काठमाडौं । खेलकुद राष्ट्रको पहिचान हो भने खेलाडी राष्ट्रका गहना हुन् । विश्वसामु आफ्नो मुलुकको झण्डा फहराएर देशको गरिमा उचो बनाउन पनि खेल क्षेत्रको अह्म भूमिका हुन्छ । अन्तर्राष्ट्रियस्तरका खेल प्रतियोगिताहरुमा खेलाडीको पहिचाना गौण हुन्छ भने खेलाडीले प्रतिनिधित्व गर्ने मुलुकको पहिचान बृहत हुने गर्छ । वैश्य युगमा विकसित र केही विकासशील मुलुकहरुमा खेलकुदको व्यवसायीकरण भई अर्थतन्त्रमा ठूलो योगदान पुर्याइएको हुन्छ ।
विश्वकप फुटबल, ओलम्पिक खेलकुद, महादेशीय खेलकुद, क्षेत्रीय प्रतियोगिताहरुलगायत ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न मुलुकहरुबीच होडबाजी हुन्छ । त्यो केवल मुलुकको पहचानमा मात्र सीमित नभएर राष्ट्रको अर्थतन्त्र, खेलाडीको जीवनशैली आर्थिक सुधारलगायतका बहुआयामिक पाटाहरू हुन्छन् । तर, नेपालमा भने खेलक्षेत्रमा लामोसमयदेखि लागेकाहरुको जीवन हेर्दा प्रतियोगिता अवधिभर उनीहरुको वाहवाही हुन्छ । तर, प्रतियोगिता सकिँदा दैनिकी चलाउन अन्य पेशा-व्यवसायमा लाग्नुपर्ने बाध्यता छ ।
उमेरले साथ दिएसम्म देशविदेशमा राष्ट्रको झण्डा मुटुमा टाँसेर खेललाई नै जीवन अर्पेकाहरुलाई बुढ्यौली छोएपछि आफ्नो पहिचान नै खोज्नुपर्ने स्थिति सिर्जना हुनु राष्ट्रकै लागि विडम्बना भएको खेलक्षेत्रका विज्ञहरुले बताउने गरेका छन् ।
युवा अवस्थामा रहेका अग्रजहरुको वाहवाहीलाई देखेर खेल क्षेत्रमा प्रवेश गर्नेहरु खेल खेल्नसक्ने अवस्थाबाट गुज्रिएपछि भने आफ्नो पहिचान नै गुमाउनुले खेलक्षेत्रमा लागेकाहरुको जीवन सुरक्षामाथि प्रश्न उठ्ने गरेका छन् । त्यो विडम्बना देखेका खेलाडीहरुले आफ्नो जीवन सुरक्षित गर्न आधा बाटोमै खेल जीवनलाई बिट मार्नुपर्ने अवस्था छ । कतिपय खेलाडीहरु खेलप्रतिको मोह परित्याग गरेर विदेशिनुपर्ने बाध्यताको सामना गरिरहेका छन् ।
धेरै खेलाडीले खेलमा मात्र लागेर आफ्नो जीवन सुरक्षित भएको अनुभुति गर्दैनन् । अझ भनौं महँगो खेल खेल्ने खेलाडीका लागि यहाँ कुनै अवसर छैन । पारीवारिक अवस्था राम्रो भएका खेलाडीले मात्र नेपाली खेल क्षेत्रमा लाग्दा सहज हुन्छ भन्ने पर्या बनेको छ, नेपाली खेलकुद क्षेत्र ।
नेपालमा केही महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्ने तयारीमा भएकी एक एथ्लेटिक्स खेलाडी प्रतिस्पर्धामा भाग लिनुभन्दा केही समयअघि विदेश पलायन भइन् । उनी विदेश जानुको मुख्य कारक कमजोर अर्थिक अवस्था र खेलजीवनको सुरक्षा नहुनु हो । नेपालमा एथ्लेटिक्स प्रतियोगिता वर्षको एक-दुई वटा मात्र हुन्छन् । उनलाई त्यही एक प्रतियोगिता खेलेर जीवन वर्षभरी गुजारा गर्न कठिन भयो र रोजिन् खाडीको कठिन यात्रा ।
नेपालमा एथ्लेटिक्स मात्र होइन्, कराते, बक्सिङलगायतका धेरै खेलमा राष्ट्रियस्तरका प्रतियोगिता कमै हुन्छन् । यसले खेलाडीको आर्थिक अवस्थामा मजबुत बनाउन सक्दैन । नेपालमा खेलिने खेलभन्दा धेरै खेल संघहरु छन् । ती संघहरु खेलाडीको जीवन कसरी सुरक्षित गराउने भन्ने विषयमा कहिल्यै घोत्लिएका पाइँदैनन् ।
नेपालमा राम्रो प्रदर्शन गरेका धेरै खेलाडीहरु हाल खेल जीवनबाट सन्यास लिने अवस्थामा छन् भने केही खेलाडीले सन्यास पनि लिइसकेका छन् । १० देखि १५ वर्षसम्म देशका लागि खेलेका खेलाडीले सन्यास लिइरहँदा राष्ट्रले सम्मानसहित जीवन सुरक्षित ढंगले बिताउने बाटो देखाइदियोस् भन्ने लाग्छ । यही एक सम्मान र सुरक्षित भविष्यको लालसमा जीवनका सुन्दर वसन्तहरुमा पनि कठिन संघर्ष गरिरहेका हुन्छन्, देशको पहिचानका लागि । तर, खेल जीवनको अन्तिम अवस्थामा खेलाडीले आफूले सोचे अनुरुप सम्मान भने पाउँदैनन् ।
खेललाई मात्र मुख्य पेशा बनाउँदा भविष्य अनिश्चित !
मन्जु गुरुङ नेपाली महिला भलिबलको चर्चित नाम हो । नेपाली घरेलु प्रतियोगितादेखि अन्तराष्ट्रिय प्रतियोगितामा उनको प्रदर्शनमा तारिफयोग्य हुन्थ्यो । उनी भलिबल खेल्दासम्म सबैको आँखा र ओठमा बसिन् । मन्जुले जीवन नै भलिबलका लागि भन्ने सोचिन् । उनलाई भलिबलले एक बेग्लै खालको नाम त दियो तर, जीवनका लागि अत्यावश्यक दाम भने दिन सकेन ।
घरेलु मैदानमा आयोजना भएको साग खेलेसँगै भलिबलबाट सन्यास लिने योजना बनाएकी मन्जुको सपना साकार हुन सकेन् । अब मन्जुलाई भलिबल खेल्ने चाहना भने छैन । आफूले मौखिक रुपमा सन्यास नै लिएको उनी बताउँछिन् । सन् २००६ बाट नेपाली राष्ट्रिय महिला भलिबलको मुख्य खेलाडीको रुपमा रहेकी मन्जु २०१९ बाट राष्ट्रिय खेलमा परिनन् ।
करिब १४ वर्षसम्म देशका लागि खेलेकी मन्जुलाई अहिले न देशले चिन्ने प्रयास गर्छ न भलिबल संघले । खेल जीवनको अन्त्य हुँदै गर्दा संघले सम्मानका साथ बिदाइ गर्छ र एक जीवन जिउने आधार देखाउछ भन्ने मन्जुलाई अपेक्षा थियो । र, त्यही दिनका लागि १४ वर्षभन्दा बढी समय देशका लागि भलिबल खेलिन् । विडम्बना, उनको अपेक्षा पूरा हुन सकेन ।
“खेल जीवनमा खुसी थिएँ । खेल खेलि सकेपछि कसरी जीवन जिउने भन्ने विषयमा मैले कहिले सोचिनँ । आफूले सकेसम्म देशका लागि खेलेँ । जसरी मैले सक्दा देशको पहिचानका लागि खेलेँ । मैले नसक्दा देशले मलाई हेर्छ भन्ने लागेको थियो । तर, त्यसो हुन सकेन । अहिले देशले चिन्दैन । भलिबल संघले फर्केर हेर्दैन । तर, कसैसँग मेरो केही गुनासो छैन । बरु नयाँ आउने खेलाडीलाई आर्थिक रुपमा सुरक्षित भएको महसुस भए मात्र खेलमा लाग्न सुझाव भने दिन्छु,” मन्जुले बाह्रखरीसँगको आफ्नो गुनासो व्यक्त गरिन् ।
खेलाडीले खेलको आर्थिक विकल्प सोच्नुपर्ने !
टेबल टेनिस खेल क्षेत्रको महँगो खेलमा पर्दछ । टेबल टेनिस पनि नेपाली खेल क्षेत्रमा परिचित नाम हो । यसै खेलमा लागेर धेरै खेलाडीले आफ्नो खेल जीवनमा पहिचान बनाएका छन् । त्यस मध्यकी एक हुन्, नविता श्रेष्ठ । विगत १६ वर्ष देखि टेनिसमा लागेकी नवितालाई खेल जीवनले दिलाएको सफलताप्रति सम्झिँदा ओठमा मुस्कान फूल्छ । खेल जीवनमा हासिल गरेका सफलताबाट पनि खुसी छन् ।
खेल क्षेत्रमा नै लागेर जीवन यापन गरेकोमा उनलाई पछुतो भने छैन । टेनिसबाट सन्यास लिने तयारीमा रहेकी नवितालाई आफ्नो खेल जीवनपछिको यात्रा जिम्मा सरकारले लिनुपर्थ्योजस्तो लाग्छ । त्यो आशाको त्यान्द्रो भए पनि नविताले भने खेलबाट सन्यास लिएर प्रशिक्षण केन्द्रमा जीवनयापन गर्ने योजना बनाएकी छन् । १६ वर्षे खेलजीवनको अन्तिम अवस्थामा आउँदा सरकारले उनलाई खेल क्षेत्रमा लागेकोमा आगामी जीवन यापन गर्नको लागि भने कुनै आधार देखाएको छैन ।
“मैले १६ वर्ष खेल क्षेत्रमा बिताएँ । खेललाई नै मुख्य पेशा बनाएँ । यदि विभागीय टोली हुन्थेन भने मैले अन्य पेशा रोज्दै खेल खेल्नु पर्ने अवस्था हुन्थ्यो । अझै पनि खेल क्षेत्रलाई मात्र मुख्य पेशा सोचेर अगाडि बढेका खेलडीका लागि भने जीवन सुरक्षित छैन । मेरो हकमा भन्नु पर्दा खेलबाट सन्यास लिँदा राज्यले आगामी जीवनयापनका लागि केही बाटो देखाउने छ भन्ने आशा छ,” नविताले सुनाइन् ।
खेल जीवनपछि बाँच्ने आधार के ?
नेपालमा आयोजना भएको १३ औं सागमा दुई स्वर्ण जितेका मन्डे श्रेष्ठ हाल खेल जीवनबाट सन्यास लिने योजनामा छन् । लामो समयदेखि करातेमा लागेका श्रेष्ठ विभागीय टोली नेपाल पुलिसमा आबद्ध छन् । उनलाई हालसम्म सरकारले खेल क्षेत्रमा लागेकै कारण कुनै किसिमको सुविधा भने दिएको छैन । सागमा जितेको स्वर्णवाफत आएको पैसाले उनलाई जीविकोपार्जन गर्ने अवस्था पनि छैन । सरकारले देशका लागि खेलेको भन्दै दिएको त्यो एउटा सम्मान हो ।
श्रेष्ठलाई सन्यास लिने अवस्थामा राज्यले सम्मानपूर्वक खेल जीवनबाट बिदाइ गरोस भन्ने चाहना छ । उनले खेलबाट राज्यलाई धेरै दिए, राष्ट्रको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाए तर, राज्यले उनलाई केही दिएन ।
नेपालमा खेल क्षेत्रमा लाग्ने व्यक्तिहरुले घरबाट नै पैसाको जोहो गर्दै खेल खेल्नु पर्ने अवस्था सिर्जना हुनुमा उनको दुखेसो छ ।
“खेल नै जीवन भनेर लागेकाहरुलाई अन्तिम अवस्थामा जीवन कसरी गुजारा गर्ने भन्ने चिन्ताले पिरोल्छ । केही खेलाडी विभागीय टोलीमा भएको नाताले नै उनीहरुलाई जीवन जिउने आधार बन्ने गरेको छ । तर, विभागीय बाहेकका खेलाडीलाई जिउने आधार भने प्रयाप्त छैन,” श्रेष्ठले भने ।