काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले यो वर्ष राष्ट्रिय कविता महोत्सव स्थगित गरेको छ । हिजो असार ९ गते, न कविता महोत्सव भयो, नत प्रज्ञा प्रतिष्ठानमा कविहरूको जमघट नै भयो ।
प्रतिष्ठानले पहिलोपटक २०२२ असार ९ गते राष्ट्रिय कविता महोत्सवको आयोजना ग¥यो । त्यसयता बर्सेनि महोत्सव हुँदै आएको छ । अहिले ५० वर्ष नाघिसकेको छ, कविता महोत्सव आयोजना हुन थालेको ।
बर्सेनि हुने राष्ट्रिय कविता महोत्सवलाई उदीयमान कविहरूले मात्र नभएर पुराना र स्थापित कविहरूले पनि एउटा बृहत् उत्सव मान्दै आएका छन् । त्यसैले पनि कवि जहाँ कहीँ हुन्, असार ९ गतेका दिन ‘आज राष्ट्रिय कविता महोत्सव’ भनेर सम्झना गर्छन् । कविता महोत्सवका विजेता कवि हुन् भने पूर्वस्मृतिमा रमाउँछन् । आफूले महोत्सवमा कविता पढ्दा र पुरस्कार लिँदाको क्षण सम्झना गर्छन् ।
अहिले त सामाजिक सञ्जाल छ, आफ्ना कुरा र तस्बिर मित्र–मण्डलीबीच साझा गर्नलाई । आफ्नो सम्झना त्यहाँबाट पनि साझा गर्छन् कविहरूले । कवि, यदि काठमाडौंमा छन् भने तोकिएको समयमा प्रतिष्ठानको प्रेक्षालय पुग्छन् नवोदित कविहरूका कविता सुन्न । यदाकदा पुराना कविका कविता सुन्ने मौका पनि जुर्छ, महोत्सवमा ।
समग्रमा, कवितामा रुचि राख्नेका लागि राष्ट्रिय कविता महोत्सव एउटा पर्व नै हुनेगर्छ । तर यो वर्ष कविता पढ्ने र सुन्ने मौका कसैलाई मिलेन ! न त उदीयमान कविहरूले आफ्ना कविता सुनाउने मौका पाए ! न त पुराना र कवितामा रुचि राख्नेहरूले सुन्न पाए । अहिलेको असहज परिस्थितिलाई कारक मान्दै यो वर्ष नयाँ पुराना कविहरू कविता पर्वका दिन एकैठाउँमा जुट्न सकेनन् । भर्चुअली पनि सकेनन् ! अर्थात्, यो वर्ष कवि महोत्सव भएन ! स्थगित भयो । सबै नयाँ–पुराना कविले योपटकको असार ९ गतेलाई फिक्का र उत्साहहीन भएको महसुस गरे ।
असार ९, ०२२ मा पहिलोपटक राष्ट्रिय कविता महोत्सव आयोजना हुँदा शीर्षक दिने चलन थियो । उसबेला तत्कालीन राजा महेन्द्रले दिएको ‘नैतिकता’ शीर्षकमा कविता आह्वान गरिएको थियो । पहिलोचोटिको कविता महोत्सवमा प्रथम भएका थिए, भैरव अर्याल । दोस्रो वानिरा गिरी र तेस्रो भएका थिए गोविन्द भट्ट, रत्नदेव शर्मा र श्यामदास वैष्णव । त्यस उप्रान्त निरन्तर राष्ट्रिय कविता महोत्सव हुँदै आएको होे ।
तर कविता महोत्सवको क्रमभंग भएको छ यस वर्ष । २०४६ पछि राजाबाट शीर्षक दिने चलन हटे पनि कविता महोत्सव क्रमभंगको चेपुवामा परेको थिएन । कविहरूका लागि ठूलो प्लेटफर्म नै थियो कविता महोत्सव र गरिमा पनि उस्तै थियो ।
पछिल्लो ५४ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको राष्ट्रिय कविता महोत्सवको गरिमा उच्च रहेको कवि दिनेश अधिकारी बताउँछन् । महोत्सवको स्थापित त्यो गरिमा यसपटकको स्थगनले खल्लो बनाएको उनको भनाइ छ ।
२०४० सालका प्रथम विजेता कवि अधिकारी भन्छन्, “आज सूचना तथा सञ्चार प्रविधिको प्रयोग हरेक क्षेत्रमा भइरहेको छ । मन्त्रिपरिषद्को बैठक त भर्चुअल रूपमा हुन सुरु भइसकेको छ भने कविता महोत्सव भर्चुअली नहुने त कुरै थिएन । त्यसैले महोत्सव गरेको भए राम्रो हुन्थ्यो । यसको गरिमा पनि अक्षुण रहन्थ्यो ।”
वास्तवमा एक समय थियो, एकेडेमीको परिचय भनेको राष्ट्रिय कविता महोत्सव, राष्ट्रिय नाटक महोत्सव र हास्य महोत्सव (गाईजात्रा) नै थियो । एकेडेमीले गर्ने यी तीन कार्यक्रम हेर्न दर्शक लालयित रहन्थे । तिनको गरिमा र महत्त्व नै उच्च थियो । त्यसैले भिड पनि लाग्थ्यो कला साहित्यमा रुचि राख्ने आमदर्शकको ।
आज प्रज्ञा प्रतिष्ठान ती सारा महत्त्वलाई महत्त्वहीन बनाउनेतर्फ उद्धत रहेको देखिन्छ ! कवितामा रुचि राख्नेहरूका अनुसार प्रज्ञाको महोत्सव स्थगन कार्यले महोत्सवको गरिमामा आँच पुगेको छ ।
३० को दशक प्रारम्भताका, कविता महोत्सवको विजेता कवि विश्वविमोहन श्रेष्ठले प्रज्ञा प्रतिष्ठानले साहित्यकारहरूप्रति बेवास्ता गरेको बताउँदै चिन्ता व्यक्त गरे । श्रेष्ठका अनुसार प्रतिष्ठानका प्राज्ञहरूले ८० दिन लामो लकडाउनको अवधिमा ८० नाघेका कुनै पनि साहित्यकारसँग सम्पर्क नगरेको, तिनको हालखबर नबुझेको, यो अप्ठेरो परिस्थितिमा दुःख पीडामा छन् कि, तिनलाई के कस्तो अप्ठ्यारो छ, औषधिमूलोको खाँचो पो छ कि ? भन्नेतर्फ अलिकति पनि चासो नदिएको भन्दै उनले गुनासो बिसाए ।
कवि श्रेष्ठ भन्छन्, “यो विषम् परिस्थितिमा एकेडेमीले उमेर पुगेका साहित्यकारहरूको खोजी गर्नुपर्ने थियो । तीन महिनाको बन्दाबन्दीमा पनि खोजी नहुनु दुःख हो । मलाई नमज्जा लाग्यो एकेडेमीका प्राज्ञहरूको यो उपेक्षाभाव देखेर !”
उनका अनुसार यतिबेला साहित्यकारहरूलाई बलियो र सिर्जनशील बनाउन लाग्नुपथ्र्यो । तिनलाई निरन्तर सम्पर्क गरेर एकेडेमी तपाईंहरूको साथमा छ भन्ने म्यासेज दिनसक्नु पर्थ्यो । तर त्यो अलिकति पनि भएन ।
कविता महोत्सवको चर्चा गर्दै श्रेष्ठ भन्छन्, “कविता महोत्सव असार ९ गते नै इन्टरनेटका माध्यमबाट भर्चुअली गर्न सकिन्थ्यो । सारा संस्था र कविहरू विभिन्न माध्यमबाट कवि गोष्ठीमा उपस्थित भइरहेका छन् ।
प्रज्ञाका प्राज्ञहरू पनि विभिन्न गोष्ठीमा सहभागी भइरहेका छन् भने कविता महोत्सव हुन सक्दैन भन्ने त सोच्नै पनि सकिन्न । तर विडम्बना, प्राज्ञहरूले प्रविधिको प्रयोग गर्न चाहेको नै देखिएन !”
५० को दशकका पुरस्कृत कवि कृसु क्षेत्री यतिबेला एकेडेमीले महोत्सव स्थगन नगरेर प्रविधिको प्रयोग गरेर गर्नसक्नुपर्ने बताउँछन् । उनी भन्छन्, “प्रविधिको प्रयोग यतिबेला नगरेर कतिबेला गर्ने ? अहिले कविता साहित्य बँचाउने नै सूचना प्रविधिले हो ।”
चाहेको भए सजिलै कविता महोत्सव सम्पन्न हुनसक्थ्यो । कविता जति आए पनि छनोटमा परेका ५०/१०० कविलाई सूचना प्रविधिका विभिन्न माध्यमबाट उपस्थित गराउन सकिन्थ्यो । सम्पर्क नहुनेहरूका कविता अरू कसैले वाचन गर्न सक्थे । र भर्चुअली नै निर्णय पनि सार्वजनिक गर्न सकिन्थ्यो । क्षेत्री भन्छन्, “यतिबेला सूचना र प्रविधिको प्रयोग गरेर कविता महोत्सव सम्पन्न गरेको भए सबै कविमा एक किसिमको उत्साह थपिने थियो । कविता लेखनप्रति ऊर्जा बढ्ने थियो ।”
कवि विश्वविमोहन कविता महोत्सवलाई प्रज्ञा प्रतिष्ठानको मेरुदण्ड मान्छन् । उनी प्रज्ञा र त्यहाँका प्राज्ञले यतातिर बेवास्ता गर्न नहुने बताउँछन् । उनी भन्छन्, “हाम्रो विडम्बना, उनीहरूले आफू लेखक हुँ भन्ने सोचे । आफै भर्चुअली विभिन्न कार्यक्रममा सहभागी भए । तर प्रतिष्ठानको नेतृत्वदायी भूमिकामा छौँ भन्ने चैँ बिर्सिए ! यो तिनको चरम हेलचेक्राईँ हो । लापरबाही हो ।”
कवि दिनेश अधिकारी एकेडेमीका प्राज्ञहरूले महोत्सव स्थगन गर्ने तर्कहरू धेरै दिनसक्ने बताउँदै भन्छन्, “त्यस्ता तर्क धेरै भए पनि, बलियो तर्क राखे पनि, कविता महोत्सव भर्चुअली गर्न सकिन्थ्यो । त्यसले निरन्तरता पनि पाउने थियो । र महोत्सवको गरिमा पनि कायमै रहन्थ्यो ।”
आज सूचना तथा सञ्चार प्रविधिको विकासले सारा विश्वलाई एउटा गाउँका रूपमा सङ्कुचित गरिदिएको छ । ‘ग्लोबल भिलेज’ भनिन्छ अचेल । तर सूचना प्रविधिको पूर्ण प्रयोग नगरेर एकेडेमीले कविहरूलाई निराश बनाएको छ ।
फाइल तस्बिर ।