Skip Advt.

एकान्तबास अर्थात् मायाको तपोवन !

एकान्तबास अर्थात् मायाको तपोवन !

प्राज्ञ एवम् कथाकार माया ठकुरीको बन्दाबन्दी (लकडाउन) का दिन लेखनका दृष्टिकोणले त्यति उत्पादनशील भएनन्, तर अध्ययनका हिसाबले अत्यन्तै सुखद् रहे ।
 
उनले लकडाउन अवधिभरि निकै किताब पढिन् । प्रारम्भका केही दिन कोरोना कहरको खबरले अत्याएपछि लेखपढमा असर पर्नु अस्वाभाविक थिएन । तथापि, दिन बित्दै जाँदा नेपाली, अंग्रेजी र हिन्दी साहित्यका विभिन्‍न पुस्तकहरूले तान्दै लग्यो । घरबाट बाहिर निस्कने अवस्थै रहेन । कतै जानु थिएन । घरमा कोही आउला भन्‍ने पनि भएन । कसैले डिस्टर्ब गर्ला भन्‍ने सोच्‍नै परेन । अफिस जानु थिएन । तत्कालै काम सक्नुपर्ने हतार पनि थिएन ।

बन्दाबन्दी भएको ७५ दिन बितिसकेको थियो । घरमै रहेकी आख्यानकार ठकुरीसँग फोनमा कुरा हुँदा उनले पठनका हिसाबमा यो समय आफ्ना लागि उत्साहपूर्ण रहेको बताउँदै थिइन् । “लकडाउनको समयमा प्राप्त उपलब्धि भनेकै पुस्तकहरूको अध्ययनबाट लिएको ज्ञान हो । बन्दाबन्दीको यो विषम् परिस्थितिमा मैले जेजति किताब पढेँ, ती किताबको भित्रैसम्म पुगेर पढेँ,” प्राज्ञ ठकुरी भन्छिन्, “यसअघि जहिले पढिन्थ्यो, सायद हतारमा पढिन्थ्यो ! त्यसैले होला, किताबको भित्री तहसम्म पुगेर पढिन्थेन कि भन्‍ने लागिरहेको छ ।”

उनका अनुसार घरमै पनि सर्वत्र शान्ति व्याप्त थियो । एकान्तमा गएर तपस्या गरेजस्तो महसुस गरिन् उनले, योपटक ! त्यसैले पनि जुनै रचना पढ्दा पनि त्यसको भित्री तहसम्मै पुगेर पढिन् । उनले परापूर्वकालमा ऋषिहरूले तपोवनमा गएर तपस्या गरेको सम्झना गरिन् । कुनै पनि कुराको भित्री तहसम्म पुग्‍न तपस्या गरिने भएकाले नै पनि यस्तो एकान्तबास खोजेका हुन्, ऋषि मुनिहरूले । माया ठकुरीले पनि तपोवनको त्यही एकान्तबास महसुस गरिन् ।
 
ठकुरी भन्छिन्, “मैले घरमै एकान्तबास फेला पारेँ । तपोवन फेला पारेँ । केही दिन कोरोना त्रासका खबरले केही विचलित तुल्याए पनि जब एकान्तमा मैले पढ्न सुरु गरेँ, त्यस उप्रान्त किताबमा उल्लेख गरिएको गुढ अर्थ, त्यसको दर्शन, त्यसभित्र विद्यमान गम्भीर सन्देश, त्यसको शिल्प र शैलीमा म रमाउँदै गएँ । त्यसले मेरो मन छुँदै गयो ।”
 
बन्दाबन्दीको प्रारम्भका केही दिन भने उनले मानवजीवनलाई नियालिन् । कोरोनाको त्रासले अत्यास लागेजस्तो भयो । सायद उमेरले होला भन्‍ने लाग्यो उनलाई । उनले आफ्नो उमेरमा ध्यान दिइन् । आफ्ना छोराछोरी नातिनातिनाको भर्खरको उमेर सम्झिन् । उनलाई लाग्यो- हामीले त एउटा उमेर पार गर्‍यौं । हामीले जीवन भोग्यौँ पनि । संसार देख्यौँ पनि । तर, अहिलेका बालकालिका, किशोर र युवाहरूले जीवन भोग्‍न धेरै बाँकी छ । हेर्न बाँकी । अझै कर्म गर्न बाँकी छ ।

उनी भन्छिन्, “देश-विदेशका सारा बालबालिका र युवालाई केही नहोस् भन्‍ने मनमा लागि रह्‍यो । मनले तिनलाई आशीर्वाद दिइरह्‍यो । मलाई मात्रै होइन, सायद सबैलाई यस्तै भयो होला ।” बन्दाबन्दीमा केही समय उनको नयाँ कथाका ‘प्लट’ बुन्‍नमा पनि बित्यो । कथाका केही प्लट मन मस्तिष्क हुँदै कागजमा उतारिन् । तर, कथा लेख्‍न भने सकिनन् ।
 
उनले हाँस्दै भनिन्, “केही लेखेर छोरीलाई देखाएँ । तर छोरीले यो त भएन भन्दै टिप्पणी गरिन् । अहिले मेरो गुरु मेरी छोरी भएकी छ ।” त्यसबाहेक कथाकार ठकुरी केही भर्चुअल कार्यक्रममा सहभागी भइन् । सुरुमा उनलाई त्यति रुचि भएन, भर्चुअल कार्यक्रमप्रति । तर, छोरीले भनेपछि उनले केही कार्यक्रममा भाग लिइन् ।

ठकुरीका लागि अर्को अनुभव पनि रोचक रह्‍यो । उनका अनुसार यतिबेला छोराछोरी अभिभावकजस्ता हुने रहेछन् ! सानी बच्चीलाई फकाई-फुल्याई पहिलोचोटि स्कुल पठाउन मिहिनेत गरेजस्तै आफूलाई छोरीले फकाई-फुल्याई भर्चुअल कार्यक्रमहरूका लागि तयार पारेको बताउँदा उनको खुसी उनको आवाजबाट झल्किरहेको थियो । यो समयमा कोरिएका कथाका केही प्लटहरूलाई केही समयपछि कथाको रूप दिने उनको विचार छ । 

यतिबेला लकडाउन खुकुलो भइसकेको छ । त्यसैले पनि प्रज्ञा प्रतिष्ठानको आख्यान विभागले गर्ने केही कामहरूलाई पूर्णता दिने काममा उनी सक्रिय छन् । उनी भन्छिन्, “आख्यान विभागले थालेका शोधकार्यहरूको काम हुँदैआएको छ । त्यसलाई पूर्णता दिने कुरामा म सक्रिय छु । मैले आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गर्नेभएकाले शोधको जिम्मा लिएकाहरूले पनि निष्ठापूर्वक काम गर्नुहुनेछ भन्‍ने मलाई लाग्छ ।”

राजेश खनाल

प्रतिकृया दिनुहोस
ad