site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बन्दाबन्दीमा दुर्व्यसनको जोखिम !

बन्दाबन्दीको बेलामा नक्कली डाक्टर बनेर काठमाडौँबाट लागू पदार्थ लिन झापा जाँदै गरेका व्यक्ति पक्राउ परे । अनुसन्धानबाट उनीहरु लागू पदार्थ काराबारीका साथै प्रयोगकर्ता पनि भएको खुल्यो । बिरामी ओसारपसारका लागि मात्र प्रयोग हुने एम्बुलेन्स तथा अत्यावश्यक सेवा भनिने दूध र पेट्रोलियम पदार्थ ढुवानी गर्ने साधनमा लागू पदार्थ ओसारपसार गर्दा पक्राउ परेका घटना पनि नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।

लागू पदार्थकै कारण समाजमा हत्या, चोरी, डकैती, बलात्कारलगायतका घटना बढ्दै गएका छन् । यसैले लागू पदार्थ प्रयोगको नियन्त्रण अहिले विश्वका लागि ठूलो चुनौती बनेको छ । नशालु पदार्थको सेवन गर्दै जाँदा लत बस्ने अनि शरीर र मस्तिष्क दुवैलाई क्षति पुर्‍याई व्यक्तिलाई असामान्य अवस्थामा पुर्‍याउनुका साथै सामाजिक अपराध एवम् विकृतिलाई समेत बढाउने भएकाले नशासेवन व्यक्ति विशेषकोमात्र समस्या नभएर सिंगो मानव समुदायकै समस्याका रुपमा देखिएको छ । सुरुसुरुमा देखासिकी र सङ्गतका कारण लागूपदार्थप्रति आकर्षित व्यक्ति समयान्तरमा नशालु पदार्थमा आश्रित हुन पुग्छ र जीवनमा अनेकौं जोखिम निम्त्याउन पुग्छ तर नशाको कुलतबाट छुटकारा पाउन सक्तैन । एकपटक लत लागेपछि अलग हुन नसक्नु र सरुवा रोगजस्तै लागूपदार्थको सेवन गर्नेहरुको सङ्ख्या बढ्दै जानुले यो विषय निकै गम्भीर बन्दै गएको देखिन्छ । 

रहरबाट सुरु भए पनि आफ्नै जीवनलाई ध्वस्त पार्ने तथा नशाको चक्रव्यूहबाट छुटकारा पाउन नसकिने भएकाले ‘अमेरिकन मेडिकल एसोसिएसन’ र ‘अमेरिकन सोसाइटी अफ एडिक्सन मेडिसिन’ लगायतका सङ्गठनले कुलत (एडिक्सन)लाई रोगका रुपमा लिएका छन् । यसैले एडिक्सनमा फसेकाहरुलाई हेला नगरी उनीहरुलाई लागेको रोगको उपचार गर्नुपर्ने मान्यता राखिन्छ । कुलतको रोगबाट आफू बच्न तथा नयाँ पुस्तालाई बचाउन पूर्वसावधानी र जनचेतना वृद्धिका साथसाथै सामाजिक र पारिवारिक सम्बन्धलाई बलियो पार्नुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सुरुमा धनी परिवारका र घरमा पुल्पुल्याइएका व्यक्ति दुव्र्यसनमा लाग्ने गरेको भए पनि विश्वकै र नेपालका सन्दर्भमा पनि आजकल सबै वर्ग र समुदायका व्यक्ति लागूपदार्थ दुव्र्यसनी बनिरहेको देखिन्छ । लागूपदार्थ प्रयोगकर्ताको सङ्ख्या दिनानुदिन बढ्दै जानुका पछाडि आधुनिकताका नाममा सांस्कृतिक सामाजिक सम्बन्धमा आएको विचलन, भड्किलो जीवनशैली र नैतिक मूल्यमा आएको ह्रास प्रमुख कारण देखिएका छन् ।

व्यक्तिकेन्द्री र स्वार्थी प्रवृत्ति चुलिँदै जाँदा व्यक्तिव्यक्तिबीचको सम्बन्धमात्र होइन, पारिवारिक सम्बन्धमा समेत बढ्दै गएका फाटो, बसाइँसराइ, गरिबी र बेरोजगारी समस्या समेत लागू पदार्थ प्रयोगकर्ताको सङ्ख्या बढाउने तत्त्व बन्ने गरेको अध्ययनहरुले देखाएका छन् । कुसङ्गत र साथीको लहलहैमा लागेर तथा लत लाग्नुभन्दा अगाडि नै छोडिहाल्छु नि भन्ने भ्रमले दिनानुदिन सयौं किशोरकिशोरी दुव्र्यसनको कुचक्रमा फस्दै गएका छन् । तर दुव्र्यसन नलागून्जेल सामान्य र नियन्त्रण गर्न सकिनेजस्तो महसुस भए पनि फसिसकेपछि मुक्त हुन असम्भवप्रायः नै हुने रोग हो । विश्व स्वास्थ्य सङ्गठनको सन् २०१९ वल्ड ड्रग रिपोर्टअनुसार विश्वभर ३ करोड ५० लाख जना लागूपदार्थका कारण शारीरिक र मानसिकरुपमा अशक्त बनेका छन् । तिनलाई उपचारको आवश्यकता छ ।     

Global Ime bank

नेपालमा लागूपदार्थ प्रयोगकर्ता यति नै छन् भन्ने तथ्याङ्क उपलब्ध नभए पनि नेपाल प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएका व्यक्तिहरुको सङ्ख्यात्मक वृद्धिका आधारमा प्रतिवर्ष ११.३६ प्रतिशतका दरले प्रयोगकर्ता थपिँदै गएको देखिन्छ । लागू औषध प्रयोगकर्ता सर्वेक्षण, २०६९ का अनुसार विसं. २०६३ मा ४६ हजार ३०९ जना लागूपदार्थ प्रयोगकर्ता रहेकोमा ६ वर्षको अन्तरालमा यो सङ्ख्या ९८ प्रतिशतले वृद्धि भई ९१ हजार ५९४ पुगेको देखिन्छ भने सबैजसोले पहिलोपटक लागूपदार्थको सेवन २० वर्ष उमेर नपुग्दै गरेको पाइन्छ । यस सर्वेक्षणमा रक्सी वा गाँजामात्र सेवन गर्नेहरुलाई गणना गरिएको छैन । मादक पदार्थ निर्भरता (अल्कोहल डिपेन्डेन्सी ) नेपाली समाजको झनै विकराल समस्या बन्दै गरेको पुनस्र्थापना केन्द्र तथा उपचारार्थ अस्पतालमा आउने व्यक्तिको आकडाले देखाउँछ । मादक पदार्थ सेवन धेरै हदसम्म समाजस्वीकार्य समेत रहेकाले र वैधरुपमा सर्वत्र उपलब्ध हुने गरेकाले पनि निर्भरता तथा मादक पदार्थ जन्य मनोराग (अल्कोहल इन्ड्युसेस साइकोसिस)का बिरामी बढ्दै गएका छन् ।

लागू औषध नियन्त्रण ब्युरोका अनुसार २०७५ पुसदेखि २०७६ असोजसम्मको १० महिनामा लागू औषधसहित ४ हजार ७७२ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये नेपाली पुरुष ४ हजार ३४७ र महिला २२० रहेका छन् भने विदेशी पुरुष र महिलाको सङ्ख्या क्रमशः १७१ र ०७ रहेको छ । यसले ठुलै सङ्ख्यामा विदेशीहरु पनि नेपाली भूमिमा लागूपदार्थको कारोबार तथा ओसारपसारमा संलग्न रहेको देखिन्छ । नरम कानुनी प्रावधान तथा खुला सिमाना हुँदा पनि समय समयमा भारी मात्रामा लागू पदार्थसहित विदेशी नागरिक पक्राउ पर्ने गरेका छन् । विसं २०७६ साउन, भदौ र असोजमा मात्र नेपाल प्रहरीले १ हजार १५६ किलो गाँजा, ५८ किलो चरेस, १.८ किलो हेरोइन, २१.७ किलो अफिम, १.६ किलो कोकिन र हजारांै ट्याब्लेट अन्य लागू औषधि बरामद गरेको छ । यही समयमा १ हजार ४३० जना पक्राउ पर्नुले लागूपदार्थ कारोबारी तथा दुव्र्यसनीको सङ्ख्या बढ्दै गएको सहजै अनुमान लगाउन सकिन्छ ।

लागूपदार्थ प्रयोगकर्ता सर्वेक्षण, २०६९ मा १ हजार ३६५ प्रयोगकर्तामा गरेको अध्ययनले दुव्र्यसनमा लाग्नुको प्रमुख कारण साथीहरुको दबाब र सङ्गतलाई देखिएको छ । प्रयोगकर्तामध्ये ७८.७ प्रतिशतले साथीको सङ्गतका कारण आफू लागू पदार्थ प्रयोग गर्न थालेको बताएका छन् भने दोस्रो कारकका रुपमा कौतुहल वा अनुभव गर्ने उद्देश्यले लागू पादर्थ प्रयोग गरेको अनि बिस्तारै लत लागेको बताएका छन् । केही प्रयोगकर्ताले पारिवारिक समस्यालाई जिम्मेवार ठह¥याए पनि लगभग सबैजसो कुनै न कुनैरुपमा साथी र उत्सुकताका कारण लागू पदार्थको दलदलमा परेको प्रतिवेदनले देखाएको छ । लागू पदार्थको सहज प्राप्ति पनि समस्या वृद्धिको कारण हो । 

नेपालमा शिथिलात्मक, उत्तेजनात्मक, भ्रमात्मक र दर्दनाशक प्रकृतिका लागू पदार्थहरु प्रयोग हुने र ४३ प्रतिशत प्रयोगकर्ताले मुखबाट र ५७ प्रतिशतले सुईबाट लिने गरेकोसमेत अध्ययनले देखाएको छ । सर्वेक्षणका अनुसार करिब तीन चौथाइ प्रयोक्ताले साथीबाट र अन्यले घुमन्ते व्यापारी तथा फार्मेसीबाट लागू पदार्थ किन्ने गरेका छन् । औषधि पसलेको लागू पदार्थ दुरुपयोगमा संलग्नता निकै गम्भीर विषय भएकाले नियामक निकायको सक्रियताको अभाव खट्किन्छ ।  

लागू पदार्थको प्रयोगले शारीरिक तथा मानसिक समस्या निम्त्याउने भएकाले र प्रायः १५—२० वर्षका बीचमा दुव्र्यसनमा लाग्ने गरेको देखिएबाट अभिभावकहरूले आफ्ना छोराछोरीको सङ्गत, व्यवहार तथा आनीबानीमा सचेत भई सकारात्मकरुपमा निरन्तर परामर्श गर्नुपर्ने देखिन्छ । सवारी दुर्घटना तथा सामाजिक अपराधका धेरैजसो घटना प्रकारान्तरले लागू पदार्थसँग जोडिएका सन्दर्भमा पारिवारिक तथा सामाजिक शान्ति र सुरक्षाका लागि पनि प्रत्येक व्यक्ति सचेत हुनुपर्ने देखिन्छ । अनावश्यक रुपमा पैसा माग्ने, घरपरिवारका सदस्यसँग टाढिन खोज्ने अनि अनेक बहाना बनाएर घर ढिलो आउने वा घर नै नफर्कने गरेमा अभिभावकले सचेत भई सङ्गत र छोराछोरीका गतिविधिमा चासो राख्नुपर्छ । 

लागू पदार्थको दुव्र्यसनमा आफ्ना छोराछोरी परेको थाहा पाए पनि आफ्नो सामाजिक प्रतिष्ठामा आघात पुग्ने ठानेर कसैलाई थाहा नदिई सुधार गर्न खोज्ने अभिभावकको सङ्ख्या पनि ठूलै देखिन्छ । दुव्र्यसनमा परिसकेकाले जतिसुकै ठूला प्रतिज्ञा गरे पनि वा सजाय भोग्न खोजे पनि सम्झाइबुझाइ र नसियतले मात्र उनीहरु सुध्रिन सक्तैनन् । अझ केहीले त छोरा कुलतमा लागेको थाहा पाउनासाथ विवाह गरिदिएपछि पत्नीका कारण सुध्रिन्छ भनी विवाह गरिदिने समेत गरेको देखिन्छ । यसबाट लागू औषध प्रयोक्तामात्र होइन अबोध नारीको जीवनसमेत सङ्कटमा पर्छ । यसैले दुव्र्यसनलाई रोगका रुपमा लिएर उपचार गर्न यथाशीघ्र प्रयास गर्नु सबैका लागि हितकर हुन्छ । सामान्यतया पुनःस्थनपना केन्द्र र अस्पतालमा यस्ता व्यक्तिको शारीरिक तथा मानसिक उपचार गर्ने गरिन्छ । नेपालको सन्दर्भमा विषमुक्तीकरण (डिटक्सिफिकेसन) पछिको मानसिक उपचार वा परामर्शका दृष्टिले अस्पतालको सेवा बढी विश्वसनीय देखिने गरेको छ ।

बन्दाबन्दीले मानसिक तनाव बढाएको बेला तनाव शान्त पार्ने बाहानामा किशोरकिशोरी लागू पदार्थको संसर्गमा पुग्न सक्छन् । तर, तनावको औषधि नशालु वा लागू पदार्थ हुनै सक्तैन । यसैले नकारात्मक विधि अँगाल्ने गल्ती कोहीकसैले गर्नुहुँदैन । छोराछोरीलाई आवश्यकभन्दा बढी पैसा दिँदा माया गरेको ठहर्दैन । वास्तविक माया त उनीहरुसँग बढीभन्दा बढी समय सँगै बिताए हुन्छ । यसैले उनीहरुलाई आवश्यक वस्तु अभिभावक आफैँले किनिदिनु राम्रो हुन्छ तर नगद दिएर उनीहरुलाई खुसी पार्न खोज्दा रकम दुरुपयोग भई समस्या सिर्जना हुने डर हुन्छ । कुलतरुपी रोग लागेपछि छुटाउन निकै गाह्रो हुने तथा उपचार गरेर निको पारे पनि जुनसुकै बेला रोग बल्झिने जोखिम हुने भएकाले रोग लाग्नै नदिन सन्तानलाई नैतिक मूल्यले सुसंस्कृत गर्नुका साथै निरन्तररुपमा सही मार्गदर्शन गरिरहनुपर्छ । छोराछोरीका आनीबानी तथा गतिविधिमा बेवास्ता गर्ने, आर्थिकरुपमा सम्पन्न पार्ने वा उसले मागेका कुरा पुर्‍याइदिने काममात्र गरेर अभिभावकीय दायित्व कदापि पूर्ण हुँदैन । यस्तै १२—१३ देखि २०–२२ वर्षसम्मको अवधिमा छोराछोरीलाई झनै निकट राखी भावनात्मकरुपले बलियो बनाई सुमार्गमा लगाउन सकियो भने त्यसपछि लागू पदार्थको दुव्र्यसनमा लाग्ने वा कर्तव्य पथबाट विचलित हुने जोखिम न्यून प्रायः बन्छ । यसैले कुलतरुपी रोगबाट परिवार, समाज र राष्ट्रलाई मुक्त राख्न समाजका सबै सदस्य चनाखो तथा क्रियाशील हुनुपर्ने भएको छ ।
मनोपरामर्शदाता

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC