एउटा ट्याक्सी ड्राइभर यात्रुलाई गन्तव्यसम्म मिटरमा लैजान मान्दैन । लगिहाल्यो भने मिटरमा उठ्ने बिलको तुलनामा दोब्बर पैसा तिर्न बाध्य बनाउछ । यसरी ठगिएको यात्रुसँगै उसले कुरा गर्न थाल्यो देश बिग्रेको विषयबाट सुरु गर्छ । भन्छ — देश खत्तम भइसक्यो । हेर्नुस् त यो बाटो कति खाल्डाखुल्डी छन् । कसैलाई मतलबै छैन । उसले कुरालाई अझै अगाडि बढायो भने भन्छ — नेताहरूमा जिम्मेवारी बोध नै छैन । कुनै कानुन नै छैन । अनि कसरी हुन्छ सुधार ? ट्याक्सी चालकमात्र होइन आजकल प्रायः सबैको चिया गफ अन्य कुनै समसामयिक विषयमा सुरु भए पनि अन्त्यमा मुखैमा झुन्डिीने एउटै विषय हो — नेताले देश बिगारिसके, खत्तमै पारिसके ।
चिकित्सक कमीसनको लोभमा बिरामीलाई अनावश्यक औषधि सिफारिस गर्न वा अनावश्यक परीक्षण गराउन पटक्कै हिचकिचाउँदैन । अझ सरकारी सेवामा रहेको चिकित्सक त सरकारी अस्पतालभन्दा निजी क्लिनिक वा अस्पतालमा खटिन्छ । त्यही चिकित्सकसँग कुराकानी गर्ने हो भने पनि नेतालाई गाली नगरी उसको विषय अन्त्य हँुदैन । उसैसँग जोडिएको अस्पताल संचालक बिरामीको सेवाभन्दा नाफालाई बढी महत्त्व दिन्छ । आफ्नो अस्पतालको शैया क्षमताको निश्चित प्रतिशत गरिबलाई निःशुल्क उपलब्ध गराउनुपर्ने कुराको ऊ कहिल्यै पालना गर्दैन । यो वा ऊ बहानामा यस्तो जिम्मेवारीबाट सधैँ भाग्छ । अनि कुनै सभा, समारोह वा कतै कुनै कुरा गर्नुपर्दा भने राज्यले आफूहरूलाई केही पनि नदिएको, गुनासो गर्छ र अस्पतालजस्तो नितान्त सेवा व्यवसायलाई हेर्ने नेताहरूको दृष्टिकोण गलत भएको मन्तव्य दिन्छ । एकजना पाइलट धनी बन्ने लोभमा अवैध कारोवार गर्न हिचकिचाउँदैन । धन कमाउनैका लागि नीति, नियम, कानुन, पेसागत धर्मको पालना के हो भन्ने कुनै मतलब राख्दैन तर उसले पनि सधै देशमा आर्थिक सामाजिक लगायतका विषयमा उन्नति नहुनुमा नेताकै दोष देख्छ ।
त्यसो त आफूलाई प्रात्रिक वर्ग भन्न रुचाउने प्राध्यापक होस् वा देशको चौथो अंगको प्रधिनिधि कहलिने पत्रकार तिनको कुरा पनि उस्तै नै हो । एकजना प्रोफेसर कलेजको पढाइभन्दा ट्युसनलाई जोड दिन्छ, सरकारीभन्दा प्राइभेट कलेजलाई महत्व दिन्छ । त्यतिमात्र नभई सुसंस्कृत शिक्षा दिई सबैलाई सभ्य नागरिक बनाउनु पर्ने दायित्व बोकेको प्रोफेसरनै विनापरीक्षा जागिरमा स्थायी हुन पाउनुपर्ने भन्दै आन्दोलन गर्न हिचकिचाउँदैन । त्यही प्रोफेसर कुनै विषय विज्ञका रूपमा कतै केही बोल्नुपरे दोष जति सबै नेताको नै देख्छ ।
समाचार र विचारमार्फत विभिन्न क्षेत्रमा भएका गलत कुराको जानकारी दिन नागरिकलाई सूचना प्रवाह गर्ने तथा सम्बन्धित निकायलाई त्यस्तो प्रवृत्ति रोक्न झक्झक्याउनुपर्ने पत्रकार सूचनालाई राजनीतिक आस्थाका आधारमा सहीलाई गलत र गलतलाई सही बनाउन विभिन्न कुतर्क गर्दागर्दै पनि गलत प्रवृत्तिले प्रश्रय पाउनुमा नेतालाई नै दोषी देख्छ । चिट चोरेरै पास हुन पाउनुपर्छ भन्ने अनि चिट चोर्न नपाएकै आधारमै सडकमा टायर बाल्ने वा अर्काको थेसिसको नक्ककल वुझाएर पनि राम्रै अंक पाउनुपर्छ भनेर जिद्दी गर्ने विद्यार्थी देशको शैक्षिक क्षेत्रमा भइरहेको बेथितिको दोष नेतालाई नै दिन्छ ।
ड्राइभर, पत्रकार, प्राध्यापक, डाक्टरमात्र हैन इन्जिनियर, बैंकर, वकिल वा संचार उद्यमी सबैले कुरा उस्तै नै गर्छन् । नेपालमा के कुराको कमी छ ? सबै चिज छ तर देश समृद्ध नहुनुको जिम्मेवार भने नेता इमानदार नहुनु नै हो । सबैजसोले गर्ने कुरा यही नै हो ।
हामी सबै देशको सामाजिक, आर्थिक, राजनीतिक अवस्थामा सुधार हुनुपर्छ भन्ने चाहन्छौंँ । देश अमेरिका, युरोप, सिंगापुरजस्तो बनोस् भन्ने चाहन्छौँ । तर, हामीले आफ्नो आचरण, व्यवहारमा भने कहिल्यै सकारात्मक परिवर्तन गरेनौ । दोष दियाैँ त सधैँ राज्यलाई, राजनीतिलाई अनि नेतालाई । आफ्नो राज्यप्रतिको दायित्वलाई कहिल्यै महसुस गरेनौ । गलतलाई गलत र सहीलाई सही भन्न कहिल्यै सकेनौ ।
अंकित मूल्यभन्दा बढीमा सामान बेच्ने व्यापारीलाई पनि देशको माया लाग्छ । ऊ राज्यको सम्पूर्ण ’सिस्टम’ सुध्रिएको हेर्न चाहन्छ । तर, आफूले अधिकतम मूल्यभन्दा धेरै सामान बेच्नुर्मा दोष कहिल्यै देख्दैन । समयमा कहिल्यै तलब नदिने अनि न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको न्यूनतम पारिश्रमिक कहिल्यै उपलब्ध नगराउने संचार उद्यमी पनि देशमा कानुनी शासन भएको हेर्न चाहन्छ ।
तर, उसलाई आफूले कानुनको पालना नगरेको कहिल्यै हेक्का हुँदैन । आफूले संचालन गरेको वा आफू प्रमुख भएको गैरसरकारी संस्थाको प्रमुख सधैँ तटस्थता र निष्पक्षताको वकालत गर्छ । तर, संस्थामा नातागोतालाई मात्र अवसर दिएको अनि कर्मचारी भर्ना गरिसकेपछि देखाउनका लागि आवश्यकताको विज्ञापन गर्नुलाई कहिल्यै गलत ठान्दैन । सरकारी अनुगमनका समयमा नक्कली बिरामी देखाएर धेरै विद्यार्थी कोटा पाउन मरिहत्ते गर्ने, सरकारले तोकेको दरभन्दा महंगो शुल्कमा विद्यार्थी भर्ना गर्ने, विद्यार्थी पास गराउन ह्वाट्सएपको सहयताले चिट चोराउने मेडिकल कलेज संचालक, शिक्षा क्षेत्रको आमूल परिवर्तनका पक्षधर भेटिन्छन् । तर तिनले आफूले गरेको काम अनुचित मान्दैनन् ।
यी सबै विकृतिमा राजनीतिक नेतृत्वको कुनै सहभागिता नै छैन वा सुधारका लागि तिनको कुनै जिम्मेवारी नै छैन भन्न खोजिएको होइन । तर, समग्र प्रवृत्तिको जिम्मेवारी राज्य र नेताको भन्दै जिम्मेवारीबाट हामी पनि भाग्न भने पक्कै मिल्दैन ।
सुरक्षा व्यवस्था बिग्रिएको छ भने त्यसको पहिलो जिम्मेवारी प्रहरी प्रशासनले लिनुपर्छ । त्यसलाई प्रहरी प्रशासनले नै सुधार गर्न सक्छ । व्यापारमा कालो बजारी भइरहेको छ भने त्यसको पहिलो जिम्मेवारी व्यापारीहरू अनि व्यापारीसँग सम्बन्धित उद्योग वाणिज्य महासंघजस्ता निकायले लिनुपर्छ र सुधारको पहिलो जिम्मेवारी पनि तिनैको हो । संचार क्षेत्रमा विकृति आएको भए त्यसको पहिलो जिम्मेवारी संचारकर्मी, संचार उद्यमी र पत्रकार महासंघ जस्ता संस्थाले नै लिनुपर्छ र सुधारको पहिलो जिम्मेवारी पनि तिनैको हो ।
हामीले प्रत्येकजस्तो व्यवसायका प्रतिनिधिमूलक संगठने निर्माण गरेका छौँ । उनीहरूको काम कर्तव्य राज्यले हामीलाई यी यी दिर्नुपर्छ भन्दै सधैँ मागैमात्र राखेर आन्दोलनै गरिरहने त पक्कै पनि होइन । उक्त क्षेत्रको सुधारको जिम्मेवारी पनि उनीहरूले नै लिनुपर्छ । देशको कर्मचारीतन्त्रमा खराबी देखिएको छ भने त्यसको प्रमुख भागीदार उनीहरू स्वयं र सम्बन्धित संगठनकै हो ।
हामीले बिग्रिए भनेका विषय मुख्यरूपमा यिनै हुन् । यहाँ उल्लेख गर्न छुटेका व्यवसायीका हकमा पनि कुरा त यही नै हो । त्यसो त केही नेताले भनेकै भरमा जनतालाई नराम्रो असर पर्छ भन्ने जान्दाजान्दै नेपाल बन्द गर्ने, विभिन्न सरकारी तथा निजी सम्पत्तिको तोडफोड गर्ने पनि हामी नै हाँै । अझ भ्रष्टाचारको आरोपमा जेल जीवन बिताएर छुट्दै गरेको नेतालाई फूलमाला लगाई स्वागत गर्ने पनि हामी, अनि दुई, चार, आठ, दस वा केही सयको संख्यामा रहेका नेतालाई सम्पूर्ण दोष लगाएर हामी विभिन्न पेसाकर्मी, विद्यार्थी, शिक्षक, प्राध्यापक, वकिल, बेरोजगार जे भए पनि आआफ्नो दायित्वबाट भाग्न मिल्छ ? के हामीले राज्यप्रतिको जिम्मेवारीबोध गरेर न्यायोचित कार्य गरे केही थान नेताले त्यसमा भाँजो हाल्न सक्छन् ?