site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
पाकिस्तानको भैँसी बजारदेखि विश्वमहाव्याधिसम्म

पशु पालन वा जीवित पशु बजार (वेट–मार्केट्स) सार्स–कोभ–२ भाइरसको उत्पत्तिस्थल भनिएको चीनको वुहानमा मात्र छ भन्ने होइन । संसारभर नै यस्ता बजार प्रशस्तै छन् र तिनको नियमनको अवस्था हेर्दा अर्को कुनै भाइरस अर्को कुनै स्थानबाट निस्कन कति समय लाग्ला भन्ने प्रश्नमात्र हो । 

उदाहरणका लागि, संसारको सबैभन्दा ठूलो भैँसी पालन पाकिस्तानको कराँचीमा छ, जुन सहरमा १ करोड ४० लाख मानिस बसोबास गर्छन् । यस्तो सहरमा करिब ४ लाख जनावर २.३ वर्गमाइलको भैँसी कोलोनीमा निकै सकसपूर्णरुपमा पालिएको छ जुन दृश्य हेर्दा पनि अत्यन्त कष्टकर देखिन्छ । तर, पनि यो क्षेत्र करिब आधा शताब्दीदेखि यस्तै छ । यहाँ अहिले करिब १ हजार ५०० पशु फार्म संचालनमा छन् ।

यो क्षेत्र कराँचीलाई दूध र मासुको आपूर्ति गर्ने एक प्रमुख स्रोतमात्र नभई स्थानीयका लागि रोजगारीको स्थल पनि बनेको छ । यहाँको उद्यमशीलता, आपूर्ति व्यवस्था तथा स्थानीयको सशक्तीकरणको विषयमा अध्ययन गर्न अन्तर्राष्ट्रिय संस्थाबाट समेत प्राज्ञिक व्यक्ति निरीक्षणमा आउँछन् । 

Agni Group

लेखकले सन् २०१९ जनवरीमा सो क्षेत्रमा गरेको भ्रमणको आधारमा के दाबी गर्न सकिन्छ भने त्यहाँ कुनै प्रकारको नियमन छैन । एक पुस्तकका लागि अनुसन्धानको सिलसिलामा मैले त्यहाँका पशुपालकले जनावरमा देखिने कुनै प्रकारको संक्रमणलाई कसरी निको पार्छन् र औषधिले काम नगर्ने अवस्था आयो भने के गर्छन् भन्ने बुझ्न कोसिस गरेको थिएँ । 

एक स्थानीय विश्वविद्यालयले त्यस पशु बजारमा पुग्न मलाई सहयोग गरेको थियो । सो स्थानमा एकदिन सबेरै झलमल्ल घाम लागेको समयमा म पुगेँ जहाँ मलाई भैंसीको उपचारमा खटिएका केही सरकारी पशु चिकित्सकमध्येका एकले स्वागत गरे । थोरै संख्यामा भएका यी पशु चिकित्सकले भैँसीका साथै अनगिन्ती बाख्रा र भेडाको उपचारमा पनि संलग्न हुनुपथ्र्याे । तर, सो फार्ममा कार्य कुशलता अत्यन्त राम्रो थियो । भैँसीले दूध दिएको दुई घन्टाभित्र सो दूध सहरको कुनाकुनासम्म पुगिसक्थ्यो । तर, पशुपालकले भने सरकारले पशु स्वास्थ्यमा लगाएको नियमको पूरै बेवास्ता गरेको देखियो । साथै पशु आहारमा पनि निकै हेलचेक्य्राइँ थियो । तोकिएबमोजिम केही पूरा गरिएको थिएन । 

Global Ime bank

यस्तो अवस्थामा पशु चिकित्सक पशु स्वास्थ्यका विषयमा कति चिन्तित थिए त ? अवश्य, मलाई स्वागत गर्ने डाक्टरले भने तर पशुको रोगको कारण पत्ता लगाउन प्रयोगशाला नै पाकिस्तानमा छैनन्, जति छन् तिनमा मान्छेकै रगत, थुक, खकार जाँच्दैमा पुग्दैन । त्यसमाथि यो बजारमा स्थानीय सरकारको अनुगमन करिब करिब शून्य थियो ।

यस्तो अवस्थामा उक्त पशु डाक्टरले एक उपाय निकालेको मलाई गर्वका साथ सुनाए । फर्माकोलोजी अर्थात् औषधि बनाउने विज्ञानको विषयमा केही नपढेको भए पनि उनले एउटा औषधिको मिश्रण बनाएका थिए । यो औषधिको मिश्रण न कतैबाट स्विकृती प्राप्त थियो न प्रमाणित नै । तर, उनका अनुसार यो औषधि जनावरको स्वास्थ्यमा एकदमै असरदायी भएको र यसको माग पनि धेरै थियो । 

पशुपालक कृषकहरूलाई यस्तो स्थानीय स्तरमा नै बनाइएको ओखतीले जनावरलाई कति लाभ पु¥याउँछ भनेर मैले सोधेको थिएँ । तर, तिनलाई पशु स्वास्थ्य वा संक्रमणको विषयमा केही ज्ञान थिएन । कतिसम्म भने संक्रमण बढेको सूचना सम्बन्धित निकायलाई दिने ज्ञानसम्म पनि थिएन । यसको उल्टो, बली चढेका जनावरको रगत एकदमै ताकतिलो भनेर नजिकैको पोल्ट्री फार्ममा कुखुरालाई खुवाइन्थ्यो । त्यसरी मारिएका जनावर संक्रमित थिए कि स्वस्थ थिए भन्ने विषयमा कसैलाई मतलब थिएन । 

पशुपालकको कथालाई छेउ लगाउँदा पनि के भन्न सकिन्छ भने पाकिस्तानमा जनावरमा हुने संक्रमण, संक्रमणको उपचारका विरुद्ध देखिने प्रतिरोधी क्षमता आदिमा कुनै अध्ययन भएको छैन । स्रोत र साधनको कमीका कारण यस्तो हुन नसकेको भनिए पनि वास्तवमा सरकारको बेवास्ता हो भनेर सहजै बुझ्न सकिन्छ । नीति निर्मातालाई भैँसी कोलोनी वा अरु कुनै जनावरको फार्ममा ध्यान दिन कुनै उत्सुकता थिएन । सरकारले एन्टिबायोटिक प्रतिरोधी क्षमता निरोध कार्यक्रमलाई सशक्तरुपमा कानुन बनाएर अनुगमन र लागु गर्न सकेको छैन । किनभने पाकिस्तानमा कृषिको ‘लबी’ निकै सशक्त छ । 

अनुगमन संस्थाहरू स्रोत र साधनको कमीका कारणले अशक्तमात्र होइनन् सरकारी नियमको खुल्लमखुला बेवास्ता हुँदा पनि मुख लुकाएर बसेका छन् । कतिपय अवस्थामा जनावरबाट उत्पन्न हुने रोगका लागि यस्तै सरकारी नीति नियम लागू गर्ने कर्मचारीनै जिम्मेवार देखिएका छन् । किनभने उनीहरू घुस, बेवास्ता, अक्षमता वा अज्ञानका कारणले यस्तो काममा सहयोग गरिरहेका हुन्छन् । एक्ला प्राज्ञिक संस्थाले आफ्नो अनुसन्धानलाई जनावर–मानव समागममा केन्द्रित गरिरहेका छन् । पाकिस्तानमा अझै पनि “एक स्वास्थ्य” (वन हेल्थ) भन्ने सोच जहाँ मानव, जनावर तथा वातावरणीय स्वास्थ्यलाई एकीकृत रुपमा हेरिन्छ, खासै प्रचलनमा आएको छैन ।

अब कोभिड–१९ को कहरबाट निस्कँदै गर्दा हामीले भविष्यमा हुने अन्य महामारीको विषयमा सचेत हुनैपर्छ । अब खोज्ने र पत्ता लगाउने (ट्रयाक एन्ड ट्रेस) लाई सशक्त बनाएर वा हामीसँग भेन्टिलेटर र सुरक्षा सामग्री प्रशस्त छ भनेर त्यसमा मात्र सीमित हुन सकिँदैन ।

सुरुआत कृषि क्षेत्रबाटै गरिनुपर्छ । कृषि क्षेत्रको सुधारका लागि स्थानीयसहित क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा समन्वय गरिनुपर्छ । पशुपालन मुख्य आर्थिक स्रोत भएका देशमा जनस्वास्थ्यलाई कृषिसँग जोडेर हेर्नु अत्यन्त आवश्यक छ । अबको कदम भनेको जनावरको आहार तथा रोगको अनुगमन र जनस्वास्थ्यका विषय छलफलमा मात्र होइन व्यवहारमै लागू हुनुपर्छ । 

पाकिस्तानसहित धेरै विकासशील देशमा पशु बजार र पोल्ट्री फार्म जनस्वास्थ्य मन्त्रालयबाट पूर्णतः अलग रहन्छन् र एक अर्कासँग समन्वय र सूचना आदान प्रदान गर्दैनन् । यसले जनावरबाट मान्छेमा फैलिने रोगको खतरा बढाउँछ । किनभने कृषि क्षेत्रले यस्तो समस्या पत्तो लगाउन र समाधान गर्न सक्तैन । अझ, यस्तो विषयमा गलत नीति लिएर मानव स्वास्थ्यलाई निकै हानिकारक अवस्थाको पनि सिर्जना हुनसक्छ ।

माथिल्लो तहमा जनस्वास्थ्य र कृषि क्षेत्रको समन्वयमात्र पनि पर्याप्त हुँदैन । कृषकले आफूले पशु पालनमा गरेको कामले आफ्नै समुदाय र परिवारको स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने बुझ्नुपर्ने हुन्छ । स्वस्थ कृषि कार्य गर्न र गराउन शिक्षाका साथै आर्थिक प्रोत्साहन पनि दिइनुपर्छ ।

क्षेत्रीय समन्वयात्मक सम्झौता तथा अन्तर्राष्ट्रिय संगठन जस्तै संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन) तथा पशु स्वास्थ्यको विश्व संस्थाले जागरण अभियान चलाएर सहयोग गर्नसक्छ र देशको मन्त्रालय तथा संस्थासँग सहकार्य गर्ने पशुपालकलाई आर्थिक सहयोग गर्नसक्छ । पोषण, स्वास्थ्य, कृषिजस्ता विषयका अख्तियार भएका अन्तर्राष्ट्रिय संस्थाहरूले अब एकलकाँटे रुपमा गरेको काम कारबाहीलाई स्वीकार गर्न सकिँदैन ।

जीवित पशुको व्यापार हुने बजारमा अनुगमन हुन नसकेकोले कोभिड–१९ को महामारी उब्जेको हो । अहिले नै हामीले अनुभव अनुरुपको कार्य सक्रियतापूर्वक लागू गर्न सकेनौ भने पछि पुनः यही काम सिक्नुपर्ने हुन्छ । 

(प्राध्यापक, बोस्टन विश्वविद्यालय, बायोमेडिकल इन्जिनियरिङ तथा अन्तर्राष्ट्रिय स्वास्थ्य, ‘बायोग्राफी अफ रेजिस्टेन्सः द इपिक ब्याटल बिट्वीन पिपुल एण्ड प्याथोजेन्स’ नामक पुस्तकका लेखक ) 

Copyright: Project Syndicate, 2020. 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ७, २०७७  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC