site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कहिलेसम्म बन्द गर्ने विद्यालय ?

गत अप्रिल १५ बाट डेनमार्कमा विद्यालय पुनः सञ्चालन गरियो । महामारीकै बीचमा युरोपमा सबैभन्दा पहिला पढाइ सञ्चालन गर्ने देश डेनमार्क नै हो । यसैलाई पछ्याउँदै मे ११ बाट फ्रान्सले पनि पढाइ सुरु गरयो । क्रमशः इटली, स्पेन, जर्मन, नर्वेलगायतले डेनमार्कलाई पछयाउँदै कुनैले मन्टेसोरी तहबाट त कसैले माथिल्लो ग्रेडबाट विद्यालय सुुचारुरूपमा सञ्चालन गरेका छन् । तिनले भौतिक दूरी कायम गर्नेलगायतका सावधानी भने पूरै अपनाएका छन् । विद्यालय सञ्चालन गरेपछि संक्रमणको दर भने नबढेको पनि युरोपियन देशहरुले बताइसकेका छन् । महामारीकै बीचमा युरोपियन देशले विद्यालय पहिले खोल्ने ’ओपन स्कुल फस्र्ट’ को नीति अख्तियार गर्नुका केही वैज्ञानिक र व्यावहारिक कारण छन् । यो नेपालका लागि पनि उपयोगी हुनाले भएकाले विचारणीय छ ।

कारण १ : अहिलेको महामारीबाट सबैभन्दा कम प्रभावित बालबालिका नै हुन् । यो यथार्थलाई विश्व स्वस्थ्य संगठन र विभिन्न अनुसन्धानले पनि पुष्टि गरेका छन् । अमेरिकाको जोन हप्किन्स हेल्थ रिसर्च सेन्टरले गरेको नमुना सर्वेक्षणमा पनि १ देखि १४ वर्ष उमेर समूहका बालबालिकामा कोरोनाको असर अति कम परेको उल्लेख गरिएको छ । यसै तथ्यलाई डेनमार्कस्थित आरहुस युनिभर्सिटी हस्पिटलका एसोसिएट प्रोफेसर क्रिस्टियन वेज्सीले १९ वर्ष मुनिका बालबालिका कोभिड —१९ को कारण अस्पतालमा  खासै भर्ना नभएको बताएर पुष्टि गरेका छन् — “बालबालिकामा अति कम असर देखिएको छ, अस्पताल भर्ना हुनेको संख्या नगण्य छ, त्यसैले डेनमार्कले स्कुल पुन संञ्चालन गर्न ढिला गरेन। ” प्रोफेसर वेज्सीले  इन्डियन एक्सप्रेसको अनलाइन संस्करणमा भनेका छन् ।  “पूर्ण सजगता र सचेतताका साथ विद्यालय खोल्न किन ढिलाइ गर्ने ?” हो यिनै वैज्ञानिक तथ्य र प्रमाणका आधारमा युरोपका विकसित देशले बालबालिकाको पठनपाठन प्रभावित गर्न चाहेनन् । हाम्रोमा जस्तो जीवनभन्दा पढाइ ठूलो होइन भन्ने हठ गरिराखेको भए आज यी देशका बालबालिका पनि एउटा व्यावहारिक उद्देश्यका लागि गरिएको लकडाउनको सिकार भएर विद्यालय जानबाट वञ्चित हुने थिए । असर नै कम देखिएको बालबालिकाको समूहलाई विनाकारण पढ्न पाउने अधिकारबाट वञ्चित गर्नु पनि त न्यायसंगत हुँदैनथ्यो । 

कारण २ः  महामारी र बालमनोविज्ञानसँग एक अर्कासँग सम्बन्धित छन् । युरोपियनहरु भावी पुस्ता अहिलेको भन्दा चुस्त र आधुनिक बन्नुपर्छ भन्नेमा विश्वास राख्छन् ।  त्यसका लागि खोज अनुसन्धानमूलक शिक्षा नै अहिलेका बालबालिकाका लागि आवश्यक छ । अनि यस्तो प्रकृतिको महामारी विगतमा पनि पटकपटक देखिएको थियो र आगामी दिनमा पनि आउनेमा आशंका छैन । अहिलेका बालबालिकाको मानसिकतामा महामारीसँग जुध्ने अस्त्र बन्दाबन्दी र कडाइ नै हो भन्ने गलत छाप नपरोस् भन्ने चाहन्छन् विकसित देशहरु ।  बाल मस्तिष्कमा परेको सही या गलत प्रभाव हटाउन कठिन हुन्छ । तसर्थ, यस्ता संकटसँग जुध्न गतिहीन प्रवृत्तिको बन्दाबन्दी नभई वैज्ञानिकले बनाउने खोपबाट मात्र सम्भव छ भन्ने ज्ञान बालबालिकाले लिन सकुन् भन्ने तिनको चाहना देखिन्छ । युरोपियनहरू भविष्यमा आउने यस्ता समस्याको हल गर्ने नाउँमा फेरि यस्तै विधि अवलम्बन नगरियोस् भन्ने चाहन्छन् । लकडाउन संक्रमण रोक्न आवश्यक सामाजिक दूरी कायम गर्न अपनाइएको व्यावहारिक अभ्यासमात्र हो । यो वैज्ञानिक उपाय होइन । यसर्थ बालबालिकाले अप्रमाणित यो शैलीलाई वैज्ञानिक विधि नमानुन् र खोज अनुसन्धान छोडेर भविष्यमा यस्तो शैली नअपनाउन् । यही उनीहरुको चिन्ताको विषय थियो । वास्तवमा विगतमा देखिएका विभिन्न महामारी बन्दाबन्दीले नभएर अनुसन्धानबाट पत्ता लागेको औषधि र सचेतनाका कारण निवारण गर्न सफल भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

खोज र अनुसन्धानतर्फ उत्प्रेरित गर्ने  शिक्षा बालबालिकाले विद्यालयमा शिक्षकको सामिप्यमा नै पाउन सक्छन् । नेपालले अहिले भनेको अनलाइन तथा डिजिटल पढाइ विकसित देशमा सामान्य अवस्थामा पनि चल्दै आएको हो । तर, बालबालिकाले शिक्षकसँगको प्रत्यक्ष सम्पर्कमा सिक्ने सिकाइको प्रभावकारिता र दिगोपनको महत्त्व उनीहरुले राम्रोसँग बुझेको देखिन्छ । यसैले वर्तमान विश्वमा विद्यालय शिक्षाको महत्त्व घट्नु भन्दा झन बढ्दो छ र यसलाई उनीहरुले यो विषम परिस्थितिमा पनि हृदयंगम गरे ।

कारण ३ः आर्थिक र सामाजिक कारण । युरोप, अमेरिका, अस्ट्रेलियालगायत देशमा अधिकांश अभिभावक आआफ्ना काममा व्यस्त हुन्छन् । त्यकारण उनीहरुलाई कार्यालय छोडेर घरमा आफनो बालबच्चा हेरेर बस्ने समय हँुदैन । महामारीका कारण ठप्प अर्थतन्त्रलाई चलायामान बनाउन पनि विस्तारै काममा फर्कनुको विकल्प थिएन । तसर्थ अभिभावकलाई काममा फर्कन बच्चाका कारण कठिन नहोस् भनेर पनि सजगताका साथ युरोपले ‘स्कुल फस्र्ट’को नीति लिएको हो । अनि लामो समय विद्यालय नगई परिवारमा सीमित हँुदा बालबालिकाको सामाजिकीकरण प्रक्रियामा पनि असर नपरोस् भन्ने उनीहरु चाहन्थे । यी सबैको आधार भने उनीहरुले विश्वास गर्ने वैज्ञानिक तथ्य, तथ्यांक र प्रमाण हुन् । युरोपियनहरूले न हिजो हतार गरेर आपातकाल घोषणा गरे न अहिले भरपर्दाे प्रमाणविना नै स्कुललाई प्राथमिकतामा राखेका हुन् ।

Global Ime bank

अब हामी चाहिँ लहडमा चल्ने कि वैज्ञानिक तथ्य र प्रमाणका आधारमा ?

नेपालमा किन नखोल्ने विद्यालय ?

अर्थतन्त्रमा आएको मन्दी त केही वर्षमा हल हुनसक्ला तर शिक्षामा मन्दी आयो भने देश दशकांै पछि पर्न सक्छ ।  महामारीको कारण गरिएको लकडाउनले अहिले नेपालमा ९० लाखभन्दा बढी विद्यार्थी नियमित पठनपाठनबाट वञ्चित छन् । कथित अनलाइन शिक्षाको प्रभावकारिताको धेरै चर्चा गर्नै परोइन । अब नेपालले पनि युरोपियनले जस्तै सजगता र सुरक्षा विधि अपनाएर बालबालिकालाई पठनपाठनमा फर्काउने कि जीवनभन्दा शिक्षा ठूलो होइन भन्ने कुतर्क गर्दै उनीहरुलाई पठनपाठनबाट वञ्चित गराउने ? त्यो मूलतः सरकारकै हातमा छ । 

कोरोनाको असर अझ केही वर्ष रहने वैज्ञानिकहरुले बताइसकेका छन् । हामी अझ कति वर्ष बालबालिकालाई विद्यालय पठाउनबाट रोक्न सक्छौँ ? या उनीहरुको भविष्य र पढाइप्रति खेलाँची गर्न सक्छौँं ? ढिलै भए पनि अपनाउने पर्ने शैलीलाई समयमै अपनाएर विद्यालय सञ्चालन किन नगर्ने ? यो गम्भीर प्रश्न हो । 

विद्यालयलाई क्वारेन्टिन स्थल बनाएरै राख्ने कि अध्ययन केन्द्र बनाउने समयमै सोचौँ । जीवन ठूलो त हो तर त्यसैका अलमल गरिरहँदा हजारौं विद्यार्थीले बन्दाबन्दीकै कारण पढाइ छोडे भने या केहीले नतिजा कमजोर आएकै कारण पढाइप्रतिको रुचि त्यागे भने घाटा कसलाई पर्छ ? स्वाभाविकरुपमा बालबालिकालाई पर्छ तर प्रकारान्तरले यो राज्यकै घाटा पनि हो । यसतर्फ किन नसोच्ने ? अरुले अपनाउन सकेको सजगता हामी अपनाउन सक्तैनौ भनेर बालबालिकालाई पनि हीनताबोधमा जीउन सिकाउने कि आधुनिक र ‘स्मार्ट’ बनाउने ? 

विद्यालय खोलेपछि पनि संक्रमणको दरमा कुनै असर नपारेकाले युरोपलगायतका विकसित देशले विद्यालय सञ्चालनलाई निरन्तरता दिएका हुन् । वैज्ञानिक खोज र तथ्यमा आधारित भएर चल्ने कि लहड र भावनामा बग्ने समयमै सोचौँ ।  नेपालमा बढेको संंक्रमणको अनपेक्षित दर कडा बन्दाबन्दीकै बीचमा हो । वास्तविकतामा आधरित भएर तथ्यहरु  विश्लेषण गरौँ । विनाऔचित्य र आधार विद्यालय बन्द गरेर महामारी रोक्ने उपाय बन्दाबन्दी नै हो भन्ने गलत छाप बालमस्तिष्कमा नपारौँ । फलस्वरूप, भविष्यमा यस्ता समस्या रोक्न उनीहरुले यस्तै अप्रमाणित बाटो नअपनाऊन् ।

लकडाउनलाई खुकुलो (लुजडाउन) गरेर सबै क्षेत्रलाई सामान्यतर्फ फर्काउन प्रयास गरिराखेका बेला स्कुल बन्द गर्नुको के औचित्य रहला ? अरु सबै बाहिर निस्कँदा कम असर परेका बालबालिकालाई घरमै थुनेर राख्नु विज्ञानसम्मत होला ? अझ नेपालको ग्रामीण भेकको चर्चा गर्ने हो भने त  विद्यालय नगए पनि एउटै गाउँका साथीसँगीसँग भेटघाट नगरी, नखेली घरमै थुनिएर बसेका होलान् र ? अवश्य छैन । उसो भए ती बालबालिकालाई कथित सामाजिक दूरी कायम गराउने नाममा पढ्नबाट वञ्चित गर्नुको के अर्थ रहला ? यो विचारणीय विषय हो । बरु, विद्यालयबाट पाउने सुझाव र शिक्षाले नै दुर्गम गाउँका विद्यार्थीलाई भाइरससँग लड्न र सावधानी अपनाउन थप मद्दत मिल्नेछ । सहरी  क्षेत्रमा पढ्ने विद्यार्थीको हकमा पनि यो लागू हुन्छ ।

सावधानी अपनाएर विद्यालय खोल्न आलटाल गर्नु बालबालिकाको शिक्षाप्रति गैरजिम्मेवार बन्नु हो । बजारमा हुलका हुल आवातजावात गर्दा, पसल र सुपर मार्केटमा भिड लाग्दा कोरोनाको वास्ता नगनेहरूले विद्यालयलाई मात्र महामारीको जोखिमको केन्द्र देख्नु गलत मानसिकताको उपज हो । अर्काेतर्फ अर्थतन्त्रलाई सञ्चालन गर्न र अभिभावकलाई नियमित काममा फर्कन पनि छिटो विद्यालय खोल्नुको विकल्प छैन ।

सामान्य विद्यार्थीको शैक्षिक स्तरको मापन विद्यालयको पढाइमा निर्भर रहेको हाम्रोजस्तो देशले लामो समय पठनपाठन ठप्प पार्दा स्वतः नतिजा खस्कनेछ । फलतः विद्यार्थीमा निराशा उत्पन्न हुनसक्छ । लामो बन्दाबन्दीले शिक्षकको सिर्जनशीलता पनि घट्न सक्ने र पूर्ववत् हुन लामो समय लाग्न सक्छ । यसैले क्षणिक स्वार्थ र लहडमा लागेर विद्यालय बन्द गर्ने कदमलाई निरन्तरता दिइनु हँुदैन ।  युरोपियनले अपनाउन सकेको सामान्य सावधानी हामी पनि अपनाउन सक्छौं भन्ने उच्च मनोबल निर्माण गरौँ ।  वैज्ञानिक र व्यवहारिक पक्षको विश्लेषण गरेर पठनपाठन सञ्चालन गर्नु नै बालबालिकाको हितमा हुनेछ । बन्दाबन्दीमा देखिएको हतारमा निर्णय गरेर उल्टो बाटो अपनाउने प्रवृत्ति शिक्षा क्षेत्रमा पनि नदोहोरियोस्  । खोल्नै पर्ने विद्यालय बन्द गरेर अदूरदर्शिता नदेखार्औं । बरु पूर्ण सावधानी र अपनाऊँ ! 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १४, २०७७  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC