site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गहिरिदै संकट

मुलुकमा बहुकोणीय संकट गहिरिँदै छ । जनताले भोग्नुपर्ने अनपेक्षित अवस्था नै त मुलुकको संकट हो । संकटापन्न आर्थिक, राजनीतिक र सामाजिक स्थितिबोध गरिएका विश्लेषण सार्वजनिक भइरहेका छन् । विश्लेषित विचारमा स्पष्ट नभनिएको चाहिँ बहुकोणीय संकटले अन्ततः दिने परिणाम के कस्तो हुन्छ भन्ने नै हो । परिणामको अनुमान भयावह देखिएकाले विश्लेषकहरु संकटको संकेतमात्रै दिएर बाँकीमा हच्किएका हुनसक्छन् । 

अर्थमन्त्रीले कर उठाउन गरेको करकर वा चाँडै कर संकलन गर्न पाइयोस् भन्ने आग्रह लिएर सरकार अदालतसम्म पुगेको घटनाले सरकारको आर्थिक अवस्थाले घुँडा टेक्न थालेको बुझाएकै छ । कर्मचारीलाई तलबभत्ता दिन पनि मुस्किल भएको अर्थमन्त्री युवराज खतिवडाको सार्वजनिक बयानले नौ खर्बभन्दा माथि लक्षित चालुखर्च धान्नसमेत सरकारलाई हम्मे पर्दै गएको बुझिन्छ । बजेट घोषणाको एक महिना पनि  नपुग्दै बाहिर आएको आर्थिक तस्बिरले कतै मुलुक टाट पल्टिन थालेको हो कि भन्ने चिन्ता बढाएको छ ।

हाम्रा प्रायः सबै आर्थिक स्रोत अस्थायी प्रकृतिका रहेछन्  अर्थात् आकाशे खेतीजस्ता । परदेश निर्भर पर्यटन व्यवसाय र विप्रेषणलाई मुलुको सुनौलो भविष्यसँग जोडियो तर यिनको अस्थायी चरित्रबारे बेवास्ता गरेर । नीति, कार्यक्रम बनाउनेले दूरगामी योजनाको झन्झटबाट पन्छिने र तुरुन्तै लाभ लिने लोभले व्यावसायिक चरित्रप्रति  हेर्ने कष्ट लिएनन् । स्थायी स्रोतको आधार हुनसक्ने कृषि र उद्योगप्रति पहिल्यैदेखि प्रभावकारी प्रयत्न भएको पाइँदैन घोषणा र वक्तव्यका अतिरिक्त । 

Prabhu Bank
Agni Group
NIC Asia

जलस्रोतको उपयोग नेपालको लागि दीर्घजीवी उपाय हो तर राष्ट्रिय, अन्तर्राष्ट्रिय जल माफियाको हिसाबकिताबमा यो क्षेत्रले अहिलेसम्म दुर्गति भोगेको छ र चाँडै नै त्यो दुर्गति हट्ने सम्भावना पनि छैन । भनिन्छ– माओवादी हिंसाको बेला १७ हजार नेपाली नागरिक मारिए तर बाँचेकाहरुको धेरै सम्भावना पनि ध्वस्त पारियो वा पचासौं वर्षपछाडि धकेलिए । 

विद्युत् उत्पादनका कैयौं संरचना उडाइए । जलस्रोतका योजना वा यसमा लगानी गर्न खोज्ने आन्तरिक र बाह्य स्रोत अवरुद्ध भयो । सुरक्षा प्रत्याभूति र बजार सुनिश्चित नभएसम्म ऊर्जा उत्पादनमा लगानी बढ्ने पनि होइन । फाइदा कसलाई भयो र घाटा कसले बेहोर्नु पर्यो ? माफियाले कमिसनलगायत निजी स्वार्थ रक्षाको सम्भावना चाहिँ जोगाए । नेपाल अन्धकारको सुरुङमा फस्यो । 

Global Ime bank

अहिले केही उठ्न खोजेको जल उपयोग र आम्दानीमाथि बाह्य माफिया प्रायोजित प्रहार सुरु गरिएको छ । राष्ट्रियताको दुहाइ दिएर नेपाली नागरिकलाई तन्नम गरिबी र राष्ट्रलाई संकटको भुमरीमा धकेलिएको छ । अन्धकारका वाहकहरु सामु उज्यालोका सन्देश दिने कुलमान घिसिङले हाल एकदेखि दुई सय मेगावाट विद्युत् प्रयोगहीन भएको बताएका छन् । झन्डै एक अर्बको बिजुली खेर जान थालेको छ । कारण कोरोनाले औद्योगिक उपयोगमा खपत कम हुन गएकाले पनि बिजुली खेर गएको होला । 

बर्खामा उर्लँदो नदीको भेलसँगै बढी उत्पादित सबै बिजुली नेपालले उपभोग गर्न नसकेको केही वर्ष नै भयो । यही कारण बर्खाको बढी बिजुली भारतले किन्ने र हिउँदमा नेपाललाई दिने व्यापारिक सहमति पूर्ववर्ति सरकारले गरेका हुन् । अहिले नै खपत गर्न नसक्ने उत्पादन अंश एकातिर देखिन्छ भने अर्कोतर्फ व्यापक खपतको लागि निकट कुनै औद्योगिक सूत्र सरकारसँग छैन । निर्माणधीन योजनाहरु सम्पन्न भए यही आव अन्त्यमा आठ सयदेखि हजार मेगावाटसम्म बिजुली उत्पादन थपिने बताइन्छ ।

यतिधेरै बिजुलीले निश्चित बजार पाउने देखिएन भने राष्ट्रले अर्को सुखद सम्भावना गुमाएर ठगिनेछ । लगानी शून्यतिर झर्नेछ भने चालु योजनाहरु थन्किने बाध्यता आउनेछ । पाँच वर्षभित्र विक्री, बजारमा पहुँच दिनसक्ने अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत बन्ने विद्युत् प्रसारणलाइन उत्पादन प्रवाहको एउटा आशा हो । 

एमसीसी विरोधीलाई जनताको भोको पेटमाथि खोक्रो राष्ट्रवादको नारा प्रायोजित स्रोत भएको छ । तिनले फिँजाएको लहैलहैमा सच्चा देशभक्त र अबुझ अरु केही भ्रमित गाँजिएका छन् । माफियावादी सफल भएमा जलस्रोत उपयोगको दीर्घजीवी आय कुण्ठित हुनेछ र यस क्षेत्रमा लामो ग्रहण लाग्ने देखिन्छ ।

कोरोना ग्रसित तीन महिनामा विप्रेषण विगतको यही अवधिमाभन्दा ६ प्रतिशतले घटेको छ । विप्रेषणको आम्दानी घट्ने क्रम अहिलेको तुलनामा अर्को वर्ष धेरै गुना बढ्नेछ । मुलुकको आर्थिक स्रोतमा झन्डै २३ प्रतिशत योगदान गर्ने विप्रेषण यही क्रमले घट्ने हो भने आर्थिक संकट थपिने नै छ । 

उल्लिखित फेहरिस्त नेपालका आम्दानीका आधार हुन् । मूलतः जलस्रोत, कृषि, जडीबुटी उपेक्षामा परे पनि राष्ट्रिय अम्दानीको दिगो माध्यम भने हुन् । विप्रेषणसमेत आम्दानीका सबै स्रोत ओरालो झर्दै जाने क्रम रोकिएन भने संकट थप घनीभूत बन्ने नै छ । 

पर्यटन फस्टाउन आवश्यक सर्त पूरा गरे पनि समृद्ध दुनिया यसको पहिलो सर्त रहेछ । समृद्ध जनताले नै आन्तरिक चहलपहल बढाउन सक्नेहुन् । जतिसुकै पटक ‘अतिथी  देवो’ भने पनि घुमन्ते पाहुुना मन लागे आउँछन्, नभए अन्तै तानिन्छन् । पर्यटक निजी साबगाँस र रुचिले तानिने हो । दुनियाँका सरकार र व्यवसायीले सकारात्मक सन्देश दिए त्यहाँबाट पाहुना यता आउने सम्भावना खोलिन्छ । लगानी वा आवागमनले खोज्ने सुरक्षा प्रत्याभूति हो । 

हिंसाका बेला पनि खुम्चिएको पर्यटनले यसको चरित्र बुझाएकै थियो । यतिबेला कोरोना भाइरसले थलै पारेको छ । निजी क्षेत्रको थेगभरमा हाम्रा सरकार र नीति निर्माताले महत्त्वाकांक्षाको भारी पर्यटनमाथि बिसाएका हुन् । सकारात्मक पनि देखियो तर अहिले कोरोना भाइरस सल्कियो । भाइरसको नियन्त्रण कहिले, हुन्छ र पर्यटन दुधालु गाईको प्रतीकमा कसरी फर्कन्छ ? दुनियाँमा ठोकुवा हुन नसके पनि त्यो सम्भावना नजिकै चाहिँ पक्कै छैन । 

कृषि निश्चित स्रोत हुन्थ्यो तर यो गाह्रो काम थियो गर्ने र सरकार दुवैलाई । ‘नपढे हली होलास्, गोठालो बन्लास्’ जस्ता हाम्रा पारम्पारिक भनाइले पनि ठूलो जत्थालाई गाउँको खेतीपातीबाट पलायन हुन प्रेरित गर्यो । ‘पढ्नु लेख्नु कौनो काम, हलो जोती दुधुमाम’ जस्ता लयबद्ध भनाइ केही वर्ष अघिसम्म ग्रामीण जिब्रोमा टाँसिएको थियो । 

अवसर र प्रविधि वा नाफामूलक उत्पादनको उपाय र बजारको अभावजस्ता कारण अहिले पनि कृषिक्षेत्रले भोग्दै छ ।  कतिपयलाई तीनचार महिना पनि धान्न नसक्ने खेतीमा  टाँसिइरहन सहज भएन र विकल्प खोज्ने बाध्यता भयो । पारम्परिक सीप, शैली र प्रविधि पनि बाँचेन र आधुनिक प्रविधिको व्यापक पहुँचको लागि अरु दर्जन वर्ष पर्खिनुपर्ने होला । त्यो पनि, कौसी खेतीको नीति च्यापेका सरकारहरु ग्रामीण कृषिको उन्नयनमा इमानदारसाथ फर्किए भने । जसरी भूबनोटमा भिन्नता छ त्यहीअनुरुप प्रविधि वा सीपको खाँचो यहाँ छ । कोरोनाले गाउँ फर्काएको मानव संसाधनले कृषि फस्टाउने सरकारी सोच आधाररहित स्वैरकल्पना हो । थपिएको बेरोजगार संख्यालाई सम्बोधन गर्ने भरपर्दो उपाय पनि देखिँदैन । 

जडीबुटी पनि उम्रिए वा फल्दिए टिप्ने, बेच्नेमात्रै स्रोतमा सीमित छ । उत्पादन, प्रशोधन र प्रतिउत्पादनको प्रभावकारी योजना छैन । जडीबुटी व्यवसाय सम्बद्ध स्थानीय र राष्ट्रिय आम्दानीको सबल टेको बनाइन सकिन्थ्यो । यसमा पनि लापर्बाह राज्य अकर्मण्य साबित भएको छ । 

सबै आर्थिक सूचक नकारात्मक आएको बेला राजनीति र सामाजिक क्षेत्र पनि सन्तोषकजनक देखिँदैनन् । कम्युनिस्ट सरकारको राजनीति प्रजातान्त्रिक बाटोमा छैन । पद्धति राम्रो तर सञ्चालकहरु अयोग्य वा गैरइमान्दार हुँदा राजनीतिको दृश्यसमेत अँध्यारोमा छ । भ्रष्ट र अयोग्य राजनीतिले उत्पन्न संकटलाई पार लगाउला भन्ने अपेक्षा पूरा हुन सम्भव छैन । 

कोरोनाले थपेको संकटकै अवधिमा भएका हजारौं असामाजिक र असभ्य घटनाले देशको कुनै पनि ठाउँ ठीकठाक छ भन्ने लाग्दैन । दिइएको विषयगत अवस्थाको चित्रणले मुलुक आर्थिक, राजनीतिक र सामाजिकलगायतका सबै क्षेत्रको बढ्दो संकटमा फस्दै भासतिर  जाँदो देखिन्छ । कोरोना कहरले क्षति पुगेका सबै व्यवसाय सरकारी सहयोगको अपेक्षामा छन् तर सरकार आफ्नै दैनन्दिन खर्च धान्न नसक्ने अवस्था देखाइरहेछ । देशको स्रोत साधनका सबै सूचक संकट बोधक छन् । पार लाग्ने कसोरी हो ? 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  २१:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC