काठमाडौं । रोजगारीको लागि मलेसिया गएका र कोरोनाका कारण समस्यामा परेर स्वदेश फर्किन चाहने नेपालीहरुको सूची सार्वजनिक गरिएको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले सार्वजनिक गरेको सूची अनुसार सात हजार ३४१ जनाले घर फर्किनका लागि दूतावासका विवरण पेश गरेका छन् ।
यसअघि दूतावासले स्वदेश फर्किन चाहने नेपालीहरुको विभिन्न माध्यमबाट विवरण संकलन गर्दै आएको थियो ।
उक्त सूचीमा नाम भएका व्यक्तिहरुले नेपाल फर्किनका नेपाल एयरलाइन्स वा हिमालय एयरलाइन्सको टिकट काउण्टरमा सम्पर्क गरी आफ्नो अनुकुल टिकट लिनसक्ने दूतावासले जनाएको छ ।
रोजगारी भिसामा मलेसियामा पुगेका नेलालीहरुले स्वदेश फर्किनको लागि आफू वैधानिक रुपमा रहेको सुनिश्चित गरी वैधानिक रुपमा बसेकाले मात्र टिकट लिन दूतावासले सुझाएको छ ।
रोजगारी भिसामा रहेका र भिसाको अवधि समाप्त भएका व्याक्तिहरु चेक आउट मेमो लिएर मात्र नेपाल फर्किन मिल्ने र रोजगारी भिसामा रही नेपाल फर्किनका लागि पहिले नै बनाएको चेक आउट मेमोको अवधि समाप्त भएको भए पनि नेपाल फर्किन मिल्ने जनाइएको छ ।
साथै भिसाको अवधि धेरै बाँकी रही बिदामा जानहरुले कम्पनीबाट बिदाको पत्र बनाएर मात्र नेपाल फर्किन पाउने जनाइएको छ ।