site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एसईईको आन्तरिक मूल्यांकन : ‘कोरोना ब्याच’ को दाग नलागोस् ! 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणको जोखिमको कारण २०७६ सालको एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएर पनि पूर्वसन्ध्यामा आएर स्थगित भयो । तत्पश्चात एसईई परीक्षा हुने नहुने अन्योलबीच करिब तीन महिनापछि मन्त्रिपरिषद्को २०७७ जेठ २८ गतेको बैठकले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई) नगर्ने र विद्यालयबाटै मूल्यांकन गरेर राष्ट्रिय परीक्षा बोर्डमा पठाउनु पर्ने निर्णय गरियो ।  यसबीच सो विषयमाथि छलफल सुरु भएको छ । छलफल आवश्यक पनि छ । विचार मन्थनपछि मात्र सही निष्कर्षमा पुग्न सकिन्छ । यस वर्ष ४ लाख ८२ हजार ७०७ जना विद्यार्थीको भविष्य विद्यालयको आन्तरिक मूल्यांकनबाट तय गरिँदैछ । आन्तरिक मूल्यांकनको आधारमा ग्रेड सिट प्रमाणपत्र वितरण गरिँदैछ । 

यस्तो विषम परिस्थितिमा वैकल्पिक खालको मूल्यांकन पद्धतिमा आन्तरिक मूल्यांकनलाई चयन गर्नु उपयुक्त छ । आन्तरिक मूल्यांकनको प्रमुख भूमिकामा प्रत्यक्ष संलग्न रहेका विषयगत शिक्षकहरु, विद्यालय प्रशासन र प्रधानाध्यापक नै रहनेछन् । त्यसैले आन्तरिक मूल्यांकन प्रणालीलाई कार्यान्वयन गर्दा वैज्ञानिक तवरले व्यवहारिकतामा आधारित भएर गर्नु आवश्यक छ ।  

नेपालको शैक्षिक इतिहासमा एसएलसीको सुरु विसं १९९१ मा भयो भने २०७२ सालमा अन्त्य भयो । शैक्षिक प्रणाली परिवर्तनशील हुन्छ । सोहीअनुरुप विद्यार्थी मूल्यांकन, प्रमाणीकरणमा सान्दर्भिकता, पारदर्शिता, वस्तुनिष्ठता र विश्वसनीयता कायम गर्न २०७१ सालमै प्राविधिक विषयतर्फ र २०७२ सालदेखि साधारण विषयतर्फ पनि अक्षरांकन पद्धति (लेटर ग्रेडिङ सिस्टम) लागू गरियो । यसको उद्देश्य विद्यार्थीलाई परीक्षामुखीभन्दा व्यवहारमुखी बनाउनु हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसबीच अभिभावक, विद्यार्थी तथा शिक्षक, विद्यालय संचालकहरुलगायत शिक्षासँग सरोकार राख्ने सबैको ध्यान आकृष्ट गरेको छ — ‘आन्तरिक मूल्यांकन’ को विषयले । यस सम्बन्धमा अधिकांश सरोकारवालाहरु अन्योलमै रहेको देखिन्छ । यसैले पनि ‘कुन परीक्षालाई आन्तरिक परीक्षा मान्ने ?,  कसरी आन्तरिक मूल्यांकन गर्ने ?’ जस्ता प्रश्नहरु सतहमा आएका छन् । सरकारले  वर्षौं अगाडि नै ‘सेन्ट अप’ परीक्षा खारेज गरेको थियो भने विद्यालयहरुले आआफ्नो अनुकूलतामा एसईई तयारी परीक्षा भनेर पहिलेकै सेन्ट अप परीक्षालाई नाममात्रै परिवर्तन गरेर भए पनि हालसम्म सञ्चालन गरिरहेका छन् ।  

शिक्षा क्षेत्रमा मूल्यांकन बिनाप्रमाणपत्र दिन सकिँदैन । अहिलेको सन्दर्भमा परीक्षा नगर्ने विकल्पको रुपमा आन्तरिक मूल्यांकनलाई अघि सारेकोले मूल्यांकन गर्दा ४ वटा पक्षलाई ध्यान दिनुपर्ने देखिन्छ ।

Global Ime bank

१. आन्तरिक परीक्षाहरुको ल्याकत

कक्षा १० का विद्यार्थीहरुको वर्षभरको आन्तरिक परीक्षाहरुको अंक जोडेर आन्तरिक मूल्यांकन गर्न सकिनेछ । जस्तै, प्रथम र द्वितीय त्रैमासिक परीक्षाको २०,  २० प्रतिशत र एसईईतयारी परीक्षाको ६० प्रतिशतको योगफलको आधार मानेर मूल्यांकन गर्न सकिन्छ ।

२. निरन्तर मूल्यांकन पद्धति

विद्यार्थीको वैयक्तिक विवरण विद्यालयमा हुने हुँदा त्यस्ता हरेक व्यक्तिगत विवरणबाट एक वर्ष भरको विद्यार्थीको व्यवहारदेखि विषयगतसम्मको सिकाइ उपलब्धिलाई मूल्यांकनको आधार मान्न सकिन्छ ।

३. एसईई तयारी परीक्षा (साबिकको टेस्ट तथा सेन्टअप)

सरकारले टेस्ट परीक्षा अर्थात् साबिकको सेन्ट अप परीक्षा खारेज गरे पनि विद्यालयले आ आफ्नो क्षमता अनुकूलतामा हालसम्म पनि त्यस्ता परीक्षाहरु संचालन गरिरहेको सबैले थाहा पाएकै छन् । त्यसलाई एसईई तयारी परीक्षा भनिएको छ । एसइईमा राम्रो ग्रेड ल्याउन सघाओस् भन्ने उद्देश्य राखी यस परीक्षामा एसईईमा सोधिनेभन्दा तुलनात्मक रुपमा अलि कठिन प्रश्न बनाइएको हुन्छ । यसको आधारमा पनि आन्तरिक मूल्यांकन गर्न सकिन्छ ।

४. विगतको नतिजा विश्लेषण  

विद्यालयको विगतका कम्तीमा १ देखि ३ वटासम्म शैक्षिक वर्षको एसईई नतिजा र एसईई तयारी परीक्षाको नतिजालाई तुलना गरेर विद्यालयले आफ्नो स्तर निर्धारण गरी यसैको आधारमा यसवर्षको नतिजाको स्तरीकरण गर्न सकिन्छ । औसतमा नतिजालाई विश्लेषण गर्ने हो भने एसईई तयारी परीक्षाको नतिजामा भन्दा एसईईको नतिजामा प्रायः विद्यार्थीको औसत अंकमा करिब ६ देखि १० प्रतिशत वृद्धि भएको पाउन सकिन्छ । यसलाई पनि आन्तरिक मूल्यांकनको एउटा आधारको रुपमा लिन सकिन्छ ।

माथि उल्लेखित ४ वटा पक्षहरुको आधारमा आन्तरिक मूल्यांकन गर्दा निम्न विषयमा ध्यान दिनुपर्ने देखिन्छ ।

१. नियमित आन्तरिक परीक्षा सञ्चालन भएको र ती परीक्षाको विवरण राखिएको हुनुपर्ने ।

२. निरन्तर मूल्यांकन प्रणालीका आधारभूत नियम पालना भएको र विद्यार्थीहरुको व्यक्तिगत विवरण नियमित रुपमा अद्यावधिक भएको हुनुपर्ने । शैक्षिकदेखि विद्यार्थीको व्यवहार परिवर्तनसम्मका सबै विषयको अभिलेख हुनुपर्ने ।  

३. सेन्ट अप वा एसईई परीक्षा सञ्चालन गरेको हुनुपर्ने र त्यसको ल्याकत राखिएको हुनुपर्ने ।

— आन्तरिक मूल्यांकनमा शिक्षक तथा विद्यालय

विद्यार्थीपिच्छे वैयक्तिक भिन्नता हुने भएकोले विद्यार्थीको ज्ञान, सीप र धारणा, सिकाइ क्षमता तथा दक्षतामा पनि भिन्नता आउनु स्वभाविक हो । विद्यालय वा शिक्षकहरुले आआफ्नो विद्यार्थीलाई अंक प्रदान गर्दा उनीहरुको क्षमतालाई ध्यानमा राख्नुपर्छ । फलस्वरूप, भविष्यमा त्यही शिक्षकको मूल्यांकनबाट प्राप्त अंकले उच्च मनोबलका साथ एउटा असल, योग्य र सक्षम नागरिकको रुपमा जिन्दगी जिउन सकून् भने त्यही अंक बोझ बनेर अयोग्य, अदक्ष नागरिक हुन नपरोस् ।  

शिक्षक तथा विद्यालयलाई आआफ्नो विषयगत तथा विद्यालयको स्तर थाहा हुनुपर्छ । त्यही स्तरलाई आधार मानेर मूल्यांकन गर्दा पनि उचित हुने देखिन्छ । यहाँ आन्तरिक मूल्यांकन भन्नासाथ शिक्षकको गोजीमा अंक हुन्छ भन्ने परम्परागत मान्यता अझैसम्म व्याप्त छ । त्यसैले प्रत्येक विषय शिक्षकहरुलाई यो मूल्यांकनमा अनिवार्य सहभागी गराउन आवश्यक छ ।  शिक्षकहरु स्वयं पनि आन्तरिक मूल्यांकन गर्ने विषयमा चनाखो हुनैपर्छ । यस्तो मूल्यांकनमा नजानिदो तरिकाले विभेद हुने खतरा हुन्छ । सकेसम्म यस्तो विभेद हुन नदिने र भइहाले पनि नगण्य होस् भन्नेमा सचेत हुनुपर्छ । यसका लागि सबै विद्यार्थीलाई निरन्तर मूल्यांकनको दायरामा ल्याएर कक्षागत हाजिरी, कक्षाकार्य, अतिरिक्त क्रियाकलाप, गृहकार्य, अनुशासन, कक्षा प्रस्तुतीकरण, विद्यार्थीको सक्रियता तथा आन्तरिक परीक्षाका नतिजाहरुजस्ता पक्षलाई विश्लेषण गरी अंक प्रदान गर्ने स्पष्ट आधार तयार गर्नुपर्छ । यसले मूल्यांकन गर्न सहजता प्रदान गर्छ ।

नेपालमा शिक्षालाई संस्थागत तथा सामुदायिक विद्यालय शिक्षामा वर्गीकरण गरेको छ । विषयगत प्रयोगात्मक परीक्षालाई जसरी औपचारिकतामा सीमित गरेर अंक  प्रदान गर्ने परम्परागत प्रणाली स्थापित भइरहेको छ त्यसरी नै एसईईको आन्तरिक मूल्यांकनलाई औपचारिकतामा सीमित गर्नु विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु हुनेछ । अर्कोतर्फ आफ्नो विद्यालयको स्तरलाई बढाउने हेतुले आन्तरिक मूल्यांकनमा अनावश्यक चलखेल गर्नु  विद्यालय व्यवस्थापनलाई पनि नैतिकताले दिँदैन । यसो हुन गए आन्तरिक मूल्यांकन प्रणाली प्रभावित भई गलत मूल्यांकनको सिकार मेहनती,जेहेन्दार बालबालिका हुनेछन् । त्यसैले विद्यालय तथा शिक्षकहरु स्वच्छ मूल्यांकनको लागि हरदम प्रयासरत हुनुपर्छ ।

— आन्तरिक मूल्यांकनमा विद्यार्थी र अभिभावक 

सिकाइले व्यवहारमा सकारात्मक परिवर्तन गराउँछ । मूल्यांकनले व्यवहार परिवर्तनको मापन गर्छ । उच्च आकांक्षा राख्नु मानवीय स्वभाव हो । हरेक अभिभावकले आआफ्ना नानीहरुको राम्रो भविष्यको लागि उच्च ग्रेडको अपेक्षा गर्नु न्यायोचितै हो ।  विद्यार्थीहरुले पनि आफूले उत्कृष्ट अंक पाउने आशा गर्नु स्वाभाविक नै हो । तर, यसको अर्थ अभिभावकले पनि आफ्ना नानीहरुको क्षमता बिर्सेर आन्तरिक मूल्यांकनलाई प्रभावित हुनेगरी शिक्षक तथा विद्यालयलाई दबाब दिनु हुँदैन । कतिपय अभिभावकहरुले विद्यालय विकास कोष, आर्थिक तथा भौतिक सहयोगका नाउँमा आन्तरिक मूल्यांकन प्रणालीलाई कमजोर बनाउने प्रयास गर्छन् । त्यसैले हरेक विद्यार्थीले आआफ्नो विद्यालयको आन्तरिक परीक्षाहरू तथा एसईई तयारी परीक्षाको नतिजाको विश्लेषणबाट एउटा निचोड निकाल्ने प्रयास गर्नुपर्छ , फलस्वरूप, शिक्षकहरुबाट गरिने आन्तरिक मूल्याङ्न पनि विश्वसनीय हुन पुग्छ । यसका लागि शिक्षक, विद्यार्थी तथा विद्यालय तीनै पक्षले इमानदारी देखाउनै पर्छ ।

शिक्षा जीवन जिउने आधार भएकाले अभिभावकले बालबालिकालाई परीक्षाका लागि मात्रै नभई जीवनकै लागि तयार गर्ने सोच बनाई आन्तरिक मूल्यांकनलाई दबाबरहित बनाउन आवश्यक छ । यस्तो दबाबरहित मूल्यांकन हुन सकेमा एसईईको नतिजा हालसम्मकै उत्कृष्ट हुने निश्चित छ । अक्षरांकन पद्धतिले यथोचित न्याय पाएको हुनेछ । यसको परिणाम केही समयपछि आआना बालबालिकाको व्यवहारले बताउनेछ ।

कोरोना भाइरसको बिगबिगी भए पनि बालबालिकाले परीक्षा नै भैदिए हुन्थ्यो भनिरहेको अवस्था छ । भविष्यमा उनीहरुलाई ‘एसईई२०७६ ब्याच’ नभनी ‘कोरोना ब्याच’ भनी सम्बोधन हुनेमा चिन्ता छ । कतिपय अब्बल विद्यार्थीहरु परीक्षा नलिने निर्णय भएपछि निराश बनेका छन् । आन्तरिक मूल्यांकनबाट प्राप्त हुने शैक्षिक योग्यताका प्रमाणपत्रले भविष्यमा सम्मानजनक स्थान बनाउन सक्लान् कि नसक्लान् भन्नेमा उनीहरु चिन्तित छन् । यस्तो चिन्ता निवारण र गलत सम्बोधनको सिकार नहोेस भन्नका लागि समेत सबै शिक्षक, विद्यालय प्रशासन, अभिभावक तथा शिक्षासँग सरोकार राख्ने सम्बन्धित सबै निकाय र व्यक्तिले सकारात्मक भूमिका खेल्न जरुरी छ । स्वच्छ, पारदर्शी र निष्पक्ष आन्तरिक मूल्यांकनका लागि सहयोग गर्नु हामी सबैको नैतिक जिम्मेवारी हो ।

अन्त्यमा

भनिन्छ, चुनौतीलाई अवसरले पछ्याइरहेको हुन्छ । चुनौतीले मानिसलाई परिपक्व बनाउँछ । सन् २०१९ को डिसेम्बरमा चीनबाट फैलिएको  विश्व महामारी कोभिड — १९ ले पनि मानव जगतलाई विभिन्न आयामबाट पाठ सिक्ने मौका दिएको छ  । शैक्षिक जगतलाई पनि वैकल्पिक प्रणालीमा जाने अवसर दिएको छ । एसईई परीक्षाको विकल्प आन्तरिक मूल्यांकन भएको हुँदा  अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापनले हाम्रा बालबालिका जिन्दगीका लागि तयार होउन् भन्ने उद्देश्उ राखेर विश्वसनीय र  सही मूल्यांकन गर्न सहयोग गर्नुपर्छ । उनीहरू जिन्दगीका हरेक चुनौतीलाई चिरेर अवसर सिर्जना गर्न सक्ने सक्षम, योग्य नागरिक तयार होऊन् ।
शिक्षक, आदर्श आजाद मा.वि.,भक्तपुर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  १०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC