नेपालमात्र हैन सम्पूर्ण विश्व नै कोरोना महामारीको चपेटामा परेको छ । युरोप तथा अमेरिकाका विकसित मुलुकहरूमा समेत यसले ठूलो क्षति गरिसकेको छ । हाल विकसित मुलुकहरूमा यसको प्रकोप केही साम्य भएको देखिए पनि नेपाललगायतका विकासोन्मुख राष्ट्रमा कोरोनाको संक्रमण फैलँदो छ ।
यस्तो अवस्थामा सरकारको तर्फबाट भएको एकमात्र राम्रो कदम बन्दाबन्दी (लकडाउन)लाई सहज बनाउने निर्णय भएको छ । यही महामारीका अवधिमा मैले देशको दोस्रो तहको अस्पतालमा काम गर्ने र रोगको अवस्था तथा मानिसहरुको यस रोगप्रतिको विचार बुझ्न र नियाल्न पाएको छु । त्यसैमा आधारित अनुभव यहाँ लेख्ने जमर्को गरेको हुँ ।
नेपालमा कोरोनाको सुरु
नेपालमा कोरोनाको पहिलो संक्रमण माघ ९, २०७६ मा देखिए पनि यसको त्रास फ्रान्सबाट आएकी एक महिलामा संक्रमण पुष्टि भएपछि जनतामा चैत्र १० गतेबाट देखिन थालेको हो । त्यतिबेला चीन, इटाली, इरानजस्ता देशमा यसको संक्रमण तथा मृत्यु दरसमेत बढिरहेको थियो भने छिमेकी भारतमा पनि यसको प्रभाव देखिन थालेको थियो । यस दौरान सरकारले भारत र चीनसँग नाका सिल गर्ने, यातायत र हवाई यात्रामा रोक लगाउने, मानिसहरुको भिड हुने ठाउँ जस्तै होटेल, रेस्टुराँ, स्विमिङ पुल बन्द गर्नेजस्ता कदम चालेर देशव्यापीरुपमा चैत्र ११ गतेबाट बन्दाबन्दी लागू गरेको थियो । कोरोनाको बारेमा जनचेतना फैलाउने काम भयो । फोन, सामाजिक संजाल , रेडियो, टेलिभिजनले त्यसमा ठूलो भूमिका खेले ।
त्यस समयमा समुदायमा त्रासको वातावरण बनिरहेको थियो । देशमा कोरोनाको संक्रमण बढ्दो क्रममा थियो र विश्वमा कोरोनाले भयानक रुप लिइसकेको थियो । पहिलो दिन ‘कोरोना ज्वरो क्लिनिक’ मा काम गर्दा मनमा एक प्रकारको डर लागिरहेको थिए । आफन्त र साथीभाइले त्रसित भएर फोन गरेका र कतिपयले त राजीनामा दिनसम्म सुझएका थिए । अझ त्रसित त तब भएँ जब चैत्र १४ गते, मैले काम गर्ने अस्पतालमा पहिलो संक्रमण पुष्टि भयो । जनतामाझ त्रास सिर्जना भएर हो वा चेतनाले सुरुका केही दिन बन्दाबन्दीको पालना पनि अनुशासितरुपमा भएको महसुस गरेको थिए । तर, समय बित्दै जाँदा लकडाउनको अवस्था पनि खस्किँदै गयो ।
हालको अवस्था
आज असार १ गतेसम्म आइपुग्दा नेपालमा जम्मा ५ हजार ३३५ कोरोना संक्रमित छन् भने १८ जनाले ज्यान गुमाइसकेका छन् । यो ८२ दिनको औपचारिक लबडाउनलाई खुकुलो बनाउने भन्दै अहिले उद्योग, कलकारखाना, कार्यालय र बजार धेरै खुलिसकेको पाइन्छ । यसका साथै भारतलगायतका अन्य देशमा रहेका नेपाली स्वदेश फर्किने संख्या दिनप्रतिदिन बढ्दो छ । विदेशबाट आएका नेपाली नागरिकको उचित व्यवस्थापन गर्नुको साटो नेपालमा तिनलाई न्यूनतम मापदण्ड नपुगेका क्वारेन्टिनमा राखेको पाइन्छ ।
यस्तो अवस्थामा कोरोनाको परीक्षण धेरै हुनुपर्ने र कोरोना भएका र नभएका मानिसलाई छुट्टयाई उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ । विडम्बना, सरकारले उल्टै परीक्षणको दायरा घटाएको छ भने क्वारेन्टिन र अस्पतालमा उचित व्यवस्था मिलाउन सकेको छैन । फलस्वरूप, स्वस्थ व्यक्तिमा पनि संक्रमण हुने र संक्रमितको संख्या ह्वात्तै वृद्धि हुने जोखिम देखिएको छ ।
व्यवस्थापनको कमजोरीसँगै संक्रमण बढाउने अर्को कारक जनमानसमा रहेको कोरोनाप्रतिको सोच र मानसिकता हो । सुरुको अवस्थाबाट आजसम्म आइपुग्दा जनमानसमा कोरोनाप्रतिको सोच र धारणामा धेरै परिवर्तन भएको पाइन्छ । अहिल मानिसहरुले यस रोगबाट बच्न अपनाउनु पर्ने सामान्य सावधानीहरु जस्तै भिडभाड नगर्ने, मास्क लगाउने, बेलाबलामा हात धुने, भौतिक दूरी कायम गर्नेजस्ता अतिआवश्यक कार्यमा पनि हेलचेक्य्राइँ गरेको पाइन्छ । हुन त नेपालमा कोरोनाको संक्रमण र मृत्युदर अरु राष्ट्रको तुलनामा कम भएर त्यस्तो सोचको विकास भएको हुन सक्छ । तर सोच्नुपर्ने के हो भने नेपालमा परीक्षण नै एकदमै कम भएको हुनाले यो संख्या कम देखिएको हुन सक्छ । हाम्रै घर वा समाजमा यसको संक्रमण भएको छैन भन्न सकिन्न । अहिलेजस्तै सरकार र व्यवस्थापन पक्षबाट उचित सहयोग नहुने अवस्था रहिरहे र व्यक्तिको मनोबल उच्च नभए यस महामारीले निकट भविष्यमै विस्फोटकरुप लिन सक्छ ।
अहिलेको तथ्यांक हेरेर यस महामारीलाई सामान्यरूपमा लिई आफू तथा आफ्नो आफन्त, साथीभाइ र समाजलाई जोखिमा पार्नुभन्दा, व्यक्तिका तर्फबाट सकिने मुख र नाक छोप्ने गरी मास्क लगाउने, पटकपटक साबुन पानीले २० सेकेन्डसम्म मिचेर हात धुने जस्तासामान्य सावधानीमात्रै अपनाए पनि यस रोगसँग लड्ने महत्त्वपूर्ण अस्त्र बन्नसक्छ । यसैले हेलचेक्य्राइँ नगरौँ ।
(सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक)