site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘कोरोना पिकमा पुग्‍न भदौ लाग्छ, दैनिक १० हजार परीक्षण गर्छौं’
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले नेपालमा कोरोना पिकमा पुग्न भदौ लाग्ने बताएका छन् । विश्व स्वास्थ्य संगठनले संसारभरको अवस्था हेर्दा साउनमा पिकमा पुग्‍ने प्रक्षेपण गरेको थियो । नेपालमा एक महिना थपिएर भदौमा पुग्‍ने प्रक्षेपण सीसीएमसीले गरेको छ ।

अहिलेको संक्रमितको दर र फैलावट हेर्दा भदौको आधाआधी लाग्न सक्ने निष्कर्ष निकालिएको उनले बताएका हुन् । “लकडाउन खुकुलो तुल्याएर जनजीवनलाई केही सहजीकरण गरेका छौं । कोरोना सङ्क्रमण घट्दो क्रममा रहेकाले होइन । अहिलेसम्मको परिस्थितिको आँकलन गर्दा भदौमा मात्रै पिकमा पुग्ने देखिएको छ । यसमा तलमाथि हुनसक्छ,” मन्त्रालयमा पत्रकारहरूसँगको सामुहिक भेटघाटमा पोखरेलले भने ।

पोखरेलले अहिलेसम्म कोभिड–१९ नियन्त्रणमै रहेको दाबी गर्दै दैनिक दश हजार स्वाब परीक्षण गरिने बताए । “अहिले दैनिक ६ सय स्वाब परीक्षण हुँदै आएको छ । अब हामी छिट्टै बढाएर दश हजार पुर्‍याउँछौं । परीक्षण बढ्ने बित्तिकै कोरोनाको फैलावट थाहा हुन्छ । थप कदम चाल्न सजिलो हुन्छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार अपराह्नसम्म देशभर १ लाख ४९ हजार ७ सय ७२ पीसीआर टेस्ट गरिएको छ । आरडीटी परीक्षणको सङ्ख्या दुई लाख ३३ हजार ७ सय ४३ रहेको छ । यो दक्षिण एसियाली देशहरूमध्ये उच्च तथ्याङ्क रहेको मन्त्री पोखरेलको दाबी छ ।

“दक्षिण एसियाली देशमध्ये भुटानको परीक्षण राम्रो भनिएको छ । भुटानको जनसङ्ख्या सानो छ । भुटानको तुलनामा हाम्रो परीक्षणको दायरा फराकिलो छ । यसलाई हामी अझै बढाउँछौं,” उनले भने, “हिजो रिएजेन्ट नभएर स्वाब हङकङ पठाउनुपर्ने अवस्थाबाट काम सुरु गरेका हौं । अहिले मुलुकभर २४ ठाउँमा परीक्षण ल्याब सञ्चालित छन् । निजी क्षेत्रलाई पनि सहभागी गराउने भनेका छौँ ।”

Global Ime bank

यसअघिको मन्त्रिपरिषद् बैठकले पीसीआर टेस्ट गर्न निजी ल्याबलाई पनि दिने निर्णय गरिसकेको छ । पोखरेलले सरकारी चिकित्सकहरूले नै स्वाब सङ्कलन गर्ने र निजी क्षेत्रमा परीक्षण मात्र गरिने जानकारी दिए ।

“त्यसका अनेक मापदण्ड छन् । निजीलाई पूरै दिन सकिँदैन । अहिले सरकारी चिकित्सकले लिएको स्वाब टेस्ट गर्न दिने हो,” उनले प्रष्ट्याए । त्यसवापत सरकारले प्रति स्वाब पाँच हजार पाँचसय दिने भनेर निर्णय गरिसकेको छ ।

पोखरेलले देशभरका क्वारेन्टिन स्थल राम्रो हुन नसकेको पनि स्वीकार गरे । स्थानीय तहको प्रकोप व्यवस्थापनको दक्षता, अनुभव नभएकाले कोरोना विशुद्ध नयाँ खाले प्रकोप भएकाले कमजोरी हुन गएको स्वीकार गरे ।

“स्वास्थ्य मन्त्रालयले सबै मापदण्ड तयार गरेको थियो । तर, त्यसअनुसार स्थानीय तहसँग स्रोत र साधन पनि त हुनुपर्‍यो नि । जहाँजहाँ बाहिरबाट मानिस आउँछन् । जता मिल्छ त्यतै राखियो । त्यसैलाई क्वारेन्टिन स्थल भनियो,” उनले व्यवस्थापकीय कमजोरी स्वीकार्दै भने ।

उनले भारतबाट आएको नागरिक व्यवस्थापनमा कठिनाइ भएको पनि बताए । जेठ १ गते यता भारतबाट नेपाल आउने नागरिकको सङ्ख्या दुईलाख बढी रहेको सीसीएमसीले जनाएको छ ।
“फागुनयता मात्रै भारतबाट ७ लाख नागरिक आए । उनीहरूलाई क्वारेन्टिनमा व्यवस्थापन गर्न चुनौतीपूर्ण हुने नै भयो । तर पनि स्थानीय तहले गरिरहेका छन् । सङ्घीय सरकारले अनुगमन गरिरहेकै छ । सीसीएमसीले पनि त्यसको अनुगमन गर्छ । क्वारेन्टिनको पनि अवस्था सुधार गर्छौं,” उनले भने ।

तेस्रो मुलुकबाट पनि नागरिक आउने क्रम चलिरहेको र केहीकेही देशमा कठिनाइ भएको बताए । सम्बन्धित देशका दूतावास र परराष्ट्र मन्त्रालयबीच समन्वय भइरहेको र पर्यटन मन्त्रालय नागरिक ल्याउने काममा लागेको पोखरेलले बताए ।  

“हामी साधन र स्रोतले सम्पन्न देश होइनौं । अहिले नागरिक र एयरलाइन्सबीचले नै डिल गरेको हो । त्यसमा सरकारको भूमिका छैन । सकेसम्म नेपाली ध्वजाबाहक र नेपाली एयरलाइन्स प्रयोग गरौं भन्ने हाम्रो चाहना हो । कतैकतै समस्या देखिएका छन् । सम्बन्धित देशका एयरलाइन्सका कारण समस्या उत्पन्न भएको हो । चार्टड उडान भएकाले केही महँगो हुन्छ नै,” उनको प्रस्टीकरण थियो ।

उच्चस्तरीय समन्वय समिति निस्क्रिय

उनले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित ( विभागीयमन्त्री सम्मिलित) उच्चस्तरीय समन्वय समिति निस्क्रिय रहेको स्वीकार गरे ।

उच्चस्तरीय समन्वय समिति फागुन १८ गते गठन भएको थियो । चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) गठन गरेको थियो । छाउनीस्थित रेञ्जर गणमा क्राइसिस म्यानेजमेन्ट सेन्टर यसअघि स्थापित रहेको बताउँदै त्यसलाई सीसीएमसीमा बदलिएको उनको भनाइ थियो ।

“सीसीएमसीलाई एक्सन समितिको रूपमा कल्पना गरिएको थियो । पछि दुवैको काम एकै प्रकृतिको हुन गयो । डुप्लिकेसन पनि भयो । निर्णय उच्चस्तरीय समितिले गर्ने कार्यान्वयन उताबाट गराउँदा केही असहजता उत्पन्न हुने नै भयो । त्यसपछि सीसीएमसीलाई नै सक्रिय बनाउने निर्णय भएको हो,” उनले प्रष्ट्याए ।

उनले यसअघि उच्चस्तरीय समन्वय समितिका रहेका र सीसीएमसीमा नरहेका मन्त्री थपिएको पनि जानकारी दिए । “ऊर्जामन्त्री वर्षमान पुन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र कृषि तथा पशुपन्छीमन्त्री सीसीएमसीमा हुनुहुन्नथ्यो, उहाँहरू थपिनुभएको छ । अब कामको डुप्लिकेसन हुँदैन । एकैतिरबाट एक्सन केन्द्रित हुन्छ,” उनले भने ।

एक अर्को प्रसंगमा उनले अब चिकित्सा सामग्री स्वास्थ्य मन्त्रालयले नै खरिद गर्ने बताए । यसअघि नेपाली सेनालाई जिम्मा दिएकोमा अब त्यो काम स्वास्थ्य मन्त्रालयले नै गर्ने निर्णय भएको बताए ।

“लाइन मिनिस्ट्री स्वास्थ्य मन्त्रालय हो । खरिद प्रक्रिया उसैको मातहत हुन्छ । संकटको अवस्थामा नेपाली सेनालाई दिएको हो । अहिले अलि सहज छ, पहिलेजस्तो सवत्र महामारी र अभावको अवस्था छैन,” उनले प्रष्ट पारे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३, २०७७  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC