि धेरै कुरा सिकेका छन् । तैपनि, दोस्रो तहको संक्रमण धेरै संभव छ र यसले पहिलो चरणको भन्दा बेग्लै चरित्र देखाउन सक्छ । परन्तु, अबको नियन्त्रण प्रयास अर्थतन्त्रलाई अशक्त बनाउने तथा सामाजिक जीवनको हत्या गर्ने पूर्ण बन्दाबन्दी (लकडाउन)भन्दा मास्क र सामाजिक दूरीलाई सशक्तरूपमा लागू गर्ने तथा टेलीयात्रा वा भिडियो वार्तामा जोडदिने हुनसक्छ । तर, दोस्रो तहको संक्रमणको तीव्रता र प्रभाव हेरी अत्यन्त तीव्र भएका स्थानमा स्थानीय वा क्षेत्रीय लकडाउन आवश्यक पनि हुनसक्छ । 

पहिलो लहरको महाव्याधिजस्तै अर्को तहमा पनि संकटको त्रिवेणी सँगसँगै हुनेछन् । नयाँ संक्रमण नियन्त्रणबाट बाहिर गएर फेरि विश्वव्यापी महामारी बन्ने, आर्थिक र सामाजिक समस्याका बाढी आउने र भूराजनीतिक द्वन्द्व खतरनाक अवस्थामा पुग्ने जोखिम नै तीन मुख्य संकट हुन् । विश्व अर्थतन्त्र अहिले नै गहिरो मन्दीमा गइसकेको छ भने समस्या सहजैसमाधान हुने देखिँदैन । आर्थिक संकट र महाव्याधिले चीन–अमेरिका संकट गहिरिने देखिन्छ । अझ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचन नजिकिँदा यो समस्या चुलिन सक्छ । 

Agni Group

स्वास्थ्य, सामाजिक, आर्थिक तथा भूराजनीतिक उथलपुथलमात्र होइन यस्तो अवस्थामा राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकालाई पनि बिर्सन सकिँदैन । अमेरिकी राष्ट्रपति ट्रम्प दोस्रोपल्ट चार वर्षका लागि निर्वाचित भए भने अहिले देखिएको द्वन्द्वको कोलाहल नाटकीयरुपमा बढ्नसक्छ तर जो बाइडन निर्वाचित भए भने चाहिँ धेरै स्थिरता आउनसक्छ । 

अमेरिकी निर्वाचन परिणाम विश्वका लागि साधारणतया यति भयावह हुँदैन थियो । तर, अहिले देखिएको विश्वव्यापी संकटको अवस्था मनन गर्दा मानवता नै एक ऐतिहासिक मोडमा पुगेको छ भन्नु अतिशयोक्ति हुँदैन । आर्थिक मन्दीको पूर्ण प्रभाव अझै आउँदो जाडो यामसम्म नदेखिन सक्छ र त्यसबेलाको असर घातक हुनसक्छ । किनभने संसारले अहिलेसम्म यस्तो नाटकीय आर्थिक संकुचन भोगेकै छैन । मानसिकरुपमा पनि र व्यवहारमा पनि हामी निरन्तर वृद्धिमा अभ्यस्त भइसकेका छौँ ।

Global Ime bank

के धनी पश्चिमा र एसियाली देशले सघन, व्यापक र दीर्घकालीन मन्दी सहन सक्छन् ? अहिले सयौं खर्ब डलरको आर्थिक प्रोत्साहनको प्याकेजले आर्थिक विध्वंशलाई केही कम गर्न सके पनि अब उप्रान्त के हुन्छ भन्ने प्रश्न जीवितै छ । 

नसोचेको वा नचाहेको भइहाल्यो भने (जुन असंभव पनि छैन), ट्रम्प पुनर्निवाचित हुने, कोभिड–१९ महाव्याधिको दोस्रो लहर पनि विश्वव्यापी बन्ने, अर्थतन्त्र ओह्रालो लागेको लाग्यै गर्ने र पूर्वी एसियामा नयाँ शीतयुद्ध सुरु हुनेजस्ता परिणाम विश्व भोग्नुपर्नेछ । अवस्था त्यति खराब भएन भने पनि संकटको त्रिवेणीले यस्तो अवस्थामा पुर्‍याउनेछ जहाँ हामीले वर्तमान राष्ट्रिय राजनीतिक तथा आर्थिक व्यवस्था तथा बहुपक्षीय संस्थाहरूको पुनर्निर्माण गर्नु आवश्यक हुनेछ । एकदमै सहज अवस्था भएको खण्डमा पनि पुरानै अवस्थामा पुग्न संभव हुनेछैन । भूतकाल भूत भइसक्यो अब भविष्यमात्र हेर्नुपर्छ । 

अब के हुन्छ वा के हुनुपर्छ भन्नेमा धेरै भ्रम पाल्नु जरुरी छैन । विश्वव्यापी महाव्याधिले ल्याएको संकट कति सघन, गहिरो र बृहत् हुनेछ भने यसले शक्ति र स्रोत सन्तुलनको अवस्थामा विश्वव्यापीरुपमै उग्र परिवर्तन ल्याउनेछ । यस्तो प्रकारको नयाँ परिवर्तनका लागि शक्ति संचय गरेको, उपाय सिकेको र व्यवस्थापनका लागि लगानी गरेको समुदाय वा समाज विजेता दरिनेछन् भने अब के हुन्छ र कसरी अघि बढ्ने भन्ने विषयमा सोचेका वा तयारी नगरेकाहरू पछि पर्नेछन् । 

यो महाव्याधिभन्दा पहिले पनि संसार डिजिटल युगसँगै परिवर्तित हुँदै थियो । फलस्वरूप, परम्परावादी प्रविधि, पुराना उद्योग तथा विश्वव्यापी शक्ति र सम्पत्तिमा दूरगामी असर पर्दै गएको थियो । अब त, पहिलेभन्दा ठूलो विश्वव्यापी संकट क्षितिजमा देखिइसकेको छ । मौसम परिवर्तनको असर हामीले अहिलेसम्म देखेको कुनै पनि घटनाभन्दा धेरै डरलाग्दो हुनेवाला छ भने यो समस्या समाधानका लागि त कुनै भ्याक्सिनसमेत उपलब्ध हुनेछैन । 

त्यसैले कोभिड–१९ महाव्याधिले मानव समुदायलाई संवेदनशील मोडमा ल्याइपुर्‍याएको छ । सदीयौंदेखि हामी राष्ट्रिय सार्वभौकिमतामा गर्व गर्ने राज्य राष्ट्र, पुँजीवादी वा समाजवादी दुवै अर्थव्यवस्थामा जैविक इन्धनमा निर्भर उद्योगधन्दा र सीमित प्राकृतिक स्रोतको असीमित उपभोग गर्ने राजनीतिक अर्थतन्त्रमा निर्भर थियौँ । तर, अब यो व्यवस्थाको म्याद सकिन लागेकाले आमूल परिवर्तन अवश्यंभावी हुन पुगेको छ । 

अहिलेको जिम्मेवारी संकटको त्रिवेणीको पहिलो लहरबाट हामीले सकभर धेरै सिक्नु नै हो । आार्थिक तथा भूराजनीतिकरुपमा निकै पछाडि परेको झैं देखिने युरोपका लागि आफ्ना कमजोरी सुधार्ने ठूलो मौका आएको छ । युरोपमा लोकतन्त्र, कानुनी शासन तथा सामाजिक समानताजस्ता राजनीतिक मूल्य, प्राविधिक ज्ञान, तथा लगानी गर्ने शक्ति छ । यसले गर्दा आफ्नो सिद्धान्त तथा लक्ष्य प्राप्त गर्न ठोस कदम चाल्न सक्छ । साथै मूलभूतरुपमा मानवताको जगेर्ना गर्न सक्छ । एउटै प्रश्न चाहिँ के हो भने — युरोपेलीहरू के हेरेर बसेका छन् ?

(जर्मनीका पूर्वविदेशमन्त्री तथा भाइस चान्सलर, एवं २० वर्ष जर्मन ग्रीन पार्टीका नेता)  

Copyright: Project Syndicate, 2020.

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १७, २०७७  ०७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC